+
+
Shares

समयको अनिकाल !

आजको समाज जुनसुकै मूल्यमा पैसा, पद र देखाबटी प्रतिष्ठाको पुजारी बनिरहेको छ । प्रणालीले बालबालिकालाई पनि यही नै सही हो भन्ने भाष्य सिकाइरहेको छ ।

श्रीश भण्डारी श्रीश भण्डारी
२०८२ माघ १७ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समयको अनिकाल भन्नाले कामको निरन्तर दबाबले व्यक्तिगत र सामाजिक जीवनका लागि समय नपाउने मनोवैज्ञानिक अवस्थालाई जनाउँछ।
  • पैसा, डिजिटल डिभाइस, सरकार/श्रमशोषक, समाज/परम्परा र स्वास्थ्य/कार्यशैली आधुनिक समयका प्रमुख समय चोर हुन्।
  • डिजिटल उपकरण र सामाजिक सञ्जालले हाम्रो ध्यान चोरेर मानसिक थकान र निर्णय थकान निम्त्याइरहेका छन्।

२१औं शताब्दी पैसा, प्रविधि, तीव्र विकास र परिवर्तनको युग हो । यहाँ सबै केही न केही काममा व्यस्त देखिन्छन् । प्रत्येकका हातमा महँगा घडी छन् तर समय कसैसित छैन । मस्तिष्कमा योजनाका पहाड छन् तर फोक्सोलाई सास फेर्ने फुर्सद छैन । घडी मानिस जस्ता र मानिस घडी जस्ता !

ढिलो सुत्नु, छिटो उठ्नु, सक्दो कुद्नु, कुस्त कमाउनु– यी सबै आधुनिक जीवनशैलीका सूत्र–वाक्यसरह छन् । सँगै टाँस्सिएकाहरूबीच खासै भलाकुसारी हुँदैन । बदलामा नोटिफिकेसन बोल्छन् । परिवारसँग परिकारहरूको सम्बन्ध घटेको छ । नाप्नु छ त केवल क्यालोरीको मात्रा । समय अभावसँगै तिनमा स्वाद र सन्तुष्टि दुवै हराउँदै गएको छ। हाँसो ओठहरूको सट्टा इमोजीहरूमा सीमित बन्दै छ । यहाँ कोही कसैलाई मुस्किलले प्रेम गर्छ । लभ हेट दुवै प्रविधिहरू नै रियाक्ट गर्छन् ।

आधुनिक मान्छेको जीवन खासमा जीवन जस्तो कम, मोनोरेल जस्तो ज्यादा छ– जो कहिल्यै कुनै स्टेसनमा रोकिँदैन । यात्रुहरू आपसमा बोल्दैनन् । हरेकको परिचय कागजको टुक्रामा सीमित छ । को कहाँ जाने हो दोस्रोलाई मतलब छैन । रेल तीव्र छ । यात्रुहरू थकित । गन्तव्य अनिश्चित । आश्चर्य ! तैपनि कोही यसलाई असहज मानिरहेका देखिन्नन् ।

हामीलाई आजका मानिस ५० वर्ष पहिलेका मानिसको भन्दा धेरै काम गर्छन् र कमै मात्र सुत्छन् जस्तो लाग्छ । तर अनुसन्धानहरूका नतिजाले भनिरहेका छन्– यो धारणा गलत हो । युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक जोनाथन जरशुनी र ओरिएल सालिभानले आफ्नो पुस्तक ‘What We Really Do All Day’ (हामी साँच्चिकै दिनभर के गर्छौं) मा समयमा आधारित कामको वास्तविक चित्रण प्रस्तुत गरेका छन् । उनीहरू भन्छन्, “धेरै मानिसले आजको जीवन धेरै व्यस्त भएको अनुभूति गर्छन् । तर जब व्यक्तिहरूले काममा बिताएको औसत समय तुलना गरिन्छ, मानिस वास्तममा धेरै समय कामममा बिताइरहेका छैनन् । पुरानो बेलाको तुलनामा कामको औसत घण्टा कम अथवा उस्तै छ ।”

पुर्खाहरूको तुलनामा हामीसित प्रविधि र स्रोतहरूको प्रचुरता छ । औसत आयु बढेको छ । तैपनि हामी जिम्मेवारीहरू पूरा गर्न भ्याइरहेका छैनौं । जहिल्यै हतारोमै हुन्छौं । यस्तो किन ?

