+
+
Shares

गगन थापासँग विशेष वार्ता– कसैले हारेको महसुस नगरुन्, वैशाखमा नियमित महाधिवेशन गर्छु

अहिले हाम्रो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ। सँगसँगै अधिवेशनका कामहरू पनि समयमै सम्पन्न गरिनेछ। टिकटका लागि १६५ वटै क्षेत्रबाट सिफारिसहरू आइरहेका छन्। टिमले अनौपचारिक छलफल गरिरहेको छ, भोलिबाट औपचारिक काम सुरु हुन्छ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ माघ २ गते २३:१८

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगबाट विशेष महाधिवेशन आयोजना गर्ने पक्षलाई आधिकारिता दिइएकोप्रति खुसी व्यक्त गरेका छन् । आयोगको निर्णय आउनेबित्तिकै अनलाइनखबरलाई दिएको यो अन्तर्वार्तामा उनले निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष, शेखर कोइराला पक्ष र भृकुटीमण्डप महाधिवेशनमा अनुपस्थित रहने कांग्रेस सदस्यहरुलाई हारेको महसुस नगर्न अपिल गरे । उनले आफू अझै सुदृढ र स्पष्ट कांग्रेस बनाएर लैजाने, सबैलाई समेट्दै वैशाखमा नियमित महाधिवेशन गर्न तत्पर रहेको समेत बताए ।

कांग्रेस सभापति थापासँग यो विशेष वार्ताः

निर्वाचन आयोगले भर्खरै तपाईँहरूको विशेष महाधिवेशनलाई आधिकारिक मान्यता दिएको छ। यो खबरलाई तपाईँले कसरी लिनुभएको छ?

यसलाई मैले अत्यन्त स्वाभाविक र सकारात्मक रूपमा लिएको छु। हामीलाई प्रारम्भदेखि नै पार्टीको विधान र हाम्रो संविधानबाट स्थापति भएको देशको संवैधानिक निकायले विधि विधानभित्र बसेर निर्णय गर्छ भन्ने पूर्ण विश्वास थियो। नेपालको निर्वाचन आयोगले लामो समयदेखि जनविश्वास र प्रतिष्ठा आर्जन गरेको छ, त्यसमा आँच पुर्‍याउने काम गर्दैन र विधिसम्मत ढंगले भएको अधिवेशनको निर्णयलाई स्वीकार गर्छ भन्ने हाम्रो विश्वास थियो । हाम्रो विश्वास अनुरूप भएको छ । त्यसैले स्वाभाविक पनि लागेको छ र एकदम खुसी पनि लागेको छ । 

तर पूर्व उपसभापति पूर्णबहादुर खड्काले त आयोगले आफ्नो समूहको पक्षमा निर्णय नगरेमा देशव्यापी आन्दोलन गर्छौँ भनेर चेतावनी दिनुभएको थियो। यसलाई कसरी हेर्नुहुन्छ?

पार्टीमा लामो समयसम्म कार्यकर्ता भएर काम गर्दा हामीले के सिक्यौँ भने कुनै पनि निर्णयमा विमति हुन सक्छ, विमति राख्न सक्छ तर विधिसम्मत निर्णयलाई सबैले मान्नुपर्छ। उहाँले एउटा परिस्थितिमा रोषवश ती कुरा भन्नुभएको होला। अब आयोगको निर्णय आइसकेपछि उहाँ लगायत सबै साथीहरूले यसलाई स्वीकार गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु।

उहाँहरू त सर्वोच्च अदालत जाने कुरा पनि गर्दै हुनुहुन्छ। यस्तो भएमा चुनावको वातावरणमा कस्तो असर पर्ला?

हामीले विधानसम्मत अधिवेशन गर्यौँ र आयोगले त्यसलाई परीक्षण गरेर सदर गरिसक्यो। अब यो विवादलाई यहीँ रोकौँ भन्ने मेरो आग्रह छ। यो पार्टी फुटको विषय होइन, केवल नेतृत्व परिवर्तनको एउटा लोकतान्त्रिक प्रक्रिया हो। हामी भोलिबाटै एकजुट भएर अगाडि बढ्नुपर्छ। केही समय लाग्ला, मनमा केही रोष होला, तर हामी सबै सम्हालिन्छौँ र एक ठाउँमा उभिन्छौँ।

निवर्तमान सभापति शेरबहादुर देउवाको ‘सम्मानजनक बहिर्गमन’ को कुरा थियो, तर परिस्थिति अर्कै बन्यो। अब उहाँको व्यवस्थापन र टिकट वितरणमा तपाईँहरूको भूमिका के रहन्छ?

उहाँप्रति पार्टीले सधैँ अभिभावकीय र सम्मानजनक व्यवहार राख्नेछ। हामीले उहाँलाई विश्राम लिन अनुरोध गरेका थियौँ, जुन बाटो हिँड्नुपर्ने थियो, हामी हिँड्यौँ। कतिपयले उहाँलाई जबर्जस्ती फर्काउन खोजे पनि अब उहाँले शान्त मनले सोच्नुहुनेछ भन्ने आशा छ। उहाँ हाम्रो संरक्षक हो, उहाँको अनुभव र आशीर्वाद हामीलाई चाहिन्छ। उहाँले यो विधिलाई स्वीकार गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।

विगतमा कांग्रेसमा ‘६०–४०’ को भागबन्डा हुन्थ्यो। अब तपाईँ आफैँ सभापति हुनुहुन्छ, टिकट वितरणमा काखापाखा हुँदैन भनेर असन्तुष्ट पक्षले कसरी विश्वास गर्ने?

यो विशेष महाधिवेशनले वर्षौँदेखिको गुटगत राजनीति र औपचारिक समूहहरूलाई विधिगत रूपमै अन्त्य गरिदिएको छ। म विशेष अधिवेशनमा सहभागी नहुनुभएका साथीहरूलाई पनि आह्वान गर्छु—अधिवेशनको चरण सकियो, अब म सबैको सभापति हुँ। मैले सबैलाई समान व्यवहार गर्नेछु र न्यायपूर्ण ढङ्गले काम गर्नेछु।

हिजो उहाँहरूले तपाईँहरूलाई कारबाही गर्नुभएको थियो। अब तपाईँ उहाँहरूलाई कारबाही गर्नुहुन्छ कि?

हामी प्रतिशोधको बाटोमा हिँड्दै हिँड्दैनौँ। हाम्रो राजनीतिक संस्कारले त्यो दिँदैन। शेरबहादुर देउवाजीले जुन जिम्मेवारी सम्हाल्नुभएको थियो, अब त्यही पदमा बसेर मैले उहाँहरूका राम्रा कुरा सिक्ने र सुधार गर्नुपर्ने कुरा सुधार्ने हो। कारबाही गर्ने कुरा त हामी सोच्न पनि सक्दैनौँ।

शेखर कोइरालाले त यो प्रक्रियालाई “बाह्य तत्वको इशारामा गरिएको षड्यन्त्र” भन्नुभएको छ। उहाँको यो गम्भीर आरोपमा तपाईँको के भन्नु छ?

कुनै पनि प्रश्न आफूतिर तेर्सिँदा त्यसलाई षड्यन्त्र वा परिचालित भन्नु हाम्रो पुरानो पुस्ताको एउटा दुर्भाग्यपूर्ण प्रवृत्ति हो। यसो भन्नु भनेको हजारौँ कार्यकर्ताको अपमान गर्नु हो। म आफैँ यो विशेष महाधिवेशनको मुख्य आह्वानकर्ता हुँ। त्यसैले उहाँको यो अभिव्यक्ति केवल रोष मात्र हो, पछि उहाँले पनि यसलाई बुझ्नुहुनेछ।

एमाले अध्यक्ष केपी ओलीले पनि एमालेमा पनि यस्तै गर्न खोजिएको थियो भन्नुभएको छ। यसले त केही आधार देखाउँछ कि?

यो एउटा जेनेरेसनकै नेताहरूको समस्या हो। प्रश्न उठेपछि उम्किने सजिलो बाटो खोजिएको मात्र हो। उहाँहरूले आफ्नो पार्टीमा भव्य अधिवेशन गर्नुभयो, हामीले त्यसलाई सम्मान गर्यौँ। हामीले पनि आफ्नो पार्टीमा परीक्षण गराऔँ न त भनेका हौँ। उहाँहरूले जस्तै हामीले पनि छोटो समयमा उदाहरणीय ढङ्गले अधिवेशन सम्पन्न गरेका छौँ।

अब के हामी शीर्ष नेताहरूको बैठकमा देउवाजीको ठाउँमा तपाईँलाई देख्न पाउँछौँ?

वर्षौँदेखि एउटै पात्रहरू रहँदा लोकतन्त्र नै अवरुद्ध भएको महसुस जनताले गरेका थिए। पात्र फेरिनु प्रणालीका लागि उपलब्धि हो। हामी अरू दलका निर्णयलाई सम्मान गर्दै सहकार्य र प्रतिस्पर्धाको यात्रामा सँगै अगाडि बढ्नेछौँ।

अब नियमित महाधिवेशन र टिकट बाँडफाँडको प्रक्रिया के हुन्छ?

अहिले हाम्रो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ। सँगसँगै अधिवेशनका कामहरू पनि समयमै सम्पन्न गरिनेछ। टिकटका लागि १६५ वटै क्षेत्रबाट सिफारिसहरू आइरहेका छन्। टिमले अनौपचारिक छलफल गरिरहेको छ, भोलिबाट औपचारिक काम सुरु हुन्छ।

सानेपा मुख्यालयमा एउटा पक्षले कार्यालय ‘कब्जा’ गरेर बसेको छ। तपाईँहरू कसरी प्रवेश गर्नुहुन्छ?

पार्टी भनेको विचार र आत्मा हो। हामीसँग अब कानुनी जिम्मेवारी पनि छ। हामी जिम्मेवार भएर अगाडि बढ्छौँ। केही समयको आक्रोशलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा हाम्रो ध्यान छ। कतै पनि मुठभेड नगरिकन हामी परिस्थितिलाई सम्हाल्नेछौँ।

अन्त्यमा, भू-राजनीतिक हिसाबले देउवाजी र तपाईँको नेतृत्वमा केही मौलिक फरक देख्न सकिन्छ?

हाम्रो परराष्ट्र नीति र भू-राजनीतिक अडानमा पार्टीको मूल नीति र संविधानकै मार्गदर्शन रहनेछ। यसमा निरन्तरता रहन्छ। विगतमा कतिपय सन्दर्भमा सम्प्रेषण वा प्रतिक्रियामा हामी चुकेका हुन सक्छौँ, तर संस्थापक नेताहरूले सिकाएको परिपक्वतालाई अनुसरण गर्दै हामी अगाडि बढ्नेछौँ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?