News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले ९ करोड भारुको चेक बाउन्स मुद्दामा ३० दिनको अन्तरिम जमानत दिएको छ।
- राजपाल यादवले तिहाड जेलबाट रिहा भएपछि फिल्म उद्योगसँग राम्रो भूमिका पाउन आग्रह गरेका छन्।
- राजपाल यादवले २०१० मा ५ करोड ऋण लिएर निर्माण गरेको फिल्म असफल भएपछि ऋण तिर्न नसकेर कानुनी प्रक्रिया चलिरहेको छ।
नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादव मंगलबार अन्ततः जमानतमा दिल्लीको तिहाड जेलबाट रिहा भएका छन् । दिल्ली उच्च अदालतले ९ करोड भारुको चेक बाउन्स मुद्दामा उनलाई ३० दिनको अन्तरिम जमानत दिएको हो ।
रिहाइपछि राजपालले यो कठिन समयमा साथ दिने आफ्ना सबै प्रशंसकलाई धन्यवाद दिएका छन् । साथै उनले फिल्म उद्योगसँग फेरि कामको अवसर दिन आग्रह गरेका छन् ।
उनी जेल परेपछि सलमान खान, अजय देवगन, सोनु सूद लगायत बलिउडका धेरै कलाकारले सहयोग गर्ने घोषणा गरेका थिए । रिहाइपछि राजपालले आफूलाई “फेरि राम्रो भूमिका दिएर साथ दिन” अनुरोध गरेका छन् ।
उनले चाँडै पत्रकार सम्मेलन गर्ने र १६ वर्ष पुरानो ऋणसम्बन्धी यस मुद्दामा आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताएका छन् ।
यादवले ५ फेब्रुअरीमा उच्च अदालतको टिप्पणीपछि आत्मसमर्पण गरेका थिए । सोमबार बाँकी रकममध्ये २ करोड ५० लाख भारु बुझाएपछि अदालतले उनलाई १८ मार्च २०२६ सम्म अन्तरिम जमानत दिएको हो । उनले १९ फेब्रुअरीमा भतिजीको विवाहमा सहभागी हुन जमानत मागेका थिए ।
तिहाड जेलबाट रिहा भएपछि यादवले ‘इन्डिया टिभी’ सँग कुराकानी गरेका छन् । यस क्रममा उनले आफ्नो फिल्मी यात्राभर दर्शकले दिएको माया र समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन् ।
उनले भने, “तपाईंहरूको समर्थनका लागि धेरै-धेरै धन्यवाद । बालबालिकादेखि विभिन्न पुस्ताका दर्शकसम्म, भारतीय सिनेमामा मेरो पूरै यात्रामा मलाई धेरै माया मिलेको छ । यसका लागि म सबैप्रति धेरै आभारी छु।”
यादवले आफूलाई फिल्म उद्योगमा राम्रो भूमिकाको आवश्यकता रहेको बताए । उनले कामका लागि आग्रह गर्दै भने, “जसले पहिले मलाई साथ दिएका छन्, सहयोग गरेका छन्, म उनीहरूलाई फेरि एकपटक म गर्न चाहेका भूमिकामा अवसर दिन अनुरोध गर्छु । पारिश्रमिक उनीहरूको निर्णयअनुसार हुन सक्छ । उनीहरूले जे शुल्क तय गर्छन्, म काम गर्न तयार छु ।’
यादवले सामाजिक सञ्जाल र फिल्म उद्योगभित्रबाट प्राप्त ठूलो समर्थनका लागि सबैप्रति आभार व्यक्त गरेका छन् । उनले भने, “हरेक आशीर्वादकै कारण म यहाँसम्म आइपुगेको हुँ । सामाजिक सञ्जालमा मलाई साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु । जसले मेरो आलोचना गरे, उनीहरूलाई पनि म धन्यवाद दिन्छु ।’
यादवले सन् २०१० मा निर्देशक-निर्माताका रूपमा आफ्नो डेब्यु फिल्म ‘अता पता लापता’ निर्माण गर्न मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड भारु ऋण लिएका थिए । उक्त फिल्म सन् २०१२ मा रिलिज भएको थियो, तर बक्स अफिसमा असफल भयो ।
त्यसपछि उनले ऋण तिर्न सकेनन्, र सन् २०१३ देखि यस विषयमा लामो कानुनी प्रक्रिया चल्दै आएको छ । ऋणदाताहरूका अनुसार उनले १२ प्रतिशत ब्याजदरमा ऋण लिएका थिए, जुन बढ्दै करिब ११ करोड रुपैयाँ पुगेको बताइएको छ । यस क्रममा राजपाल यादवका कुल ७ वटा चेक बाउन्स भएका थिए ।
प्रतिक्रिया 4