कारण हो– समयको अनिकाल ।

समय अनिकालको अवधारणा सन् १९९९ मा समाजशास्त्री लेस्ली ए. पेरलो ले आफ्नो पुस्तक ‘द टाइम फेमिन : टुवर्ड अ सोसियोलोजी अफ वर्क टाइम’ मा प्रस्तुत गरेकी थिइन् । समयको अनिकाल यस्तो अवस्था हो जहाँ व्यक्तिले “कामको निरन्तर दबाबका कारण व्यक्तिगत र सामाजिक जीवनका लागि समय नपाउने” अनुभव गर्छ । यो समयको वस्तुगतभन्दा पनि मनोवैज्ञानिक अभाव हो । पर्याप्त समय हुँदाहुँदै पनि आफूले समय नपाएको महसूस हुने अवस्था ।

के समयको यस्तो अनिकाल सय वर्षअघि पनि यस्तै थियो ?

पक्कै थिएन ।

कारण ?

मुख्य कारण हुन्– समय चोरहरू !

आजको व्यस्त विश्वमा हामीले पत्तै नपाउने गरी हाम्रो समय अरूले नै चोरिरहेका छन् । ती चोरहरू हुन्– पैसा, प्रविधि (खासगरी डिजिटल डिभाइस), सरकार/श्रम-शोषक, समाज/परम्परा, स्वास्थ्य/कार्यशैली । यी चोरहरू कहिले दृश्य रूपमा प्रकट हुन्छन् त कहिले अदृश्य ।

चोर १ : पैसा

अहिलेको पूँजीवादी समाजमा सफलताको मापन मुख्य रूपमा ‘उत्पादनशीलता’ले गर्छ । व्यक्ति, संस्था, समाज र सरकार सबैले समयलाई उपलब्धि र नाफासँग जोडिरहेका छन्। यसले सन्तोष, सम्बन्ध र आनन्द जस्ता भावनात्मक पक्षहरू ओझेलमा परेका छन् । देखासिकी र प्रतिस्पर्धाले हामीमाथि आवश्यकताभन्दा बढी सङ्ग्रह गर्नुपर्ने दबाब बढाइरहेका छन् ।

‘समय नै पैसा हो’ भन्ने दृष्टिकोण औद्योगिक युगको उत्पादन केन्द्रित सोच हो । आधुनिक समाजमा यो सोच अझै बलियो बनेको छ । यहाँ “म को हुँ ?” को उत्तर अक्सर “म के गर्छु ?” ले दिने गर्छ । हामीले आफ्नो पहिचानलाई काम, उत्पादन र उपलब्धिसँग जोडेका छौं ।

यहाँ जोसित धेरै धन छ, उही सबैभन्दा ठूलो कहलाउँछ । यस्तो सोचका कारण छुट्टी मनाउँदा पनि हामीलाई समय खेर गइरहे जस्तो लाग्न थालेको छ । उत्पादनशील हुनु राम्रो हो । तर निरन्तर उत्पादनशील हुनुपर्ने दबाबले मानसिक थकान, चिढचिढाहट, अनिद्रा, आत्मग्लानि र उद्देश्यहीनता जन्माउने जोखिम रहन्छ ।

समयको कमी हाम्रो युगको महामारी जस्तै हो । हामी सबै समयका भोका छौं । सबै धेरै समय चाहन्छौं । भएकै समय कसरी सदुपयोग गर्ने भन्ने चाहिँ थोरैलाई मात्र थाहा छ। समय बाहिर होइन, हामीभित्रै बगिरहेको ऊर्जा हो ।

हामी समय खर्च गरेर पैसा कमाउँछौं, समय खर्चेरै गुमाउँछौं । पैसा एउटा यस्तो स्रोत छ जसलाई कमाउँदा पनि समय गुम्छ, खर्च गर्दा पनि । तर समयलाई जेसुकै गुमाए पनि कमाउन सकिन्न । जति छ, त्यसैबाट मात्र खर्च गर्नुपर्ने हुन्छ । समय सीमित छ भन्ने बोधले हामीलाई अर्थपूर्ण काम र गतिविधिहरूमा समय खर्चन प्रेरित गर्छ । समय सदुपयोगका लागि सम्पत्ति सहायक र बाधक दुवै छ ।

अधिकांशलाई आफूसित कति सम्पत्ति छ भन्ने थाहै छैन । यति मात्रै थाहा छ, “मसित जति छ, त्यो अझै अपर्याप्त छ । त्यसैले मैले अझै धेरै कमाउनु छ ।” उनीहरूलाई होसै छैन– सम्पत्तिले मेरो सेवा गरिरहेको छ कि मैले सम्पत्तिको ?

यहाँ विरलैले मात्र आफैंसित प्रश्न गरिरहेका होलान्– अझै धेरै कमाउने चक्करमा मैले आफ्नो अमूल्य जीवन त गुमाइरहेको छैन ? भौतिक सुविधाको खोजीमा आत्मिक शान्ति त बिथोलिरहेको छैन ? अधिक धन थुपार्ने चक्करमा समयको अनिकाल त निम्त्याइरहेको छैन ? मेरो सम्पत्ति मेरो सहयोगी नभएर कतै समय चोर त बनिरहेको छैन ?

चोर २ : डिजिटल डिभाइस

हामी डिजिटल युगमा छौं । प्रविधिसँगै विस्फोट भएका सूचना र जानकारीहरूको असर कहालीलाग्दो छ । हामीले मिडिया/सोसल मिडिया हेरिदिए बापत कसैको कमाइ भइरहेको छ । प्लेटफर्महरूले निरन्तर हाम्रो ध्यान तान्ने प्रयत्न गरिरहेका छन् । सामाजिक सञ्जालहरूले हाम्रो समय मात्र चोरिरहेका छैनन्, हामीलाई सूचना अतिरेकको अवस्थामा पुर्‍याएका छन् ।

‘पहिले’ को कुरा अर्कै थियो । जोसित धेरै सूचना छ त्यही बुद्धिमान् कहलाउँथ्यो । भनिन्थ्यो– सूचना नै बुद्धि हो, बुद्धि नै शक्ति । अहिले सूचनाको बाढी यति ठूलो छ, हरेकलाई त्यसबाट जोगिन हम्मे छ । पढ्ने, हेर्ने र सुन्ने जति पनि माध्यम छन् तीबाट ज्ञान वा सूचना मात्र प्रवाहित हुँदैनन् । ठूलो परिमाणमा कुसूचना, हल्ला र भ्रमहरू फैलिरहेका हुन्छन् । जानकारीहरूको यो महासागरबाट वास्तविक ज्ञानको थोपा निकाल्नु जोकोहीका लागि चुनौती छ । सही माध्यमबाट सही जानकारी छनोट गर्नमै समय खेर जाने अवस्था छ ।

स्मार्टफोन र सामाजिक सञ्जालहरूले हाम्रो व्यस्तता मात्र बढाएका छैनन्, काम र व्यक्तिगत जीवनको सीमा पनि मेटिदिएका छन् । काम अब कार्यालयमा सीमित छैन । मानिसहरू २४ घण्टा अनलाइन छन् । पढाइ पनि त्यस्तै भएको छ । निरन्तर सम्पर्कशीलताले काम कहिल्यै पूरा नभएको अनुभव गराउँछ । स्मार्टफोनका टास्क म्यानेजर वा प्रोडक्टिभिटी एपहरूले हामीलाई दबाब दिइरहेका हुन्छन्– तपाईं अझै बढी गर्न सक्नुहुन्छ । फेसबुक, इन्स्टाग्राम, लिंक्डइन, युट्युब जस्ता प्लेटफर्ममा ‘चर्चितहरू’ का प्रदर्शनले तुलनात्मक मानोवैज्ञानिक दबाब सिर्जना गर्छन् । मानसिक थकान र समय अभावको अनुभूति बढाउँछन् ।

परिणाम– हामी निर्णय थकान (decision fatigue) बेहोर्न बाध्य हुन्छौं । एक अध्ययनका अनुसार, सोसल मिडियाको लतका कारण कार्यालयका कर्मचारी औसत प्रत्येक ११ मिनेटमा विचलित हुन्छन् । उनीहरूलाई काममा फर्कन औसत २३ मिनेट लाग्छ ।

बढी समय डिजिटल डिभाइसमा संलग्न हुँदा समय त बर्बाद हुन्छ नै चिन्ता, डिप्रेशन र निद्राका समस्या पनि बढ्छन् । आम मानिसको ध्यान आफूतिर खिच्न मिडिया/सोसल मिडियाले अतिरञ्जित र विवादास्पद सामग्रीको सहारा लिइरहेका हुन्छन् । यस्ता सामग्रीले हामीलाई कुसूचित गर्छन् ।

अहिलेको पुस्ताले ‘सोसल मिडिया’ लाई केवल सूचना र मनोरञ्जनको माध्यम मात्र नभई जीवनको अभिन्न अंग बनाइसकेको छ । फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब जस्ता प्लेटफर्मले हामीलाई अनन्त स्क्रोलमा फसाउँछन् । मोबाइल गेम र मनोरञ्जनका एपहरूमा हाम्रो समय बितिरहेको हामीलाई नै थाहा हुँदैन ।

डिजिटल सामग्रीलाई बजारीकरण गर्ने कम्पनीहरूले लामो समयसम्म आफ्ना सामग्रीमा ध्यान टिकाइराख्न प्रयोगकर्ताको सक्दो डेटा सङ्कलन गर्छन् । यसबाट हाम्रो समय मात्र होइन, गोपनीय विवरणहरू समेत चोरिन पुग्छ । यो चोरी निकै डरलाग्दो बन्दै गएको छ । सन् २०२४ मा मात्र डिजिटल सूचना सुरक्षाको विश्वव्यापी खर्च १८३.९ बिलियन अमेरिकी डलर पुगेको छ ।

