+
रिपोर्ट :

अक्षम एन्फा नेतृत्व

२०८२ फागुन  १९ गते २१:४५ २०८२ फागुन १९ गते २१:४५

कार्यकाल लम्ब्याउन विधान विपरीत पुरानै भोटर मार्फत ‘अर्ली इलेक्सन’ गर्दैछ एन्फा नेतृत्व

अक्षम एन्फा नेतृत्व

१९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गरेपछि एन्फाले हतारहतारमा विज्ञप्ति निकाल्यो ।

साम्बाले नेपाली फुटबलको सर्वाेच्च निकाय एन्फाबाट आफ्नो उपचारका लागि सहयोग नभएको उल्लेख गरेकी थिइन् । आफ्नो गल्ती लुकाउन एन्फाले त्यसको केहीबेरमै विज्ञप्ति जारी गरेर उपचारका लागि आफूहरुले सबै प्रयास र पहलहरु गरेको दाबी गर्‍यो ।

कतिसम्म भने कतार फुटबल संघसँग पटकपटक आवश्यक पहल तथा ताकेता गरिरहेको जिकिर गर्न समेत भ्यायो ।

व्यावसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए उपचारको जिम्मा क्लबकै रहने अन्तर्राष्ट्रिय प्रचलन रहेको भन्दै एन्फा साम्बाको उपचारबाट पन्छिन पनि खोज्यो ।

साम्बाले यसअघि पनि कतारमै घुँडाको शल्यक्रिया गराएकी थिइन् । तत्कालीन समयका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको पहलमा कतार फुटबल संघले साम्बाको उपचार नि:शुल्क गरेको थियो ।

तर, यसपटक भने हालको एन्फाले पहल नगरेपछि साम्बाले सहयोगका लागि सार्वजनिक रुपमा अपिल गर्न बाध्य भइन् । त्यसपछि भने एन्फाले हतारहतार साम्बाको उपचारका लागि समन्वय गरिरहेको दाबी गर्दै विज्ञप्ति जारी गर्‍यो । जसको सार्वजनिक रुपमा चर्काे आलोचना भयो ।

साम्बाले नेपाली फुटबलको दर्दनाक अवस्था देखाएको एन्फाका पूर्वअध्यक्ष शेर्पा बताउँछन् । उनी भन्छन्, ‘हाम्रो पालामा कतारसँगको सहकार्यमा ६ खेलाडीको उपचार गरेका थियौं । त्यो सम्झौता गरेर उपचार गर्नुपर्नेमा एन्फा पन्छिने काम गरेको छ । साम्बाले फुटबलको दर्दनाक अवस्था देखाएको हो ।’

यो मात्र होइन, २०७९ को असारमा निर्वाचित भएको पंकजविक्रम नेम्वाङ नेतृत्व लगातार विवादको भुमरीमा पर्दै आएको छ । निर्वाचित भएको ३ वर्षभन्दा बढी भएको नेतृत्वले नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘ए’ डिभिजन लिग गर्न नसकेको ३ वर्ष हुन लाग्यो ।

‘ए’ डिभिजन लिग गर्न नसकेको एन्फा कहिले पदाधिकारीको सुविधा बढाएर त कहिले खेलाडीलाई सहयोग नगरेर, विवाद र आलोचनाको शिकार हुँदै आएको छ । आलोचनालाई मलम लगाउने गरी न लिग गर्न सकेको छ, न विदेशिने खेलाडी नै रोक्न सकेको छ । ऊ त नेतृत्वमा आफू कसरी पुग्न सकिन्छ भनेर कम्मर कसेर लागि परिरहेको छ ।

‘ए’ डिभिजन लिग गर्नेतर्फ ध्यान दिनुपर्ने एन्फा कार्यकाल नसकिंदै अर्ली इलेक्सन गरेर आफ्नो कार्यकाल लम्ब्याउने कसरतमा छ । कार्यकाल सकिन ४ महिनाअघि नै विधानमै नभएको व्यवस्था अनुसार निर्वाचन गर्ने गरी अघि बढेपछि चर्काे विरोध भयो । तर, एन्फा पछि हटेन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट बारम्बार पत्र आउँदा समेत एन्फा आफ्नो निर्णयबाट ब्याक हटेन । उम्मेदवारी दर्ता गरेर निर्वाचन गरिछाड्ने दाउमा लाग्यो ।

‘ए’ डिभिजन लिग सहितका फुटबल लिग हुन नसक्दा नेम्वाङ नेतृत्व एन्फामा आइसकेपछि सयौं खेलाडी विदेश पलायन भएका छन् । तर, एन्फाले खेलाडीलाई देशमै टिकाइराख्न खासै योजना बनाएको देखिंदैन ।

एन्फाले केही दिनअघि एन्फा महिला लिग गर्‍यो । अहिले राष्ट्रिय लिग गरिरहेको छ । त्यसमा न उत्साह न उमंग । खाली रंगशालामा एन्फाले राष्ट्रिय लिग गरिरहेको छ । हालको नेतृत्वले खेल र खेलाडीको भावना नबुझ्ने उपाध्यक्ष विराटजंग शाही बताउँछन् ।

‘फुटबल टिमले चल्ने हो । उहाँहरु कुनै पनि फुटबलको क्षेत्रबाट आउनुभएको होइन । खेलाडी, प्रशिक्षक, रेफ्री, दर्शकको आआफ्नै भूमिका हुन्छ । त्यो उहाँहरुले बुझ्नुहुन्न’, उनी भन्छन् ।

फुटबल खेलाडीले एन्फाको मुख्यालयमा झुन्ड्याएको मेडल

एन्फाले नेतृत्वमा प्रश्न उठाउने र विरोध गर्ने पदाधिकारीलाई नै कारबाही गरेको छ । आफूलाई कारवाही गरेपछि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का अदालत पुगेका छन् । उनै निलम्बित वरिष्ठ उपाध्यक्ष खड्का अहिलेको नेतृत्वमा फुटबलको विकास गर्ने इच्छा नै नभएको बताउँछन् ।

‘अध्यक्ष र महासचिवलाई फुटबल गर्ने इच्छा नै छैन । बहुमत पुर्‍याउने र कसरी सत्ता कब्जा गर्ने ध्यानमा उहाँहरु हुनुहुन्छ’, उनी भन्छन् ।

आफ्ना नजिकका व्यक्तिको उपचारमा लाखौं खर्च गर्ने एन्फाले देशलाई चिनाउने खेलाडीको उपचारमा सहयोग गर्न नसक्नु दुखद् भएको खड्का सुनाउँछन् । ‘उदयपुर जिल्ला फुटबल संघको पूर्वखेलाडीलाई १ लाख ३३ हजार दिएको छ महासचिवको गाउँको मान्छे भएर । मर्निङ वाक् हिंडेका कर्मचारी घाइते हुँदा ४ लाख दिएका छौं । जसले देशलाई चिनायो । फुटबल चलाएको छ । त्यस्तो खेलाडीको लागि निर्णय गर्न नसक्ने ?’ उनले प्रश्न गरे ।

एन्फाका महासचिव किरण राईले हाल मासिक २ हजार अमेरिकी डलर तलब पाउँछन् । खेलाडीको उपचारमा आनाकानी गर्ने एन्फाका पदाधिकारीको तलब बढाउन पछि हट्दैन ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनिने दशरथ रंगशालामा एशियाली फुटबल महासंघ (एएफसी) बाट अयोग्य भएको २ वर्षभन्दा बढी समय भयो । रंगशाला अयोग्य हुँदा नेपालले घरेलु मैदानमा हुने खेलहरु समेत देशबाहिर गएर खेल्नुपर्ने बाध्यता छ । त्यसमा एन्फाले कुनै पहल गर्न सकेको छैन ।

एन्फा उपाध्यक्ष विराटजंग शाही एन्फा नेतृत्व फुटबलभन्दा पनि कमाउनेतर्फ लागेको बताउँछन् । ‘उहाँहरुलाई फुटबलको चिन्ता छैन । पैसा कमाउनका लागि आएको हो’ उनी भन्छन्, ‘पैसा कमाउने र घोटाला गर्नेतर्फ जानुभयो । ३/४ जना बस्ने आफ्नो निर्णय गर्ने । आफ्नो मान्छेलाई नियुक्ति गर्ने बाहेक उहाँहरुको अरु काम छैन ।’

