News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेलाई अत्यधिक थकान र छाती संक्रमणका कारण मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ।
- उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अपडेट दिँदै गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छन्।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आशा भोसलेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
मुम्बई । भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेलाई शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको आपत्कालीन कक्षमा उपचार भइरहेको बताइएको छ ।
अहिलेसम्म गायिका भोसलेको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । अस्पताल वा परिवारका तर्फबाट आधिकारिक बयान नआएको अवस्थामा उनका नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अपडेट दिएकी छन् ।
दादासाहेब फाल्के पुरस्कार र पद्म विभूषणबाट सम्मानित ९२ वर्षीया भोसलेको अत्यधिक थकानका कारण छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । त्यसपछि तुरुन्तै उपचार सुरु गरिएको हो ।
जनाई भोसलेले सामाजिक सञ्जालमार्फत गलत खबर फैलिन नदिन नियमित अपडेट दिने बताएकी छन् । उनले लेखेकी छन्, ‘मेरी हजुरआमा आशा भोसले अत्यधिक कमजोरी र छातीको संक्रमणका कारण अस्पतालमा भर्ना हुनु भएको छ । कृपया हाम्रो गोपनीयताको सम्मान गरिदिनुहोस् । उहाँको उपचार भइरहेको छ र हामी सबै ठीक हुने आशा गरेका छौं । सकारात्मक जानकारी हामी तपाईंहरूसँग साझा गर्दै जानेछौं ।’
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गायिका भोसलेको स्वास्थ्य स्थितीबारे चासो व्यक्त गरेका छन् । सामाजिक संजाल एक्समार्फत उनले गायिका भोसलेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतीय संगीतकी बहुमुखी गायिका
भोसले भारतीय संगीत इतिहासकी सबै चर्चित र बहुमुखी गायिकामध्ये एक मानिन्छिन् । ७ दशकभन्दा बढी लामो करिअरमा उनले विभिन्न भाषा र शैलीमा हजारौं गीत गाएकी छन् । उनले आर.डी. बर्मनजस्ता दिग्गज संगीतकारसँग सहकार्य गर्दै धेरै चर्चित र सदाबहार गीत श्रोतालाई दिएकी छन् ।
उनको गायन यात्रा सन् १९४३ मा मराठी फिल्म ‘माझा बल’बाट सुरु भएको थियो । त्यसपछि उनले सन् १९४८ मा बलिउड फिल्म ‘चुनरिया’मा ‘सावन आया’ गीत गाएकी थिइन् । गायन मात्र होइन, उनले अभिनयमा पनि हात हालिन् । सन् २०१३ मा उनले मराठी फिल्म ‘माई’मा अभिनय गरेकी थिइन् ।
भोसले उत्कृष्ट गायिका मात्र होइनन्, राम्रो पाककला जान्ने व्यक्तिका रूपमा पनि चिनिन्छिन् । दुबई र कुवेतमा उनका नाममा सञ्चालनमा रहेका रेष्टुरेन्टहरू छन् । हिन्दीबाहेक उनले करिब २० वटा भारतीय तथा विदेशी भाषामा गीत गाएकी छन् । सन् २००६ मा उनले आफूले करिब १२ हजार गीत गाएको जानकारी दिएकी थिइन् ।
उनले बलिउडका थुप्रै चर्चित संगीतकारसँग सहकार्य गरेकी छन् । शंकर-जयकिशन, सचिन देव बर्मन, आरडी बर्मन, ओपी नैयर, इलैयाराजा, बप्पी लाहिड़ी र एआर रहमानजस्ता नामसँग उनले काम गरेकी छन् ।
योगदानका लागि उनले थुप्रै सम्मान र पुरस्कार पाएकी छन् । उत्कृष्ट गायिकाका रूपमा ७ वटा फिल्मफेयर पुरस्कार जितेकी उनी लाइफटाइम अचिभमेन्ट अवार्डबाट पनि सम्मानित भइसकेकी छन् । त्यसबाहेक सन् २००० मा दादासाहेब फाल्के पुरस्कार र सन् २००८ मा पद्म विभूषणबाट समेत सम्मानित भएकी छन् ।
प्रतिक्रिया 4