+
+
Shares
धनुषा–४ का रास्वपा उम्मेदवार राजकिशोर महतोसँग अन्तर्वार्ता :

‘संघीयतामा स्पष्ट छौं, रेस्टुरेन्ट लगेर मुख्यमन्त्री बनाउने संरचना बदल्नुपर्छ’

हामी संघीयता र प्रदेश संरचना खारेज गर्ने पक्षमा छैनौं । संघीयताको मूल आधार नै प्रदेश हो, त्यसैले यो रहन्छ । तर, हामी यसको कार्यशैली र चयन प्रक्रियामा आमूल सुधार चाहन्छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते ९:०७

६ फागुन, जनकपुर । धनुषा–४ को बटेश्वर गाउँपालिका–२ मा चुनावी सरगर्मी छ । यही चुनावी बहसकोबीच उभिएका छन्– राजकिशोर महतो । उनी आफूलाई पुरानो राजनीतिबाट आएको तर ‘नयाँ सोच’ बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका महतोका लागि यो केवल चुनावी प्रतिस्पर्धा मात्र होइन, स्थापित शक्तिसँगको प्रत्यक्ष ‘मुठभेड’ हो । एकातिर वर्षौंदेखि सत्तामा पकड जमाएका पुराना अनुहार, अर्कोतिर परिवर्तनको बाचा गर्दै उभिएको नयाँ दल र नयाँ शैली छ ।

पार्टी परिवर्तनको इतिहास बोकेका महतोलाई जनताले नयाँ विकल्पका रूपमा स्वीकार्लान् त ? धनुषा क्षेत्र नम्बर ४ ले यसपालि परम्परा दोहोर्याउँछ कि परिवर्तन रोज्छ ?

चुनावी स्थलगत रिपोर्टिङका लागि मधेशमा रहेका दुर्गा खनाल, कृष्ण ज्ञवाली, शैलेन्द्र महतो र कमल प्रसाईंसहितको अनलाइनखबर टिमसँग बटेश्वरको पाटुटोलको चौतारीमा महतोले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो नयाँ दलबाट उम्मेदवार बन्नुभएको छ, तर राजनीतिमा तपाईं आफैं भने नयाँ हुनुहुन्न । धेरै वटा पार्टी परिवर्तन गरेर यहाँ आइपुग्नुभएको देखिन्छ । यस्तो अवस्थामा यहाँका जनताले तपाईंलाई ‘नयाँ’ भनेर कसरी विश्वास गर्ने र किन भोट दिने ?

वास्तवमा यो देशलाई अहिले आमूल परिवर्तन चाहिएको छ । समय परिवर्तनशील छ र हाम्रो नयाँ पुस्ताले नयाँ भिजन खोजिरहेको छ ।

परिवर्तन खोज्न अन्त कतै जाने होइन, सुरुवात आफैंबाट गर्ने हो । म विगत चार वर्षदेखि स्वतन्त्र अभियानीको रूपमा कृषि र शिक्षा क्षेत्रमा सक्रिय छु । म आफूलाई परिवर्तन गरेरै यो अभियानमा होमिएको हुँ । आफू बदलिएपछि मात्र देश बदल्न सकिन्छ भन्ने मेरो मान्यता छ ।

यो क्षेत्रमा एमालेका नेता रघुवीर महासेठ र कांग्रेसका नेता महेन्द्र यादवजस्ता स्थापित अनुहारहरूसँग तपाईंको प्रतिस्पर्धा छ । उहाँहरू सांसद र मन्त्री भइसक्नुभएको छ । उहाँहरूलाई छाडेर जनताले तपाईंलाई नै किन रोज्ने ?

उहाँहरूले अहिलेसम्म गरेका राम्रा र नराम्रा दुवै कामलाई म सम्मान गर्छु । तर, मुख्य कुरा के हो भने उहाँहरूले गर्न नसकेकै कारण आज हामी जस्ता अभियानीहरू राजनीतिमा आउनुपरेको हो ।

अहिले हाम्रो पार्टीमा डाक्टर, इन्जिनियर र युवाहरूको आकर्षण किन बढ्यो ? किनभने पुराना दलहरूबाट देश विकास सम्भव भएन । छिमेकी देशहरूको तुलनामा नेपाल पछि पर्यो । यसको मुख्य कारण पुरानै नेतृत्व हो ।

हाम्रा छिमेकी देशहरू भारत र चीनले विकासमा ठूलो फड्को मारिसके, तर हाम्रो नेतृत्वले छिमेकीबाट समेत सिक्न सकेन । त्यसैले अहिले नेपाल आमाले परिवर्तन खोजेकी छिन् ।

धनुषा–४ का जनताको मुख्य आवश्यकता कृषिमा आधुनिकरण र रोजगारी सिर्जना हो। यहाँका अनेकौं समस्या समाधान गर्न र नयाँ पुस्ताको भावना सम्बोधन गर्न मेरो उम्मेदवारी हो ।

हामी यस क्षेत्रका विद्यालयहरू घुम्यौं, भौतिक पूर्वाधार र भवनहरू त छन्, तर नतिजा सन्तोषजनक देखिँदैन । अर्कोतर्फ, यहाँका किसानहरू नीलगाईको आतंक र खेतीपातीका समस्याले पीडित छन्। यी समस्या समाधानका लागि तपाईंसँग के–कस्ता ठोस एजेन्डाहरू छन् ?

तपाईंले एकदमै सान्दर्भिक प्रश्न उठाउनुभयो । अहिले हाम्रो देशको मुख्य समस्या नै सिस्टममा छ । कानुनहरू फितला छन्, जसले गर्दा भ्रष्टाचार गर्नेहरूले सजिलै उन्मुक्ति पाइरहेका छन् । अहिलेको शासन पद्धति जनतामुखी वा देशमुखी हुनुको साटो नेतामुखी र पार्टीमुखीमात्र भएको छ ।

जहाँसम्म किसानका समस्याको कुरा छ, म आफैं कृषि अभियानमा जोडिएकाले उहाँहरूको पीडा नजिकबाट बुझेको छु । हाम्रो चुनावी बाचापत्रमा नीलगाईको समस्या समाधानका लागि सदनबाटै विशेष कानुन बनाउने कुरालाई मैले पहिलो प्राथमिकतामा राखेको छु । किसानको बाली जोगाउन यो अनिवार्य छ ।

हरेक सामानको मूल्य उत्पादकले तोक्छ, तर किसानले आफ्नो उत्पादनको मूल्य आफैं तोक्न पाउँदैन । हामीले प्रत्येक स्थानीय तहमा कोल्डस्टोरसहितको नमुना कृषिबजारको अवधारणा ल्याएका छौं, ताकि किसानले उचित मूल्य पाउन सकुन् ।

शिक्षाको अवस्था सुधार्न चाहिँ के गर्नुहुन्छ ? मधेश प्रदेश त झन् शिक्षामा निकै पछाडि छ नि ?

हो, शिक्षा नै हरेक विकासको आधार हो । मधेशको खस्कँदो शैक्षिक अवस्थालाई सुधार्न हाम्रो पार्टीले सरकारमा गएको ५० दिनभित्र ५० वटा योजना ल्याउने तयारी गरेको छ । शिक्षाका लागि मेरा मुख्य योजनाहरू छन् ।

प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा अंग्रेजी माध्यमको नमुना सामुदायिक विद्यालय स्थापना गरिनेछ । कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य रूपमा ‘प्राविधिक विषय’ समावेश गरिनुपर्छ । अहिलेको समस्या के हो भने, हामीसँग मास्टर डिग्रीको प्रमाणपत्र त हुन्छ । तर हातमा सीप हुँदैन । वैदेशिक रोजगारीमा जाँदा समेत प्लम्बिङ वा अन्य प्राविधिक काम नजान्दा दु:ख पाइरहेका छौं ।

हामी केबल प्रमाणपत्र बाँड्ने शिक्षा होइन, प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकता दिएर शैक्षिक सुधारको जग बसाल्न चाहन्छौं ।

मधेश आन्दोलनको जगमा राजनीतिक अधिकार र संघीयताका मुद्दाहरू स्थापित भए । अहिले संविधानमा संघीयता लिपिबद्ध छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीयताको सवालमा अझै स्पष्ट छैन भन्ने आरोप लाग्छ । यहाँका स्थापित क्षेत्रीय दलहरू त तपाईंहरूको राजनीतिक प्रतिबद्धतामाथि नै शंका गर्छन् नि ?

यो स्वाभाविक प्रश्न हो, म गाउँ–गाउँ र बजारमा जाँदा पनि यस्ता जिज्ञासाहरू आउने गरेका छन् । म पार्टीमा आउनुअघि अभियानी हुँदा पनि यी विषय सुन्थेँ । तर, रास्वपाको जलेश्वर बैठकले यो स्पष्ट पारिसकेको छ । हामी संघीयता र गणतन्त्रलाई पूर्ण रूपमा स्वीकार गर्छौं । हाम्रो विधानमै यो कुरा उल्लेख छ ।

त्यसो भए मधेशका अन्य दल र तपाईंहरूको बुझाइमा फरक चाहिँ कहाँ छ त ?

फरक शैली र नियतमा छ । हामीलाई यस्तो संघीयता चाहिएको होइन, जहाँ एउटा रेस्टुरेन्टमा बसेर मुख्यमन्त्री नियुक्ति गरियोस् । हामीलाई यस्तो प्रदेश सभा पनि चाहिएको छैन, जहाँ सभामुखले आफ्नो श्रीमती, छोरा र छोरीलाई समेत ‘स्वीपर’ (सरसफाइ कर्मचारी) को जागिरमा भर्ना गरुन् । हामीले चाहेको संघीयता जनताको घरदैलोमा सेवा पुर्याउने संयन्त्र हो, कार्यकर्ता भर्ना गर्ने केन्द्र होइन ।

त्यसैले, हामी संघीयताको पक्षमा छौं तर प्रदेश संरचनामा केही परिमार्जन हुनुपर्छ भन्ने हाम्रो अडान हो । हामीले अहिले जनस्तरमा भनिरहेका छौं । संरचना यस्तो होस् जसले जनतालाई आर्थिक भार होइन, अधिकार र विकास देओस् ।

तपाईंले संरचना परिमार्जनको कुरा गर्नुभयो, तर त्यसको स्पष्ट खाका के हो ? तपाईं त आफैं पनि अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनिसकेको व्यक्ति हुनुहुन्छ । पार्टी परिवर्तन हुनासाथ तपाईंको दृष्टिकोण पनि फेरिएको हो ? यदि भोलि तपाईंको पार्टी निर्णायक तहमा पुग्यो भने संघीयताको कस्तो स्वरूप देख्न पाइन्छ ? मधेशको राजधानी (जनकपुर) रहेको यस क्षेत्रको उम्मेदवारको नाताले तपाईंसँग स्पष्ट रोडम्याप त होला नि ?

म सबैलाई प्रस्ट पार्न चाहन्छु । हामी संघीयता र प्रदेश संरचना खारेज गर्ने पक्षमा छैनौं । संघीयताको मूल आधार नै प्रदेश हो, त्यसैले यो रहन्छ । तर, हामी यसको कार्यशैली र चयन प्रक्रियामा आमूल सुधार चाहन्छौं । हाम्रो अवधारणा प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्री भन्ने हो । हामी यस्तो प्रणाली चाहन्छौं जहाँ मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित होस् । यसले गर्दा सरकार स्थिर हुन्छ र रेस्टुरेन्टमा बसेर सरकार गिराउने वा बनाउने फोहोरी खेल बन्द हुन्छ ।

मन्त्रीहरू सांसदबाट होइन, सम्बन्धित क्षेत्रका विज्ञहरूबाट छनोट गरिनुपर्छ । जब विज्ञले मन्त्रालय सम्हाल्छन्, तब मात्र विकासले गति लिन्छ । प्रदेश संरचनाका लागि स्थानीय तहका प्रमुख (मेयर) र अध्यक्षहरूको मतभारका आधारमा प्रतिनिधि छनोट गर्ने खालको व्यवस्थाबारे हामीले छलफल गरिरहेका छौं ।

हाम्रो मुख्य उद्देश्य भनेको प्रदेशलाई कार्यकर्ता भर्ती केन्द्रबाट मुक्त गरी सेवा प्रवाहको केन्द्र बनाउनु हो । म मधेशको यो मुख्य क्षेत्रबाट प्रतिनिधित्व गर्दै गर्दा प्रदेशलाई अझ बलियो र पारदर्शी बनाउने खाका बोकेर जनतामाझ आएको छु ।

यस निर्वाचन क्षेत्रका लागि तपाईंका मुख्य राजनीतिक, सामाजिक र रोजगारीका प्रतिबद्धताहरू के–के हुन् ? संक्षिप्तमा भनिदिनुहोस् न ?

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, तथा कृषिमा सहुलियत र क्रान्तिको कुरा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो बाचापत्रमा पनि सार्वजनिक गरेको छ । जसमा ५० वटा ठोस बुँदाहरू समावेश छन् । मैले भनेको छु मतदान होइन, मत लगानी गर्नुहोस् । तपाईंहरूले अहिलेसम्म धेरै पटक मतदान गर्नुभयो । दान दिएको चिज फिर्ता आउँदैन, न त हामीले त्यसको हिसाब माग्न सक्छौं । त्यसैले यसपालि आफ्नो मत लगानी गर्नुहोस् । रास्वपाले आगामी ५ वर्षभित्र हामी त्यस लगानीको प्रतिफल ब्याजसहित फिर्ता गर्नेछ ।

फोटो/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?