News Summary
Generated by OK AI. Editorially reviewed.- डाक्टर–बिरामी सम्बन्धलाई चिकित्सा विज्ञानको केन्द्रमा राखिएको छ र यो सम्बन्ध राजनीतिक विचारभन्दा माथि हुनुपर्छ भन्ने मान्यता चिकित्सा पेशाको आत्मा हो।
- डाक्टरले प्रत्यक्ष राजनीतिमा संलग्न हुँदा वैज्ञानिक प्रमाण र पार्टी धारणा बीच नैतिक संकट उत्पन्न हुन्छ र बिरामी–डाक्टर सम्बन्धमा नकारात्मक असर पर्न सक्छ।
समाजले डाक्टरलाई सधैं एउटा विशेष स्थान दिएको छ । आजका दिनसम्म डाक्टर केवल रोगको उपचार गर्ने मात्र होइनन्; उनीहरू विश्वास,, विज्ञान र नैतिकताको प्रतीक मानिन्छन् । बिरामीले आफ्नो शरीर मात्र होइन, आफ्नो डर, पीडा, गोपनीयता र कहिलेकाहीँ जीवन नै डाक्टरको हातमा सुम्पिन्छन् । यही कारणले डाक्टर–बिरामी सम्बन्धलाई चिकित्सा विज्ञानको केन्द्रमा राखिएको छ । यो सम्बन्ध राजनीतिक विचार, सामाजिक हैसियत वा व्यक्तिगत आस्थाभन्दा माथि हुनुपर्छ भन्ने मान्यता नै चिकित्सा पेशाको आत्मा हो ।
समाजमा स्वास्थ्य र राजनीति एक–अर्काबाट पूर्णरूपमा अलग छैनन् । स्वास्थ्यको बजेट, औषधि नीति, स्रोत साधन तथा जनशक्ति व्यवस्थापन, बीमा प्रणाली, सार्वजनिक स्वास्थ्य कार्यक्रम, महामारी व्यवस्थापन- यी सबै राजनीतिक निर्णयसँग जोडिएको हुन्छ ।
दी ल्यानसेटले पटक–पटक स्वास्थ्यलाई ‘पोलिटिक च्वाइस’ ‘भनेर परिभाषित गरेको छ । यसको अर्थ कुन समुदाय बाँच्ने, कुन समुदाय जोखिममा पर्ने भन्ने निर्णय नीतिले निर्धारण गर्छ ।
अहिले एउटा वृत्तमा बसहको विषय बनेको छ- डाक्टरले राजनीति गर्नुपर्छ कि पर्दैन ?
यो बहसमा सबैभन्दा महत्वपूर्ण कुरा ‘राजनीति’ शब्दको अर्थ स्पष्ट गर्नु हो । राजनीतिक रूपमा सचेत हुनु र प्रत्यक्ष पार्टीगत राजनीतिमा संलग्न हुनु एउटै कुरा होइन ।
चिकित्सा पेशाको आधार प्रमाणमा आधारित अभ्यास हो । चिकित्सा निर्णय, अनुसन्धान, तथ्य र वैज्ञानिक विश्लेषणमा आधारित हुनुपर्छ, विचारधारामा होइन । राजनीतिमा भने विचारधारा, शक्ति, लोकप्रियता र रणनीतिक सम्झौता महत्वपूर्ण हुन्छन् । जब डाक्टर प्रत्यक्ष राजनीतिमा प्रवेश गर्छन्, विशेषगरी पार्टीगत भूमिकामा, तब यी दुई मूल्य प्रणालीबीच द्वन्द्व सुरु हुन्छ । वैज्ञानिक यथार्थता र पार्टीको आधिकारिक धारणा सधैं मेल खाँदैन । यस्तो अवस्थामा डाक्टरले वैज्ञानिक प्रमाणको पक्ष लिनुपर्छ कि पार्टीको लाइन पालन गर्नुपर्छ भन्ने नैतिक संकट उत्पन्न हुन्छ ।
यो विषयमा विभिन्न जर्नलमा लेखिएका टिप्पणीहरूको निष्कर्ष छ- राजनीतिमा चिकित्सकको अति संलग्नताले बिरामी–डाक्टर सम्बन्धमा नकारात्मक असर पार्न सक्छ ।
बिरामीहरू पनि विविध राजनीतिक विचार बोकेका हुन्छन् । जब डाक्टरको राजनीतिक झुकाव सार्वजनिक हुन्छ, फरक विचार राख्ने बिरामीले उपचार निष्पक्ष हुन्छ कि हुँदैन भन्नेमा शंका गर्न सक्छन् ।
स्वास्थ्य सेवामा विश्वास कमजोर हुँदा उपचारको अनुशासन घट्ने र स्वास्थ्य नतिजा फरक हुन पनि सक्ने विभिन्न अध्ययनहरूको निष्कर्ष छ । यस अर्थमा, डाक्टरको राजनीतिक तटस्थता केवल नैतिक आदर्श होइन, व्यावहारिक आवश्यकता पनि हो ।
प्रत्यक्ष राजनीतिमा संलग्न डाक्टरले दोहोरो झुकावको समस्या झेल्नुपर्ने जोखिम पनि उच्च हुन्छ । चिकित्सा नैतिकताका आधारभूत सिद्धान्त- कल्याण, धर्म र न्याय डाक्टरको पहिलो प्राथमिकता हुन् । तर राजनीतिमा पार्टी अनुशासन, सामूहिक निर्णय र रणनीतिक मौनता आवश्यक पर्छ । कुनै नीति वैज्ञानिक रूपमा गलत भए पनि राजनीतिक कारणले समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ । दी ल्यानसेटमा प्रकाशित एक टिप्पणीमा यो अवस्थालाई ‘नैतिक क्षय’ को जोखिम भनेर वर्णन गरेको छ । यो अवस्थामा पेशागत मूल्य-मान्तयताहरू राजनीतिक स्वार्थको छायामा पर्ने गर्छन् ।
महामारीको समयमा देखिएको अनुभव यसको उदाहरण हो । कोभिड-१९ कालखण्डमा विश्वका विभिन्न भागमा चिकित्सकीय आवाजहरू राजनीतिक रूपमा विभाजित भए । केही डाक्टरहरू वैज्ञानिक प्रमाणभन्दा राजनीतिक विचारसँग नजिक देखिए, जसले जनतामा भ्रम र अविश्वास बढायो । त्यो समय विज्ञहरूले चिकित्सकीय ज्ञानको सञ्चार गर्ने कुरालाई राजनीतिकरणबाट मुक्त गर्नुपर्छ भनेका थिए ।
जब चिकित्सासम्बन्धी सन्देशहरू राजनीतिद्वारा निर्देशित हुन्छ, तब जनस्वास्थ्य नै जोखिममा पर्न सक्छ भन्ने तर्क विज्ञहरूको थियो ।
डाक्टरहरू प्रत्यक्ष राजनीतिमा संलग्न हुँदा चिकित्सा पेशा नै राजनीतिकरण हुने खतरा पनि हुन्छ । चिकित्सा पेशा समाजका धनी–गरिब, शिक्षित–अशिक्षित, सत्तापक्ष–विपक्ष सबैका लागि समान हुन्छ । जब डाक्टर कुनै दलको प्रतिनिधि जस्तो देखिन्छन्, तब चिकित्सा पेशाको मर्म कमजोर हुन सक्छ । चिकित्सा पेशामा तटस्थता व्यावसायिक निष्ठा कायम अनिवार्य चाहिन्छ ।
नेपालजस्तो मुलुकमा यो विषय अझ संवेदनशील छ । यहाँ स्वास्थ्य प्रणाली कमजोर छ । जनशक्ति र स्रोतसाधनको अभाव छ । स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेपको प्रभाव व्यापक देखिन्छ । स्वास्थ्य संस्थामा नियुक्ति, सरुवा, बजेट र नीतिमा राजनीतिक प्रभाव राम्रै देखिन्छ । यस्तो अवस्थामा डाक्टरहरू प्रत्यक्ष राजनीतिमा तानिनुले पेशागत स्वतन्त्रता झन् कमजोर बन्ने जोखिम हुन्छ । समाजलाई यहाँ राजनीति गर्ने डाक्टरभन्दा पनि राजनीतिक दबाबका बीचमा पनि वैज्ञानिक र नैतिक रूपमा अडिग रहने डाक्टर आवश्यक छन् ।
यसो भन्दै गर्दा डाक्टर राजनीतिक रूपमा सचेतन हुनुहुँदैन, उनीहरूले राजनीतिकमा चासो नै राख्नु हुँदैन भन्ने कदापि होइन । वास्तवमा राजनीतिक अज्ञानता खतरनाक हुन सक्छ । स्वास्थ्य नीति, बजेट र कानुनबारे जानकारी नहुने डाक्टरले आफ्नै पेशालाई असर गर्ने निर्णयहरू बुझ्न सक्दैनन् । चिकित्सकहरूले नीति प्रक्रियाबारे आधारभूत ज्ञान राख्नुपर्छ, ताकि उनीहरूले जनस्वास्थ्यको पक्षमा प्रभावकारी रूपमा आवाज उठाउन सकुन् ।
यदि डाक्टरले एक्लै वा संगठित भएर कुनै पनि विषयमा वकालत गर्छ भने त्यसलाई राजनीति भन्न मिल्दैन । धूम्रपानविरुद्ध आवाज उठाउनु, खोपको पक्षमा वैज्ञानिक तथ्य प्रस्तुत गर्नु, प्रदूषण, जलवायु परिवर्तन, कुपोषण र सामाजिक असमानताले स्वास्थ्य क्षेत्रमा पारेका प्रभावबारे बोल्नु राजनीति गर्नु होइन । चिकित्सासम्बन्धी विभिन्न लेखले चिकित्सकीय वकालतलाई व्यावसायिक जिम्मेवारीका रूपमा परिभाषित गरेका छन् । यसलाई पार्टी राजनीतिको स्वार्थसँग नजोड्न सुझाव दिइएको छ ।
कहिलेकाहीँ मौनता पनि दोष हुन सक्छ । यदि कुनै नीतिले बालबालिका, महिला, गरिब वा सीमान्तकृत समुदायको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको छ र डाक्टरहरू यो ‘राजनीतिक विषय’ हो भनेर भनेर चुप बस्छन् भने, त्यो मौनता नैतिक दृष्टिले ठिक मानिदैन ।
द ल्यान्सेटको एक चर्चित सम्पादकीयमा भनिएको छ, ‘गलत नीतिहरूको समाना गर्दा पनि मौन बस्नु भनेको तटस्थता होइन, बरू त्यो गलत नीतिलाई समर्थन गर्नु हो ।’
डाक्टरको पहिलो कर्तव्य सत्य र प्रमाणका आधारमा बोल्नु हो, राजनीतिक संलग्नताका आधारमा पेशागत निष्ठालाई कमजोर बनाउनु होइन् ।
राजनीतिक रूपमा सचेत डाक्टरले नीति निर्माता र समाजबीच पुलको काम गर्न सक्छन् । उनीहरू नीति बनाउने होइनन्, तर नीति बनाउनेलाई वैज्ञानिक तथ्य, स्थानीय अनुभव र नैतिक दृष्टिकोण प्रदान गर्न सक्छन् । यस्तो भूमिका निर्वाह गर्दा डाक्टरले आफ्नो पेशागत स्वतन्त्रता जोगाउँछन् र समाजलाई दीर्घकालीन रूपमा फाइदा पुग्छ।
(डा. विकास पौडेल वरिष्ठ छाला रोग विशेषज्ञ हुन् । उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा समीक्षक र सम्पादकीयको भूमिका समेत निभाउँदै आएका छन् ।)
प्रतिक्रिया 4