News Summary
Generated by OK AI. Editorially reviewed.- यो परीक्षण गर्भावस्थाको ११औं देखि १३औं हप्ता ६ दिन बीचमा गरिन्छ र आमाको उमेर ३५ वर्ष वा बढी भएमा चिकित्सकले सिफारिस गर्छन्।
गर्भवती भए पछि गर्भमा रहेको बच्चा स्वस्थ छ कि छैन ?
यो प्रश्न गर्भवती महिलाको दिमागमा लाखौंपटक आउँछन् ।
अहिले प्रविधिले यति फड्को मारिसकेको छ कि, गर्भमा रहेको अवस्थामै यो प्रश्नको जवाफ पाउन सकिन्छ, त्यो पनि समयमै ।
यस्तो बेलामा चिकित्सकले महत्वपूर्ण केही जाँच गर्न सिफारिस गर्छन् । ती मध्ये एक हो, ‘डुअल मार्कर परीक्षण’ ।
के हो ‘डुअल मार्कर परीक्षण’ ?
यो बच्चाको स्वास्थ्य ठिक छ कि छैन भनेर हेरिने परीक्षण हो । डुअल मार्कर परीक्षण भनेको गर्भमा रहँदा शिशुमा केहि क्रोमोजोमल समस्या, विशेषगरी डाउन सिन्ड्रोम जस्ता त्रुटिहरूको प्रारम्भिक जाँच गर्ने रक्त परीक्षण हो ।
यो परीक्षणले विशेषगरी डाउन सिन्ड्रोम (ट्राइजोमी २१), एडवार्ड सिन्ड्रोम (ट्राइजोमी १८) र पटाउ सिन्ड्रोम (ट्राइजोमी १३) जस्ता क्रोमोसोमल असामान्यताहरूको जोखिम मूल्यांकन गर्न मद्दत गर्छ । यो परीक्षणको आधारमा शिशुमा सम्भावित जोखिमको अनुमान लगाइन्छ ।
यो समस्याले के संकेत गर्छ ?
डाउन सिन्ड्रोम, एडवार्ड सिन्ड्रोम र पटाउ सिन्ड्रोम सबै क्रोमोजोममा हुने असामान्यतासँग सम्बन्धित समस्या हुन्, जसले बच्चाको शारीरिक र मानसिक विकासमा प्रभाव पार्न सक्छ ।
डाउन सिन्ड्रोम (ट्राइजोमी २१)
यो समस्या भएको बच्चामा प्रायः बौद्धिक विकास ढिलो हुन्छ र सिकाइ क्षमता अन्य बच्चाभन्दा कम हुन सक्छ । यस्ता बच्चामा अनुहारको बनावट अलि फरक देखिन सक्छ, मांसपेशी कमजोर हुने, बोल्न ढिलो सुरु हुने र जन्मजात मुटुका समस्या पनि देखिन सक्छन् ।
यद्यपि उचित हेरचाह, उपचार र विशेष शिक्षाले यस्ता बालबालिकाले पनि सामान्य जीवन बिताउन सक्ने सम्भावना हुन्छ ।
एडवार्ड सिन्ड्रोम (ट्राइजोमी १८)
यो समस्या तुलनात्मक रूपमा गम्भीर समस्या हो । यस अवस्थामा बच्चाको शरीरका विभिन्न अंगहरू पूर्ण रूपमा विकास नहुन सक्छन् । जन्मँदा तौल कम हुने, मुटु, मिर्गौला र मस्तिष्कमा समस्या देखिन सक्छ ।
धेरैजसो बच्चा गर्भमै वा जन्मपछि केही समयमै गम्भीर स्वास्थ्य समस्याबाट प्रभावित हुन्छन् ।
पटाउ सिन्ड्रोम (ट्राइजोमी १३)
यो अझ गम्भीर प्रकारको क्रोमोसोम समस्या मानिन्छ । यसमा बच्चामा मस्तिष्कको विकासमा समस्या, ओठ वा तालु चिरिएको, आँखा वा मुटुको जन्मजात समस्या जस्ता जटिलता देखिन सक्छन् । धेरैजसो अवस्थामा बच्चाको जीवन जोखिमपूर्ण हुनसक्छ र जन्मपछि लामो समय बाँच्ने सम्भावना कम हुन्छ ।
यी तीनै अवस्थाहरू क्रोमोजोम चाहिनेभन्दा बढी भएमा देखिन्छन् ।
महत्वपूर्ण कुरा के हो, भने यो परीक्षण निश्चित निदान होइन । यो केवल जोखिमको संकेत मात्र दिन्छ । अर्थात्, यदि रिपोर्टमा जोखिम उच्च देखियो भने मात्र थप जाँच (जस्तै एनआइपिटी / एमनियोसेनटेसिस ) गर्नुपर्छ ।
यदि जोखिम कम छ भने चिन्ता लिनुपर्दैन ।
यद्यपि, एनोमोली स्क्यान चाहि गर्न जरुरी हुन्छ । किन त ?
एनोमली स्क्यानले गर्भमा रहेको शिशुको अंग–प्रत्यंग (मुटु, मस्तिष्क, मिर्गौला, हात–खुट्टा आदि) को विकास ठीक छ कि छैन भन्ने विस्तृत रूपमा हेर्न मद्दत गर्छ ।
यसले जन्मजात कुनै शारीरिक समस्या वा संरचनात्मक असामान्यता समयमै पत्ता लगाएर आवश्यक उपचार वा तयारी गर्न सहयोग गर्छ ।
अब कुरा आउँछ, डुअल मार्कर परीक्षण अनिवार्य गर्नेपर्छ ? कसलाई बढी सिफारिस गरिन्छ ?
यो परीक्षण गर्ने/नगर्ने आमाको हातको कुरा हो । यो सबै गर्भवती आमालाई यो परीक्षण अनिवार्य छैन, तर आफ्नो कोखमा हुर्किरहेको बच्चाको स्वास्थ्य अवस्थाको सुनिश्चित गर्न यो परीक्षण जसले पनि गर्न सक्नुहुन्छ ।
केही अवस्थामा चिकित्सकले अनिवार्य परीक्षण गर्न सल्लाह दिन्छन् –
जस्तो की,
— आमाको उमेर ३५ वर्ष वा बढी छ भने । उमेर बढ्दै जाँदा क्रोमोजोम असामान्यताको जोखिम पनि बढ्छ ।
— परिवारमा पहिले कसैलाई डाउन सिन्ड्रोम वा यस्तै आनुवंशिक समस्या भएको इतिहास छ भने गर्नु उपयुक्त हुन्छ ।
— अघिल्लो गर्भावस्थामा बच्चामा यस्तो समस्या आएको भएमा ।
— अल्ट्रासाउन्डमा बच्चाको गर्दनको भागमा असामान्य मोटाइ देखिएमा ।
तर यस्तो अवस्थामा डुअल टेस्ट जीयु/एलएलजी सिधै एनआइपिटी गरेमा बच्चाको स्वास्थ्यको सुनिश्चितता बढी हुन्छ ।
यो परीक्षण कहिले गर्ने ?
गर्भावस्थाको ११औं देखि १३औं हप्ता ६ दिन बीचमा गर्दा यो परीक्षण गरिन्छ ।
के आवश्यक पर्छ ?
यो परीक्षण गर्न तीनवटा मुख्य पक्षको जानकारी आवश्यक हुन्छ ।
पहिलो, आमाको विवरण ।
आमाको उमेर, तौल, जातीय पृष्ठभूमि, मधुमेह छ कि छैन, धूम्रपान गर्ने बानी छ कि छैन, गर्भ प्राकृतिक रूपमा बसेको हो कि आइभीएफ वा अन्य सहायक प्रविधिबाट बसेको हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यदि आइभीएफ वा दाता अण्डाबाट गर्भ बसेको हो भने डोनर महिलाको जन्म मिति पनि आवश्यक पर्छ ।
दोस्रो, अल्ट्रासाउन्डबाट प्राप्त हुने बच्चाको विवरण ।
अल्ट्रासाउन्डमा बच्चाको टाउकोदेखि नितम्बसम्मको लम्बाइ (सीआरएल), घाँटी पछाडिको पारदर्शी तहको मोटाइ (न्युकल ट्रान्स्लुसेन्सी, एनटी) र नाकको हड्डी छ कि छैन भन्ने कुरा हेर्ने गरिन्छ । विशेषगरी (एनटी)को मोटाइ बढी देखिएमा क्रोमोजोम समस्या हुने जोखिम बढेको संकेत हुन सक्छ ।
तेस्रो, आमाको रगत परीक्षण ।
आमाको रगतबाट दुई महत्वपूर्ण रसायन स्तर जाँचिन्छ । पहिलो हो, फ्री बीटा–एचसीजी, दोस्रो हो, पीएपीपी–ए ।
यी दुवै हर्मोन प्लेसेन्टाबाट बन्ने भएकाले बच्चाको विकाससँग सम्बन्धित हुन्छन् । सकेसम्म रगत को नमूना संकलन र अल्ट्रासाउन्ड एकै दिन गर्न सिफारिस गरिन्छ ।
यी दुई जाँच को मिति जति नजिक भयो त्यति राम्रो मानिन्छ ।
कसरी रिपोर्ट बन्छ ?
यी सबै विवरणहरूलाई कम्प्युटर सफ्टवेयरमा प्रविष्ट गरिन्छ । सफ्टवेयरले माथि उल्लिखित तीन प्रकारका विवरणहरूको विश्लेषण गर्छ ।
यसले सफ्टवेयरमा पहिले नै अवस्थित मानक डेटासँग तुलना गर्छ र सो मानकको आधारमा केसहरू कति विचलित छन् भनेर हेर्छ । यस विचलनको आधारमा रिपोर्टहरू तयार गरिन्छ ।
परीक्षणको तयारी
यो जाँचमा भोकै बस्नु पर्दैन । खाना खाएर पनि गर्न सकिन्छ । रगत निकाल्न मात्र ५–१० मिनेट लाग्छ । कुनै दुखाइ वा खतरा हुँदैन । बच्चा र आमालाई केही असर गर्दैन ।
रिपोर्ट कसरी बुझ्ने ? सामान्य सीमा के हो ?
डुअल टेस्ट रिपोर्ट अनुपातमा आउँछ । यदि अनुपात १ः१०० छ भने यसको अर्थ हो कि बच्चामा माथि उल्लेखित कुनै तीन क्रोमोजोमल विकृति मध्य एक हुनसक्ने सम्भावना १ प्रतिशत छ ।
रिपोर्ट गर्ने मापदण्ड सफ्टवेयरमा आधारित भिन्न–भिन्न हुन्छ । केही सफ्टवेयरमा १ः२५० को थ्रेसहोल्ड हुन्छ, जसको तलको अनुपातलाई उच्च जोखिमको रूपमा मानिन्छ भने केही सफ्टवेयरमा १ः३५० को थ्रेसहोल्ड हुन्छ ।
केही सफ्टवेयरहरू दुई तहको प्रणालीमा रिपोर्ट गर्छन्, उच्च जोखिम र कम जोखिम ।
जबकि, केही सफ्टवेयरहरू तीन तहको प्रणालीमा रिपोर्ट गर्छन् ।
उच्च जोखिम, मध्य जोखिम र कम जोखिम । यो जाँचको रिपोर्ट बुझ्न अलि जटिल भएकोले रिपोर्ट हेरेर आफैं चिन्ता गर्नुको साटो चिकित्सकलाई नै नतिजा व्याख्या गर्न दिनु उचित हुन्छ ।
यदि रिपोर्ट उच्च जोखिम आयो भने के गर्ने ?
यदि परीक्षणको नतिजा उच्च जोखिम देखिएमा नआत्तिनुहोस्, किनकि यो एउटा स्क्रिनिङ टेस्ट मात्र हो ।
यसबाहेक एनआईपीटीजस्ता अझ बढी प्रभावकारी ‘नन–इन्भेसिभ’ परीक्षणहरूको विकल्प रोज्न सकिन्छ, अथवा हामी सिधै ‘इन्भेसिभ’ परीक्षण अर्थात् एम्नियोसेन्टेसिस पनि गर्न सक्छौं ।
यो परीक्षण कहाँ कहाँ उपलब्ध छ ? कति लाग्छ, शुल्क ?
डुअल मार्कर परीक्षण नेपालका निजी अस्पताल र डायग्नोस्टिक सेन्टरहरुमा उपलब्ध छ । जहाँसम्म शुल्कको कुरा छ, यसको मूल्य ३५०० देखि ५५०० रुपैयाँसम्म पर्न सक्छ ।
प्रतिक्रिया 4