+
+
Shares
जेनजी आन्दोलनका घाइतेहरूको याचना :

जेनजी घाइते : कसैले मागे कृत्रिम अंग, कसैले गरिखाने मेलो

आन्दोलनमा सयौं युवा घाइते भए, ७६ जना शहीद भए । तर आधा जीवन गुमाएका घाइते जेनजीलाई सरकारले दीर्घकालीन राहत दिन नसकेको परिवारको गुनासो छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ पुष ६ गते १९:४६
बायाँबाट क्रमशः दौलत थापा, मुकेश अवस्थी, राकेश महतो, राजेश पटेल र सन्तोष बोहोरा ।

६ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलन क्रममा टाउकोमा गोली लागेका सन्तोष बोहराले दुवै आँखा गुमाए । त्रिवि शिक्षण अस्पतालको न्युरो वार्डमा टोलाइरहेका सन्तोषको टाउकोमा पट्टी बाँधिएको छ । देख्न सक्दैनन्, नाकले गन्ध थाहा पाउँदैन, एकापट्टिको कानले सुन्दैनन् ।

बोल्न खोज्छन्, शब्दहरू बीचमै अड्किन्छन् । उनलाई दिन–रात एकनास छ । बेलुका निद्रा लाग्ने औषधि खुवाएर सुताउनुपर्छ । बेलाबेला बर्बराइरहन्छन् ।

सन्तोषकी चार वर्षीया छोरी छिन् । बुबा–आमा काम गर्न नसक्ने भइसके । तै पनि, ५६ वर्षीय बुवा चन्द्रबहादुर बोहराले २६ वर्षीय छोरा सन्तोषलाई ६ महिनाको शिशुलाई झैं हेरचाह गर्नुपरेको छ । श्रीमती निर्मला पनि दिनरात स्याहारसुसारमा खटिएकी छिन् ।

एक जनाको सहारा बिना सन्तोष उठ्बससमेत गर्न सक्दैनन् । बा–आमाको पालनपोषण र छोरीको शिक्षाको लागि बोहोरा परिवार सरकारको राहत कुरेर बसेको छ । छोरीको शिक्षाको व्यवस्थाका लागि सरकारसँग अनुनय गर्दै आएको छ ।

गत कात्तिकमा प्रधानमन्त्री सुशीला कार्कीले सन्तोषलाई भेट्दा छोरीलाई शिक्षाको व्यवस्था गर्ने आश्वासन दिएकी थिइन् । त्यसपछि चन्द्रबहादुरले निरन्तर प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरिरहे । तर कुनै प्रतिक्रिया आएन ।

‘मैले धेरै पटक फोन गरें, फोन उठेन । म्यासेज पठाएँ, जवाफ आएन,’ चन्द्रबहादुर भन्छन्, ‘२६ वर्षीय छोरालाई ६ महिनाको बच्चा जसरी हेरचाह गरिराख्नु परेको छ । तर सरकारले आफूले बोलेको वचन पूरा गरेन ।’

छोरालाई हेर्दै चन्द्रबहादुर प्रश्न गर्छन्, ‘यो साँच्चै जेनजी सरकार हो त ?’

चन्द्रबहादुर दुखेसो पोख्छन्, ‘सयौं युवा घाइते भए, ७६ जना शहीद भए । तर आधा जीवन गुमाएका सन्तोष जस्ता जेनजीलाई सरकारले दीर्घकालीन राहत दिन सकेन ।’

गत कात्तिकदेखि काठमाडौंमा रहेको बोहोरा परिवार होटलमा बस्दै आएको छ । अस्पतालमा नपाइने औषधि, होटलमा बस्न र खान गरेर दुई लाख खर्च भएको निर्मलाले बताइन् ।

श्रीमती निर्मलासँग सन्तोष ।

सरकारले परिचयपत्रमा सन्तोषलाई गम्भीर घाइतेमा राखेर मासिक १८ हजार रुपैयाँ दिने निर्णय गरेको छ । तर निर्मलाका अनुसार यो रकमले उपचार र परिवारको खर्च धान्न पर्याप्त छैन ।

‘नेपालगञ्जमा उपचार गर्दा १० लाख खर्च भयो । तर सरकारले केही वास्ता गरेको छैन,’ निर्मलाले भनिन्, ‘ऋणपान गरेर कतिजेञ्ल उपचार गर्न सकिएला खै !’

निर्मलालाई सबैभन्दा बढी चिन्ता छोरीको भविष्यको छ । एलकेजीमा पढ्दै गरेकी छोरीको स्कुल फि चार महिनादेखि तिर्न नसकेको बताउँदै उनले सरकारसँग छोरीको शिक्षा सुनिश्चित गर्न आग्रह गरिन् ।

‘उहाँलाई अब जीन्दगीभर नै एक जनाले हेरचाह गर्नुपर्छ । बुबाआमा बुढाबढी भइसक्नुभयो । छोरी पठाउन सरकारले हेरिदियोस्,’ निर्मला भन्छिन्, ‘सुर्खेतमै मलाई करारमा जागिर दिए बिहान–बेलुका श्रीमान्‌को हेरचाह गरेर दिउँसो काम गर्न सक्थें ।’

प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीसम्मले भेट्दा ‘गर्छौं, गर्छौं’ मात्र भनेर आश्वासन दिएको उनको गुनासो छ ।

सन्तोषलाई अस्पतालले डिस्चार्ज गरेर घर पठाउने तयारी गरेको छ । तर परिवार आर्थिक अभाव र सरकारको सहयोगको आशमा काठमाडौंमै अल्झिएको छ ।

०००

ट्रमा सेन्टरको पाँचौ तलाको एक कोठामा डडेल्धुराका २२ वर्षीय मुकेश अवस्थी पल्टिरहेका छन् ।

बायाँ घुँडामुनिको भाग काटिएको छ । खुट्टाको पिँडुलामा ग्राफ्ट गरिएको छाला विस्तारै पलाउँदै छ ।

अस्पतालले केही दिनमा उनलाई डिस्चार्ज गर्दैछ । त्यसपछिका दिन उनका लागि अझै कष्टकर हुने छन् । अहिलेसम्मको उपचार खर्च त सरकारले बेहोरिरहेको छ । त्यसपछि जीवन कसरी चलाउने ? प्रश्न पेचिलो छ ।

ट्रमा सेन्टरमा उपचाररत मुकेश ।

२३ भदौको मध्याह्नतिर अवस्थीको देब्रे फिलामा अचानक गोली पस्यो र भित्रै विस्फोट भयो ।

उनले इन्जिनियर बन्ने सपना बुनेका थिए । केही महिना भित्रमै थप अध्ययनका लागि अष्ट्रेलिया उड्ने योजना बुनेका थिए । तर इन्जिनियर बन्ने सपनामा तुसारापात भयो ।

आन्दोलन भएको १०० दिन पुग्दा पनि अवस्थीको स्वास्थ्य पूर्ण रूपमा सुधार हुन सकेको छैन । एक खुट्टा गुमाएका उनले सरकारले ल्याएको घाइतेहरूका लागि भत्ता तथा सुविधासम्बन्धी कार्यविधिप्रति असन्तुष्टि व्यक्त गरे ।

‘मलाई पैसा चाहिएको छैन । इन्जिनियर बन्ने सपना छ । विदेश वा नेपालमै इन्जिनियरिङ पढ्ने छात्रवृत्ति दिइयोस् भन्ने छ,’ उनी भन्छन् ।

जीवनयापन सहज रूपमा चलाउन नक्कली खुट्टा हाल्ने सोचेका छन् । तर राम्रो खुट्टाको दाम लाखौं पर्छ । त्यो उनको परिवारको क्षमताभन्दा टाढाको कुरा हो ।

‘राम्रो नक्कली खुट्टालाई ४०–५० लाखभन्दा माथि पर्नेरहेछ । मेरो हैसियत छैन । त्यसैले यो दायित्व सरकारले नै लिनुपर्छ । राज्यले नै दीर्घकालीन अपांगका लागि रोजगारीको व्यवस्था गर्नुपर्छ,’ मुकेश भन्छन् ।

विदेशमा पाइने नक्कली खुट्टा लगाएपछि सामान्य मानिसजस्तै हिँडडुल गर्न, दौडन सकिने हुनाले सरकारले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

सामान्य प्लास्टिकको कृत्रिम खुट्टाले २ किलोमिटर मात्र हिँड्न सकिने र जीवन निर्वाहमा कठिनाइ हुने उनको भनाइ छ । ‘बायोनिक लेग भए १०० किलोमिटर पनि हिँड्न सकिन्छ । सरकारले व्यवस्थापन गर्नुपर्छ,’ मुकेशले भने ।

घाइतेको वर्गाीकरणमा उनी गम्भीर घाइतेमा परेका छन् । तर सरकारले तोकेको जीवन निर्वाहको भत्ता आफूलाई आवश्यक नभएको भन्दै पुनर्स्थापना र भविष्यका लागि विशेष सहयोग माग गर्छन् ।

०००

२३ र २४ भदौमा जेनजी विद्रोह भयो । त्यसपछि के भयो ? दौलत थापालाई केही थाहा छैन । त्यसपछिका दिनमा न उनले घाम देखे, न त उज्यालो । न परिवारको आवाज सुने, न त घरमा पकाएको खानाको स्वाद । उनका लागि संसार नै ठप्प भयो ।

‘म कहाँ छु, को हुँ ? उनलाई यसको कुनै भेउ छैन । उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आईसियूमा उपचार भइरहेको छ ।

अस्पतालमा दौलत थापाको रेखदेख गर्दै श्रीमती यमकला ।

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको टाउकोमा ढुंगा वा इँटा प्रहार भयो । त्यही चोटले उनलाई कोमामा पुर्यायो । त्यस रातदेखि हराएको होस तीन महिना बितिसक्दासम्म खुलेको छैन ।

दौलत सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ नवलपुरका हुन् । तर उनको परिवार नयाँ थिमीमा डेरा लिएर बसेको पाँच वर्ष भयो ।

पेसाले ट्रक डाइभर दौलतकै कमाइले परिवार चल्थ्यो । उनका १३ वर्षीय छोरा अहिले ८ कक्षामा पढ्दैछन् ।

‘छोरा कोठामा एक्लै बसिरहेको छ । लाउँलाउँ, खाउँखाउँ उमेरमा छोराले पनि दुःख पायो,’ श्रीमती यमकला ठकुरी भन्छिन् ।

यमकलाले आफ्ना लागि सरकार नभएको महसुस गरेकी छिन् । उनी सरकारसँग माग गर्छिन्– केही क्षतिपूर्ति, उपचारमा लागेको खर्च फिर्ता र रोजगारीको व्यवस्था होस् ।

‘कमाउने मान्छे यस्तो हालतमा हुनुहुन्छ । बालबच्चा पाल्नुपर्छ । कोठा भाडा तिर्नुपर्छ,’ उनी भन्छिन्, ‘आन्दोलनले यस्तो बनायो, सरकारले हामीलाई हेर्नुपर्छ ।’

उपचारका क्रममा स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि परिवारले ठूलो आर्थिक बोझ बेहोरिरहेको छ ।

५ मंसिरमा निमोनिया कारण स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र (बनेपा) बाट रेफर गरेर काठमाडौं मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ ।

परीक्षण र बेड चार्ज निःशुल्क भए पनि बाहिरबाट ल्याउनुपर्ने औषधिमा मात्रै ३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । यो रकम परिवारले तिर्न बाँकी छ ।

