+
+
Shares

झण्डा होइन, एजेन्डा हेरेर भोट दिन्छौं

आफ्नो क्षेत्रको मुद्दा संसद्‌मा उठाउने र समाधानमा सहजीकरण गर्ने प्रतिनिधि हुनुपर्ने मत उनीहरूको छ ।

दिनेश गौतम पूर्णिमा कार्की दिनेश गौतम, पूर्णिमा कार्की
२०८२ फागुन १३ गते १३:३३

मेरो पहिलो भोट शृङ्खला–८

जति चुनाव नजिकिँदै छ, त्यति नै प्रश्न आउँछ- भोट कसलाई दिने ? तर यसपटक नयाँ पुस्ता भने व्यक्ति र झण्डा होइन, एजेन्डा हेरेर भोट दिने तयारीमा भेटिए ।

पहिलो पटक मत हाल्न नयाँ पुस्ता भोट हाल्न उत्साहित देखिए । ‘झापा क्षेत्र नम्बर ४ बाट मतदान गर्छु । यो पटक म निकै एक्साइटेड छु, किनकि पहिलो पटक भोट हाल्ने अवसर पाएको छु,’ अभिनन्दन गुप्ताले भने ।

तर, रुपन्देही क्षेत्र नम्बर ४ का मतदाता पुनम यादव चुनावलाई आफ्नो जिम्मेवारीको रूपमा बुझ्छिन् । ‘उत्साह त छ तर त्योभन्दा बढी जिम्मेवारी हो । हामी जस्ता फर्स्ट टाइम भोटरहरूले अब पार्टीको झण्डा होइन एजेन्डा र ब्लुप्रिन्ट हेरेर भोट गर्नुपर्छ,’ उनले भनिन्, ‘प्रतिनिधिको क्षमता, विगत, वर्तमान र भविष्य हेरेर भोट गर्ने पक्षमा छु ।’

अभिनन्दन गुप्ता

शहीदको बलिदान र माग अझै पूरा नभएकोमा पर्सा क्षेत्र नम्बर ३ का जय गुप्ता भने निराश देखिए । ‘जुन उद्देश्यका लागि सहिदहरूले बलिदान दिनुभयो, ती मागहरू अझै पूरा भएका छैनन् । केही समूहहरूले ती एजेन्डालाई आफ्नै स्वार्थका लागि प्रयोग गरिरहेका छन्, यही कारणले निराश छु,’ उनले भने ।

काठमाडौँ क्षेत्र नम्बर १ की सक्रिना गुरुङ चुनावले नेपालको भविष्य बदल्ने आशा राख्छिन् । ‘एकदमै एक्साइटेड छु । यो चुनाव कुनै फिल्म जस्तै लागिरहेको छ । यो सामान्य वा योजनाबद्ध चुनाव होइन । यसले नेपालको भविष्य नै बदल्न सक्छ भन्ने आशा छ,’ उनले भनिन् ।

भोजपुरका अनिष बुढाथोकी यसलाई लोकतान्त्रिक प्रक्रियाको सुन्दर पक्ष ठान्छन् । ‘म पनि एक्साइटेड छु, किनकि लोकतान्त्रिक प्रक्रियामा भोट हाल्नु भनेको जिम्मेवारी पनि हो,’ उनले भने ।

अनिष बुढाथोकी

डोटीका दीपक ओलीको मिश्रित प्रतिक्रिया छ । ‘म एक्साइटेडभन्दा पनि अलि दुःखी छु । हामी जस्ता विद्यार्थी दुर्गम ठाउँमा पढ्न नपाएर टाढा आएर संघर्ष गरिरहेका छौं । भोलि हाम्रो ज्ञान विदेशमा प्रयोग गर्नुभन्दा आफ्नै देशमा उपयोग गर्न पाऊँ भन्ने चाहना छ । त्यसका लागि भिजन भएको, समयमै काम गर्ने, जवाफदेही प्रतिनिधि चाहिएको छ,’ उनले भने ।

आश्वासन होइन, टाइम–बाउन्ड योजना उनीहरूले चाहेका छन् । चुनाव जितेर सिंहदरबारमै सीमित हुने प्रतिनिधि उनीहरूले खोजेका होइनन् ।

‘महिनामा एकपटक भए पनि आफ्नै क्षेत्रमा आएर जनताको समस्या बुझ्ने सांसद चाहिन्छ । ‘रोड बनाउँछु’ भन्ने मात्र होइन, ‘किन बनेन’ भन्ने प्रश्नको जवाफ दिन सक्ने नेता चाहिएको छ,’ उनीहरूले भने ।

दीपक ओली

आफ्नो क्षेत्रको मुद्दा संसद्‌मा उठाउने र समाधानमा सहजीकरण गर्ने प्रतिनिधि हुनुपर्ने मत उनीहरूको छ ।

