८ फागुन, डाक्नेश्वरी (सप्तरी) । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी पार्टीहरूले प्रदेश खारेज गरेर फेरि मधेशी जनतालाई गुलाम बनाउन खोजिरहेको बताएका छन् ।
सप्तरी-३ मा प्रतिनिधिसभा उम्मेदवार रहेका यादवले शुक्रबार डाक्नेश्वरी नगरपालिका-८ मा आयोजित जनसभालाई सम्बोधन गर्दै संघीयता विरोधीसँग सचेत रहन आग्रह गरेका छन् ।
‘संघीयता मधेश जनविद्रोहबाट स्थापित भएको हो । संघीयता विरोधी पार्टीहरूले प्रदेश खारेज गरेर फेरि मधेशी जनतालाई गुलाम बनाउन चाहेका छन्,’ यादवले भने, ‘मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिमलगायत पछाडि पारिएका समुदायको अधिकार खोसेर गुलाम बनाउन चाहेका छन् ।’
कांग्रेस-कम्युनिस्टको इच्छाविपरीत देशमा संघीयता आएको यादवले दाबी गरे । उनले भने, ‘कांग्रेस-कम्युनिस्टले संघीयता चाहेकै थिएनन्, आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी जो संघीयता र प्रदेश खारेजको पक्षमा छ । अहिले विभिन्न आवरणमा मधेशी जनताको मत तान्नका लागि भ्रममा पारिरहेका छ ।’ गत निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी समेत नदिएको रास्वपाको भुुलभुलैयामा नपर्न यादवले मधेशी जनतासँग आग्रह गरे ।
हरेक राजनीतिक परिवर्तनमा मधेश र सप्तरीले निर्णायक भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष यादवले सरकारको विभेदकारी नीतिकका कारण अपेक्षाकृत विकास हुन नसकेको टिप्पणी गरे ।
‘अहिलेसम्मको अवस्था हेर्दा सही जनप्रतिनिधि चुन्ने बेला नै गल्ती गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘न विकास गर्ने, न अधिकारका लागि बोल्ने प्रतिनिधि चुनिएका कारणले पनि सप्तरी अगाडि बढ्न सकेको छैन ।’ विकासको लहर ल्याउने नेतालाई विगतमा पाखा लगाउने काम भएका कारण सप्तरी पछाडि परेको उनले टिप्पणी गरे ।
सप्तरी-२ मा आफू निर्वाचित भएपछि विराटनगरभन्दा पनि ठुलो सुविधासम्पन्न अस्पताल भवन, कृषि विश्वविद्यालय इन्जिनियरि¨ कलेज, नर्सि¨ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक, विद्यालय भवनलगायतका काम अगाडि बढाएको दाबी गरे ।
‘त्यतिबेला जे जति काम गरेँ, त्यसपछिका जनप्रतिनिधिले कुनै काम अगाडि बढाएन, बरु कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्न जाँदा अवरोध पुर्याउने काम भयो, अहिले पनि उक्त भवनको रकम निकासा हुन सकेको छैन’, उनले भने ।
हावाको पछि नलाग्न आग्रह गर्दै विगतको कामको समेत मूल्याङ्कन गरेर मतदान गर्नुपर्नेमा उनले जोड दिए । आगामी निर्वाचन संविधान संशोधन गरेर संघीयतालाई अधिकारसम्पन्न बनाउनुका साथै मधेशी लगायत उपेक्षित उत्पीडित जनताको भविष्य लेखिने भएकोले गम्भीर हुन उनले आममतदातासँग आग्रह गरे ।
प्रतिक्रिया 4