३ पुस, बुटवल । अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा तोकिएको मितिमा निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् ।
बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खनालले निर्वाचनको विकल्प खोजिए अर्को राजनीतिक अस्थिरता निम्तिने र मुलुक फेरि अनिश्चयको बाटोमा धकेलिने बताए ।
‘तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गराउन सरकार निर्वाचन कार्यतालिका अनुसार अघि बढेको छ,’ अर्थमन्त्री खनालले भने, ‘आमरूपमा अहिले चुनावको विकल्प छैन,विकल्प खोज्नु भनेको अर्को प्रकृतिको राजनीतिक अस्थिरता निम्त्याउनु र मुलुकलाई फेरि अनिश्चयको बाटोमा धकेल्नु हो भन्नेमा राजनीतिक दल, सरकार र नेपाललाई सहयोग गर्ने विदेशी मित्र राष्ट्रहरू सहमत छन् ।’
निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले सुशासन दिने र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु सरकारको दायित्व भएको बताए ।
नयाँ निर्वाचित सरकारले मात्रै संविधान संशोधन र राजनीतिक सुधारको काम अघि बढाउने उनले स्पष्ट पारे ।
अर्थमन्त्री खनालले राजनीतिक स्थिरता विना आर्थिक सूचक राम्रा हुन नसक्ने बताए । अन्तरिम सरकारले करका दर हेरफेर गर्ने गरी नीति र कानुन परिवतर्न गर्न नसक्ने अर्थमन्त्री खनालले स्पष्ट पारे ।
जेनजी आन्दोलनको केही समयसम्म मुलुकको अर्थतन्त्रबारे अन्योलता उत्पन्न भएपनि विस्तारै अर्थतन्त्र लयमा आउन थालेको उनले बताए ।
विदेशी मुद्रा सञ्चिती,भुक्तानी सन्तुलन, पर्याप्त बैंकिङ तरलता, इतिहासमै कम मूल्यवृद्धि जस्ता सूचकले लगानीको वातावरण बन्नुपर्नेमा अझै बन्न नसकेको स्वीकारे ।
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई
उद्घाटन समारोहमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार आचार्यलाई प्रदान गरिएको हो ।
आचार्यलाई अर्थमन्त्री खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशी सहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरेका हुन् ।
प्रतिक्रिया 4