अहिले हामीसँग कमाउने र उपभोग गर्ने यति धेरै विकल्प छन् जुन १०० वर्षअघि सोचिएकै थिएनन् । पढ्ने, हेर्ने र सुन्ने विकल्प उत्तिकै छन् । विकल्पहरू त्यतिबेलासम्म मात्रै अवसर हुन्छन्, जबसम्म हामीमा सही छनोटको क्षमता हुन्छ ।

सूचनाको यो बाढीमा एकातिर एटेन्सन इकोनोमी फस्टाउँदै छ भने अर्कोतर्फ हामी डिजिटल एडिक्सनको अवस्थामा पुगिरहेका छौं । एटेन्सन इकोनोमीले हामी सबैको समय अत्यधिक मात्रामा चोरिरहेको छ । सन् २०२४ सम्म आइपुग्दा माइक्रो मोमेन्ट मार्केटिङ तीव्र भएको छ । प्रयोगकर्ताको ध्यान खिच्नका लागि छोटो (औसतमा ८ सेकेन्ड), सान्दर्भिक र ध्यान तान्ने सामग्री तत्काल दिने रणनीति अपनाइएको पाइन्छ । भीआर/एआर प्रविधिले ध्यान तान्ने नयाँ उपायहरू अपनाएका छन् । सन् २०२४ मा यसको विश्वव्यापी बजार ९२.१ बिलियन अमेरिकी डलबर बराबरको छ । यी सबै रणनीतिले अन्तत : हाम्रै समय चोरिरहेका छन् ।

स्मार्टफोन एप्स र सोसल मिडियाले लत लाग्ने डिजाइन (persuasive design) प्रयोग गर्छन् र समयबारे सचेत हुनै मुस्किल तुल्याउँछन् । स्वत : स्क्रोलिङ, छोटो‑भिडियो लुप, विचलित पार्ने एल्गोरिदमले बित्थामा अल्मल्याएर समय बर्बाद गराउँछन् । लगातारका नोटिफिकेसनले हाम्रो दिमागमा ‘के रहेछ’ भन्ने उत्सुकता बढाउँछन् । हामीमा ‘हेर्नैपर्छ’ भन्ने बाध्यात्मक मानसिकता विकसित हुन पुग्छ ।

समस्या स्क्रिनमा समय बिताउनु मात्र होइन । कति पटक स्क्रिन खोलियो, कति पटक हेरियो र कति पटक आफूले डिजिटल डिभाइस नखोलीकनै नोटिफिकेसनले हाम्रो एकाग्रता बिथोले भन्ने पनि हो । डिजिटल डिभाइसहरूले ‘काम’ र ‘आराम’ अनि ‘सामाजिक’ र ‘एकान्त’ अवस्थाबीचको सीमा भत्काइदिन्छन् । एक मिनेट हेर्छु भनेर फोन खोल्दा एक घण्टा बितिसकेको पत्तै हुन्न । ‘समय कति गयो’ भन्ने हाम्रो अनुभूति नै कमजोर बन्न जान्छ । प्रविधि कम्पनीहरूले हाम्रो समय र ध्यानलाई बिकाउ वस्तु बनाइरहेका छन् । हामी भने आफ्नै क्षति ब्यहोरेर उनीहरूका लागि उपलब्ध भइरहेका छौं ।

चोर ३ : सरकार र श्रम–शोषक

सरकार र श्रम–शोषकहरू फरक चेहेराका समय चोर हुन् । इतिहासदेखिकै मानव समाजको एउटा आम मनोवृत्ति छ– बाठाले सोझालाई कज्याउने । उनीहरूको समय र श्रम चोरेर आफ्नो स्वार्थमा लगाउने । यस दृष्टिले समय एउटा स्वतन्त्र संसाधन नभएर सामाजिक, आर्थिक र राजनीतिक नियन्त्रणको महत्त्वपूर्ण हिस्साका रूपमा देखा पर्छ ।

हामीले आफ्नो समय कसका लागि धेरै खर्च गरिरहेका छौं ? आफ्नै लागि वा अरू कसैका लागि ? यो प्रश्नले समय, श्रम, उत्पादन, समाज, सरकार र समय–स्वतन्त्रता बीचको अन्तर्सम्बन्ध खोतल्न प्रेरित गर्छ । कसको समय कसले उपयोग गर्छ भन्ने कुरा सामाजिक, राजनीतिक र आर्थिक बलबुद्धिको परिणाम हो । यो मजदुर, मालिक र राज्यबीचको राजनीतिक शक्ति सङ्घर्षको नतिजा हो ।

कार्ल मार्क्सले यसैलाई पूँजीवादी समाजको चरित्रका रूपमा बुझे । दास क्यापिटलमा उनले भने, “उत्पादन मात्र होइन, श्रमसमयको लम्बाइ पनि पूँजीवादी नियन्त्रणको महत्त्वपूर्ण आयाम हो ।”

कुनै कामका लागि दिइएको कति प्रतिशत समय हाम्रो आफ्नै लागि हो र कति रोजगारदाताको नाफाका लागि हो भन्ने हामीलाई थाहा हुँदैन । औद्योगिक युगमा दैनिक १२–१६ घण्टा काम गर्नु सामान्य थियो । सन् १९१९ मा आएर अन्तर्राष्ट्रिय श्रम संगठनले ८ घण्टाको कार्य–दिन तय गर्‍यो ।

समयसँगै प्रविधि विकासले धनी र गरिबबीचको खाडल जस्तै श्रमघण्टा घट्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । अहिले आएर काम गर्ने खास समय (९–५) को अवधारणा बिस्तारै लोप हुन थालेको छ । अस्थायी रोजगारी, ओभरटाइम, घरबाटै काम गर्ने चलन, प्रविधि (खासगरी स्मार्टफोनले निरन्तर सम्पर्कमा रहने अवस्था) आदि सबैले कामको समय र स्वतन्त्र समयबीचको सीमा मेटाउँदै गएका छन् ।

यसले हाम्रो ‘समय–स्वतन्त्रता’लाई कमजोर बनाएको छ । श्रमिकले आफ्नो समय स्वेच्छाले निर्धारण गर्न पाउने शक्ति घटेको छ । प्रविधि विकास (अटोमेसन, आर्टिफिसियल इन्टेलिजेन्स आदि) ले भविष्यमा श्रम–समय अझै घट्ने सम्भावना छ । तर त्यो स्वतन्त्र समयमा परिणत नहुने पक्का जस्तै छ । पूँजीले त्यो समयलाई पनि उपभोगको नयाँ अवसरका रूपमा कब्जा गर्नेछ । एक अध्ययन अनुसार बेलायतका श्रमिकहरूलाई एक सातामा औसत २३ घण्टा मात्र ‘साँचो स्वतन्त्र समय’ मिलिरहेको छ । जबकि उत्पादन प्रविधिको विकास तीव्र छ ।

सरकारी सेवा प्रदायकले समयको ख्याल नगर्दा सेवाग्राहीको घण्टौं पालो कुर्नमै बित्छ । साधारण प्रमाणपत्र वा लाइसेन्स लिन कैयन् दिन लाग्छ । एक शैक्षिक तर पार गरेर अर्को तहमा पुग्नुअघि परीक्षाफलको पर्खाइमा महिनौं बित्न सक्छ । सरकारी कमजोरीका कारण हुने यस्ता अनावश्यक ढिलाइले हाम्रो उत्पादनशील समय त नष्ट गर्छन् नै जीवनमै निराशा समेत थपिदिन्छन् ।

समयस्वतन्त्रताको वास्तविक आनन्द लिन उत्पादनमा वृद्धि वा प्रविधि विकास मात्र पर्याप्त छैन । हाम्रो सामाजिक, राजनीतिक र आर्थिक चेतनामै रूपान्तरण आवश्यक छ ।

चोर ४ : समाज र परम्परा

हरेक व्यक्तिले जन्मने बित्तिकैदेखि अनेक सामाजिक सम्बन्ध र दायित्व लिएर आएको हुन्छ । कोही कसैको छोरो हुन्छ, कसैकी छोरी । कसैको नाती, भतिजो वा भान्जी । कोही अमेरिकी भएर जन्मन्छन्, कोही भुटानी । कोही हिन्दुका रूपमा, कोही बौद्ध, मुस्लिम, क्रिस्चियन वा अरू नै धर्मावलम्बीका रूपमा । कोही जन्मँदै अर्बौं डलरको मालिक भएर आउँछन् त कोही ऋणमा डुबेर । यी सम्बन्ध र दायित्वले जन्मने व्यक्तिको जीवन–काललाई आ–आफ्नो स्वार्थमा उपयोग गर्न खोजिरहेका हुन्छन् ।

कतिपय सम्बन्ध, संस्कार र परम्पराले पनि अनावश्यक रूपमा समय चोर्छन् । सामाजिक रीतिथिति, पर्व वा जात्राहरूमा हाम्रो सहभागिता अनिवार्य जस्तै हुन्छ । ‘परिवार, आफन्त, समाज र संस्कार’ का नाममा हामी पटक पटक आफ्नो व्यक्तिगत समय र प्राथमिकतासँग सम्झौता गर्न बाध्य हुन्छौं ।

