१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसका सबै नेता-कार्यकर्ताहरूलाई आफैंलाई उम्मेदवार मानेर आमनागरिकसँग मत माग्न आग्रह गरेका छन् ।
रूपन्देहीको बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उम्मेदवार एक्लैले मेहनत गर्न नहुने भन्दै नेता–कार्यकर्ताहरूले आफैंलाई उम्मेदवार मानेर मत माग्नुपर्नेमा जोड दिएका हुन् ।
‘यहाँको उम्मेदवारले यहीँ मेहनत गर्नुपर्छ । सबैले गरिराख्नुभएको छ । तर, त्यो उम्मेदवार एक्लै मेहनत गर्नु हुँदैन,’ सभापति थापाले भने, ‘तपाईं प्रत्येक उम्मेदवार बनिदिनुपर्छ । तपाईंले प्रत्येक घरमा गएर भनिदिनुपर्छ– उम्मेदवार मै हुँ ।’
सभापति थापाले नेता–कार्यकर्ताहरूलाई घर–घर गएर गगन थापा बनेर मत माग्न पनि आग्रह गरे ।
‘अझ तपाईंले भनिदिनुपर्छ– म गगन थापा भएर तपाईंको घरमा मत माग्न आएको छु । पाँच वर्ष मौका दिनुस् । देशलाई निराश बनाउँदैनौं भनेर तपाईंले भनिदिनुपर्छ,’ उनले भने ।
कांग्रेसले शुक्रबार रूपन्देहीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा बुटवलमा चुनावी सभा आयोजना गरेको छ ।
चुनावी सभामा उपसभापति पुष्पा भुसालसँगै कांग्रेस नेता बालकृष्ण खाँण पनि उपस्थिति छन् ।
प्रतिक्रिया 4