यमकला अस्पतालमै बस्दै आएकी छिन् । भक्तपुरबाट दैनिक ओहोरदोहोर गर्नुपर्ने, घर भाडा, छोराको पढाइ र दैनिक खर्चका कारण परिवार ऋणमा डुबेको छ ।

सरकारले मासिक १८ हजार रुपैयाँ सहायता दिने घोषणा गरे पनि परिवार चलाउनका लागि पर्याप्त नभएको उनी बताउँछिन् ।

उनले सरकारसँग दीर्घकालीन सहयोग, जागिर वा सानो व्यवसाय गर्न मिल्ने सहुलियत ऋण माग गरेकी छन् । ‘१८ हजारले छोरा पढाउनु कि, खानु । त्यसमाथि पनि उहाँलाई एक जनाले हेरचाह गरिराख्नुपर्छ,’ यमकलाले भनिन्, ‘सरकारले छोराको पढाइ निःशुल्क र मलाई कुनै जागिर वा व्यवसाय गर्न खर्च दिन्छ भन्ने आशा छ ।’

०००

इलामको सूर्योदय नगरपालिका–१० का राजेशले सुन पसलमा काम गरेर परिवार पाल्दै आएका थिए । परिवारमा श्रीमती, सात वर्षकी छोरी, आमा र एक भाइ छन् ।

१३ वर्ष अगाडि नै रोजगारीको सिलसिलामा विदेश पुगेका उनका बुबाको निधन भएको थियो । १५ वर्षको उमेरमा राजेशमाथि परिवारको जिम्मेवारी आइलाग्यो ।

घरको आर्थिक अवस्था कमजोर कारण परिवार पाल्न उनले गाँउमै कालीगढको काम सिके ।

खुट्टा गुमाएका राजेश ।

काम सिकेपछि उनलाई बिर्तामोड झर्ने आँट आयो । त्यही आँट र आत्मविश्वासले बिर्तामोडमा परिवारको गुजारा चलिरहेको थियो ।

भदौ २४ को आन्दोलनका कारण राजेशले दाहिने खुट्टा गुमाए । अहिले परिवारको धुरी-खाँबोमा धमिरा लागेका छ । परिवारमाथि अकल्पनीय संकट आइपरेको छ ।

‘अब काम गर्न सक्दिनँ । आमा पनि दीर्घरोगी हुनुहुन्छ । सानी छोरीको भविष्य कसरी बनाउने चिन्ता छ,’ राजेशले भावुक हुँदै भने ।

सरकारप्रति राजेशको अपेक्षा छ– घाइतेहरूलाई आर्थिक सहयोग, सन्तानलाई शिक्षा र रोजगारीको व्यवस्था गरिदियोस् ।

‘म जस्ता हजारौं घाइतेहरू छन् । हाम्रा छोराछोरीको शिक्षामा सरकारले केही हेरिदिनुपर्छ,’ उनी भन्छन् ।

जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका राजेश पटेलले सरकारले घाइतेहरूको उपचार र पुनर्स्थापनामा कुनै ठोस कदम नचालेको गुनासो गरे ।

‘अप्रेसन निःशुल्क भयो । तर औषधि किन्दा लाखौं खर्च भयो । अब नक्कली खुट्टा लगाउन सरकारले व्यवस्था गरिदिनुपर्छ,’ राजेश भन्छन् ।

छोरीको पढाइ र परिवारको भविष्यलाई लिएर चिन्तित उनी सरकारले घाइते परिवारलाई नेपालमै रोजगारी सिर्जना गरेर बस्ने वातावरण बनाउनुपर्ने माग राख्छन् ।

‘यो आन्दोलन देशमै रोजगारी पाउनका लागि थियो । तर सरकार अझै पनि घाइतेका परिवार विदेश जाँदा सहुलियत गर्ने कार्यक्रम ल्याउँछ,’ राजेश आक्रोसित हुँदै भन्छन्, ‘वर्तमान सरकारबाट खासै आशा राख्न सकिएन ।’

०००

२३ भदौको जेनजी आन्दोलनका क्रममा राकेश महतोको कम्मरमा गोली लाग्यो । त्यो एक गोली, जसले उनको सुनौलो भविष्य भताभुंग बनाइदियो । र, रुमानी सपना चकनाचुर बनाइदियो ।

यतिबेला राकेश अस्पतालको शय्यामा लम्पसार छन् । उनको कम्मर मुनिको भाग चल्दैन । दुःखजिलो गरेर पढ्ने, जागिर खाने अनि परिवारलाई सुख दिने लक्ष्य थाती नै रहे । अब त्यो लक्ष्य पूरा हुन्छ वा हुँदैन ? यसको कुनै जवाफ छैन ।

सर्लाहीका राकेश गरिब परिवारमा जन्मिए । दुःख र अभाव झेल्दै हुर्किए । भोकसँग जुध्दै स्कुल गए । यी सबै सहनुको एउटै कारण थियो, ‘कुनै दिन ठूलो हुनेछु, जागिर खानेछु, आमाबुबाको दुःख सधैंका लागि हटाउनेछु । तर आज उनी स्वयं दुःखको भुमरीमा छन् ।

राकेश सरकारी सेवामा जान चाहन्थे । त्यसैका लागि ६ वर्षअघि उच्चशिक्षाका लागि बिरानो शहर काठमाडौं आए । बीबीएसमा अध्ययनरत राकेश दुई वर्षदेखि निरन्तर लोकसेवाको तयारीमा जुटेका थिए । लगनशिलताको फल पनि देखिन थालेको थियो । पहिलो पेपरमा तीन पटक नाम निस्किसकेको थियो ।

‘यसपालि त जसरी पनि निकाल्छु भनेर सोचेको थिएँ । तर भाग्यले अर्कै खेल खेल्यो,’ यति भन्दै गर्दा राकेशका आँखा रसाए ।

राकेश स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र (बनेपा)मा उपचाररत छन् ।

चिकित्सकका अनुसार गोलीले राकेशको मेरुदण्ड (एलथ्री) पूर्ण रूपमा भाँचिएको र त्यस भित्रको स्पाइनल कर्ड (सुसुम्ना नसा) मा करिब ९० प्रतिशत क्षति पुगेको छ ।

नसामा क्षति भएकोले कम्मरमुनिको भाग र दुवै खुट्टा अचल भएको छ । उनलाई दाइ राजेशले हेरचाह गरिरहेका छन् । तीन महिना बितिसक्दा पनि स्वास्थ्यमा सुधार भएको छैन ।

राजेशलाई अब चिन्ता छ– यस्तै हो भने जीवन कटाउन मुस्किल पर्नेछ ।

राजेश एक्लैको कमाइले घरको गुजारा चल्थ्यो । उनी काठमाडौंमा रहँदा घरमा भएका बुढा बाआमा र कलिला सन्तानको मायाले रातभर निदाउन सक्दैनन् ।

‘तीन महिनादेखि भाइको रेखदेखमा छु । बुढा भएका आमा–बुवाले के खानुभएको होला,’ राजेश भावुक हुँदै भन्छन्, ‘भाइको हालत यस्तो छ । कोही सोच्न सकेको छैन ।’

राजेशले कक्षा ८ मा हुँदै पढाइ छाडे । घरको आर्थिक अवस्था कमजोर हुँदा कमाउन भारत गए ।

दाजुसँग राकेश ।

‘सबै दाजुभाइ यस्तै नहोउन् भनेर भाइ (राकेश) लाई पढाएँ,’ उनी भक्कानिए, ‘तर भाइ जीवनभरको अपाङ्ग भयो ।’

