+

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको‌ उपाधि भुवनलाई 

२०८२ माघ  १५ गते १९:५३ २०८२ माघ १५ गते १९:५३
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको‌ उपाधि भुवनलाई 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुवन नगरकोटीले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।
  • भुवनले कुल ९-अन्डर २०७ स्कोर गर्दै निरज तामाङ, टंक बहादुर कार्की र भुवन रोक्कालाई १० स्ट्रोकले हराए।
  • प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी कुल ३६ गल्फरको सहभागिता रहेको थियो।

१५ माघ, बर्दिबास (महोत्तरी)  । भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।‌

बिहीबार बर्दिबासस्थित पार-७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा २-अन्डर ७० को स्कोर गरेका उनले कुल ९-अन्डर २०७ स्कोर गरे ।

भुवनले नेपाल नम्बर एक प्रो निरज तामाङसँगै टंक बहादुर कार्की र भुवन कुमार रोक्कालाई १० स्ट्रोकले हराउँदै करियरको १२औं उपाधि जितेका हुन् । ट्रफीसँगै उनले १ लाख ७० हजार रुपैयाँ हात पारे ।

अन्तिम दिन निरजले इभन-पार ७२ को स्कोर निकाल्दा टंक र भुवनले २-ओभर ७४ मा खेल सकाए । उनीहरुले समग्रमा १-ओभर २१७ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थान बाँडे । उनीहरूले जनहि १ लाख २ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाए ।

जयराम श्रेष्ठले २-अन्डर ७० र धन बहादुर थापाले १-अन्डर ७१ को सहित समग्रमा २-ओभर २ सय १८‌‌ को स्कोरमा संयुक्त पाँचौँ स्थानमा रहे । दुवैले ६८ हजार रुपैयाँ प्राप्त गरे ।

दिनेश प्रजापतिले इभन-पार ७२ खेल्दा ४-ओभर २ सय २० को स्कोरमा सातौँ स्थान प्राप्त गरे । उनले ५७ हजार रुपैयाँ पुरस्कार हात पारे ।

कुमार कामीले १-ओभर ७३ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोरसहित आठौँ स्थानमा रहँदै ५१ हजार रुपैयाँ प्राप्त गरे ।

सुमन परियार र सञ्जय लामा ६-ओभर २ सय २२ स्कोरसहित संयुक्तरुपमा नवौँ स्थानमा रहे । दुवैले ४४ हजार रुपैयाँ पाए ।

यस्तै रवि खड्का र बलभद्र राईले समग्रमा २ सय २५ स्कोरसहित ११औँ स्थान बाँडे । उनीहरूले समान ३६ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

एमेच्योरतर्फ सुन्दर राईले उपाधि जिते । उनले आज इभन -पार ७२ खेल्दै समग्रमा ५-ओभर २ सय २१ स्कोरसहित प्रकृत तामाङलाई १६ स्ट्रोकले पछि पारे । २१-ओभर २ सय ३७ स्कोर सहित प्रकृत तामाङ दोस्रो भए ।

विजेता भुवनले फ्रन्ट नाइन १-अन्डर ३५ खेले । तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले चौथो होलमा एक सट खेर फाले । यसपछि ११औँ, १५औँ र १६औँ होलमा बर्डीको‌ सफलता प्राप्त गर्दा १३औँ र १४औँ होलमा बोगी खेप्दै ब्याक नाइन पनि १-अन्डर ३५ खेले ।  उनले पहिलो दिन ५-अन्डर ६७ को कोर्स रेकर्ड बनाएका थिए भने दोस्रो दिन २-अन्डर ७० खेलेका थिए ।

निरजले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३६ खेले । उनले आठौं र १६औं होलमा बर्डी र पाँचौं र १३औं होलमा बोगी खेप्दा बाकी १४ वटा होलमा पार बचाए ।

टंकले भने फ्रन्ट र ब्याक नाइन दुवै १-ओभर ३७ मा सकाए।‌दोस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं र आठौ होलमा बोगीको समान गरे । यसपछि ब्याक नाइनमा १४ औं होलमा एक सट खेर फाले ।

भुवन कुमार रोक्काले भने पाँचौं होलको बोगीका विरूद्ध आठौं होलको बर्डीले इभन-पार ३६ खेले । यसपछि १०औं होलामा बर्डी प्रहार गरेका उनले ११औं, १४औं र १८औं होलामा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई मधेस प्रदेश प्रमुख मा. सुरेन्द्र लाभ कर्ण, मध्यपुर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जीसी, मधेस प्रदेश प्रमुख सचिव कमल भट्टराई र सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसिले पुरस्कार वितरण गरे ।

सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी कुल ३६ गल्फरको सहभागीता रहेको थियो ।

 

भुवन नगरकोटी सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय