+
+
Shares

फेरि जुटे मधेशका प्रमुख शक्ति

चुनाव चिन्ह– छाता, पार्टी नाम–टुंगिन बाँकी, उपेन्द्र र महन्थको हैसियत समान ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते २२:३९

१३ पुस, काठमाडौं । समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले दिएको समय एक दिन बाँकी रहँदा तराई-मधेशमा बलियो प्रभाव राख्ने दुई शक्तिबीच एकता घोषणा भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालबीच आइतबार साँझ एकता घोषणा भएको हो । नेताहरूका अनुसार केही महिनाको आन्तरिक गृहकार्य पछि एकता घोषणा भएको हो ।

‘दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा नेपाल र लोसपा नेपाल पार्टी एकीकण गर्ने निर्णय गरियो,’ एकताबद्धमा भनिएको छ ।

एकताबारे थप जानकारी भने वक्तव्यमा उल्लेख छैन । विशेषगरी एकीकृत पार्टीको नाम, चिन्ह र नेतृत्वबारे केही नखुलाई वक्तव्य जारी गरिएको छ ।

‘हामी आ–आफ्ना अडानबाट जति पछि हट्न सकिन्छ, त्यति हटेर एक हुने भन्ने निष्कर्षमा पुगेका छौं । त्यसैले धेरै कुरा टुंगिन बाँकी रहँदै एकता घोषणा गरेका हौं,’ उपेन्द्र यादव निकट स्रोतले भन्यो । दुवै पार्टी यसअघि एउटै बनिसकेको पृष्ठभूमि भएकाले पनि बाँकी निर्णयमा समस्या नपर्ने उक्त स्रोतको तर्क छ ।

‘महन्थ ठाकुर सर्वोच्च नेता भएर पार्टी एकता भइसकेकै हो, चुनाव चिन्ह र नाम पनि विगतमा एउटै भएकै हो,’ उपेन्द्र निकट एक नेताले सुनाए । यद्यपि यो एकतापछि भने नाम के राख्ने भन्ने टुंगिन बाँकी रहेको नेताहरू बताउँछन् ।

तर चुनाव चिन्हमा भने सहमति जुटिसकेको नेता मनिष सुमन बताउँछन् । ‘चुनाव चिन्ह छाता नै हुन्छ, भोलि त्यही चिन्हमा बन्दसूची बुझाउँछौं,’ उनी भन्छन् । २०७७ वैशाखमा पनि यी दुई पार्टीबीच एकता भएको थियो, त्यो बेला चिन्ह छाता नै थियो ।

यद्यपि त्यो एकता धेरै टिकेन । २०७८ भदौमा पुग्दा महन्थ ठाकुरको नेतृत्वमा लोसपा बन्यो, चुनाव चिन्ह साइकल लिए । २०७९ को चुनावमा उनीहरूको चुनाव चिन्ह मात्र नभएर गठबन्धन पनि अलग–अलग बन्यो ।

जसपाले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा लोसपाले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबनधनबाट भाग लियो । मधेशका दुई ठूला शक्ति फुट्दा चुनावी परिणाम भने एमाले र कांग्रेसको पोल्टामा गयो । १६ वर्षपछि मधेशमा फेरि एमाले र कांग्रेसको बर्चश्व स्थापित भयो । एमाले पहिलो र कांग्रेस दोस्रो शक्ति बन्यो ।

२०६४ सालको मधेश आन्दोलनपछि स्थापित जसपा तेस्रो र लोसपा पाँचौ शक्तिमा सीमित बन्यो । ‘२०७९ सालको चुनावी नतिजाले नै हामी मिल्नुपर्छ भन्ने सन्देश दिएको थियो । मधेशी जनताको चाहना पनि थियो,’ सुमन भन्छन्, ‘एकातिर मिल्नुपर्छ भन्ने दबाव थियो भने अर्कातिर छुट्टिनुपर्ने कारण थिएन ।’

मिल्नुपर्ने आवश्यकता बोध गरेरै दुवै तर्फबाट एकताको गृहकार्य बढिरहेका बेला जेनजी आन्दोलनले थप बल पुगेको उनी बताउँछन् । ‘मिल्नुपर्छ भन्ने कुरालाई जेनजी आन्दोलन पछि थप बल पुग्यो,’ उनी भन्छन्, ‘यद्यपि हाम्रो तयारी पहिलेबाटै हो, एकतालाई दीगो बनाउनेगरी गृहकार्य भइरहेकै थियो ।’

समानुपातिक तर्फको बन्दसूची छाता चिन्हमा बुझाउने तयारी गरेका नेताहरूले प्रत्यक्षतर्फ पनि यही चिन्हबाट लड्ने सहमति गरेका छन् । अर्थात् उपेन्द्र यादव र महन्थ ठाकुर धारका नेताहरूले पहिलोपटक एउटै चिन्हबाट चुनाव लड्ने भएका छन् । २०७४ को चुनावमा गठबन्धन भएपनि अलग–अलग चिन्ह थियो । तर नतिजा भने लगभग कब्जा नै गरेका थिए ।

देशभर वाम गठबन्धनको पक्षमा नतिजा आउँदा मधेशमा उपेन्द्र–महन्थकै गठबन्धनले जितेको थियो । परम्परात शक्तिहरू कमजोर हुँदा प्रदेश सभामा मतदान गरेर मधेश नाम पारित भएको थियो ।

यसपटक भने एकता गरेरै चुनावमा भाग लिने सहमति गरेका छन् । नेतृत्वमा पनि समस्या नआउने नेताहरू बताउँछन् । सहमति अनुसार उपेन्द्र यादव र महन्थ ठाकुर समान हैसियतका अध्यक्ष हुनेछन् । समितिहरूको एकीकरणदेखि उम्मेदवार चयनमा पनि समान हिस्सेदारीको सहमति जुटेको छ ।

मधेशका अरू राजनीतिक शक्तिहरूसँग पनि एकताको पहल भइरहेको नेताहरू बताउँछन् । मुख्यगरी सीके राउतसँग एकताको पहल बढाइएको छ । ‘समान सिद्धान्त भएका शक्तिहरू मिलेर जानुपर्छ भन्ने हो । सीके राउतसँग पनि मिल्दा एकता गर्छौं,’ एक नेता भन्छन्, ‘कुराकानी भइरहेकै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?