सरकारलाई राजेशको प्रश्न छ, ‘सरकारकै गोलीले भाइको यो हालत भयो । उसको जिन्दगीभरको खर्च र सम्मान कसले बेहोर्छ ? सरकारले केही व्यवस्था गर्छ कि गर्दैन ।’

राकेश बेडमा सुतिरहन्छन्, यताउता हिँड्न ह्विलचेयरको सहारा चाहिन्छ । खुट्टा र कम्मरमा निरन्तर पीडा भइरहन्छ । कम्मरमुनिको भाग पूर्ण रूपमा अचल छ ।

पढाइ अधुरै छ । लोकसेवाको तयारी रोकिएको छ । विवाह भएको छैन । आर्थिक समस्या दिनदिनै बढ्दै गएको छ । उपचार खर्च धान्न गाह्रो भइसकेको छ ।

‘खुट्टा नचले पनि हात र दिमाग त चलिरहेछ नि,’ उनी भन्छन्, ‘एक्लै कतै जान सक्दिनँ, सरकारले केही राहत दिन्छ कि भन्ने आशा छ ।’

गम्भीर घाइतेलाई आजीवन फ्लोअप आवश्यक

स्पाइनल कोर्ड इन्जुरी भएका घाइतेहरूलाई दीर्घकालीन रूपमा नियमित मेडिकल फलोअप आवश्यक पर्ने चिकित्सक बताउँछन् । स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार स्पाइनल इन्जुरीको प्रकृतिअनुसार फलोअपको आवश्यकता फरक पर्छ ।

‘साधारण फ्र्याक्चर वा सिम्पल इन्जुरी भएकाहरूलाई लामो समय फलोअप नपर्न सक्छ । तर स्पाइनल कोर्ड इन्जुरी भएपछि कम्प्लिट प्यारालाइसिस भएको खण्डमा जीवनभरि नै फलोअपको संयन्त्र राख्नुपर्छ,’ डा. ढकालले अनलाइनखबरसँग भने ।

डा. राजु ढकाल ।

यस्ता बिरामीहरूलाई सामान्यभन्दा चारदेखि १० गुणा बढी फलोअप चाहिने र यसले शारीरिक मात्र होइन, आन्तरिक अंगहरू (जस्तै पेट, आन्द्रा, कलेजो) मा पनि असर पार्ने उनले बताए ।

आन्दोलनका क्रममा ढाडमा गम्भीर चोट लागेका घाइतेहरूको स्वास्थ्य अवस्थालाई लिएर डा. ढकालले मनोसामाजिक समस्या पनि उत्तिकै गम्भीर हुने औंल्याए ।

डा. ढकाल भन्छन्, ‘यस्ता इन्जुरी भएका युवामा गिल्ट फिलिङ, सेल्फ इस्टिम कम हुने, परिवारमा निर्भर हुनुपर्ने जस्ता मानसिक समस्या निम्त्याउँछ ।’

यसले सम्पूर्ण परिवारलाई नै प्रभावित पार्ने भएकाले स्वास्थ्यसँगै सामाजिक र आर्थिक पुनर्स्थापना पनि आवश्यक रहेको उनको जोड छ ।

डा. ढकालले सरकारले यस्ता घाइतेहरूलाई रोजगारीको व्यवस्था, सहज जीवनयापनका लागि सहयोग र भोकेसनल ट्रेनिङको प्याकेज उपलब्ध गराउनुपर्ने सुझाव दिए ।

‘पहिलेको जागिरमा फर्किन नसक्नेहरूलाई राज्य र कम्पनी मिलेर पुरानो तलबको केही प्रतिशत टपअप गरेर सहयोग गर्न सकिन्छ, जसरी अस्ट्रेलिया र अमेरिकामा गरिन्छ,’ उनले उदाहरण दिँदै भने ।

सरकार भन्छ– बहुआयामिक सहयोगको तयारी गरिरहेका छौं

जेनजी आन्दोलनका घाइतेहरूको जीवनयापन सहज बनाउन सरकारले बहुआयामिक सहयोगको तयारी गरिरहेको स्वास्थ्य मन्त्री डा. सुधा शर्मा बताउँछिन् ।

आन्दोलनमा घाइते भएका व्यक्तिको अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै जीवन निर्वाह भत्ता, उपचार, पुनर्स्थापना तथा रोजगारीका विषयमा मन्त्रालयहरूबीच समन्वय भइरहेको मन्त्री शर्माले स्पष्ट पारिन् ।

उनका अनुसार घाइतेमध्ये कतिपयको खुट्टा गुमेको अवस्था रहेकाले कृत्रिम खुट्टा जडानका लागि पहल आवश्यक छ ।

‘घाइतेहरूको अवस्था फरक–फरक छ । कसैको अध्ययन अधुरो छ, कसैको रोजगारी गुमेको छ,’ उनले भनिन्, ‘त्यसैले एउटै कार्यविधिले सबै समस्या समाधान गर्न कठिन देखिएको छ ।’

घाइते परिवारका सदस्यहरू, विशेषगरी नाबालक बालबालिकाको शिक्षामा समेत सरकारले ध्यान दिइरहेको उनको भनाइ छ ।

आन्दोलनमा गम्भीर घाइतेका छोराछोरीलाई छात्राबास वा बालगृहमा राखेर पढाइको व्यवस्था गर्ने, साथै घाइतेलाई योग्यताअनुसार रोजगारी खोजिदिने प्रयास भइरहेको उनले बताइन् ।

मन्त्री शर्माले यस विषयमा सरकारका विभिन्न मन्त्रालयसँग छलफल भइसकेको र व्यक्तिगत आवश्यकताका आधारमा सहयोग उपलब्ध गराउने नीति लिइएको बताइन् ।

स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतम ।

‘नीतिगत रूपमा एउटै निर्णय लागु गर्न नमिल्ने अवस्था छ । तर जसलाई जे आवश्यक छ, त्यति सहयोग गर्ने हामी प्रतिबद्ध छौं,’ मन्त्री शर्माले अनलाइनखबरसँग भनिन्, ‘कुनै संघसंस्थासँग समवन्य गरेर पनि घाइतेलाई जीवनयापन गर्न रोजगारीको व्यवस्था गर्छौं ।’

मन्त्रालय अनुसार १०० जनाको हाराहारीमा अति गम्भीर घाइते छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार जेनजी आन्दोलनमा २ हजार ५२२ घाइते भएका छन् । जसमध्ये ७०० जनाले मात्रै घाइते कार्ड लिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेनजी घाइतेले परिचयपत्र लिन नमान्नुमा दुई कारण रहेको औंल्याए ।

पहिलो– सीसीटीभी फुटेजमा देखिएकाहरू जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र लिन जाँदा समातिने डर रहेको उनले बताए ।

दोस्रो– आगामी निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्ने र परिचयपत्रको रेकर्डका आधारमा आफूहरूलाई आतंककारी घोषणा गरेर थुन्न सक्ने डर घाइतेहरूमा रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले घाइतेहरूलाई परिचयपत्र लिन बारम्बार आग्रह गरिरहेको छ । परिचयपत्र लिएकाहरूलाई मात्र राहत र निःशुल्क उपचारको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

२४ मंसिरको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ता दिने निर्णयसमेत गरेको छ ।

घाइतेहरूलाई अति गम्भीर, गम्भीर र मध्यममा वर्गीकरण गरेर भत्ता दिने व्यवस्थासहितको आन्दोलनमा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अति गम्भीर घाइतेलाई १८ हजार, गम्भीर घाइतेलाई ९ हजार र मध्यम घाइतेलाई ४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने व्यवस्था गरेको छ । त्यसैगरी फ्लोअपमा आउनुपर्ने बिरामीलाई कार्ड देखाएर सरकारी अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?