११ फागुन, काभ्रेपलाञ्चोक । सिन्धुलीको मरिणमा निर्माणाधीन हिमालयन फुड कम्पनी (राँगाको मासु प्रशोधन उद्योग) मा कार्यरत कामदारबीच झडप भएको छ । आपसी विवादको क्रममा भएको झडपमा ७ जना कामदार घाइते भएका छन् ।
सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सोमबार बिहान मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा मजदुरबीच भएको झडपमा २ नेपाली र ५ चिनियाँ नागरिक कामदार घाइते भएका छन ।
मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयलाई लिएर सुरु भएको विवादले झडपको रूप लिएपछि दुवै पक्षका कामदार घाइते भएका हुन् ।
सिन्धुली प्रहरीका अनुसार झडपमामा नेपाली कामदार नवराज बम्जन र गोकर्ण कटुवाल घाइते भएका छन् । बम्जनको दाहिने आँखामा र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ । उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय कटुवालको टाउकोमा चोट लागेको छ ।
त्यस्तै चिनियाँ नागरिकहरूमध्ये ३८ वर्षीय मिस्टर याङको कान र टाउकोमा चोट लागेको छ भने ४५ वर्षीय याङ हाइबोको बायाँ हातमा चोट लागेको छ ।
त्यसैगरी ४० वर्षीय छ्याङ छोङको छातीमा चोट लागेको छ । ४६ वर्षीय चुजेनको टाउको र मुखमा चोट लागेको छ भने ३१ वर्षीय लेउसेन्सीको टाउकोमा चोट लागेको अवस्था मध्यम रहेको प्रशरीले बताएको छ । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ ।
घटनापछि कम्पनी परिसरमा केही समय तनावपूर्ण अवस्था रहे पनि अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4