समाजले थोपरेका अपेक्षा र तुलना पनि समय चोरकै भिन्न रूप हुन् । ‘अब त बिहे गर’, ‘त्यस्तो पदमा पुग्नुपर्छ’, ‘अरूको जस्तै घर बनाउनुपर्छ’ ‘यति पनि नगरे कसरी इज्जत जोगिन्छ ?’ जस्ता दबाबले हामीलाई आफ्नो गति र इच्छा विपरीत अघि बढ्न बाध्य बनाइरहेका हुन्छन् ।

कतिपय व्यक्तिसँगको सम्बन्धमा स्पष्ट सीमा नहुँदा पनि धेरै समय गुम्छ । आफन्त र साथीभाइको अनावश्यक अपेक्षा पूरा गर्न हामी मन नलागे पनि ‘हो’ भनिदिन्छौं । नकारात्मक जवाफ दिन डराउँछौं । अरूलाई नदुखाउने चाहनाले आफ्नो समय बर्बाद भइरहेको हुन्छ ।

अचेलका कुनै पनि मानिसले निर्वाह गर्नुपर्ने भूमिका केही पुस्ता अघिकाको भन्दा बढी छ । एउटै व्यक्ति आज विद्यार्थी, गृहिणी, कृषक, कर्मचारी, राजनीतिकर्मी वा व्यवसायीको भूमिकामा हुन सक्छ । जति धेरै भूमिका, त्यति धेरै जिम्मेवारी । सबै जिम्मेवारीबीच सन्तुलन गर्न खोज्दा समय नपुग्नु स्वाभाविक हुन्छ ।

व्यस्त रहनुलाई नै बडप्पनको प्रतीक मान्ने आधुनिक मानसिकताले पनि समयको अनिकाल सघन बनाएको छ । अहिले ‘म व्यस्त छु’ भन्नु धेरैका लागि गर्वको विषय छ । विश्राम र मौनतालाई कमजोरी ठान्न थालिएको छ ।

चोर ५ : कमजोर स्वास्थ्य र कार्यशैली

स्वास्थ्य कमजोर छ भने समयको ठूलो हिस्सा यसैमा खर्च हुन्छ । कार्यशैली कमजोर छ भने सामान्य उपलब्धिका लागि पनि धेरै समय नष्ट हुन्छ । हाम्रा कैयन् यस्ता आनीबानी छन् जसले हाम्रै समय चोरिरहेका छन् ।

अहिलेको समाजमा सबैलाई छिट्टै प्रगति गर्नु छ । यो दबाबले हामी सबै काम एकैपल्ट सक्न खोज्छौं । तर बहु–कार्यको चाहना समय चोरको अर्को रूप हो । एउटै समयमा धेरै काम गर्न खोज्दा कुनै पनि काममा ध्यान केन्द्रित हुन पाउँदैन । यसले कामको गुणस्तर खस्किने अनुसन्धानहरूबाट देखिएको छ ।

निर्णयमा ढिलाइ गर्दा पनि समय गुम्छ । समस्याहरू जटिल बन्दै जान्छन् । कैयन् पटक हामी परनिर्भर सोचका कारण पनि समय गुमाउँछौं । बिनायोजना काम गर्न खोज्दा समय गुम्ने जोखिम दोब्बर हुन्छ । एजेण्डाविहीन बैठक, गन्तव्यहीन यात्रा, सीमाहीन सम्बन्ध यसैका उदाहरण हुन् । आफ्नो कार्यशैलीमा सानो सानो सुधार ल्याउन सक्ने हो भने दुरुपयोग भइरहेको समयको ठूलो हिस्सा सही काममा लगाउन सकिन्छ ।

हाम्रो धेरै समय बोलीमा खेर गइरहेको हुन्छ । आफ्ना कामकुरा बिर्सेर अरूका कामकुरामा चासो राख्दा पनि त्यस्तै हुन्छ । सबैलाई रिझाउन खोज्दा आफ्ना लागि समय नै नबच्ने अवस्था आउन सक्छ ।

आधुनिक मान्छेले सामना गर्नुपरिरहेको अर्को चुनौती हो– विकल्पहरूको बाढी । सर्सर्ती हेदा अवसर जस्ता लाग्ने यी विकल्पहरू एउटा सीमा पार गरेपछि समय बर्बाद गर्ने कारक बन्न पुग्छन् । उपलब्ध सबै विकल्पमा ध्यान दिन खोज्दा, न काम पूरा गर्न सकिन्छ, न विश्राम ।

