+
+
Shares

‘अस्तित्व’ को प्रश्न उठाउँदै कुलमानको निष्कर्ष- नाम, चिह्न र पद सबै उताको, हाम्रो के ?

‘पार्टीको नाम र चुनाव चिह्न हाम्रो रहयो भने अध्यक्ष पनि दिन्छौं । प्रधानमन्त्री पनि छोड्छौं । यसका लागि उहाँहरू (रवि/बालेन) ले आँट गर्नुपर्छ,’ कुलमानको निष्कर्ष सुनाउँदै एक केन्द्रीय सदस्यले भने ।

दिनेश गौतम दिनेश गौतम
२०८२ पुष १२ गते २२:२०

१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव अस्वीकार गर्‍यो ।

पार्टीको नाम, चुनाव चिह्न, सभापति, प्रधानमन्त्री सबै रास्वपाबाट हुने भएपछि उज्यालो पार्टीले प्रस्ताव अस्वीकार गरेको हो ।

शनिबार दिउँसो १ बजेदेखि साझ ५ बजेसम्म बौद्धको एक होटलमा बसेको उज्यालो पार्टीको बैठका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले रास्वपाको प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।

‘विन विन हुनुपर्छ । मिल्ने भनेपछि कसैको अस्तित्व पूरै सकिने भन्ने हुँदैन । अरुको केही होइन भन्ने खालको वातवरण हुन हुँदैन । सबैलाई एउटा शक्तिको रुपमा स्वीकार गरेपछि शक्तिको रुपमा लिनुपर्छ,’ बैठकपछि एक केन्द्रीय सदस्यले भने ।

रास्वपाले अवमूल्यन गरेको निष्कर्ष उज्यालो पार्टीले निकालेको छ ।

‘सभापति, भावी प्रधानमन्त्री पनि डिक्लियर गरेर जाने । सबै उतै राख्ने । अनि मिलेर जाऊ भन्ने ? यो सामुहिक न्याय र शक्तिको हिसाबले उपयुक्त छैन,’ पार्टीको निष्कर्ष अर्का एक केन्द्रीय सदस्यले बताए ।

पार्टीको नाम र चुनाब चिह्न उज्यालो नेपाल पार्टी र चिम राखेमा आफूहरू सभापतिदेखि प्रधानमन्त्रीसम्म छोड्न तयार रहेको ती सदस्यले बताए ।

‘पार्टीको नाम र चुनाव चिह्न हाम्रो रहयो भने अध्यक्ष पनि दिन्छौं । प्रधानमन्त्री पनि छोड्छौं,’ ती सदस्यले भने, ‘यसका लागि उहाँहरू (रवि/बालेन) ले आँट गर्नुपर्छ । त्यसैले उज्यालो नेपाल पार्टीले सहअस्तित्वको कुरा गरेको हो ।’

एकता हुँदा दुई वटा अध्यक्ष बनाएर पनि जान सकिने प्रस्वात उज्यलो पार्टीको छ । ‘तीन वटा शक्ति भनेपछि दुई वटा अध्यक्ष बनाएर पनि जान सकिन्छ । कसैलाई पनि अवमूल्यन गरेर एकता गर्न गाह्रो हुन्छ,’ बैठकको निष्कर्ष ती सदस्यले सुनाए ।

मुख्यत: रवि लामिछाने, बानेन शाह र कुलमान घिसिङबीच शक्ति बाडफाँडमा कुरा मिलेको छैन ।

‘पावर सेयरिङमा कुरा मिलिराखेको छैन । रास्वपाले अलि पेल्न खोजेको जस्तो व्यवहार गर्‍यो । बालेनज्यूलाई पनि प्रधानमन्त्री बाहेकको कुरामा खासै चासो रहेको देखिएन । अनि, एक जना सभापति, अर्को प्रधानमन्त्री, हामीलाई चाहिँ के ? रास्वपाको रणनीति बालेन र रास्वपा मिलेमा उज्यालो नेपाल आफैं लतारिएर आउँछ, त्यसैले धेरै वास्ता नगर्दा हुन्छ भन्ने बुझाइ रहेछ । तर, यसरी हामी मान्दैनौ,’ बैठकपछि अर्का एक केन्द्रीय सदस्यले भने ।

प्याकेजमा सहमति गर्नुपर्ने र रास्वपाको प्रस्तावमा पुनर्विचार निष्कर्ष उज्यालो पार्टीको छ । यद्यपि, एकताको बाँकी संवाद गर्ने जिम्मेवारी उज्यालो पार्टीले अध्यक्षलाई दिएको छ  ।

‘सबैको सहअस्तित्वलाई स्थापित हुनेगरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहेको आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनितीक दललाई आह्वान गर्ने निर्णय गरियो,’ पार्टी निर्णयमा भनिएको छ ।

तीन वटै शक्तिका नेताहरू भने जेनजी आन्दोलनको एजेन्डा अनुसार मिल्नुपर्नेमा जोड दिन्छन् ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेकराज सिंहले जेनजी आन्दोलनपछिको परिस्थितिबाट स्थापित एजेन्डा पूरा हुनका लागि वैकल्पिक शक्ति मिल्नुपर्ने बताउँछन् ।

‘जेनजी आन्दोलनपछि अहिलेको परिस्थिति जन्मिएको हो । हामीलाई सुशासन र पुस्तान्तरणको म्यान्डेट छ,’ सिंहले भने, ‘त्यसको एजेन्डा कायम गर्न वैकल्पिक शक्ति नमिलि यी एजेन्डा पूरा गर्न सक्दैनौं । यो एजेन्डा पूरा गर्नका लागि पनि हामी नमिलि हुँदैन ।’

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?