+

‘अर्ली इलेक्सनको निर्णय विधान अनुसार नै हो’

२०८२ पुष  १९ गते २०:४९ २०८२ पुष १९ गते २०:४९
‘अर्ली इलेक्सनको निर्णय विधान अनुसार नै हो’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ २८ मा हुने अर्ली इलेक्सन विधान अनुसार भएको दाबी गरेको छ।
  • महासचिव किरण राईले एन्फाको विधान अनुसार अर्ली इलेक्सनमा जाने निर्णय सही भएको बताए।
  • राईले निर्वाचन प्रक्रिया सुरु गरिने र कुनै भ्रम आवश्यक नरहेको उल्लेख गरे।

१९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्ली इलेक्सनमा जाने निर्णय विधान अनुसार नै भएको भन्दै यो निर्णय सही भएको दाबी गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मुख्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै एन्फा महासचिव किरण राईले माघ २८ का लागि तय भएको साधारण सभा र निर्वाचन एन्फाकै विधान अनुसार भएको दाबी गरे ।

पुस १६ गते बसेको एन्फा कार्यसमिति बैठकले ५ महिनाअघि नै एन्फाको अग्रिम निर्वाचनमा जाने निर्णय गरेको थियो । विधानमा अर्ली इलेक्सनबारे कुनै व्यवस्था नरहेपनि पत्रकार सम्मेलनमा महासचिव किरण राईले यो निर्णय ठिक भएको तर्क प्रस्तुत गरे ।

अर्ली इलेक्सनमा जाने निर्णय गरेपछि एन्फा कार्यसमिति भित्रबाट यसबारे असन्तुष्टि बाहिर आउन थालेको छ भने धेरै फुटबलकर्मीहरुले पनि यसको विरोध गर्दै आएका छन् ।

तर एन्फा महासचिव किरण राईले भने माघ २८ मा झापामा गर्ने भनिएको अर्ली इलेक्सन विधान अनुसार नै रहेको बताए । ‘हामीले एन्फाको विधान अनुसार नै अर्ली इलेक्सनको निर्णय गरेका हौं’
राईले एन्फा कार्यसमितिको धेरै आलोचना भइरहेकोले भन्दै अहिलेको स्थितीमा ‘अर्ली इलेक्सन’ मा जाने निर्णय नै सही भएको दाबी गर्दै यस निर्वाचनमा खुल्ला रुपमा सहभागि हुन सबैलाई आग्रह गरे । ‘कसैलाई एन्फामा प्रवेश गरेर मैले नेपाली फुटबलका लागि राम्रो काम गर्न सक्छु भन्ने लाग्छ भने चुनाव उपयुक्त विकल्प हो ।’

महासचिव राईले निर्वाचनबारे फिफा, एएफसीसहित युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराइसकेको र केही दिनपछि निर्वाचनको प्रक्रिया सुरु गरिने बताए ।

चौतर्फी आलोचना हुन थालेपछि एन्फाले आफ्नै निर्णयको बचाउमा शनिबार एन्फाले पत्रकार सम्मेलन नै गर्नुपरेको हो । जहाँ एन्फाको नेतृत्व अर्थात अध्यक्ष पंकज नेम्वाङ उपस्थित थिएनन् ।

तर महासचिव किरण राईले प्रवक्ता सुरेश शाहलाई साइडमा राखेर पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए । उनले एन्फाको विधान देखि डायरी र महत्वपूर्ण बुँदाहरु टिपोट नै गरेर पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।

राईले पत्रकारहरुको जिज्ञासामा अर्ली इलेक्सनको निर्णय सही भएको दाबी गरिरहँदा माघ २८ नै निर्वाचनमा जानुपर्ने ‘भ्यालिड’ कारण दिन सकेनन् । तर उनले यसमा कुनै कुनै प्रकारको भ्रम छर्नुपर्ने आवश्यकता नरहेको पनि बताए ।

विधानसम्मत रहेको र यसबारे कुनै प्रकारको भ्रम आवश्यक नभएको दाबी गरेका छन् । महासचिव राईले बहुमतको आधारमा अर्ली इलेक्सनमा जाने बहुमतले निर्णय गरेको र त्यो एन्फाको विधान अनुसार नै भएको बताए ।

यस्तै उनले एन्फा विधानलाई आफ्नै हिसावले व्याख्या गर्दै एन्फा विधानको व्याख्या गर्ने अधिकार कार्यसमितिसँग हुने र कार्यसमितिले आफ्नो अधिकार प्रयोग गर्दै निर्वाचनमा जाने घोषणा गरेको बताए ।
यस्तै राईले कुनै पनि संस्थाले नियम अनुसार आफ्नो कार्यकाल बढाउन नपाउने तर कार्यकाल छोट्याएर अगाडि नै निर्वाचन गर्न मिल्ने तर्क गरे ।

एन्फाको केन्द्रिय कार्यसमितिको निर्वाचनअघि जिल्ला, प्रदेश, क्लब लगायत तल्लो तहको निर्वाचन समेत गर्नुपर्ने माग उठिरहेको छ । यस विषयमा राईले एन्फा अन्तर्गत रहेको जिल्ला संघ र क्लबहरु स्वतन्त्र संस्था रहेको र उनीहरुलाई पनि अर्ली इलेक्सन गर भनेर भन्न नमिल्ने दाबी गरे ।

यदि कुनै सदस्य संस्थाले अर्ली निर्वाचनको माग गरेमा त्यसलाई स्वीकृति दिने तर जबरजस्ती गर्न नमिल्ने उनको तर्क थियो ।

एन्फाले फ्रेस म्यान्डेट अनुसार निर्वाचनमा जाने बताइरहँदा तल्लो तहबाट पुरानै प्रतिनिधि आउलान् नि भन्ने प्रश्नमा राईले अब हुने एन्फा निर्वाचनमा जिल्ला, क्लबबाट त्यहाँको कार्यसमितिले नयाँ प्रतिनिधि तोकेर पठाउने भएकोले नयाँ प्रतिनिधि आउने बताए ।

यसैगरी यदि अर्ली इलेक्सनको निर्णय विरुद्ध कोही अदालतमा गएमा एन्फाको विधानअनुसार अपहेलना र हस्तक्षेप हुने दाबी गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अर्ली इलेक्सन एन्फा किरण राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय