१९ माघ, विराटनगर । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा ऋषिकेश पोखरेल र सुजाता कोइराला मुख्यप्रतिस्पर्धी थिए । यो पटक दुवैले मैदान छाडे ।
फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालको ‘कमब्याक’ भएको छ । २०७४ मा तत्कालीन सभापति शेरबहादुर देउवाले उनलाई रोकेर गिरीजाप्रसाद कोइरालाकी छोरी सुजातालाई टिकट दिएका थिए । विशेष महाधिवेशनको विरोध गरे पनि डाक्टर शेखर कोइरालाको जोडबलमा नयाँ नेतृत्वबाट टिकट लिएर रिजाल चुनावी मैदानमा उत्रिएका छन् ।
नेकपा एमालेले रंगेलीका पूर्वमेयर दीलिप बगडियालाई मैदानमा उतारेको छ । दुई पटक निर्वाचन जितेका ऋषिकेश पोखरेलकै सिफारिसमा एमालेले बगडीयालाई अघि सारेको हो ।
मोरङ क्षेत्र नम्बर २ लाई नेपाली कांग्रेसको बलियो किल्ला मानिन्छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ देखि २०५६ सम्म लगातार तीन पटक जितेको यो क्षेत्रमा कांग्रेसको गहिरो प्रभाव छ । २०७९ को निर्वाचनमा कोइरालाको उत्तराधिकारीका रूपमा सुजाता कोइराला चुनावी मैदानमा थिइन्, तर यस पटक ‘जेन–जी’ आन्दोलन र बदलिँदो राजनीतिक परिवेशका कारण उनी पछि हटेकी हुन् ।
सुजाताको स्थानमा टिकट पाएका रिजालका लागि यो क्षेत्र नौलो भने होइन । २०७४ को निर्वाचनमा बाम गठबन्धनको लहरका बीच पनि ऋषिकेश पोखरेललाई पराजित गर्दै उनी यही क्षेत्रबाट विजयी भएका थिए । अहिले उनी आफ्नो पुरानो विरासत फर्काउन घरदैलोमा व्यस्त छन् ।
२०७९ को निर्वाचन जितेका सार्वजनिक लेखा समितिको सभापति बनेका ऋषिकेश पोखरेलले उमागौरी कृषि सहकारी विवादमा मुछिएका कारण चुनाव लड्ने आँट गरेनन् ।
एमालेले अघि सारेका बगडियाको पृष्ठभूमि राजनीति होइन् । उद्योगी घरानाका उनलाई २०७४ मा नेकपा माओवादी केन्द्रले राजनीतिमा ल्याएको थियो । २०७४ सालको निर्वाचन माओवादीबाट जितेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनअघि नेकपा एमाले प्रवेश गरे । कांग्रेस गढमा एमालेले उनलाई अघि सारेर परीक्षा दिँदैछ ।
२०७४ र २०७९ मा आफ्नो उम्मेदवार नउठाएको (तत्कालिन माओवादी) नेपाली कम्युनिष्ट पार्टीले यो पटक चन्द्रवीर राईलाई मैदानमा उतारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण कार्की उम्मेदवार छन् ।
राष्ट्रीय उर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार छन् । मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधव प्रसाद राजवंशी, जनता समाजवादी पार्टी, नेपालबाट विनोद कुमार सिंह गनगाई, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिल कुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् ।
यस्तो छ अंकगणीत
मोरङ क्षेत्र नम्बर २ ९ साबिक १० पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको क्षेत्र हो । २०४८ सालदेखि उनले तीन पटक यो क्षेत्रबाट चुनाव जितेका थिए । २०४८ सालमा जितेका उनले २०५१ सालमा पनि चुनाव जिते । २०५६ सालको निर्वाचन पनि जितेका उनले मोरङ १ छाडेपछि सोही वर्ष उपनिर्वाचन भयो । उपनिर्वाचनमा पनि कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्याय निर्वाचित भए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा देशभर तत्कालिन माओवादीको लहर आउँदा मोरङ क्षेत्र नम्बर १ कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायले चुनाव जिते । २०६४ सालमा मोरङमा कांग्रेसबाट प्रतिनिधिसभा जित्ने उनी एक्लो उम्मेदवार थिए । २०७० सालमा भने कांग्रेसको किल्ला तोडियो । उपाध्यालाई नै पराजित गर्दै ऋषिकेश पोखरेल विजयी भए ।
२०७४ सालको निर्वाचनमा कांग्रेसको कमब्याक जित भयो । २०७४ को निर्वाचनको निर्वाचनमा मिनेन्द्र रिजालले ३५,८१९ मत ल्याएर जित्दा ऋषिकेश पोखरेलले ३४,०१४ मत पाएका थिए । २०७९ सालको निर्वाचनमा ३३१४८ मतसहित पोखरेल विजयी हुँदा कोइरालाले ३१९४० मत प्राप्त गरेकी थिइन् । रास्वपा उम्मेदवार ठगेन्द्र न्यौपानेले ४९८७ मत प्राप्त गरेका थिए ।
कोइराला परिवारसँग जोडिएर राजनीति गरेका रिजाल गिरीजाप्रसादको विरासत जोगाउनुपर्ने दबाबमा छन् । व्यक्तिगत लोकप्रियता र एमालेको संगठनको बलमा संसद छिर्ने दाउमा बगडिया छन् ।
कानेपोखरी गाउँपालिकाका १,२,३, पथरीशनिश्चरे नगरपालिकाका ५र ६, रंगेली नगरपालिकाका १,२,३,८ र ९ वडा, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाका १० वटैं र सुनवर्षी नगरपालिकाका ९ वटै वडा रहेको क्षेत्र नम्बर २ मा २०७९ को स्थानीय तह निर्वाचनमा वडातहमा एमालेले ३१,३४० मत पाउँदा कांग्रेसको २८,६१४ मत पाएको थियो । यो क्षेत्रमा १ लाख २९ हजार १८४ जना मतदाता छन् ।
प्रतिक्रिया 4