News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि बंगलादेशले लिटन दासको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
- बंगलादेशले विश्वकपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल र इटालीसँग समूह खेल्नेछ।
- बंगलादेश क्रिकेट बोर्डले राजनीतिक कारण खेलहरू श्रीलंकामा सार्न आईसीसीसँग आग्रह गर्ने बताएको छ।
२० पुस, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि लिटन दासको कप्तानीमा बंगलादेशको १५ सदस्यीय टोली घोषणा भएको छ। भारत र श्रीलंकामा फेब्रुअरी–मार्चमा हुने विश्वकपमा बंगलादेशले इतिहास बदल्ने लक्ष्यसहित सहभागिता जनाउनेछ।
बंगलादेशले हालसम्म भएका सबै टी–२० विश्वकप खेले पनि सेमिफाइनलमा पुग्न सकेको छैन। यसपटक घरेलुजस्तै अवस्थासँग परिचित पिच र सन्तुलित टोलीका कारण राम्रो प्रदर्शन गर्ने विश्वास टोलीको छ।
बलिङतर्फ अनुभवी मुस्ताफिजुर रहमान र तस्किन अहमद प्रमुख हतियार हुनेछन्। स्पिनमा माहेदी हसन, नासुम अहमद र रिशाद होसैन प्रभावशाली हुने अपेक्षा गरिएको छ, जसले टर्न सहयोगी पिचमा टोलीलाई बलियो बनाउनेछ।
ब्याटिङमा कप्तान लिटन दासमाथि ठूलो जिम्मेवारी रहनेछ भने शीर्षक्रममा तान्जिद हसन र परवेज हुसैन इमोनले आक्रामक सुरुआत दिलाउने आशा गरिएको छ।
विश्वकपमा बंगलादेश समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल र इटालीसँग रहेको छ। समूहबाट दुई टोली मात्र सुपर ८ मा पुग्नेछन्, जसका कारण बंगलादेशलाई सुरुदेखि नै कडा चुनौती रहनेछ।
बंगलादेशका समूह चरणका खेलहरू वेस्ट इन्डिज, इटाली र इंग्ल्यान्डसँग कोलकातामा हुनेछ भने नेपालसँग मुम्बईमा हुनेछ ।
यसैबीच भारत र बंगलादेशबीच पछिल्लो समय राजनीतिक सम्बन्ध बिग्रिन थालेपछि बंगलादेश क्रिकेट बोर्डले खेलहरू श्रीलंकामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग आग्रह गर्ने पनि बताइएको छ ।
बंगलादेशको टोली : तान्जिद हसन, परवेज हुसैन इमोन, सैफ हसन, तौहिद रिदोय, शामिम हसन, नुरुल हसन सोहान, मेहदी हसन, रिशाद होसैन, नसुम अहमद, मुस्तफिजुर रहमान, तन्जिम हसन साकिब, तस्किन अहमद, शाइफ उद्दिन, शोरिफुल इस्लाम
प्रतिक्रिया 4