News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाका सबै ७० मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम दुनैमा २४ घण्टापछि ल्याइएको छ।
- माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका ओसार्न चार वटा हेलिकप्टर प्रयोग गरिएको थियो।
- मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गरिने मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ।
२२ फागुन, डोल्पा । चुनाव सकिएको २४ घण्टापछि बल्ल हिमाली जिल्ला डोल्पाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम दुनै ल्याइएको छ।
जिल्लामा स्थायी र अस्थायी गरी तोकिएका सबै ७० वटा मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनैमा ल्याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट मतपेटिका ओसार्नका लागि चार वटा हेलिकप्टर प्रयोग गरिएको थियो।
भौगोलिक रूपमा विकट तथा सडक सञ्जालको पहुँच बाहिर र उच्च स्थानमा रहेका ती केन्द्रबाट शुक्रबार दिनभर हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याउने काम भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।
उनका अनुसार सुरुमा शुक्रबार दिउँसोसम्म सबै मतपेटिका ल्याइसक्ने योजना बनाइएको थियो । तर जिल्लामा अत्यधिक हावा चलेका कारण हेलिकप्टर उडान प्रभावित हुँदा ढिलाइ भएको हो ।
“पहिला सबै मतपेटिका जिल्लामा ल्याएका छौँ, अब दोस्रो चरणमा पाँच वटा हेलिकप्टर प्रयोग गरेर मतदानमा खटिएका सबै कर्मचारीलाई सदरमुकाम ल्याइनेछ,” उनले भनिन्।
यसअघि शुक्रबार बिहानसम्म त्रिपुरासुन्दरी गाउँपालिका, ठूलीभेरी नगरपालिका, काइके गाउँपालिका र मुड्केचुला गाउँपालिकामा पर्ने मतदान केन्द्रहरूबाट मतपेटिका दुनै ल्याइसकिएको थियो।
सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेपछि अब मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक बस्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बैठकपछि मतगणनाको समय निर्धारण गरिने बताइएको छ।
प्रतिक्रिया 4