News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफले राष्ट्रिय लिग फुटबलमा संकटा क्लबलाई २-१ ले पराजित गर्दै लगातार तेस्रो जितसहित शीर्ष स्थानमा उक्लेको छ।
- एपीएफका प्रदिप लामाले २९औं र युवराज खड्काले ५१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
- एनआरटीले फ्रेण्ड्स क्लबलाई १-० ले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ र ९ अंक जोडेको छ।
११ माघ, काठमाडौं । विभागीय टोली एपीएफले राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
लिग अन्तर्गत आइतबार दशरथ रंगशालमा भएको खेलमा एपीएफले संकटा क्लबलाई २-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।
एपीएफका लागि प्रदिप लामाले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । युवराज खड्काले ५१औं मिनेटमा गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे ।
संकटाका गणेश हमाले ८१औ मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
लगातार तेस्रो जितपछि एपीएफ ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एपीएफसहित लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले लगातार तीन खेल जित्दै शतप्रतिशत नतिजा निकालेका छन् ।
संकटाको चार खेलमा यो पहिलो हार हो । यसअघि सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबसँग बराबरी खेलेको संकटाले कांक्रेविहार युवा क्लबलाई पराजित गरेको थियो । संकटाले चार खेलबाट ५ अंक जोडेको छ ।
आइतबारै एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले फ्रेण्ड्स क्लबलाई १-० ले पराजित गरेको छ । एनआरटीको पनि यो लगातार तेस्रो जित हो ।
पहिलो खेलमा मछिन्द्र एफसीसँग पराजित भएको एनआरटीले त्यसयता सातदोबाटो युथ क्लब, कांक्रेविहार युवा क्लब र फ्रेण्ड्सलाई हराएको हो ।
एनआरटीले पनि ४ खेलबाट ९ अंक नै जोडेको छ । गोलअन्तरका आधारमा एपीएफ शीर्षमा छ ।
तस्वीरहरू : विकास श्रेष्ठ



प्रतिक्रिया 4