१८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति गरेको कुलमान घिसिङ संरक्षित दल उज्यालो पार्टी नेपाल समानुपातिक उम्मेदवारहरूको छुट्टै सूची बोकेर पुन: निर्वाचन आयोग पुगेको छ ।
आयोग स्रोतले दिएको जानकारी अनुसार, शुक्रबार दिउँसो सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय आफैं आयोगमा पुगेका थिए । उनीसहित अर्का एक जना सदस्य पनि आयोगमा छुट्टै बन्दसूची बोकेर पुगेका थिए ।
उनीहरू दिउँसो ३ बजे आसपास आयोग पुगेका थिए । तर, समानुपातिकको बन्दसूची पेश गर्ने समयसीमा घर्किसकेको भन्दै आयोगले उनीहरूलाई फर्काइदिएको हो ।
उनीहरूले प्रमुख कार्यबाहक आयुक्त रामप्रसाद भण्डारीसमक्ष ‘हामीले ५० हजार बुझाएर रसिद लिइसकेका छौं । ११० जनाको लिस्ट पेश गर्न पाउनुपर्यो’, भनेर प्रस्ताव राखेका थिए ।
भण्डारीले भने उनीहरूलाई कानुन शाखा पठाइदिए । कानुन शाखाले कुनै हालतमा मिल्दैन भन्ने जवाफ दिएपछि उनीहरू फर्किएका हुन् ।
अनुपकुमार आफैं रास्वपाबाट समानुपातिकको सूचीमा रहेका व्यक्ति हुन् । उनी आफैंले रास्वपासँगको एकतामा समेत हस्ताक्षर गरेका थिए । उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले नाम नबताउने शर्तमा आफ्नो पार्टीमा व्यापक असन्तुष्टि रहेको अनलाइनखबरसँग दाबी गरे ।
‘पार्टीभित्र व्यापक असन्तुष्टि छ । तलका लेयरका मान्छे धान्नै गाह्रो भइसक्यो । त्यसैले पनि एकता प्रक्रिया छिटो टुंगोमा पुर्याउन आवश्यक छ । नत्र जे पनि हुनसक्छ,’ ती केन्द्रीय सदस्य भन्छन् ।
रास्वपाले संघीयता, धर्म निरपेक्षता, समावेशीता लगायतका विषयमा स्पष्ट बन्नुपर्ने मत आफ्नो पार्टीमा रहेको ती सदस्यको दाबी छ ।
‘अस्ति सहमति हुँदा पछि छलफल गरौंला भन्ने कुरा भयो । अब हामीलाई लिखित नै हुनुपर्छ भनेका छौं,’ उनले भने ।
प्रतिक्रिया 4