News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थामा बढ्दो गर्भाशयले पेल्भिक नसामा दबाब दिएर पायल्सको समस्या उत्पन्न हुन्छ र तेस्रो त्रैमासिकमा यो समस्या बढी देखिन्छ।
- गर्भावस्थामा पायल्स रोकथामका लागि नियमित चिकित्सकको परामर्श र उचित हेरचाह आवश्यक छ, जसले सुरक्षित प्रसवमा सहयोग पुर्याउँछ।
गर्भावस्थाको समयमा शरीरमा धेरै प्रकारका परिवर्तनहरू हुन्छन् । तौल बढ्नु, हर्मोनल असन्तुलन र पाचन सम्बन्धी समस्या यो समयमा सामान्य मानिन्छन् । यिनै परिवर्तनहरूका कारण गर्भवती महिलाहरूमा पायल्सको समस्या धेरै देखिन्छ । विशेष गरी तेस्रो त्रैमासिकमा, जब बढेको गर्भाशयले पेल्भिक नसामा बढी दबाब दिन्छ, तब यो समस्या देखा पर्न सक्छ ।
धेरै महिलाहरूले लाज वा संकोचका कारण पायल्सको लक्षणलाई बेवास्ता गर्छन् । प्रारम्भिक लक्षणहरू हल्का हुन्छन्, जस्तै शौचपछि हल्का जलन वा असजिलो महसुस हुनु । तर समयमै यी संकेतहरूलाई बुझेर ध्यान दिइयो भने समस्या बढ्नबाट रोक्न सकिन्छ र उपचार पनि सजिलो हुन्छ ।
यदि कुनै महिलालाई पहिले नै पायल्सको समस्या छ भने गर्भावस्थाको कुनै पनि चरणमा यसका लक्षण देखिन सक्छन् । त्यसैले गर्भावस्थामा पायल्सका प्रारम्भिक संकेतहरूलाई चिन्नु अत्यन्त जरुरी हुन्छ ।
१.शौचपछि पनि पेट सफा नभएजस्तो लाग्नु
मल त्याग गरेपछि पनि बारम्बार शौच जान मन लागेजस्तो महसुस हुनु गर्भावस्थामा पायल्सको प्रारम्भिक संकेत हुन सक्छ । यस अवस्थामा यस्तो लाग्छ कि पेट पूरै सफा भएको छैन, जबकि शौच भइसकेको हुन्छ । यो सुन्निएको पायल्सको गाँठोले मलाशयमा दबाब दिइरहेको कारणले हुन्छ । गर्भावस्थामा पहिल्यै पाचन सुस्त हुन्छ, त्यसमाथि यो दबाबले झन् समस्या बढाउँछ । धेरै महिलाहरूले यसलाई कब्जियत ठानेर बेवास्ता गर्छन्, तर यो पायल्सको संकेत हुन सक्छ । यदि यस्तो समस्याको महसुस बारम्बार भइरहेको छ भने हल्का रूपमा लिनु हुँदैन समयमै चिकित्सकको सल्लाह लिनुपर्छ ।
२.शौचपछि हल्का असजिलो वा जलन हुनु
पाल्यसको समस्यामा हरेक पटक तीव्र दुखाइ हुनु जरुरी छैन । कहिलेकांही शौच गरेपछि हल्का जलन, भारीपन वा असजिलो महसुस हुन्छ । यो असजिलो केही मिनेटदेखि घण्टौंसम्म रहन सक्छ । यसको कारण गुद्वारको नसा सुन्निएको हो, जुन ठिक हुन समय लाग्छ । गर्भावस्थामा हर्मोनल परिवर्तनले नसालाई झन् संवेदनशील बनाउँछ ।
महिलाहरूले प्रायः यो सामान्य हो र आफैं ठिक हुन्छ भन्ने सोच्छन् । तर यदि यो समस्या दैनिक रूपमा भइरहन्छ भने यो पायल्सको प्रारम्भिक लक्षण हुन सक्छ । समयमै ध्यान दिएमा पछि तीव्र दुखाइ र सुन्निने समस्याबाट बच्न सकिन्छ ।
३.दिसा गर्ने समयमा वा पछि रगत आउनु
ट्वाइलेट पेपरमा वा कमोडमा चम्किलो रातो रातो रगत देखिनु डरलाग्दो अनुभव हुन सक्छ । यो पायल्सको सबैभन्दा स्पष्ट संकेत मानिन्छ । गर्भावस्थामा तल्लो मलाशयका नसाहरू सुन्निने हुँदा यस्तो रगत प्रायः दुखाइबिना आउँछ, त्यसैले महिलाहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । तर गुद्वारबाट कुनै पनि प्रकारको रगत आउनु सामान्य होइन ।
यसको पछाडि अन्य कारण पनि हुन सक्छन्, त्यसैले सही जाँच जरुरी हुन्छ । यदि रगत बारम्बार देखिन्छ भने चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ । समयमै जाँचबाट सही कारण थाहा हुन्छ ।
४.गुद्वारको वरपर चिलाउने, पोल्ने वा गाँठो महसुस हुने
गुद्वारको वरपर निरन्तर चिलाउनु वा जलन हुनु बाहिरी पायल्सको सामान्य लक्षण हो । कहिलेकाँही त्यहाँ ओसिलो रहिरहँदा यो समस्या झन् बढ्छ । केही महिलाहरूलाई छालामुनि सानो, नरम गाँठो पनि महसुस हुन सक्छ । यो सुन्निएको नसा हो, जसले बस्दा वा हिँड्दा झन् दुखाउँछ । लामो समय बस्दा यो सुन्निएको अझ बढ्न सक्छ ।
गर्भावस्थामा शरीर पहिल्यै संवेदनशील हुन्छ, त्यसमा यी लक्षणले मानसिक तनाव पनि बढाउँछ । यदि यो समस्या निरन्तर रहिरहन्छ भने घरेलु उपायसँगै चिकित्सकको सल्लाह
लिनु जरुरी हुन्छ ।
५.तीव्र दुखाइ र लामो समय बस्दा÷उभिँदा समस्या बढ्नु
केही अवस्थामा मल त्यागको समय वा तुरुन्तपछि तीव्र दुखाइ हुन सक्छ । यो तब हुन्छ जब कडा मल निस्कँदा सुन्निएको नसामा बढी दबाब पर्छ । यदि पायल्समा रगतको थक्का जम्यो भने ‘थ्रोम्बोस्ड पायल्स’ दुखाइ असह्य हुन सक्छ । यसबाहेक लामो समय बस्दा वा उभिँदा पनि गुद्वार क्षेत्रमा रगत जम्मा भई सुन्निने र दुखाइ बढ्छ । गर्भावस्थामा पेल्भिक नसामा पहिल्यै बढी दबाब हुन्छ । यस्तो अवस्थामा कोल्टे फेरेर आराम गर्नु र बीच–बीचमा शरीरको अवस्था परिवर्तन गर्नुले राहत दिन्छ ।
गर्भावस्थामा पायल्स किन हुन्छ ?
-बढ्दो गर्भाशयले गुद्वारको नसामा दबाब दिन्छ
-हर्मोनल परिवर्तनले आन्द्राको गति सुस्त बनाउँछ
-कब्जियतका कारण शौच गर्दा जोड लगाउनुपर्छ
-अन्तिम महिनाहरूमा शारीरिक क्रियाकलाप कम हुन्छ
समयमै लक्षण चिनेर उचित हेरचाह र चिकित्सकको सल्लाह लिएमा गर्भावस्थामा पायल्सको समस्या धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यदि यीमध्ये कुनैपनि लक्षण देखिन्छ भने ढिलो नगरी स्त्री रोग विशेषज्ञ वा अन्य चिकित्सकसँग परामर्श लिनुपर्छ । स्वस्थ गर्भावस्था र सुरक्षित प्रसवको लागि यो ध्यान अत्यन्त महत्वपूर्ण छ ।
प्रतिक्रिया 4