१८ फागुन, काठमाडौं । देश निर्वाचनको पूर्वसन्ध्यामा छ । राजनीतिक दलहरूले आफ्नो तयारी पूरा गरेका छन् ।
आजै मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृश्य र यसबीचमा भएको यो निर्वाचनको चासो पनि उत्तिकै छ ।
यसैबीच हिन्दूसंस्था र राजतन्त्र पुनर्वहालीको पक्षमा रहँदै आएको राप्रपाले पनि आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले आफूहरू केवल मतदाताको भरोसा लिएर निर्वाचनमा होमिएको बताउँछन् ।
‘निर्वाचन अगावै कसैलाई निषेध नगर्ने, सबैले आफ्नो स्पेस सुरक्षित रहेको ठान्ने गरी नवीन समझदारीको जिम्मेवार प्रस्ताव राजनीतिक रुपमा राप्रपाले राखेको थियो,’ प्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग भने, ‘परिस्थितिको अुाकलन नगर्ने असंवेदनशील राज्य पक्ष र उदासीन राजनीतिक दलका कारण नवीन समझदारीको प्रस्तावलाई वेवास्ता गरेर देश निर्वाचनको सम्मुखमा आइपुगेको छ ।’
निर्वाचनको सम्मुखमा पार्टीको तर्फबाट उनले भनेका छन्–
स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको माध्यमबाट दीर्घकालीन शान्ति, स्थिरता, लोकतन्त्रको सुदृढीकरणको कामना गर्नुपर्ने घरेलु स्वतन्त्र निकायहरू र केही वैदेशिक शक्ति समेतको डरलाग्दो पक्षधरताकाबीच देश यतिबेला निर्वाचनको संघारमा आइपुगेको छ । परिणाममा सुनामी ल्याउने, न्युन प्रतिस्पर्धामा रहेकाहरूलाई समेत प्रतिस्पर्धी उमेदवारहरू भन्दा निकै अगाडि रहेको भनेर संगठित रुपमा नियोजित पटकथा लेख्ने, प्रचार गर्ने, अमुक दल र नेतालाई बिजय गराउन योजनाबद्ध प्रोजेक्ट चलाउने, अल्गोरिदम प्रभावित तुल्याउने, प्रधानमन्त्री स्वयं अस्पष्ट र सांकेतिक रुपमा दल लक्षित र पुस्ता विशेषलाई नेतृत्व सुम्पने भनेर अभिव्यक्ति दिने जस्ता वान्छित, अवान्छित गतिविधि बढ्दै जककादा निष्पक्ष निर्वाचन हुनेमा आशंकाहरू बढेर गएका छन् ।
आजबाट मौन अवधि प्रारम्भ हुँदैछ । अनेकन आशंका र चुनौतीहरूका बीच आम मतदाताको पूर्ण भरोसा लिएर हामी निर्वाचनमा होमिएका छौं । निर्वाचन अगावै कसैलाई निषेध नगर्ने, सबैले आफ्नो स्पेस सुरक्षित रहेको ठान्ने गरी नवीन समझदारीको जिम्मेवार प्रस्ताव राजनीतिक रुपमा राप्रपाले राखेको थियो । परिस्थितिको अुाकलन नगर्ने असंवेदनशील राज्य पक्ष र उदासीन राजनीतिक दलका कारण नवीन समझदारीको प्रस्तावलाई वेवास्ता गरेर देश निर्वाचनको सम्मुखमा आइपुगेको छ। सर्वपक्षीय सहमतिका आधारमा निकास नखोज्ने हो भने निर्वाचनबाट मात्रै देशले खोजेको दिगो शान्ति र स्थिरता प्राप्त हुन सक्दैन भन्नेमा हामी प्रष्ट छौं । तथापि प्रजातान्त्रिक दल हुनुको नाताले निर्वाचनका माध्यमबाट जनतामा जाने कुरामा, ताजा जनादेश लिने विषयमा राप्रपा पछि हटेन । चुनाव सकिएपछि पनि हाम्रा मान्यता र दृष्टिकोणहरू परिवर्तन हुने छैनन्, झनै राष्ट्रिय आवश्यकता र अपरिहार्यताको विषय बन्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
निर्वाचनका माध्यमबाट प्राप्त जनादेशको दुरुपयोग गर्दै हाम्रो हिन्दू राष्ट्रको पहिचान मेटाइएको हो, राजसंस्था पाखा लगाइएको हो र धर्म निरपेक्षता लादिएको हो । त्यो बाटो सहि थिएन, त्यसले देशलाई दुर्घटनामा लैजान्छ भनेर हामीले बितेका १८ वर्ष संविधानसभामा, संसदमा, सडकमा आवाज उठाइरह्यौं । नभन्दै देशले भदौ २३ र २४ गते नवयुवा पुस्ताको अकल्पनीय विद्रोह भोग्नुपरÞ्यो । त्यो देशले दुई दशक अवलम्बन गरेको गलत मार्गचित्रको दुष्परिणाम थियो । जेनजी विद्रोहका अधुरा लक्ष्य हासिल गर्न यस निर्वाचनपछि पनि प्रयत्न गरिनुपर्छ, अन्यथा अर्को विद्रोह अवश्यभावी छ ।
१८ वर्षअघिको निर्वाचनले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता लादेर बिराएको बाटो देशले यो निर्वाचन मार्फत् ‘कोर्स करेक्सन’ गर्न सक्यो भने मात्रै विद्रोह र निर्वाचनको औचित्य पुष्टि हुनेछ। अन्यथा देशको अस्तित्वमाथि नै खतरा पैदा हुने आशंकाका बीच चुनावी दौरानमै स्वार्थ समुहहरू जसरी सक्रिय देखिदैछन् त्यसले हाम्रो सुन्दर देशलाई भुराजनीतिक दुश्चक्रमा फसाउने निश्चित छ।
यसअघिका निर्वाचनहरूमा त्यसले सकेन उसले गर्छ कि भन्ने आशाबाट मत बदलिएको थियो । यसपटक परिस्थिति र परिदृश्य फरक छ । चुनावी इतिहासमै यतिबेला मतदाताबाट विवेकपूर्ण मतदानको अपेक्षा देशले राखेको छ । झट्ट हेर्दा त्यस्तो केही देखिन्न, छुट्टाछुट्टै हेर्दा पनि केही देखिन्न तर छरिएर रहेका घटनाक्रमहरूलाई एक ठाऊककमा राखेर हेर्दा देखिने आकृति त्यति सुखद देखिन्न, अत्यासलाग्दो छ । आगामी दिन देश कता जान्छ वा देशलाई कता लैजाने भन्ने तागत यतिबेला केवल विवेकशील मतदाताको मतदानमा मात्रै निहित छ । त्यसैले दोहोरÞ्याएर भन्न चाहन्छु– हजारपटक सोचेर यसपालि विवेकपूर्ण मतदान गरौं ।
प्रतिक्रिया 4