News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट–जर्मेनका ओस्मान डेम्बेलेलाई दोहामा आयोजित फिफा गालामा 'द बेस्ट फिफा मेन्स प्लेयर २०२५' अवार्ड प्रदान गरिएको छ।
- डेम्बेलेले २०२४/२५ सिजनमा च्याम्पियन्स लिग र लिग–१ दुवैको 'प्लेयर अफ द सिजन' घोषित भएका थिए।
- पुरुष गोलकिपरमा जियानलुइगी डोनारुम्मा, महिला खेलाडीमा आइताना बोनमती र महिला गोलकिपरमा हाना ह्याम्पटनलाई अवार्ड दिइएको छ।
२ पुस, काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) तथा फ्रान्सका स्टार खेलाडी ओस्मान डेम्बेलेलाई ‘द बेस्ट फिफा मेन्स प्लेयर २०२५’ को अवार्ड प्रदान गरिएको छ। दोहामा आयोजित फिफा गालामा उनले यो सम्मान प्राप्त गरे।
डेम्बेलेले पीएसजीलाई पहिलोपटक यूईएफए च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । प्रतियोगितामा उनले आठ गोल र छ असिस्ट गर्दै टोलीका प्रमुख खेलाडी बने।
उनले पीएसजीलाई लिग–१, कप दे फ्रान्स र ट्रफे दे च्याम्पियन्स जिताउँदै घरेलु ट्रेबल पूरा गर्न पनि योगदान दिए। साथै, टोलीलाई पहिलो फिफा क्लब विश्वकपको फाइनलसम्म पुर्याउन मद्दत गरे।
२८ वर्षीय डेम्बेले २०२४/२५ सिजनमा च्याम्पियन्स लिग र लिग–१ दुवैको ‘प्लेयर अफ द सिजन’ घोषित भएका थिए। उनले लिग–१ मा संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बन्ने उपलब्धि पनि हासिल गरे।
डेम्बेलेले यो अवार्ड रियल मड्रिडका किलियन एमबाप्पे र बार्सिलोनाका युवा स्टार लामिन यमाललाई पछि पार्दै जितेका हुन्। यसअघि डेम्बेलेले बालोन डि’ओर अवार्ड पनि जितेका थिए।
पुरुष गोलकिपरतर्फ पीएसजीका लागि उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी डोनारुम्मालाई अवार्ड प्रदान गरियो। महिलातर्फ बार्सिलोनाकी आइताना बोनमती ‘द बेस्ट फिफा वुमेन्स प्लेयर’ घोषित भइन् भने इंग्ल्यान्ड तथा चेल्साकी हाना ह्याम्पटन उत्कृष्ट महिला गोलकिपर बनिन्।
फिफाका अनुसार २०२४ अगस्ट ११ देखि २०२५ अगस्ट २ सम्मको प्रदर्शनका आधारमा विज्ञ प्यानलले छोटो सूची तयार गरेको थियो।
त्यसपछि राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकको मतबाट विजेता तय गरिएको हो।
प्रतिक्रिया 4