+
+
Shares

गुल्मीका दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १३:३७

१२ फागुन, गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन् । महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगपालिका‐८ स्थित सिद्धबाबा माध्यमिक विद्यालय को (क) केन्द्र र रेसुङ्गा नगपालिका‐५ स्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्र रहेका छन् ।

उक्त मतदान केन्द्रमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको (क) केन्द्रको बुथमा मतदान अधिकृत सृजना मिश्र रहेकी छन् । त्यसैगरी, भुवनपानीस्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्रको बुथमा मतदान अधिकृत पुष्पा रायमाझी अर्याल छिन् ।

जिल्ला निर्वाचन कार्यालयद्वारा गुल्मीमा दुईवटै क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

निर्वाचन अभिमुखीकरणपश्चात् निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न मतदान अधिकृतलाई जिम्मेवारी प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक हजार ७१६ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि जिल्लामा रहेका २८५ मतदान केन्द्रमा २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रमा तीन जनाका दरले ८५५ सहायक कर्मचारी र २८५ सहयोगी कर्मचारी परिचालन गरिने निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

जिल्ला कारागार कार्यालयमा कर्मचारी तथा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र राख्न निर्वाचन आयोगलाई सिफारिस गरिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई गरी कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?