News Summary
Generated by OK AI. Editorially reviewed.- एचएफडब्लुएको अध्ययनअनुसार २०१९ देखि २०२१ सम्म डिम्ब भण्डारण गर्ने युवतीको संख्या ६० प्रतिशतले वृद्धि भएको छ।
- डिम्ब भण्डारण गर्ने उपयुक्त उमेर २५ देखि ३० वर्ष हो र ३५ वर्षपछि डिम्बको गुणस्तर र संख्या घट्न थाल्छ।
यदि तपाईंले आफ्नो भविष्यका लागि आफैंलाई केही दिन चानुभयो भने के दिनुहुन्छ ?
एउटा भब्य घर, शान्दार गाडी वा मानसिक शान्ति ?
आजभोलिका युवतीहरू भविष्यकै लागि भनेर लगानी गरिरहेका छन् । त्यो घर वा गाडीको लागि होइन ।
सही पार्टनर फेला पार्ने र करियर स्थापित गर्ने समय निकाल्नुभन्दा अघिको लगानी हो । उनीहरू कम उमेरमै डिम्ब भण्डारणमा लगानी गरिरहेका छन् । ह्युमन फर्टिलाइजेसन एण्ड एम्ब्रोलोजी अथ्योरिटी (एचएफडब्लुए)को नयाँ अध्ययन भन्छ, ‘अण्डा भण्डारण गर्ने युवतीको लर्को बढिरहेको छ ।
रिपोर्टअनुसार २०१९ देखि २०२१ सम्म ६० प्रतिशत वृद्धि भएको छ, जसमा महामारीले पनि भूमिका खेलेको छ । २०१३ देखि २०१८ सम्म त यो ५२३ प्रतिशतले बढेको थियो, किनकि भण्डारण प्रविधि सुधारियो ।
बेलायतमा अण्डा भण्डारण गर्ने औसत उमेर ३७ वर्ष छ, तर २५ वर्षभन्दा कम उमेरमै डिब्ब भण्डारण गर्ने महिलाहरूको संख्या बढिरहेको छ । टिकटकमा यो ट्रेन्डले १२४ मिलियनभन्दा बढी भ्यूज पाइसकेको छ ।
किन जेनजीले डिम्ब भण्डारण गरिरहेका छन् ?
छोरी मान्छेसँग जन्मिँदै औसतमा १० देखि २० लाखसम्म डिम्ब हुन्छ । जब किशोरावस्थाको समय अर्थात् १३ देखि १४ वर्षमा प्रवेश हुन्छ । त्यतिखेर करिब तीन लाख डिम्ब मात्र बाँकी हुन्छ । प्रत्येक महिनावारी हुँदा भएका डिम्बहरू निख्रिंदै जान्छ । त्यसमा पनि सबैभन्दा राम्रो र गुणस्तरको डिम्ब २० देखि ३५ को उमेरमा निस्कन्छ ।
डिम्बाशयमा बिस्तारै कम गुणस्तरका अण्डा मात्र बाँकी हुन्छ । ३५ वर्षपछि डिम्ब खर्चिने दर तीव्र हुन्छ । डिम्ब सकिएपछि महिनावारी पूर्णरूपमा रोकिन्छ । जसलाई रजोनिवृत्ति भएको भनिन्छ ।
त्यसैले, अहिले अण्डा भण्डारण एउटा विकल्प बनिरहेको छ ।
जेन्जी युवतीहरूले इच्छाअनुरुप सन्तान जन्माउन सकियोस् भनेर सो विकल्प अपनाइरहेको देखिन्छ ।
करियर र व्यक्तिगत लक्ष्यका लागि
धेरैले करियर विकास, व्यवसाय विस्तार र आफ्नो उद्देश्य पूरा गर्न समय किन्न चाहन्छन् । एक आलेखअनुसार टोरन्टोकी एक विद्यार्थीले २५ वर्षमा अण्डा भण्डारण गरिन् । उनले भनिन्, ‘मैले अहिले यो कदम चाल्दा मेरो व्यवसायिक जीवनमा दखल नदिई उद्देश्य नजिक पुर्याउन समय दिन्छ, र एक दिन म आमाको रूपमा धेरै सक्षम हुन सकूँ ।’
मानसिक शान्ति
यो प्रक्रियाले जैविक घडीको दबाबमा ‘पज’ लगाउँछ । धेरैले यति गरेपछि दिमागमा शान्ति मिल्ने बताउँछन् । उनीहरूका अनुसार यो प्रक्रिया बेलैमा अपनाउँदा सही समयमा बच्चा जन्माउन सकिन्छ । पहिलो बच्चा जन्माउने औसत उमेर ३०.९ वर्ष पुगेको छ, जुन नयाँ रेकर्ड हो । ३० वा ४० को तुलनामा २० वर्षमा अण्डा फ्रिज गर्दा क्रोमोजोमल असामान्यताको जोखिम कम हुन्छ ।
चिकित्सकीय आवश्यकतामा सहयोग
केहीलाई यो गर्ने पर्ने बाध्यता हुन्छ । २२ वर्षीया खादेजा बुरुक्स–सदरल्यान्डलाई स्तन क्यान्सर रहेको पत्ता लाग्यो । उनले त्यसको एक महिनामै आफ्नो अण्डा फ्रिज गरिन् । किनकि, किमोथेरापीले प्रजनन क्षमता नष्ट गर्न सक्छ ।
जोखिम पनि छ
यो प्रक्रियामा हर्मोन इन्जेक्सनबाट डिम्ब ग्रन्थीलाई बढी उत्तेजित गर्ने भएकाले मुख्य जोखिम ओभेरियन हाइपरस्टिमुलेशन सिन्ड्रोमको हुनसक्छ । यो अवस्थामा डिम्बग्रन्थी सुन्निन्छ, दुख्छ र शरीरमा तरल पदार्थ जम्मा हुन्छ, जसले पेट दुख्ने, वाकवाकी, सास फेर्न गाह्रो हुने जस्ता समस्या निम्त्याउँछ ।
सामान्यतया यो जोखिम ५ प्रतिशतभन्दा कम महिलामा मात्र देखिन्छ ।
विशेषगरी २५ वर्षभन्दा कम उमेरका महिलामा, पीसीओस भएकाहरूमा वा धेरै अण्डा उत्पादन हुनेहरूमा यो जोखिम बढी हुन्छ । अर्को जोखिम हर्मोन इन्जेक्सनका कारण मानसिक स्वास्थ्य समस्या हुन सक्छ । हर्मोन परिवर्तनले मूड स्विंग्स, चिन्ता, थकान र केही महिलामा डिप्रेसन जस्ता लक्षण देखिन सक्छन् । यो प्रक्रियाको समयमा वा पछि हर्मोन स्तर घट्दा बढी महसुस हुनसक्छ, तर यो सामान्यतया अस्थायी हुन्छ ।
धेरै महिलाले यो भावनात्मक तनावलाई सामना गर्न सक्छन्, तर यदि पहिले नै मानसिक स्वास्थ्य समस्या छ भने चिकित्सकसँग छलफल गर्नु उपयुक्त हुन्छ । आर्थिक भार पनि ठूलो छ । यूकेमा एक चरणको औसत खर्च ३,३५० पाउन्ड (लगभग ५–६ लाख नेपाली रुपैयाँभन्दा बढी) छ, जसमा औषधि, स्क्यान, प्रक्रिया र भण्डारण समावेश हुन्छ ।
नेपाल वा अन्य देशमा पनि यो महँगो नै हुन्छ, र थप चक्र चाहिन सक्छ । सफलता दर सबैभन्दा महत्वपूर्ण कुरा हो । फ्रिज गरिएका अण्डाबाट जीवित बच्चा जन्मने दर प्रतिचक्र १८ प्रतिशत जति मात्र छ । यो दर उमेरमा निर्भर गर्छ । ३५ वर्षभन्दा कम उमेरमा फ्रिज गर्दा सफलता बढी हुन्छ, तर धेरै अण्डा (१५–२०) फ्रिज गर्नुपर्छ ।
उमेर बढ्दै जाँदा अण्डाको गुणस्तर घट्छ, त्यसैले सफलता कम हुन्छ ।
कति वर्षको उमेरमा भण्डारण गर्नु उपयुक्त हुन्छ ?
डिम्ब भण्डारणका लागि एकदमै उपयुक्त उमेर २५ देखि ३० वर्ष हो । तर ३५ वर्षको उमेरसम्म पनि डिम्ब भण्डारण गर्न सकिन्छ । ३५ वर्षको उमेरपछि डिम्बको गुणस्तर र संख्यामा ह्रास आउँछ । ३५ देखि ४० वर्षको उमेरसम्म पनि भण्डारण गर्न सकिन्छ । तर ४० वर्षको उमेरपछि भने भण्डारण गर्दा त्यति लाभदायक हुँदैन ।
सामान्यतयाः महिला ३५ वर्षभन्दा माथि गर्भधारण गर्दा महिलामा पनि विभिन्न खाले दीर्घरोग हुने र बच्चामा पनि केही जन्मजात असर देखिने जोखिम हुन्छ । तर ३० वर्षअगावै डिम्ब भण्डारण गरिएको छ भने ३५ वर्षमा बच्चा जन्माउँदा पनि ३० वर्षको उमेरमा जन्माएको जस्तै स्वस्थ बच्चा जन्मिन्छ ।
कसरी गरिन्छ भण्डारण ?
डिम्ब भण्डारण गर्न महिलालाई महिनावारी भएको दोस्रो दिनबाट हर्मोनयुक्त इजेक्सन र औषधिबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ । यसलाई ‘ओभरियन स्टीमूलेसन’ भनिन्छ । यो प्रक्रिया सुरु गरेको १०–१२ दिनमा बीचबीचमा अल्ट्रासाउन्डको सहायताले डिम्ब कसरी विकास भइरहेको छ भनेर हेरिन्छ ।
जब डिम्ब परिपक्व हुन्छ, त्यसपछि अल्ट्रासाउन्डको मद्दतमा योनीद्वारमार्फत लामो सियोको माध्यमबाट डिम्बलाई डिम्बाशयबाट संकलन गरिन्छ । विभिन्न मिडिया अर्थात् रसायन (केमिकल)हरूमा प्रशोधन गरेपछि लिक्विड नाइट्रोजनमा फ्रिज गरेर राखिन्छ ।
कहिलेबाट प्रयोगमा आयो यो सेवा ?
सन् २००० को आरम्भदेखि गैरचिकित्सकीय प्रयोजनका लागि ‘एग फ्रिज’ गरेर राख्ने उपाय लोकप्रिय बन्यो । त्यसबेला ३० को दशकको उमेरका महिलाहरू डिम्ब सुरक्षित गरेर राख्नेमा सबैभन्दा धेरै थिए । तर अहिले यसो गर्नेमा कम उमेरका महिलाहरूको सङ्ख्या बढिरहेको छ ।
यो प्रक्रियाको सेवा विश्वव्यापी रूपमा उपलब्ध छ । तर देश अनुसार नियममा फरक पर्न सक्छ । चीनमा एकल महिलाले गैरचिकित्सकीय प्रयोजनका लागि ‘डिम्ब फ्रिज’ गर्न पाउँदैनन् ।
अस्ट्रिया र हङ्गेरीमा पनि स्वास्थ्यसम्बन्धी कारण बाहेक ‘एग फ्रिजिङ’ गर्न बन्देज छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4