+
+
Shares

रवि–बालेन सहमति : एकतामा खुसी, तर भागबन्डाप्रति जेनजी घाइते असन्तुष्ट

पुरानै दलको शैलीअनुसार नै भागबन्डा भएको भन्दै जेनजी घाइतेले असन्तुष्टि जनाएका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ पुष १३ गते २१:४५

१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भयो ।

आइतबार बिहान भएको सहमतिमा लामिछाने पार्टी सभापति रहने र प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

तर, पुरानै दलको शैलीअनुसार नै भागबन्डा भएको भन्दै जेनजी घाइतेले भने असन्तुष्टि जनाएका छन् ।

ट्रमा सेन्टरमा उपचाररत प्रकाश बोहोरा भन्छन्, ‘एकता भएकोमा खुसी छौं । तर भागबन्डाको विषयले पुरानै दलको कुर्सी केन्द्रित जस्तो देखियो ।’

प्रकाश बोहोरा ।

प्रकाशले पदको भागबण्डालाई गोप्य राखेर बाहिर एकताको सन्देश दिनेको भए अझ राम्रो हुने सुझाव दिए ।

प्रकाशले सहमतिलाई युवा पुस्ताको आकाङ्क्षा पूरा गर्ने उत्कृष्ट कदम रूपमा हेरेका छन् ।

‘रवि र बालेन दुवै नयाँ पुस्ताका प्रतिनिधि नेता हुनुहुन्छ । उहाँहरूको मिलन एकदम राम्रो कुरा हो । युवाहरू अगाडि आउनुपर्छ भन्ने मान्यता यस सहमतिले पूरा गरेको छ,’ उनले अनलाइनखबरसँग भने ।

प्रकाशका अनुसार देश अहिले निर्णायक मोडमा छ र बुढा नेताहरूलाई पाखा लगाएर भिजन भएका युवाहरूले नेतृत्व लिनुपर्ने बेला आएको छ । उनले कुलमान घिसिङसहित रवि र बालेनलाई युवाहरूले खोजेको विकल्पको रूपमा हेरेको बताए ।

सहमतिमा जेनजी आन्दोलनका मागहरूलाई प्राथमिकता दिने उल्लेख भएकोमा प्रकाश खुसी छन् ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै रवि र बालेन ।

‘सहमतिपत्रको पहिलो बुँदामा जेनजीका मागलाई प्राथमिकता दिने भनिएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो,’ प्रकाश भन्छन् ।

उक्त सहमतिले शहीद र घाइतेहरूको बलिदान खेर जाँदैन कि भन्ने आसा रहेको घाइते प्रकाशको भनाइ छ ।

त्यसैगरी राकेश महतो पनि अहिले अस्पतालमा उपचाररत छन् । उनको ढाडमुनिको भाग पूर्ण रूपमा चल्दैन । यस सहमतिलाई पदको भागबन्डा गर्ने शैलीप्रति महतोले कडा असन्तुष्टि व्यक्त गरे ।

‘परिस्थिति निरुपण त राम्रो भयो, तर भागबन्डाको पक्ष मलाई मन परेन,’ महतोले अनलाइनखबरसँग भने, ‘म प्रधानमन्त्री, तिमी सभापति भन्ने हिसाबले भागबन्डा गरेको जस्तो देखियो । यो गलत हो ।’

राकेश महतो

उनले अहिलेको अवस्थामा सबै मिलेर एक ठाउँमा उभिनुपर्ने बताउँदै पुराना नेताहरूलाई हराएर आएका नयाँ पुस्ताले पनि पहिलेकै शैलीमा पद बाँडफाँट गर्नु राम्रो नभएको टिप्पणी गरे ।

‘पहिला शेरबहादुर देउवा, प्रचण्ड र केपी ओलीले पनि यस्तै गरेका थिए । म प्रधानमन्त्री, तिमी राष्ट्रपति । अहिले नयाँ पुस्ताले पनि त्यही गर्‍यो । यो मलाई पटक्कै मन परेन,’ महतोले भने, ‘भागबन्डा गर्नुभन्दा सबै मिलेर भ्रष्टाचारविरुद्ध लड्नुपर्थ्यो ।’

महतोले मिलेर जानु राम्रो भएको तर पदको लोभले भागबन्डा गर्नु गलत भएको दोहोर्‍याए ।

आन्दोलनका क्रममा एक खुट्टा गुमाएका घाइते राजेश पटेलले सातबुँदे सहमतिलाई व्यक्तिगत रूपमा सकारात्मक रूपमा लिन्छन् । उनले यो सहमतिलाई सकारात्मक नै माने पनि यसमा पुरानै दलहरूको जस्तो भागबण्डाको संकेत देखिएको बताए ।

अस्पतालबाट डिस्चार्ज भएपछि घरमा आराम गर्दै राजेश ।

‘व्यक्तिगत रूपमा यो सहमतिबाट खुसी नै छु । हाम्रो पनि चाहना यस्तै एकता हो । यदि कुलमान घिसिङ पनि जोडिनुभयो भने अझ राम्रो हुन्छ । तर यो सहमतिमा पुरानै जस्तो भागबण्डा देखियो,’ पट्टेलले अनलाइनखबरसँग भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने सहमति भएको सन्दर्भलाई जोड्दै पटेल भन्छन्, ‘यसले पुरानै दलहरूको कुर्सी तानातान र पदको लोभ जस्तै देखाएको नि !’

पटेलले अगाडि थपे, ‘उहाँहरू नयाँ परिवर्तनको आसा जगाउन आउनुभएको हो । तर सहमति हुन धेरै समय लाग्नु र पदहरूको बाँडफाँट हेर्दा कतै स्वार्थ त छैन भन्ने प्रश्न उठ्को छ ।’

यद्यपि, यो प्रश्न उठे पनि मिलेर अघि बढ्नु विकल्प नरहेको भन्दै एकै ठाउँमा आउनुलाई सकारात्मक हिसाबले हेर्नपर्ने पटेलले धारणा राखे ।

जेनजी आन्दोलनले उठाएका मुख्य मुद्दाहरू- प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संघीय प्रणाली खारेज र संविधान संशोधन लगायतका विषय भने सम्बोधन नभएको उनको भनाइ छ ।

‘आन्दोलनको एजेन्डा नै पूर्ण रूपमा सम्बोधन भएको छैन । भागबण्डा मन मिलेसम्म राम्रो हुन्छ, तर पुरानै विकल्पभन्दा नयाँ कामहरू हेर्ने मन छ,’ पटेलले भने ।

जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको थियो । आन्दोलनका क्रममा राज्य दमनबाट ७६ ज्यान गएको थियो भने पटेल जस्ता २ हजार ५०० भन्दा बढी घाइते भएका थिए ।

आन्दोलनपछि राजनीतिक परिवर्तन आए पनि जेनजीका मुख्य मुद्दा सम्बोधन नभएको घाइते नेत्रबहादुर थापाको गुनासो छ ।

नेत्रबहादुर थापा

आन्दोलनका क्रममा छातीमा ९ वटा गोली लागेको थापा भन्छन्, ‘जेनजी आन्दोलनबाट उठाएका मुद्दा सम्बोधन भएनन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संघीय प्रणाली खारेज गर्नुपर्ने जस्ता कुरा भएनन् ।’

थापाले चुनावको प्रक्रियालाई पनि पुरानै निरन्तरताको रूपमा हेरे ।

‘यो नहुनुपर्थ्यो । प्रत्यक्ष तरिकाले प्रधानमन्त्रीको निर्वाचन हुनुपर्थ्यो । संविधान संशोधन पनि भएन,’ थापाले भने ।

थापा अहिले घरमै आराम गरिहेका छन् । शरीरमा अझै एक गोली बाँकी नै छ ।

थापाले भने, ‘आउँदा दिनहरूमा रवि र बालेनको कार्यशैली हेर्न बाँकी छ । जे होस्, राम्रो होस् भन्ने मात्र हो ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?