एन्फा नेतृत्वसामु विदेशी प्रशिक्षक समेत टिकेनन् । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले ८ महिनामै पदबाट राजीनामा दिए । एन्फासँगको असन्तुष्टिका कारण रोसले ४ महिना सम्झौता बाँकी छँदै राजीनामा दिएका हुन् । महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड पनि एक महिनाभन्दा धेरै टिक्न सकेनन् ।

एक वर्षका लागि नियुक्त भएको प्रशिक्षक वाइल्डले एन्फा सहित सहायक प्रशिक्षक तथा व्यवस्थापकलाई विभिन्न आरोप लगाउँदै एक महिनामै राजीनामा दिए ।

मुद्दामाथि मुद्दा हुँदा एन्फाले स्वतन्त्र रुपमा काम गर्न नसकिएको प्रवक्ता सुरेश शाह बताउँछन् । सुरुआती दिनबाटै एन्फालाई काम गर्न नदिएको उनको अनुभव छ । ‘बाहिरको कुरामा अल्झिएको कारण काम कम भएको देखिएको हो । तर, हामीले धेरै नै गतिविधि गरेका छौं’, उनी भन्छन् ।

अर्ली इलेक्सन गरेर सत्ता कब्जा गर्ने दाउ

विधान अनुसार पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको कार्यकाल आगामी असारसम्म छ । तर, पुन: दोहोरिने दाउमा विधानमै व्यवस्था नभएको अर्ली इलेक्सन गर्न नेम्वाङ नेतृत्व लागेको छ । राष्ट्रिय खेलकुद परिषद् ऐन अनुसार हरेक संघको अधिवेशन जिल्ला, प्रदेश हुँदै केन्द्रको हुनुपर्ने व्यवस्था छ । तर, एन्फा नेतृत्व जिल्ला, क्लब र प्रदेशको नगरी केन्द्रकै अधिवेशन गर्न आतुर छ ।

एन्फा नेतृत्वले पुरानै भोटर मार्फत निर्वाचन क्याप्चर गर्न खोलेको पूर्वअध्यक्ष शेर्पाको तर्क छ । ‘जिल्ला, क्लब र प्रदेशको सकेर केन्द्रको निर्वाचन गर्नुपर्ने हो’ उनी भन्छन्, ‘चाँडै गरेर पुरानै भोटरबाट निर्वाचन क्याप्चर गर्न खोजेका छन् । उहाँहरु फेरि आउनु भनेको फुटबल सकिनु हो ।’ राज्यको निकायले समेत एन्फालाई मोनिटरिङ नगरेको शेर्पा बताउँछन् ।

जिल्ला, क्लब र प्रदेशबाट निर्वाचन गर्दा मतदान गर्ने व्यक्ति फेरिन सक्ने र त्यसले केन्द्रको निर्वाचनमा असर पार्ने डर एन्फालाई थियो । त्यसकारण पनि एन्फाले विधानमै नभएको अर्ली इलेक्सन रोज्यो ।

एन्फाले उम्मेदवारी दर्ता प्रक्रिया नै सकेर बसेको छ । प्रतिनिधिसभा निर्वाचनका कारण अहिले एन्फा निर्वाचन प्रक्रिया रोकिएको छ । प्रतिनिधिसभा निर्वाचनपछि मिति तोकेर निर्वाचन गर्ने एन्फाको तयारी छ ।

एन्फा नेतृत्व विधिविधान नमान्ने गरेको उपाध्यक्ष शाहीको तर्क छ । ‘फुटबल भद्रगोल छ । खेलकुद परिषद् र राखेप भनेको मान्दैनन् । एकलौटी चलाइराख्नुभएको छ, उनले भने, ‘उहाँहरुले खेलाडीको मर्म बुझ्नुहुन्न । हामीले राम्रो सुझाव दिए भने गाली गरेको मान्नुहुन्छ ।’

एन्फामा देखिएका समस्याको समाधानको बाटो भनेको अर्ली इलेक्सन भएकोले त्यसलाई रोजिएको प्रवक्ता सुरेश शाह बताउँछन् । ‘फुटबल चलायमान बनाउनेभन्दा पनि कसरी डिस्टर्ब गरौं भन्ने धेरै देखियो, उनी भन्छन्, ‘सबै समस्याको समाधानको बाटो भनेको अर्ली इलेक्सन हो । स्वार्थको कुर्चीमा बसिराख्नुभन्दा पनि निकास दिउँ भनेर अर्ली इलेक्सनमा गएको हो ।’

एन्फा
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय