+
+
Shares

संघीयतामा एकमत भएर अघि बढ्न रास्वपामा सहमति

रास्वपा स्रोतका अनुसार, केन्द्रीय सदस्य र पदाधिकारीमा प्याकेजमा सहमति गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १८:००

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संघीयतालाई स्वीकार गरेर अघि बढ्न सबै पक्षबीच सहमति भएको छ । रास्वपाको रवि लामिछाने पक्षले विगतदेखि प्रदेश संरचनाप्रति विमति राख्दै आएको थियो । जुन विषयमा उज्यालो नेपाल पक्षका नेताहरूले स्पष्टताको आवश्यकता औंल्याएका थिए ।

दुवै पक्षका नेताबीच शनिबार राति र आइतबार बिहान भएको वार्तापछि यो एजेन्डामा एकमत भएर अघि बढ्ने सहमति जुटेको हो । पुस १४ मा पार्टी एकता भएपनि एजेन्डामा सहमति भएको थिएन । आज सहमति भएपछि विवाद सकिएको नेताहरूले दाबी गरेका छन् ।

एकता भएपनि उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ पक्षका नेताहरूले एजेन्डामा विमति जनाउँदै आएका थिए । ‘अब एजेन्डाको विवाद सकियो । मुद्दामा विवाद थियो त्यो पनि सकियो । हिजो राति र आज बिहान बसेर टुंगो लगाएका छौं,’ तत्कालीन उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम लामाले भने ।

संघीयतालाई सबैले स्वीकार गर्न सहमत भएको उनले बताए । ‘संघीय संरचना मानेर जाने, गणतन्त्र र संविधान स्वीकार गर्ने सहमति भएको छ,’ लामाले भने । उज्यालो पार्टीका नेताहरूले यि विषयमा रास्वपाले स्पष्ट पार्नुपर्ने माग राखेका थिए ।

शनिबार दोस्रो तहका नेता घण्टीघरमा वार्तामा बसेका थिए । वार्तामा उपसभापति स्वर्णिम वाग्ले, नेता शिशिर खानाल र कुलमान पक्षबाट जितराम लामा, राजु थापा र रामेश्वर श्रेष्ठ वार्तामा सहभागी थिए । साथै रवि लामिछाने, बानेन्द्र शाह र कुलमान घिसिङबीच पनि शनिबार वार्ता भएको थियो तीन नेताबीच वार्ता भएपछि एजेन्डामा पनि सहमति भएको हो ।

अब सबै तहमा समायोजनको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला जिल्लामा दुवै  पार्टीबीच समायोजनको प्रक्रिया अगाडि बढाउने सहमति जुटेको छ । सबै निकायमा उज्यालो पार्टीबाट करिब लगभग ३० प्रतिशतको दरले समायोजन हुने बताइएको छ । तर यसमा केही तलमाथि हुने नेताहरूको दाबी छ ।

रास्वपा स्रोतका अनुसार, केन्द्रीय सदस्य र पदाधिकारीमा प्याकेजमा सहमति गर्ने तयारी छ । ‘आज रातिसम्म प्याकेजमा सहमति हुन्छ,’ ती नेताले भने ।  समायोजनलाई निष्कर्षमा पुर्‍याउन महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति बनाइएको छ । यो समितिमा दुवैतर्फका नेताहरू रहनेछन् । समितिमा रहने सदस्यको नाम चयन गर्न बाँकी रहेको छ ।

रास्वपाले पार्टी एकतापछि बालेन र कुलमान पक्षलाई पनि समेटेर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्न पनि उपसमिति गठन गरेको छ । उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?