News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
- ज्याकब बेथेलले ४८ बलमा ८ चौका र ७ छक्कासहित १०५ रन बनाए पनि इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो।
- भारतले अब आइतबार न्युजिल्यान्डसँग अहमदाबादमा फाइनल खेल्नेछ।
२१ फागुन, काठमाडौं । ज्याकब बेथेलको शानदार शतकका बाबजुद इंग्ल्यान्डलाई पराजित गर्दै भारत आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।
भारतले दिएको २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले पूरा २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो ।
अन्तिम १८ बलमा ४५ रन आवश्यक छँदा १७औं ओभरमा जसप्रित बुमराहले ६ रन मात्र दिए । १९औं ओभरमा हार्दिक पान्ड्याले साम करानलाई आउट गर्दै ९ रन मात्र दिएपछि इंग्ल्यान्डलाई ६ बलमा ३० रन आवश्यक थियो ।
शिवम दुबेको अन्तिम ओभरको पहिलो बलमा २ रन लिने क्रममा बेथेल रनआउट भएपछि आएका जोफ्रा आर्चरले ३ छक्का प्रहार गरेपनि पर्याप्त भएन ।
बेथेलले ४८ बलमा ८ चौका र ७ छक्कासहित १०५ रनको शानदार इनिङ खेले । सुरुवातदेखि विकेट गुमाएर दबाबमा देखिएको इंग्ल्यान्डका लागि उनले जितको सम्भावना कायमै राखेका थिए ।
बेथेलले विल ज्याक्ससँग मिलेर पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । ज्याक्सले २० बलमा ३५ रन बनाए । जस बट्लरले २७ रन बनाए ।
भारतका लागि अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती, अक्षर पटेल, हार्दिक पान्ड्या र शिवम दुबेले एक-एक विकेट प्राप्त गरे ।…
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको विशाल योगफल खडा गरेको थियो । सन्जु सामसनले ४२ बलमा ८ चौका र ७ छक्कासहित ८९ रन बनाए । शिवम दुबेले २५ बलमा ४३ रन, इशान किशनले १८ बलमा ३९ रन, हार्दिक पान्ड्याले २७ तथा तिलक वर्माले २१ रन बनाए ।
इंग्ल्यान्डका विल ज्याक्स र आदिल राशिदले दुई-दुई विकेट लिँदा जोफ्रा आर्चरले एक विकेट लिए ।
भारतले अब उपाधिका लागि आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
प्रतिक्रिया 4