+
+
Shares
स्थलगत :

सिरहा ४ : उम्मेदवार मत माग्छन्, मतदाता पानी

गाउँ–घर, बाटो–घाटोमा भेटिएका सर्वसाधारणका लागि चुनावी नारा र आश्वासनभन्दा ठूलो अर्को सराेकार छ, खानेपानीको चरम संकट ।

सुरेश राय सुरेश राय
२०८२ माघ १५ गते १५:१३
पानीको गहिरो संकट भोगिरहेको सिरहा ४ । तस्वीर : सुरेश राय/अनलाइनखबर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारहरू २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदाताको विश्वास जित्न घरघर पुगिरहेका छन्।
  • सिरहाका मतदाताले चुनावी नारा भन्दा पनि खानेपानीको समस्या समाधान गर्नुपर्ने माग राखेका छन्।
  • सिरहा ४ मा पाँच पूर्वमन्त्रीसहित ३६ उम्मेदवार चुनावी मैदानमा छन् र मतदाता पानीको व्यवस्था गर्ने उम्मेदवार खोजिरहेका छन्।

१५ माघ, सिरहा । आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारहरू घरघर पुगिरहेका छन् । घरदैलो, सामूहिक छलफल र भेटघाटबाट उनीहरू मतदाताको विश्वास जित्ने प्रयासमा छन् । आफ्ना चुनावी नारा सुनाइरहेका छन् ।

तर, गाउँ–घर, बाटो–घाटोमा भेटिएका सर्वसाधारणका लागि चुनावी नारा र आश्वासनभन्दा ठूलो अर्को विषय छ, खानेपानी समस्या ।

अनलाइनखबरकर्मीले सिरहाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग आसपासका बस्तीदेखि भित्री गाउँसम्म पुग्दा मतदाताको मनोविज्ञान पहिलेभन्दा फरक देखिएको छ ।

धारामा पानी आउँदैन । खोल्सा–कुवा मात्र होइन, ट्युबेलसमेत सुक्दै गएका छन् । खानेपानीको चर्को समस्या भोगिरहेका स्थानीयलाई उम्मेदवारका अरु चुनावी नाराले छोएकै छैन । सबैको सरोकार दिनहुँ बढिरहेको खानेपानीको संकटबाट कसरी मुक्त हुने भन्नेमै देखिन्छ ।

स्थानीय सुरेन्द्रप्रसाद महतो भन्छन्, ‘धेरै चुनाव आए, धेरै नेताले आश्वासन पनि दिए । तर, काम गरेनन् । किसानले सिँचाइ, बीउ, मल र उत्पादनको मूल्यका लागि सडकमा उत्रनु पर्ने समस्या त छँदैथियो, पछिल्ला वर्ष पानीको रचम अभाव भोग्नु परिरहेको छ ।’

सुरेन्द्रप्रसाद महतो ।

यो समस्याले सिंगै समाज पिरोलिएको छ । किसानलाई खेतीमा समस्या भएको छ । गाइबस्तु पाल्न धौधौ भएको छ । सबैभन्दा धेरै त गृहिणीका दु:ख बढेको छ ।

‘आफ्नो घरमा पानी छैन । छिमेकीको अवस्था पनि उस्तै छ । माग्न गए गाली खाइन्छ,’ स्थानीय महिला दुलारी दास आफ्नो दु:ख सुनाउँदै भन्छिन्, ‘मलाई राजनीति बुझ्नुपरेको छैन, एउटा बोरिङ भए पुग्थ्यो ।’

दुलारी दास

गाउँलेले भोग्दै आएका समस्याबारे जनप्रतिनिधि जानकार नभएका होइनन् । तर, उनीहरूले पनि केही गरेनन् भन्ने गुनासो स्थानीयको छ । स्थानीय बलबहादुर कार्की भन्छन्, ‘हाम्रा समस्याबारे जानकार भए पनि जनप्रतिनिधिले केही गरेनन् किनभने विकास गर्ने नेता नै हामीले पाएनौं ।’

बलबहादुर कार्की ।

खानेपानीको अभाव यहाँका जनताले दिनहुँ भोगिरहेको समस्या हो । आउँदो चुनावमा आउने नयाँ पुराना सबैले पहिलेजस्तै बाचा गर्ने र निर्वाचित भएर गएपछि काम नगर्ने पुरानै रोग दोहोरिने चिन्ता यहाँका मतदातामा छ ।

‘पटकपटक निर्वाचित भएका जनप्रतिनिधिले हाम्रा दु:ख बुझेनन् । अहिले नयाँ नयाँ पार्टीका उम्मेदवारहरू आइरहेका छन्,’ राजिन्द्र दास भन्छन्, ‘पुरानालाई विश्वास गरौं भने अहिलेसम्म नगरेकाले फेरि गर्लान् जस्तो लाग्दैन । नयाँलाई गरौं भने यिनका पनि कुरा मात्रै हो कि, अहिले पुराना भनिएका पनि कुनै दिन त नयाँ नै थिए । त्यसैले कसलाई विश्वास गर्नु ?’

राजिन्द्र दास ।

रिपोर्टिङकै क्रममा भेटिएका शंकरलाल तामाङका लागि पनि खानेपानीको समस्या टारिदिने जनप्रतिनिधि पाए हुन्थ्यो भन्ने लागेको छ । ‘पानीबिना यहाँका जनता तड्पिरहेका छन् । हाम्रो कुरा कसैले सुन्दैन । हामीलाई पानी चाहिएको छ । भ्रष्टाचारमुक्त देश चाहिएको छ । कुराले होइन कामले देश बनाउने नेता चाहिएको छ,’ उनी भन्छन् ।

शंकरलाल तामाङ ।

सिरहा–४ मा पाँच पूर्वमन्त्रीसहित दल र स्वगतन्त्र गरी ३६ उम्मेदवार चुनावी मैदानमा छन् । यी उम्मेदवार गाउँगाउँ पुगिरहेका छन् । पुरानाहरू आफ्ना कमजोरी सच्याएर आउने र आफ्ना बाचा पूरा गर्ने विश्वास दिलाउन व्यस्त देखिन्छन् । नयाँहरू पुरानाले गरेनन्, त्यसैले हामीलाई मौका दिनुस् भनिरहेका छन् ।

अनेक बाचा गरेर भोट हत्याउन उम्मेदवार तल्लिन छन् । तर, मतदाता अडिएका छन् । हेरिरहेका छन् । पर्गेलीरहेका छन् किनभने २१ फागुन अझै टाढा छ । बरु, पानीको काकाकुल जीवन दैनिकी बनेको छ । जसरी पनि यो कष्टबाट पार पाउने मनसायमा रहेका मतदाता पानीको व्यवस्था गरिदिनसक्ने उम्मेदवार जाँचीरहेका छन् ।

पानीको गहिरो संकट भोगिरहेको सिरहा ४ का केही प्रतिनिधि तस्वीर ।

तस्वीरहरू : सुरेश राय/अनलाइनखबर ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?