३ माघ, काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा भट्टराईले असहमति जनाएका हुन् । ‘टिकट वितरणमा असहमति छ, नोट अफ डिसेन्ट लेख्छु भन्नुभएको छ,’ बैठक स्रोतले भन्यो ।
स्रोतका अनुसार भट्टराईले नोट अफ डिसेन्ट लेख्नुपर्ने तीन वटा आधार बैठकमा राखेका छन् । ‘टिकट वितरणमा मापदण्ड मिलेन । मापण्डद नबनाउँदा अन्याय हुन्छ,’ भट्टराईले भनेका छन्, ‘आन्तरिक एकतालाई नजर अन्दाज गरियो, यसले राम्रो गर्दैन ।’
बाह्य चुनौतीलाई पनि ध्यान नदिइएको भट्टराईले तर्क गरेका छन् ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको विवरणमा योगेशलाई टिकट दिन बाँकी राखिएको छ । भट्टराईले चुनाव लड्दै आएको ताप्लेजुङमा अध्यक्ष ओलीले पछि टुंग्याउने भनेर भट्टले भनेका छन् ।
ताप्लेजुङबारे पार्टीको निर्णय सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जाल मार्फत् समर्थकहरुलाई विचलित नहुन अपिल गरेका छन् । ‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेद्वारहरुलाई बिजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु,’ भट्टराईले लेखेका छन्, ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’
प्रतिक्रिया 4