१ पुस, काठमाडौं । केपी शर्मा ओली र ईश्वर पोखरेल खेमा भएर प्रतिस्पर्धा भइरहेको नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरूले आफ्नो प्रचार गर्न अनेक विधि अपनाएका छन् ।
सांगीतिक प्रस्तुति, नाराजुलुस, पोस्टर पम्लेट सहितका गतिविधिमार्फत भृकुटी मण्डपमा भोट मागिरहेका उम्मेद्वारहरूले सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै गरिरहेका छन् ।
उनीहरूका लागि सामाजिक सञ्जालमा अपिल सहितका भिडियो बनाउनु, तस्वीर हाल्नु, योजना सार्वजनिक गर्नु अनिवार्य जस्तै देखिन्छ । यी सबै गतिविधिको उद्देश्य भनेको महाधिवेशन प्रतिनिधिका मन जित्नु नै हो ।
यसरी अलग गतिविधि सहित मतदातासँग अपिल गर्नेमा भीम ज्वाला राई पनि देखिन्छन् । खुला तर्फबाट एमाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका राईका लागि गाडी चालकहरूले मत मागिरहेका छन् ।
स्टेरिङबाटै सवारी चालकहरूले ‘मजदुरका साथी भीम ज्वाला राईलाई मत’ भनिरहेका छन् । सवारी चालकहरूबाट मत मागेको भिडियो सामाजिक सञ्जालमा राखिरहेका राईका पक्षमा मत माग्न भृकुटीमण्डप पुग्नेहरू समेत यातायात क्षेत्रकै मान्छेहरू देखिन्छन् ।
राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भएकाले उनका पक्षमा यही क्षेत्रका मानिसले मत माग्नु स्वभाविकै हो । तर राईप्रति मजदुरहरूको जुन लगाब देखिन्छ, त्यसमा उनको पृष्ठभूमिले समेत काम गरेको छ ।
राई अरु धेरै मजदुर नेता जस्तो भूमिकाले मात्रै अथवा कुनै पार्टीले दिएको जिम्वारीका कारणले नेता भएका होइनन् । उनी त स्वयं मजदुर भएकाले यो संगठनमा लागेका थिए ।
भीम ज्वाला राई कुनै समय धरान–काकडभिट्टा चल्ने रानी सेवा बसमा परिचालक काम गर्थे। गाडीमा काम गर्दा उनले समाजलाई चिने, सामाजिक विभेदलाई बुझे। जसरी मजदुरलाई अपमान गरिन्थ्यो, त्यस्तो व्यवहारले उनको चित्त दुख्थ्यो ।
‘मजदुरहरू आफ्नो सम्मानका लागि आफै लड्नुपर्छ, त्यसका लागि मजदुर संगठनमा लाग्नुपर्छ भन्ने बुझे र संगठनमा पनि लाग्न थाले,’ राई भन्छन् । अहिले त उनी मजदुर हितका लागि कम्युनिष्ट मनेफेस्टोसम्मकै सन्दर्भ भन्न सक्छन् ।
मजदुरी गर्दागर्दै दुई वटा विषयमा त उनले स्नातकोत्तर नै गरिसकेका छन् । पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर गरेका राईले कानुनमा स्नातक गरेका छन् । ‘अध्ययनबाट जति बुझे, अनुभवबाट पनि धेरै सिके जस्तो लाग्छ,’ उनी भन्छन् ।
धरान–काकडभिट्टा रुटमा चल्ने गाडीका परिचालकदेखि एमाले नेतासम्मको परिचय बनाउन जुन संघर्ष राईले गरेका छन्, त्यो अनुभवलाई आधार मानेर राईले अगाडि बढ्न खोजिरहेका छन् ।
३२ वर्षदेखि निरन्तर मजदुर क्षेत्रकै काम गर्दागर्दै उनी दुई कार्यकाल एमाले कोशी प्रदेश सदस्य भइसकेका छन्। उनलाई प्रचार विभाग उपप्रमुखको जिम्मेवारी दिइएको थियो ।
सुनसरी एमालेमा राईले नगर स्तरीय मजदुर र्फ्याक्शन कमिटी, मजदुर इलाका कमिटी हुँदै तीन कार्यकाल जिल्ला सदस्य भएका थिए । तर उनको मुख्य कार्य क्षेत्र अहिले पनि यातायात मजदुर नै हो । त्यसैले त उनको प्रचारमा सवारी चालकदेखि मजदुर क्षेत्रका नेताहरूले मत मागिरहेका छन् ।
‘यातायात मजदुरहरूको हित मुख्य काम भयो, तर अरुतिर पनि सानोतिनो योगदान गरेकै हुन्छु,’ राई भन्छन् । सल्लाघारीमा एघारौं महाधिवेशन उद्घाटन भइरहँदा आफूले लेखेको ‘सूर्यलाई हत्केलाले छेक्न नखोज्’, ‘एमालेलाई रोक्ने को छ र’ जस्ता गीतहरू बज्दा उनमा ठूलै खुशी थियो । ‘महाधिवेशन उद्घाटन हुँदा मैले लेखेको गीत बज्यो, असाध्यै खुशी लाग्यो,’ उनले भने ।
आफ्नो गीत बजेर उद्घाटन सत्र चलिरहँदा राईको जिम्मेवारी भने सल्लाघारी पुगेका एमाले नेता–कार्यकर्ताको सवारी व्यवस्थापन थियो । ‘हामीले त्यस दिन तीन हजार बढी सवारी साधनलाई व्यवस्थापन गरौं । कतैबाट गुनासो नआउनेगरी व्यवस्थापन गर्दा सन्तुष्टि नै मिल्यो’, राई भन्छन् ।
प्रतिक्रिया 4