News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले भारतमाथि चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै 'पानीलाई हतियार'का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ।
- उपप्रधानमन्त्री इशाक दारले भारतको यस्तो कदमले सन् १९६० को सिन्धु जल सन्धि उल्लङ्घन गरेको र क्षेत्रीय शान्तिमा खतरा पुर्याएको बताए।
- दारले भारतले पाकिस्तानको कृषि संवेदनशील समयमा पानीको प्रवाहमा हेरफेर गरिरहेको र यसले मानवीय सङ्कट सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
४ पुस, इस्लामाबाद । पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ ।
उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शुक्रबार यस्तो कदमले विश्व बैंकको मध्यस्थतामा सन् १९६० मा भएको सिन्धु जल सन्धिको उल्लङ्घन गरेको र यसले क्षेत्रीय शान्ति तथा स्थिरतालाई गम्भीर खतरा पुर्याएको बताए ।
पाकिस्तानको विदेश मन्त्रालयले चेनाब नदीबाट अनियमित रूपमा पानी छोडिएको विषयमा स्पष्टीकरण माग्दै नयाँदिल्लीलाई पत्र लेखेको एक दिनपछि दारको यो प्रतिक्रिया आएको हो ।
उनका अनुसार भारतले पाकिस्तानको कृषि चक्रको अत्यन्त संवेदनशील समयमा पानीको प्रवाहमा हेरफेर गरिरहेको छ, जसले किसानको जीविकोपार्जन मात्र नभई, देशको खाद्य तथा आर्थिक सुरक्षालाई समेत जोखिममा पारेको छ । चेनाब नदीबाट हालै भएको अनियमित पानी छोडाइ यसै हप्ता पत्ता लागेको उनले जानकारी दिए ।
दारले यस्तो कार्यलाई अवैध र गैरजिम्मेवारपूर्ण भन्दै यसबाट पाकिस्तानमा मानवीय सङ्कट सिर्जना हुन सक्ने चेतावनी दिए ।
पाकिस्तान र भारतबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण रहँदै आएको छ । सन् १९४७ मा ब्रिटिस औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरेयता दुवै देशबीच दुई पटक युद्ध भइसकेका छन् ।
यस विषयमा भारत सरकारको तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । यसअघि सेप्टेम्बर महिनामा पनि यस्तै कदमका कारण बाढीको अवस्था झनै बिग्रिएको र पूर्वी पाकिस्तानका सयौँ गाउँ ध्वस्त भएको अधिकारीहरूले बताएका थिए । त्यतिबेला भारतले मनसुनजन्य वर्षासँगै सम्भावित बाढीबारे पाकिस्तानलाई सचेत गराएको दाबी गरेको थियो ।
काश्मीर क्षेत्र भारत र पाकिस्तानबीच विभाजित छ र दुवै देशले यसमाथि पूर्ण दाबी गर्दै आएका छन् । विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिले दुवै देशका लागि जीवनरेखा मानिने नदी प्रणालीको पानी बाँडफाँटको व्यवस्था गरेको छ । यो सन्धि सन् १९६५ र १९७१ का युद्ध तथा सन् १९९९ को प्रमुख सीमा झडपका बाबजुद पनि कायम रहँदै आएको छ ।
सन्धिअनुसार भारतको नियन्त्रणमा पूर्वी नदीहरू रावी, सतलज र ब्यास पर्छन् भने पाकिस्तानको नियन्त्रणमा पश्चिमी नदीहरू झेलम, चेनाब र सिन्धु पर्छन्, जुन अधिकांश काश्मीर क्षेत्र हुँदै बग्छन् । तर भारतको नियन्त्रणमा रहेको कश्मीरमा २६ जना पर्यटक मारिएको घटनापछि भारतले एकतर्फी रूपमा यो सन्धि स्थगित गर्दै अप्रिल महिनामा पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध घटाएको थियो ।
यस कदमपछि हप्तौँसम्म तनाव चर्कँदै गएको थियो र मे महिनामा दुवै देशबीच प्रतिशोधात्मक मिसाइल आक्रमणसम्मको अवस्था सिर्जना भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको मध्यस्थता गरेको घोषणा गरेपछि तनाव केही कम भए पनि त्यसयता दुवै पक्षले सम्बन्ध सामान्य बनाउने ठोस पहल गरेका छैनन् ।
कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दै दारले स्पष्ट शब्दमा भने, ‘पानी जीवन हो, यसलाई हतियार बनाउन सकिँदैन ।’
उनले पाकिस्तानले यस विषयमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र महासभाका अध्यक्षलाई समेत जानकारी गराइसकेको र स्थितिलाई सम्बोधन गर्न सक्रिय भूमिका खेल्न आग्रह गरिएको जानकारी दिए ।
दारका अनुसार पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले यस वर्षको सुरुमै पानीको प्रवाह रोक्ने वा डाइभर्ट गर्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य’ मानिने चेतावनी दिएको थियो ।
उनले भारतले सन्धिअन्तर्गत आवश्यक पर्ने अग्रिम सूचना, हाइड्रोलोजिकल तथ्याङ्क तथा संयुक्त निरीक्षण संयन्त्रको साझेदारी रोकेको आरोप पनि दोहोर्याए ।
प्रतिक्रिया 4