+

ओइल पुलिङदेखि मधुमेहसम्म : हुँदैन मुख स्वास्थ्यलाई बेवास्ता गर्न

२०८२ फागुन  २० गते १२:५९ २०८२ फागुन २० गते १२:५९

मुख गन्हाउने समस्याबाट छुटकारा पाउने उपायहरू सरल छन् । दिनमा दुई पटक प्रभावकारी तरिकाले ब्रस गर्ने, हरेक खानेकुरा खाएपछि कुल्ला गर्ने ।

ओइल पुलिङदेखि मधुमेहसम्म : हुँदैन मुख स्वास्थ्यलाई बेवास्ता गर्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओइल पुलिङ आयुर्वेदिक अभ्यास हो, जसले मुख सफा गर्न मद्दत गर्छ तर ब्रस र फ्लसको विकल्प होइन भनेर डा. नियुक्ति अर्जेलले स्पष्ट पार्नुभयो।
  • गर्भावस्थामा दन्त परीक्षण सुरक्षित छ र गिजा रोगले बच्चाको तौल कम हुने वा समयअगावै जन्मिने जोखिम बढाउन सक्छ भनेर उहाँले बताउनुभयो।
  • डा. अर्जेलले मधुमेह र पेरियोडोन्टाइटिसबीच निकट सम्बन्ध रहेको र गिजा रोगले मधुमेहलाई अनियन्त्रित बनाउन सक्ने उल्लेख गर्नुभयो।

आजकल सामाजिक सञ्जालमा भाइरल बनेको ओइल पुलिङदेखि लिएर गर्भावस्थाअघि दन्त परीक्षण, मधुमेह र गिजा रोगको गहिरो सम्बन्ध, अनि मुख गनाउने समस्यासम्म मुख स्वास्थ्यका महत्वपूर्ण विषयहरू हुन् ।

तर के भाइरल ट्रेन्डले ब्रस र फ्लसको स्थान लिन सक्छ ? के गर्भावस्थामा दन्त उपचार सुरक्षित छ ? र किन पेरियोडोन्टाइटिसलाई मधुमेहको ‘छैटौं जटिलता’ भनिन्छ ? लगायतको विषयमा गिजा तथा दन्तरोग विशेषज्ञ डा. नियुक्ति अर्जेलसँग गरिएको कुराकानी :

अहिले सामाजिक सञ्जालमा ओइल पुलिङ एकदम भाइरल भइरहेको छ । यसले गिजा र समग्र मुखको स्वास्थ्यलाई फाइदा गर्छ भन्ने कुरा आइरहेको छ । यसलाई स्पष्ट पारिदिनुहोस् न, यसले साँच्चै फाइदा पुर्‍याउने हो ?

ओइल पुलिङ एक आयुर्वेदिक परम्परागत अभ्यास हो, जसमा मुख्य रूपमा नरिवलको तेल, तिलको तेल वा सनफ्लावर तेल प्रयोग गरिन्छ । यो विश्वभरि नै भाइरल भइरहेको छ, र केही बिरामीहरूले यसबाट मुख नरम हुने, शीतल र सास कम गनाउने अनुभव गरेका छन् । यसले केही हदसम्म फाइदा दिन सक्छ किनकि कुल्ला गर्दा मुख प्राकृतिक रूपमा सफा हुन्छ । विशेष गरी नरिवलको तेलमा हल्का एन्टिमाइक्रोबियल गुणहरू हुन्छन्, जसले सामान्य संक्रमणमा सहयोग गर्न सक्छ ।

तर, यो दिनमा दुई पटक ब्रस गर्ने, खाना खाएपछि कुल्ला वा फ्लस गर्ने र प्रत्येक ६ महिनामा दन्त चिकित्सकसँग परामर्श लिने कुराको विकल्प होइन । यसले गिजाको स्वास्थ्यमा ठोस सुधार गर्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाणहरू छैनन् । उदाहरणका लागि, पेरियोडोन्टाइटिस जस्ता गम्भीर रोगहरूमा यसको प्रभाव प्रमाणित भएको छैन ।

यसलाई सहायक उपायको रूपमा प्रयोग गर्न सकिन्छ । यसले गिजा सुन्निएकोमा राहत दिन सक्छ, सास कम गनाउन मद्दत गर्छ, वा मुख पोल्नेमा सहयोग गर्छ । तर, यसले संक्रमण ठीक गर्ने, दाँतको कीरा भरिने वा अन्य समस्या समाधान गर्ने होइन । यदि कुनै समस्या छ भने दन्त चिकित्सकसँग सल्लाह लिएर मात्र निर्णय गर्नुपर्छ ।

गर्भको योजना गर्नुअघि गिजा र दाँतको जाँच आवश्यक छ कि छैन ? गर्भावस्थामा गिजाको समस्या भए के कस्ता जटिलताहरू आउन सक्छन्  ?

यो एकदम महत्वपूर्ण प्रश्न हो, अहिले गर्भावस्थामा थाइरोइड, सुगर जस्ता चेकअप अनिवार्य छन्, तर दन्त चेकअपलाई कमै उल्लेख गरिन्छ । मिसकन्सेप्सन छ कि गर्भावस्थामा वा सुत्केरी अवस्थामा दाँत चेकअप गर्नुहुँदैन । यो गलत हो । वास्तवमा, विवाहअघि नै प्रि–म्यारिज काउन्सेलिङका लागि दन्त चिकित्सकसँग भिजिट गर्नु राम्रो हुन्छ ।

जसरी ब्यूटी पार्लर वा डिजाइनरसँग जान्छौं । यसबाट गिजा रोगको प्रवृत्ति, सास गनाउने, मुखमा खटिरा वा यौन सम्बन्धबाट सर्ने रोगहरूको लक्षण मुखमा देखिन्छ, पत्ता लाग्न सक्छ ।

गर्भावस्थामा हर्मोनहरू जस्तै एस्ट्रोजन, प्रोजेस्टेरोन । बढ्छन्, जसले ब्लड भेसलहरूलाई फुलाउँछन् । यदि मुखको हाइजिन राम्रो छैन भने डेन्टल प्लाक जमेर गिजाबाट रगत आउने, सुन्निने बढ्छ । यसले कीरा लाग्ने, मुख सुक्खा हुने, गिजा संक्रमण निम्त्याउन सक्छ, जसबाट दाँत हल्लिने, सास गनाउने वा जिब्रो पोल्ने हुन्छ। जटिलताहरूमा बच्चाको तौल कम हुने वा समयअगावै जन्मिने सम्भावना बढ्छ, जसलाई वैज्ञानिक अध्ययनहरूले प्रमाणित गरेका छन् ।

प्री–प्रेग्नेन्सीमा चेकअप गरेर समस्या नियन्त्रण गर्न सकिन्छ । गर्भावस्थामा पनि दन्त परीक्षण सुरक्षित छ । विशेष गरी दोस्रो ट्राइमेस्टरमा । यदि उपचार आवश्यक छैन भने सल्लाह मात्र लिएर पनि सुत्केरीपछि उपचार गर्न सकिन्छ । सुत्केरीपछि पनि दिनमा दुई पटक ब्रस, फ्लस र कुल्ला अनिवार्य छ । म सबै स्त्री तथा प्रसूति विशेषज्ञहरूलाई अनुरोध गर्छु कि, गर्भावस्था योजना वा अवस्थामा दन्त चिकित्सकलाई रेफर गर्नुपर्छ । यसलाई नियमित परीक्षणमा समावेश गर्नुपर्छ ।

मधुमेह आजकल हरेक घरमा सामान्य समस्या जस्तो भएको छ । यसले आँखा, खुट्टा, मुटु, मिर्गौलालाई असर गर्छ भन्ने थाहा छ, तर गिजाको कुरामा खासै वास्ता गरिउको जस्तो लाग्दैन । मधुमेह भएका व्यक्तिको गिजामा कस्तो असर पर्छ ?

