+
+
Shares

आँखाका लागि हानिकारक छन् यी १२ बानी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आँखाको स्वास्थ्यमा जीवनशैली र दैनिक बानीहरू सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छन्।

आँखाको स्वास्थ्य र दृष्टिको क्षमता जीवनभर कस्तो रहन्छ भन्ने कुरा धेरै पक्षसँग जोडिन्छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण भनेको व्यक्तिको जीवनशैली र दैनिक बानीहरू नै हुन् ।

धेरै मानिसहरूमा आँखाको समस्या जस्तैः सुख्खापन, संक्रमण, दृष्टि कमजोर हुनु, मोतियाबिन्दु, म्याकुलर डिजनरेशन आदि देखा पर्ने मुख्य कारण उनीहरूकै गलत दैनिक बानीहरू हुन् ।

यी बानीहरूले आँखाको संवेदनशील तन्तुहरू कर्निया, लेन्स, रेटिना, अप्टिक नर्भ लाई क्रमशः क्षति पुर्‍याउँछन् र लामो समयमा अपरिवर्तनीय समस्या निम्त्याउन सक्छन् ।

१. आँखा मिच्ने

थोरै चिलाए वा थकान महसुस भएपछि आँखा मिच्नु सामान्य जस्तै हुन्छ । तर यो अत्यन्त हानिकारक बानी हो । मिच्दा आँखाको बाहिरी छालाको रक्तनली फुट्न सक्छ, जसले कालो घेरा, सुन्निने र चाउरी पर्न सक्छ । यदि आँखामा धुलो वा कुनै कण छ भने मिच्दा कर्नियामा चोट लाग्न सक्छ । लामो समयसम्म यो बानी कायम रहेमा केराटोकोनसको जोखिम बढ्छ ।

यसबाट दृष्टि धमिलो हुने, चश्माको नम्बर बढ्ने, उज्यालोमा असहज हुने र संक्रमणको खतरा बढ्छ । आँखा चिलाएमा सफा पानीले धुनुपर्छ वा चिकित्सकले सिफारिस अनुसार औषधि प्रयोग गर्नुपर्छ ।

२. पर्याप्त निद्रा नलिने

राति ७–८ घण्टा निद्रा नपुगेमा आँखाका मांसपेशी आराम पाउँदैनन् । यसले आँखा फड्किने, दुख्ने, सुख्खा हुने, चिलाउने, सुन्निने र धमिलो देखिने समस्या हुन सक्छ । कम निद्राले रक्तप्रवाह कम हुन्छ ।

सुन्निने समस्या बढ्छ र मान्छेको जैविक घढी बिग्रन्छ । त्यसैले, नियमित समयमा सुत्ने बानी बसाल्नुपर्छ र स्क्रिन टाइम राति कम गर्नुपर्छ ।

३. पानी कम पिउने

शरीरमा पानीको मात्रा कम हुँदा देखिने स्वास्थ्य समस्याहरू दर्जनौं छन् । त्यसमा एउटा आँखाको समस्या पनि हो । पानी कम भएमा आँखाको प्राकृतिक आँसु उत्पादन घट्छ, जसले सुख्खापन, चिलाउने, रातोपन र दृष्टि धमिलो हुने समस्या निम्त्याउँछ ।

दीर्घकालीन डिहाइड्रेशनले आँखाको सतहमा सुन्निन सक्छ । डिहाइड्रेशनबाट बच्न दैनिक ८–१० गिलास पानी पिउनुपर्छ ।

४. स्वस्थ आहार नलिने

उच्च बोसो, चिनी, सोडियम र प्रशोधित खानेकुराले शरीर सुन्निने समस्या बढाउँछ र रेटिनासम्म अक्सिजन तथा पोषण पुग्न दिँदैन । यसले दृष्टि कमजोर बनाउँछ र आँखा चिलाउने समस्या बढाउँछ ।

भिटामिन ए, सी, ई, लुटिन, जियाक्सान्थिन र ओमेगा–३ को कमीले मोतियाबिन्दु र म्याकुलर डिजनरेशनको जोखिम बढ्छ ।पालुँगो गाजर, सुन्तला, माछा, बदाम जस्ता आँखाका लागि फाइदाजनक खानेकुरा नियमित खानुपर्छ ।

५. धूम्रपान

धूम्रपानले रक्तप्रवाह बिगार्छ, अक्सिडेटिभ स्ट्रेस बढाउँछ र विषाक्त पदार्थ बढाउँछ । अध्ययन अनुसार धूम्रपान गर्ने व्यक्तिमा मोतियाबिन्दु, म्याकुलर डिजनरेशन, जलविन्दु, आँखा सुक्खा हुने र डायबेटिक रेटिनोप्याथीको जोखिम दोब्बर बढ्छ । यी समस्याबाट बच्न धूम्रपान पूर्णरूपमा छोड्नुपर्छ ।

६.अधिक स्क्रिन टाइम

मोबाइल, ल्यापटप, टीभीमा लामो समय हेर्दा आँखा झिम्क्याउने दर ६० प्रतिशतसम्म घट्छ । यसले आँखाको लुब्रिकेसन कम हुन्छ र डिजिटल आइ स्ट्रेन निम्त्याउछ । सुक्खापन, चिलाउने, टाउको दुख्ने, धमिलो देखिने समस्या हुन सक्छ । राति अँध्यारोमा फोन हेर्नुले निद्रा पनि बिगार्छ । अधिक स्क्रिन टाइको प्रभावबाट बच्न २०–२०–२० नियम पालना गर्नुपर्छ । प्रत्येक २० मिनेटमा २० फिट टाढाको वस्तु २० सेकेन्ड हेर्नुपर्छ । ब्लू लाइट फिल्टर प्रयोग गर्नुपर्छ ।

७. आँखालाई युभी किरणबाट नबचाउनाले

सनग्लास नलगाउँदा युभी किरणले कर्निया, लेन्स र रेटिनालाई क्षति पुर्‍याउँछ । यसले मोतियाबिन्दु, प्टेरिजियम ‘आँखाको सेतो भागमा मासु पलाउने’, फोटोकेराटाइटिस र आँखाको क्यान्सरको जोखिम बढाउँछ । बादल लागेको दिन पनि युभी किरण ८० प्रतिशतसम्म पुग्छ । त्यसैले १०० प्रतिशत युभिए, युबिभी ब्लक गर्ने सनग्लास लगाउनुपर्छ। घाम लागे पनि नलागे पनि ।

८. कन्ट्याक्ट लेन्ससँग सम्बन्धित सावधानी नअपनाउने

लेन्स लगाएर सुत्ने, सफा नगर्ने, एउटै लेन्स लामो समय प्रयोग गर्ने, स्विमिङ-शावरमा नहटाउने, सस्तो नक्कली-बिना प्रिस्क्रिप्सन लेन्स प्रयोग गर्ने, हात नधोई लगाउने आदि बानीले आँखामा हानिकारक सूक्ष्म जीवाणुहरू प्रवेश गर्छन् ।

यसबाट कोर्नियल अल्सर, केराटाइटिस, संक्रमण, दृष्टि गुम्ने खतरा हुन्छ । कन्ट्याक्ट लेन्स डाक्टरको सल्लाह अनुसार मात्र प्रयोग गर्नुपर्छ र लेन्स दैनिक सफा गर्नुपर्छ ।

९. म्याद नाघेको मेकअप प्रयोग गर्ने र मेकअप लगाएर सुत्ने

म्याद नाघेको मस्कारा, आइलाइनर आदि प्रयोग गर्दा ब्याक्टेरिया बढ्छ र संक्रमण फैलिन्छ । मेकअप लगाएर सुत्दा मेकअपका कणले कर्नियामा दाग बस्छ वा आँखाभित्र पस्छ, जसले दीर्घकालीन एलर्जी र संक्रमण निम्त्याउछ ।

त्यसैले त्यस्ता सामाग्री प्रयोग गर्नु हुँदैन । प्रयोग गरे पनि सुत्नुअघि राम्रोसँग अनुहार सफा गर्नुपर्छ ।

१०. लामो समयसम्म आफूखुसी आई ड्रप्स प्रयोग गर्ने

धेरै मानिसहरू आफैं आई ड्रप्स किनेर नियमित प्रयोग गर्छन् । तर लामो समयसम्म यस्तो गर्नु राम्रो होइन । यसले आँखाको प्राकृतिक लुब्रिकेसन तह बनाउने प्रक्रियामा नकारात्मक असर पार्न सक्छ ।

डाक्टरले समस्या हेरेर निश्चित अवधिका लागि मात्र आई ड्रप्स दिन्छन् । यसको कडाइका साथ पालना गर्नु नै आँखाको स्वास्थ्यका लागि उत्तम हुन्छ ।

११. नियमित आँखा जाँच नगर्ने

धेरैजसो आँखाका रोग जलविन्दु, म्याकुलर डिजनरेशन सुरुमा लक्षण देखिँदैनन् । ४० वर्षपछि वार्षिक रूपमा नियमित जाँच नगर्दा समस्या ढिलो पत्ता लाग्छ र उपचार कठिन हुन्छ ।

त्यसैले, ४० वर्षपछि हरेक वर्ष र जोखिम भएका व्यक्तिले ६ महिनामा एक पटक जाँच गराउनुपर्छ ।

१२. दीर्घरोग मधुमेह, उच्च रक्तचाप नियन्त्रणमा नहुँदा

नियन्त्रण नभएका मधुमेह र उच्च रक्तचाप जस्ता रोगले रेटिनोप्याथीको जोखिम बढाउँछ । नियमित औषधि र जाँच गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?