अहिले हामीसँग कमाउने र उपभोग गर्ने यति धेरै विकल्प छन् जुन १०० वर्षअघि सोचिएकै थिएनन् । पढ्ने, हेर्ने र सुन्ने विकल्प उत्तिकै छन् । विकल्पहरू त्यतिबेलासम्म मात्रै अवसर हुन्छन्, जबसम्म हामीमा सही छनोटको क्षमता हुन्छ । धेरै विकल्प भएपछि हाम्रो मनले ती सबैलाई उपयोग गर्न खोज्छ । तर समय अभावले सम्भव हुँदैन ।

सबै चाहना पूरा नभएपछि असन्तुष्टि बढ्न थाल्छ । त्यो असन्तुष्टिले समय अभावको अनुभव झनै गाढा बनाउँछ । हामी निर्णय थकानको अवस्थामा पुग्छौं । सोच्दासोच्दै समय र ऊर्जा दुवै बर्बाद हुन्छ । निश्चयहीनता बढ्छ । के गर्नेभन्दा पनि के नगर्ने भन्ने निर्णय महत्त्वपूर्ण बन्न थाल्छ । अन्तत : हामी छनोटको यस्तो विरोधाभासमा पुग्छौं जहाँ बढी विकल्प भएकै कारण सन्तुष्टिको मात्रा घट्न थाल्छ । जति धेरै विकल्प, उति कम सन्तुष्टि !

समय अनिकालका यी प्रत्येक कारणका तत्कालीन र दीर्घकालीन प्रभाव छन् । समय अभावको अनुभूतिले चिन्ता, तनाव, उद्विग्नता र अनिद्रा बढाउँछ । अत्यधिक थकाइ, मानसिक तनाव र कामप्रति उत्साह हराउने अवस्था ‘बर्नआउट’को सम्भावना बढ्छ । विश्व स्वास्थ्य सङ्गठनले बर्नआउटलाई एक पेशागत परिघटना भनेको छ जसले कहिल्यै पर्याप्त समय नभएको अनुभूति पैदा गराउँछ । हामीलाई लागिरहेको हुन्छ– मैले धेरै गरेँ । तैपनि केही छुटेझैं लागिरहन्छ ।

डिजिटल निकटताले मानवीय सम्बन्धको स्थान लिन खोज्दा मानिसहरूबीच आत्मीयता घट्दै गइरहेको छ । परिवार, साथी र समुदायसँग बिताउने समय घट्दै जाँदा सम्बन्धहरू कमजोर बनिरहेका छन् । ज्यादा उत्पादनशील हुन खोज्दा हामी मानसिक रूपमा थकित भएर उल्टो नतिजा खेप्न थालेका छौं । मनोवैज्ञानिक बारबरा एल. फ्रेडरिकसनका अनुसार, अत्यधिक दबाबले सृजनशीलता घटाउँछ र निर्णय क्षमतामा अवरोध पुर्‍याउँछ ।

समयको अनिकाल रोक्न सकिन्छ ?

हो, सकिन्छ ।

समय चोरहरूलाई समयमै चिन्न र व्यवस्थापन गर्न सकियो भने समयको अनिकालबाट बच्न सकिन्छ । समयको अनिकाल, समय अभावले नभई समय दुरुपयोगले निम्तिने समस्या हो । समयको अभाव ‘समय’ घटेर होइन जिम्मेवारी र विकल्पहरू बढेकाले भइरहेको छ । समयको अनिकालबाट बच्ने उपाय हुन्– प्राथमिकता निर्धारण । डिजिटल स्वच्छता र आत्मनियन्त्रण शक्तिको विकास ।

स्टिव जब्सले एप्पललाई अत्याधुनिक प्रविधि कम्पनीको रूपमा स्थापना गरे । उनको कम्पनीले आइफोन, आइप्याड जस्ता लोकिप्रय उत्पादनहरू ल्यायो । तैपनि जब्स डिजिटल उपकरणहरूको अति प्रयोगका पक्षमा थिएनन् । उनले आफ्ना कर्मचारीलाई डिजिटल डिटक्सको महत्त्व बुझाउन प्रभावकारी उपायहरू अपनाएका थिए । उनी कर्मचारीलाई कामको बीचमा फोन–फ्री ब्रेक लिन प्रेरित गर्थे । अनावश्यक एप्लिकेसन हटाउन भन्थे । अति आवश्यक उपकरण मात्र प्रयोग गर्न सुझाउँथे । सम्भव भएसम्म प्रत्यक्ष संवाद र सामाजिक अन्तरक्रियामा सहभागी हुन जोड दिन्थे ।

समय अनिकालबाट जन्मिएका समस्याहरूको समाधानका लागि समयप्रतिको दृष्टिकोण बदल्न जरुरी छ । त्यो दृष्टिकोण हो– आफ्ना लागि आफू हुनु नै पर्याप्त छ । मानिसको मूल्य उसले के गर्छ वा कति उपलब्धिको चाङ लगाएको छ भन्नेमा होइन, अस्तित्वमा चेतनशील भएर रहने क्षमतामा निहित छ । हामीलाई आफूबाहेक अरू केही हुन आवश्यक नै छैन । किनभने अस्तित्वको मूल्य उपलब्धिहरूको चाङमा हैन, मानवताको गहिराइमा छ ।

‘केही नगर्नु’ पनि कहिलेकाहीँ ‘केही गर्नु’ नै हो । आध्यात्मिक दृष्टिले त यो नै सबैभन्दा ठूलो काम हो । खराब गर्नुभन्दा केही नगर्नु जुनसुकै दृष्टिले राम्रो हो । मानसिक विश्रामले सृजनात्मकता, भावना नियन्त्रण र आत्मसम्बन्ध सुदृढ पार्छ । कोरियाली अवधारणाको ‘होन्जोक’ र डच अवधारणको ‘निक्सेन’को आशय पनि सचेत रूपमा केही नगर्ने भन्ने नै हो । यसलाई मनोवैज्ञानिकहरूले स्वस्थ अभ्यासका रूपमा अघि सारेका छन् ।

यसको अर्थ हामी अनुत्पादक बन्नुपर्छ, प्रगति गर्नु हुँदैन वा कामहरूप्रति उदासीन रहनुपर्छ भन्ने होइन । उत्पादनशील हुनु एकदमै राम्रो हो । तर उत्पादनशील हुनैपर्ने सोच नै आत्मसम्मानको मुख्य केन्द्र हुनु हुँदैन । जीवनको अर्थ ‘हामी ‘के गर्छौं’ ले होइन, ‘कसरी बाँच्छौं’ ले निर्धारण गर्छ ।

आजको समाज जुनसुकै मूल्यमा पैसा, पद र देखाबटी प्रतिष्ठाको पुजारी बनिरहेको छ । जानेर/नजानेर शिक्षा प्रणालीले बालबालिकालाई यही नै सही हो भन्ने भाष्य सिकाइरहेको छ । जीवन नदी हो जसले उद्गमदेखि महासागरसम्मको यात्रामा खोल्सा, खोला, छाँगा, छहरा, ताल, कुलो, नहर आदि अनेक रूप धारण गर्छ । कसैले उर्लंदो बाढीलाई मात्रै नदीको वास्तविक रूप मान्छ भने त्यो अपुरो बुझाइ हो । पैसा, पद र प्रतिष्ठाको चमक दमकमा सधैं अस्त–व्यस्त रहनेले जीवनको शान्ति, आनन्द र सन्तुष्टिको पाटो बुझ्न नसके जस्तै ।

समयको कमी हाम्रो युगको महामारी जस्तै हो । हामी सबै समयका भोका छौं । सबै धेरै समय चाहन्छौं । भएकै समय कसरी सदुपयोग गर्ने भन्ने चाहिँ थोरैलाई मात्र थाहा छ। समय बाहिर होइन, हामीभित्रै बगिरहेको ऊर्जा हो । यो हाम्रै विवेक र चेतनाको ऊर्जा हो । यदि कसैलाई समय नपुगेको महसूस भइरहेको छ भने उसले बुझ्नुपर्छ– अभाव समयको होइन, उसको आफ्नै विवेकको छ । घटेको समय होइन, उसकै चेतना हो । कुनै पनि रूप र आवरणमा आउने चोरहरूबाट समयलाई बचाउनु भनेको हाम्रो आफ्नै सपना, लक्ष्य र खुशीलाई बचाउनु हो ।

हामीलाई आफ्नो समयको जति महत्त्व छ अरूलाई पनि उनीहरूको समयको उत्तिकै वा अझ धेरै महत्त्व छ । कामदार मौरीको औसत आयु ४० दिनको हुन्छ । ४० दिनमा एक दर्जन मौरीले करिब ३ देखि ६ हजार फूलको रस सङ्कलन गरेर लगभग १ चम्चा मह जम्मा गर्छन् । एक चम्चा महको मूल्य हाम्रा लागि खासै केही नहोला । तर मौरीहरूका लागि त्यो पूरै जीवनकालको उपलब्धि हो । आफ्ना समय चोरहरूप्रति सचेत रहँदै गर्दा कतै आफूबाट अरूको समय चोरी भइरहेको त छैन भन्नेतर्फ पनि सजग बनौं।

(श्रीश भण्डारीको आज सार्वजनिक किताब ‘समय सूत्र’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?