News Summary
Generated by OK AI. Editorially reviewed.- भाइरल पेन्गुइन 'इन्काउन्टर्स एट द एन्ड अफ द वर्ल्ड' नामक २००७ को वृत्तचित्रबाट आएको हो, जसलाई वर्नर हर्जोगले बनाएका थिए।
- भिडियोमा एडेली प्रजातिको पेन्गुइन आफ्नो समूह छाडेर विपरीत दिशाको हिमालतर्फ यात्रा गरिरहेको देखिन्छ, जुन असामान्य व्यवहार हो।
- पेन्गुइनलाई इन्टरनेटमा 'निहिलिस्ट पेन्गुइन' भनेर चिनिन्छ र यसलाई शून्यवादसँग जोडेर हेर्ने गरिन्छ, तर वन्यजन्तु विशेषज्ञहरूले यसमा कुनै दार्शनिक कारण नरहेको बताउँछन्।
अहिले इन्टरनेटमा एउटा पेन्गुइन भाइरल छ । उक्त पेन्गुइन प्रेरणादायी कन्टेन्ट र मिम कन्टेन्टहरूमा मज्जैले छाएको छ । यतिसम्म कि अमेरिकाको द ह्वाइट हाउसको आधिकारिक ह्यान्डलहरूमार्फत समेत उक्त पेन्गुइनलाई लिएर तयार पारिएका कन्टेन्ट शेयर भइरहेका छन् ।
आखिर एउटा पेन्गुइनमा त्यस्तो के छ ?
भाइरल पेन्गुइन ‘इन्काउन्टर्स एट द एन्ड अफ द वर्ल्ड’ नामक एउटा पूरानो वृत्तचित्रमार्फत आएको हो । जसलाई वर्नर हर्जोगले २००७ मा बनाएका थिए । अहिले त्यसैको क्लिप भाइरल भइरहेको हो ।
भिडियो क्लिपमा एडेली प्रजातिको एउटा पेन्गुइन आफ्नो समूह छाडेर विपरीत दिशाको हिमालतर्फ एक्लै यात्रा गरिरहेको देखिन्छ । वृत्तचित्रमा ७३औँ मिनेटतिर आउने उक्त दृश्यमा हर्जोगले ‘पेन्गुइनको पागलपन’ र त्यस दृश्यलाई मृत्युतर्फको यात्राका रूपमा वर्णन गरेका छन् ।
किनकि प्रायः एडेली पेन्गुइनहरू आफ्नो प्रजनन स्थल र समुद्रको नजिक बस्छन् । तर उक्त पेन्गुइन भने उल्टो बाटो हिँड्दै छ । त्यस्तो व्यवहार यस प्रजातिका लागि अत्यन्तै असामान्य हो ।
तर आजको समयमा एआईमार्फत बनाइएका सोही दृश्यहरू छ्यापछ्याप्ती छन् ।
इन्टरनेट दुनियाँले उक्त एक्लो पेन्गुइनलाई नाम समेत दिएको छ- निहिलिस्ट पेन्गुइन । अनि साराले त्यस क्लिपलाई वैचारिक द्वन्द्व, मौन विद्रोह र मानसिक थकानको रूपमा अर्थ्याइरहेको छन् ।
मुलत: पेन्गुइनको नाममा राजनीतिक दर्शन जोडिएको छ- निहिलिज्म अर्थात् शून्यवाद। फ्रेडरिक हेनरिक ज्याकोबी, इभान तुर्गनेभ, फ्रेडरिक नित्से जस्ता दार्शनिकहरूले लोकप्रिय बनाएको यो दर्शनले जीवन र जगतको कुनै पनि निश्चित अर्थ, उद्देश्य वा मूल्य छैन भन्ने कुरामा विश्वास गर्छ ।
पेन्गुइनमा देखिएको शून्यता र उद्देश्यहीनताका कारण इन्टरनेटमा उसलाई ‘निहिलिज्म’सँग जोडेर हेर्न थालिएको हो ।
यद्यपि धेरै मिमहरू बने पनि, दार्शनिक दृष्टिकोणबाट हेरिए पनि पनि यसमा कुनै दार्शनिक कारण छैन ।
अनुसन्धानकर्ता र वन्यजन्तु विशेषज्ञहरूका अनुसार पेन्गुइनहरूमा यस्तो व्यवहार दुर्लभ भए पनि कहिलेकाहीँ देखिन्छ । बाटो भुल्नु, स्नायुसम्बन्धी समस्या वा बिरामी हुनु, प्रजननमा अलमल हुनु आदि कारण त्यसो हुन सक्ने उनीहरूको भनाइ छ ।
त्यस्तै कतिपयलाई उक्त पेन्गुइनको घटना हालै भएको पनि लाग्ने गरेको छ । र, पेन्गुइन जीवित छ/छैन भन्ने प्रश्न पनि आउने गर्छ । यद्यपि, उक्त भिडियो धेरै अघिको भएकाले र वर्नर हर्जोग आफैंले त्यस पेन्गुइनको यात्रालाई मृत्युसँग जोडेकाले, सायद पेन्गुइन जीवित नरहेको सङ्केत गर्छ ।
प्रतिक्रिया 4