+

भारत–पाकिस्तान खेल नहुँदा विश्व क्रिकेटलाई २५ करोड डलर घाटा हुन सक्ने

२०८२ माघ  २० गते ११:२६ २०८२ माघ २० गते ११:२६
भारत–पाकिस्तान खेल नहुँदा विश्व क्रिकेटलाई २५ करोड डलर घाटा हुन सक्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई करिब २५ करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने अनुमान गरिएको छ।
  • पाकिस्तान सरकारले फेब्रुअरी १५ मा भारतसँगको खेल नखेल्ने निर्णय सार्वजनिक गरेको छ र आईसीसीले पाकिस्तानलाई आर्थिक दण्ड लगाउने अधिकार राखेको छ।
  • भारत–पाकिस्तान खेलको विश्वव्यापी दर्शक संख्या अर्बभन्दा बढी हुने र यसको आर्थिक मूल्य अत्यन्त ठूलो रहेको द सिड्नी मोर्निङ हेराल्डले जनाएको छ।

२० माघ, काठमाडौं । भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ। आउँदो टी–२० विश्वकपमा यी दुई चिरप्रतिद्वन्द्वीबीचको खेल नहुँदा करिब २५ करोड अमेरिकी डलर बराबरको असर पर्न सक्ने अनुमान गरिएको छ।

राजनीतिक तनावका कारण भारत र पाकिस्तान सामान्यतः बहुराष्ट्रिय प्रतियोगितामात्र खेल्ने भएकाले उनीहरूको भेटलाई आईसीसी प्रतियोगिताको सबैभन्दा ठूलो व्यावसायिक आकर्षण मानिन्छ। यही कारण आईसीसीले प्रायः दुवै टोलीलाई एउटै समूहमा राख्ने गर्छ।

आइतबार पाकिस्तान सरकारले फेब्रुअरी १५ मा कोलम्बोमा तय भएको भारतसँगको खेल नखेल्ने निर्णय सार्वजनिक गरेको थियो। यदि पाकिस्तान यसै निर्णयमा अडिग रहेमा उसले ठूलो आम्दानी गुमाउनेछ भने आईसीसी र भारतको मिडिया अधिकारधारी जियोस्टार लाई पनि आर्थिक झट्का लाग्नेछ।

जियोस्टारले आईसीसीसँग गरेको ३ अर्ब डलरको सम्झौता पुनर्विचार गर्ने प्रयाससमेत गरिरहेको बताइएको छ। प्रसारणकर्ताहरूलाई मात्रै २४ देखि ३० मिलियन डलर बराबरको विज्ञापन घाटा हुन सक्ने अनुमान छ। भारत–पाकिस्तान जस्तो चर्चित खेलमा १० सेकेन्डको विज्ञापनको मूल्य ४८ हजार डलरसम्म पर्ने गर्छ।

यदि खेल भएन भने भारतलाई वाकओभरबाट अंक दिइनेछ। तर आईसीसीसँग पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आर्थिक दण्ड लगाउने अधिकार भने रहनेछ।

पूर्व आईसीसी तथा पीसीबी सञ्चार प्रमुख सामी–उल–हसन बर्नेयका अनुसार एक खेलकै मूल्य २५ करोड डलर बराबर हुन्छ। ‘पाकिस्तानको वार्षिक आम्दानी करिब ३ करोड ५५ लाख डलर मात्रै छ, त्यसैले यो निकै ठूलो अन्तर हो’ उनले भनेका छन्।

द सिड्नी मोर्निङ हेराल्डले उद्योग स्रोतलाई उद्धृत गर्दै भारत–पाकिस्तान खेलको विश्वव्यापी दर्शक संख्या अर्बभन्दा बढी हुने भएकाले यसको आर्थिक मूल्य अत्यन्त ठूलो रहेको जनाएको छ।

आईसीसीले पनि पाकिस्तानको निर्णयप्रति कडा प्रतिक्रिया जनाएको छ। सीमित खेल मात्र खेल्ने निर्णयले विश्व प्रतियोगिताको निष्पक्षता र खेलभावनालाई कमजोर बनाउने आईसीसीले स्पष्ट पार्दै पाकिस्तानलाई आपसी समझदारीमा निर्णय लिन आग्रह गरेको छ ।

यद्यपी विवादका बीच पनि पाकिस्तान टोली प्रतियोगिताका अन्य खेल खेल्न श्रीलंकाको कोलम्बो पुगिसकेको छ। प्रतियोगिता फेब्रुअरी ७ बाट सुरु हुँदैछ।

भारत–पाकिस्तान खेलका लागि २०२७ सम्म ‘हाइब्रिड मोडल’ मा सहमति भइसकेकाले पाकिस्तानका लागि एक्लै खेल बहिष्कार गर्नु सहज नहुने विश्लेषण गरिएको छ।

बंगलादेशी बलर मुस्ताफिजुर रहमान लाई बीसीसीआईको निर्देशनमा आईपीएलबाट हटाएपछि भारत र बंगलादेशबीच टकराव हुँदा बंगलादेश भारतमा खेल्न नजाने निर्णय गरेको थियो ।

यसपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई विश्वकपमा समावेश गरेको थियो, जुन कुराको विरोधमा पाकिस्तान बंगलादेशको पक्षमा उभिँदै आएको थियो र त्यसैको प्रतिक्रियामा पाकिस्तानले भारतसँगको खेलबाट पछि हट्ने निर्णय गरेको बताइएको छ।

-द डेली स्टारबाट

टी-२० विश्वकप २०२६ भारत पाकिस्तान क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय