+

गर्भावस्थामा छालाको हेरचाहदेखि मेकअपसम्म : के गर्ने, के नगर्ने ?

२०८२ पुष  २८ गते १४:०९ २०८२ पुष २८ गते १४:०९

गर्भावस्थामा प्राकृतिक तरिकाले छालाको हेरचाह गर्न सकिन्छ, तर प्रयोग गर्नुअघि सानो ठाउँमा लगाएर सुरु गर्दा उपयुक्त हुन्छ ।

Shares
गर्भावस्थामा छालाको हेरचाहदेखि मेकअपसम्म : के गर्ने, के नगर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्भावस्थामा छाला हेरचाहका लागि केमिकल फ्री र सुगन्धरहित उत्पादन प्रयोग गर्नुपर्छ र नयाँ उत्पादन प्रयोग अघि प्याच टेस्ट गर्नुपर्छ।
  • गर्भावस्थामा प्राकृतिक फेस प्याक, एलोभेरा जेल र गुलाब जल प्रयोग गर्न सकिन्छ तर नयाँ उत्पादन प्रयोग अघि डर्माटोलोजिस्टसँग सल्लाह लिनुपर्छ।

गर्भावस्थाको समयमा महिलाको शरीरमा हुने हर्मोनल परिवर्तनको प्रभाव छाला, कपाल र अनुहार पर्छ ।  यस्तोमा महिलाले आफूलाई सुन्दर र आत्मविश्वासी देखाउन ब्यूटी ट्रिटमेन्ट र कस्मेटिकको प्रयोग गर्छन् ।  तर गर्भावस्थाको बेला ब्यूटी ट्रिटमेन्ट वा कस्मेटिक उत्पादनको प्रयोग गर्नु सुरक्षित छ कि छैन भन्ने प्रश्न उठ्छ ।

कस्ता उत्पादन प्रयोग गर्ने  ?

यदि गर्भावस्थामा छाला हेरचाहका लागि कुनै उत्पादनको प्रयोग गर्ने हो भने ती उत्पादनहरू केमिकल फ्री सुगन्धरहित हुनुपर्छ । सकेसम्म साधारण र न्यूनतम स्किनकेयर नियमित रुपमा अपनाउनुपर्छ ।

कुनै नयाँ उत्पादन प्रयोग गर्नुअघि सानो भागमा परीक्षण ‘प्याच टेस्ट’ गर्नु निकै राम्रो हुन्छ । गर्भावस्थामा छालालाई सुक्खा हुन नदिन एलोभेरा जेल, नरिवल तेल, कोकोआ बटर वा शिया बटर प्रयोग गर्न सकिन्छ । यी प्राकृतिक चिजहरूले छालालाई राम्रोसँग हाइड्रेट र नरम राख्न मद्दत गर्छन् ।

गर्भावस्थामा सनस्क्रिन प्रयोग गर्दा जिंक अक्साइड वा टाइटेनियम डाइअक्साइड भएको मिनरल–बेस्ड सनस्क्रिन एसपिएफ ३० वा त्योभन्दा माथिको प्रयोग गर्नुपर्छ । यी कुराहरू नियमित रूपमा प्रयोग गर्न सुरु गर्नुअघि छाला विशेषज्ञ डाक्टरसँग सल्लाह लिनु उत्तम हुन्छ । यी सल्लाहहरू संवेदनशील छाला भएका व्यक्तिहरूका लागि विशेष गरी उपयोगी हुन्छन् ।

गर्भावस्थामा कुन उत्पादन सुरक्षित मानिदैन ?

गर्भावस्थामा भिटामिन ए डेरिभेटिभ्स छाला हेरचाह उत्पादहरू सुरक्षित मानिँदैनन् । रेटिनोल, रेटिन–ए र ट्रेटिनोइनले भ्रूणको विकासमा नकारात्मक असर पार्न सक्छन् र जन्म दोषको जोखिम बढाउन सक्छन् ।

अत्यधिक सैलिसिलिक एसिड केमिकल पिल वा एक्ने क्रिममा उच्च मात्रा भएमा हानिकारक हुन सक्छ । कम–घनत्वको फेसवास सामान्यतया सुरक्षित मानिए पनि डाक्टरको सल्लाह आवश्यक हुन्छ । 

हानिकारक केमिकलहरू जस्तै फर्माल्डिहाइड, प्याराबेन्स, फ्थालेट्स जस्ता पदार्थहरूको प्रयोगले हर्मोनल सन्तुलन बिगार्न सक्छन् । गर्भावस्थामा लिपस्टिक र फाउन्डेसन जसमा लेडको मात्रा वा कृत्रिम सुगन्ध हुन्छ त्यसको प्रयोग पनि नगर्नु नै राम्रो हुन्छ । गर्भावस्थामा लेजर ट्रीटमेन्ट पनि सुरक्षित मानिदैन । यसबाट छालामा जलन वा पिग्मेन्टेसन बढ्न सक्छ ।

यो समयमा जेल नेल्स वा एक्रिलिक नेल एक्सटेन्सन गर्नुहुँदैन । यो प्रक्रियामा निस्कने धुवाँबाट वाकवाकी लाग्ने वा सास फेर्न गाह्रो हुन सक्छ ।

प्राकृतिक तरिकाले छाला हेरचाह

गर्भावस्थामा प्राकृतिक तरिकाले छालाको हेरचाह गर्न सकिन्छ, तर प्रयोग गर्नुअघि सानो ठाउँमा लगाएर सुरु गर्दा उपयुक्त हुन्छ । मुल्तानी माटो, बेसन र दहीको फेस प्याक सुरक्षित र सौम्य हुन सक्छन् ।

यदि अनुहारमा दाग–धब्बा छन् भने एलोभेरा जेलको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले दाग–धब्बा कम गर्नुका साथै चाउरी पनि कम गर्छ । गर्भावस्थामा यदि छालामा ट्यानिङ भएको छ भने गुलाब जलको प्रयोग गर्न सकिन्छ । यो एक प्रकारको प्राकृतिक टोनर हो ।

कागती प्रयोग गर्दा सावधानी

कागतीले छालामा जलन र पिग्मेन्टेसन बढाउन सक्छ । त्यसैले प्रयोग गर्नै परे छोटो समयका लागि मात्र प्रयोग गर्नु राम्रो हुन्छ । गर्भावस्थामा कम प्रयोग, सुरक्षित उत्पादन नै उत्तम नीति हो । कुनै पनि नयाँ क्रिम, ट्रीटमेन्ट वा मेकअप सुरु गर्नु अघि डर्माटोलोजिस्ट वा विशेषज्ञसँग सल्लाह लिनुपर्छ । आमा स्वस्थ भए मात्र शिशु पनि स्वस्थ हुन्छ ।

गर्भावस्था छाला
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय