+
+
Shares

के हो धनगढीमा महेश बस्नेत कुटिएको भन्दै भाइरल भएको भिडियोको तथ्य ?

हाम्रो तथ्य जाँचले भाइरल भिडियो दुई महिनाअघिको पुरानो रहेको भेटियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते २०:५७

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार एवम् एमाले सचिव महेश बस्नेतले धनगढीमा कुटाइ खाएको दावीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

तर हाम्रो तथ्य जाँचले भाइरल भिडियो दुई महिनाअघिको पुरानो रहेको भेटियो भने दावी गरिए जस्तो बस्नेत न भिडियोमा कतै देखिएका छन् न कुटाइ खाएको पुष्टि हुने कुनै आधार नै छ।

के हो दावी ?

६४ हजार फलोअर्स रहेको दीपक नाम गरेका फेसबुक प्रयोगकर्ताले शुक्रबार (२०२६ को फेब्रुअरी ६) मा अपलोड गरेको २३ सेकेन्डको एउटा भिडियोमा महेश बस्नेत धनगढीमा कुटिएको दावी छ।

भिडियोमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको देखिन्छ। धकेलाधकेलको दृश्य सकिने बित्तिकै दाबी गरिएको छ- ‘धनगढीमा महेश बस्नेत भोगटेले खानु गोदाई खाएछ….’

भिडियोमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघको झण्डा देखिन्छ। दावी गरिए जसरी दृश्यमा महेश बस्नेत भने कतै पनि देखिँदैनन्। यो तथ्य जाँच गर्ने समयसम्म भिडियोमा ६० हजार वटा रियाक्सन छन् भने ३ हजार वटा कमेन्ट र ६६० पटक सेयर गरिएको छ। भिडियो १६ लाख पटक हेरिसकिएको छ।

हेर्नुहोस् दीपक नाम गरेका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओको स्क्रिन रेकर्ड–

ओरिजिनल भिडिओको लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

के हो तथ्य ?

यो भिडिओको तथ्य जाँच गर्नका लागि भिडिओबाट एउटा फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्दा हामी दिनेश खबरको आधिकारिक फेसबुक पेजमा पुग्यौँ जहाँ सन् २०२५ को नोभेम्बर २६ मा धनगढीमा जेनजीले गरेको शान्तिपूर्ण विरोधमा युवा स‌ंघले आक्रमण गरेको दावीसहितको ४ मिनेट ४४ सेकेन्डको भिडियो पोष्ट भएको छ। दिनेश खबरको भिडियोको १ मिनेटपछिको दृश्यसँग अहि‍ले भाइरल भइरहेको भिडियो मिलेको देखियो।

हेर्नुहोस् दिनेश खबरले सार्वजनिक गरेको भिडियोको स्क्रिनसट

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

यही दिन धनगढीमा के भएको हो भनेर खोज्ने क्रममा शिलापत्रको समाचार भेटियो।

समाचारमा जेनजी युवाले प्रदर्शन गरेको ४ घण्टापछि २ बजे महेश बस्नेत धनगढी विमानस्थल पुगेको, स्वागतका लागि एमालेका नेता-कार्यकर्ताहरु विमानस्थलमै पुगेको, जेनजी युवाहरुले नाराबाजीसहित प्रदर्शन जारी राखेको र एमालेका कार्यकर्ताले प्रहरीको घेरा तोड्दै जेनजीको नाराबाजी दबाएको दाबी गरिएको छ। समाचारसँगै शिलापत्रले प्रहरीसँग भएको धकेलाधकेलको तस्बिर पनि पोष्ट गरेको छ ।

शिलापत्रको समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

धनगढीमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीमाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको भनेर नयाँ पत्रिकाले पनि त्यही दिन समाचार प्रकाशित गरेको भेटियो। एमाले नेता महेश बस्नेतलाई मोटरसाइकल स्कर्टिङ गरिरहेका युवा संघका कार्यकर्ताले प्रहरीकै अगाडि जेन-जी युवामाथि कुटपिट गरेको समाचारमा उल्लेख छ।

युवा संघका कार्यकर्ताको कुटपीटबाट जेन-जी अगुवा सरिता जोशीको हातमा र हेलमेट प्रहार गर्दा अर्का युवा गोपाल बोहराको गर्धन पछाडि चोट लागेको समाचारमा दावी गरिएको छ।

नयाँ पत्रिकाको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

तथ्य जाँच

दावी : महेश बस्नेतमाथि धनगढीमा कुटपीट भएको दावीसहितको भिडियो।

दावीकर्ता : दीपक नाम गरेका फेसबुक प्रयोगकर्ता।

तथ्य : भ्रामक सूचना। भाइरल भिडियोमा कतै पनि महेश बस्नेतलाई देख्न सकिँदैन। भिडियो गएको मंसिर १० गते धनगढीमा एमाले नेता बस्नेतलाई मोटरसाइकल स्कर्टिङ गरिरहेका युवा संघका कार्यकर्ताले प्रहरीको घेरा तोड्दै गर्दाको दिनेशखबरले पोस्ट गरेको भिडियोसँग मिल्छ। सोही भिडियोलाई तोडमोड गरेर महेश बस्नेतमाथि कुटपीट भएको भनेर भ्रम फैलाएको देखिन्छ। भिडियोमा दावी गरिए अनुसार महेश बस्नेतमाथि कुटपिट भएको नभई नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार उल्टै जेनजी अगुवा कुटिएका थिए।

(अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्य)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?