News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस्टर नेपाल सन्तोष उपाध्यायले अछामबाट चुनाव नलड्ने घोषणा गरेका छन्।
- उनीले उम्मेदवारी नदिने निर्णय जिम्मेवारी र राष्ट्रिय आवश्यकतालाई बुझेर लिएको बताएका छन्।
- सन्तोषले अछामको विकासका लागि आफ्नो तन, मन र क्षमता समर्पण गर्न तयार रहेको उल्लेख गरेका छन्।
६ माघ, काठमाडौं । पूर्वमिस्टर नेपाल तथा टिभी होस्ट सन्तोष उपाध्यायले अछामबाट चुनाव नलड्ने घोषणा गरेका छन् । उम्मेदवारी दर्ताकै दिन उनले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
अछामको विकासका लागि आफ्नो तन, मन र क्षमता समर्पण गर्न पूर्ण रूपमा तयार रहेको बताउँदै आएका सन्तोष उपाध्यायले उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन्। उनले यो निर्णय हारका कारण नभई जिम्मेवारी र राष्ट्रिय आवश्यकतालाई बुझेर लिएको स्पष्ट पारेका छन्।
‘अछामलाई मेरो खाँचो थियो, तर आज देशलाई मेरो संयमताको खाँचो पर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । सकेसम्म जुटेर, सम्हालिएर र समझदारीका साथ अगाडि बढे मात्रै गन्तव्यमा पुग्न सकिने उनले विश्वास व्यक्त गरेका छन्।
उनले परिवर्तनको आवाज उठिसकेको तर त्यो अझै अधुरो रहेको उल्लेख गर्दै, उक्त अधुरो परिवर्तनलाई राजनीति र सदनभित्रबाट मात्र होइन, बाहिर बसेर पनि पूरा गर्न सकिने धारणा राखेका छन्।
यसअघि उनले अछाम-२ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए ।
अछाम जिल्ला घर भएका सन्तोष चिकित्सक हुन् । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतामा छात्रवृतिमा नाम निकालेका सन्तोषले पढाइसँगै करारको २ वर्ष अछामको कमलबजार प्राथमिक स्वास्थ्यकेन्द्रमा सेवा दिएका थिए ।
उनी हावर्डबाट ‘लिडरसिफ इन मेडिसिन’ विषयमा स्नातकोत्तर गरेर नेपाल फर्किएका हुन्। उनी सन् २०१९ का मिस्टर नेपालका विजेता समेत हुन् ।
सन् २०२१ मा पोल्याण्डमा भएको मिस्टर सुपरनेसनल प्रतियोगितामा तेस्रो रनर अप बन्न सफल भएका थिए । उनले कान्तिपुर टिभीमा गुड मर्निङ नेपालका टिभी होस्टको रुपमा समेत काम गरिसकेका छन् ।
प्रतिक्रिया 4