‘मेरो क्षेत्रमा निर्वाचित भएर जाने सांसदहरू संसद्‌मा बोल्दैनन्। सांसदको काम भनेको आफ्नो क्षेत्रको समस्या सदनमा उठाउनु हो । तर उहाँहरू पार्टीप्रति वफादार देखिन्छन्, जनताप्रति होइन । मलाई आफ्नो क्षेत्रमा बोल्ने, भिजन भएको र समस्या बुझ्ने उम्मेदवार चाहिएको छ,’ गुप्ताले भने ।

सक्रिना गुरुङ

प्रतिनिधि जवाफदेही, जिम्मेवार र देशलाई कुर्सीभन्दा माथि राख्ने हुनुपर्ने धारणा उनीहरूको छ ।
‘जुनसुकै पार्टीको भए पनि फरक पर्दैन, तर पार्टीको सांसद होइन, हाम्रो क्षेत्रको सांसद हुनुपर्छ । नेपाल बुझ्ने, नेपालको विविधता बुझ्ने र विश्वसँग प्रतिस्पर्धा गर्न नेपालीलाई सक्षम बनाउने सोच भएको नेता चाहिएको छ,’ विमर्शमा उनीहरूले सुनाए ।

विकासका आधारका रूपमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी र कृषिलाई महत्वपूर्ण रूपमा अर्थ्याउँछन् उनीहरू ।

गाउँमा सडक, नाली, खानेपानी, सिँचाइ, मल, अस्पताल, शिक्षक सबैको अभाव उनीहरूले देखेका छन् । ‘शिक्षा र स्वास्थ्य पैसा नभए सेवा छैन,’ उनीहरूले सुनाए, ‘कृषि प्रधान क्षेत्रमा सिँचाइ र मल नहुँदा किसानले लगानीको प्रतिफल पाउँदैनन् । पुल छ तर बाटो छैन । रोड छ तर गन्तव्य छैन ।’

जय गुप्ता

सर्पले टोके पनि गाउँबाट सदरमुकाम जानुपर्ने अवस्थाको अन्त्य चाहन्छन् नयाँ पुस्ता । ‘सर्पले टोके पनि सदरमुकाम जानुपर्छ । अस्पताल छैन। शिक्षा क्षेत्रमा महिनौँ शिक्षक नहुँदा विद्यार्थीको पढाइ कमजोर हुन्छ । यी सबै कुरा घोषणापत्रमा मात्र सीमित छन्,’ सुधारको आशा राख्छन् उनीहरू ।

सोसल मिडिया दुईधारे तरबार जस्तै भएको टिप्पणी उनीहरूको छ । यसले सूचना दिन्छ । आवाज दिन्छ, तर पपुलरिज्म र फेभरेटिज्म पनि बढाउँछ । साना क्लिप र नाराले धारणा बनाइन्छ । एल्गोरिदमले एकतर्फी सोच देखाउँछ । त्यसैले फ्याक्ट–चेक र रेसनल सोच जरुरी छ,’ साझा धारणा राखे ।

पुनम यादव

पहिलाको चुनावमा र्‍याली भाषण सुनिन्थ्यो तर समय परिवर्तन भएको छ । ‘अहिले सेकेन्ड–सेकेन्डमा कन्टेन्ट आउँछ । यसले चुनावमा गहिरो प्रभाव पारेको छ,’ सचेत हुनुपर्ने तर्क उनीहरूको छ ।

पुस्तान्तरण उमेरको होइन, सोचको सुनुपर्ने उनीहरूको मत छ । ‘पुस्तान्तरण आवश्यक छ तर उमेर होइन, सोचको । पुराना कार्यशैली दोहोर्‍याएर युवा आए पनि परिवर्तन हुँदैन,’ उनीहरूको निष्कर्ष छ । नयाँ अनुहारभन्दा पनि नयाँ सोचको खाँचो देख्छन् उनीहरू ।

तस्वीर-भिडियो : शंकर गिरी/कमल प्रसाईं अनलाइनखबर

मेरो पहिलो भोट शृङ्खला-१

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

मेरो पहिलो भोट शृङ्खला-२

नयाँ-पुरानो होइन, समाधान दिने उम्मेदवारलाई मतदान

मेरो पहिलो भोट शृङ्खला-३

पितृसत्ताको घेरा तोड्न जेनजी महिलाको पहिलो भोट 

मेरो पहिलो भोट शृङ्खला-४

भोट दिन्छौँ, काम देऊ

मेरो पहिलो भोट शृङ्खला-५

जसको एजेन्डा प्रविधि, उही हो हाम्रो प्रतिनिधि

मेरो पहिलो भोट शृङ्खला-६

वाद धेरै सुनियो, अब अपवाद चाहियो

मेरो पहिलो भोट शृङ्खला-७

व्यवसाय–स्टार्टअपमा युवालाई जोड्ने प्रतिनिधि खोज्दैछन् नयाँ मतदाता

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

पूर्णिमा कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?