मधुमेह र गिजा रोगबीच निकट सम्बन्ध छ । धेरैलाई थाहा छैन कि पेरियोडोन्टाइटिस मधुमेहको छैटौं जटिलता हो । मधुमेहले ब्लड सुगर बढाउँछ (हाइपरग्लाइसेमिया), जसले इम्युनिटी कमजोर बनाउँछ । यसबाट गिजाको सामान्य संक्रमण पेरियोडोन्टल इन्फेक्सनमा परिणत हुन्छ । लक्षणहरूमा गिजाबाट रगत आउने, सुन्निने, सास गनाउने, गिजा चिलाउनेहरू हुन्छन् । समयसँगै दाँत हल्लिने, फाटिने वा टोक्न गाह्रो हुने हुन्छ ।

उल्टो, गिजा रोग क्रोनिक इन्फ्लेमेसनले इन्सुलिन रेजिस्टेन्स निम्त्याउछ, जसले एचबिएवानसी बढाउँछ र मधुमेहलाई झन् अनियन्त्रित बनाउँछ । यसबाट प्रि–डायबिटिज पनि पत्ता लाग्न सक्छ । मैले क्लिनिकमा मुख हेरेरै धेरै बिरामीहरूलाई डायबिटिजको संकेत गरेको छु । यदि मधुमेह छ भने खानपान नियन्त्रण, व्यायाम, नियमित चेकअप र गिजा विशेषज्ञसँग भिजिट अनिवार्य छ । यसरी दाँत झर्ने वा कृत्रिम दाँत राख्ने समस्या टार्न सकिन्छ । मधुमेह विशेषज्ञहरूले पनि गिजा चेकअपलाई समावेश गर्नुपर्छ ।

मानिसहरूमा मुख गनाउने समस्या हुन्छ, यसबाट कसरी छुटकारा पाउन सकिन्छ ?

मुख गनाउने दुई मुख्य कारण छन्- मुखको स्वास्थ्य समस्या वा अन्य स्वास्थ्य समस्या । अन्य स्वास्थ्यबाट हुनेमा एसिडिटी, जसले जिब्रोमा पहेँलो लेउ जमाउँछ, मिर्गौला सम्बन्धी समस्या, दम जस्ता समस्याले पनि मुख गनाउन सक्छ । हामीले नियमित प्रयोग गर्ने कुनै औषधिहरूले पनि यो समस्या निम्त्याउन सक्छ । यस्तो भए सम्बन्धित रोगका विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

धेरैजसो मामलामा मुखको समस्याबाट हुन्छ । दाँतमा कीरा लाग्ने ब्याक्टेरियाले सडाउँदा गन्ध निस्किन्छ, गिजा रोग भएमा रगत जमेर ब्याक्टेरिया बढ्छ, मुख सुक्खा हुने मेनोपोजमा वा सास मुखबाट फेर्दा, चुरोट, खैनी, मदिरा सेवनले पनि मुख गनाउँछ । लसुन, प्याज जस्ता खानेकुराबाट हुने गन्ध पनि कसैका लागि नराम्रो लाग्न सक्छ ।

मुख गन्हाउने समस्याबाट छुटकारा पाउने उपायहरू सरल छन् । दिनमा दुई पटक प्रभावकारी तरिकाले ब्रस गर्ने, हरेक खानेकुरा खाएपछि कुल्ला गर्ने । धेरै चिनीयुक्त खानेकुरा कम गर्ने किनकि तिनीहरू दाँतमा टाँसिन्छन् र किटाणु बढेर दुर्गन्ध फैलाउँछन् ।

सकेसम्म ६-६ महिनामा दन्त परीक्षण गराउनुपर्छ ।

चुइगम वा माउथ स्प्रे गन्ध हटाउने तात्कालिक उपाय मात्र हुन् । दीर्घकालीन समाधानका लागि भित्री सफाइ आवश्यक छ । आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिएर यी बानी अपनाउँदा समस्या समाधान हुन्छ ।

दन्त दाँत
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय