News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले यूएईविरुद्ध घरेलु मैदानमा हुने \'अन्डर लाइट्स\' टी-२० सिरिजका लागि कप्तानमा दीपेन्द्र सिंह ऐरीलाई चयन गरेको छ ।
- टी-२०आई र एकदिवसीय क्रिकेटका लागि फरक टोली र कप्तान तोकिएको छ ।
- दीपेन्द्रले उमेर समूहदेखि घरेलु र फ्रेन्चाइज क्रिकेटमा कप्तानी गरिसकेका छन् ।
५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईविरुद्ध घरेलु मैदानमा हुने ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२० सिरिजका लागि शुक्रबार नेपाली टोली घोषणा गर्दा कप्तानमा दीपेन्द्र सिंह ऐरीको नाम थियो ।
यसअघि रोहित पौडेलले नेपालको एकदिसवीय र टी-२०आई दुवै फर्म्याटमा कप्तानी गर्दै आएका थिए । गत माघ-फागुनमा भारतमा आईसीसी टी-२० विश्वकप खेल्दा रोहितले नै नेपालको कप्तानी गरेका थिए ।
तर यसपटक भने क्यानले एकदिवसीय र टी-२०आई क्रिकेटका लागि दुई फरक टोली घोषणा गर्दा दुवै टिमको कप्तान पनि फरक तोकेको छ । टी-२०आईका लागि दीपेन्द्र नयाँ कप्तान बनेका छन् ।
यसअघि उमेर समूहमा कप्तानी गरिसकेका दीपेन्द्रले घरेलु क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा पनि कप्तानी गरिसकेका छन् । टी-२०आई क्रिकेटमा दीपेन्द्र नेपालको पाँचौं कप्तान हुनेछन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेलले नेपाललाई टी-२०आई फर्म्याटमा कप्तानी गरिसकेका छन् ।
घरेलु मैदानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को आगामी सिरिजका लागि रोहित पौडेलको कप्तानीमा एकदिवसीय टोली र दीपेन्द्रको कप्तानीमा त्यसअघि हुने टी-२०आई सिरिजका लागि टोली घोषणा भएको छ ।
क्यानले जारी गरेको विज्ञप्तिमा दुई फरक टिममा फरक कप्तान तोकिएको छ । ‘नेपाल क्रिकेट संघले टी२० र ओडिआई को फरक-फरक कप्तानहरु चयन गरेको जानकारी गराउन चाहन्छौं । नेपाल टी-२० टिमको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् भने नेपाल ओडिआई टिमको कप्तान रोहित पौडेल रहनेछन् ।’
यस पटक दुवै टोलीमा प्राय: खेलाडी फरक छन् । एकदिवसीयमा अनुभवी खेलाडीलाई प्राथमिकता दिँदा टी-२०आईमा युवा र नयाँ खेलाडीहरु छन् । ७ खेलाडी मात्र दुवै फर्म्याटमा छन् ।
नेपालले लिग टु सिरिजअघि यही वैशाख ७ र ८ गते (अप्रिल २० र २१) मा घरेलु मैदानमा फ्लडलाइटमा खेल खेल्दैछ । यसै खेलबाट दीपेन्द्रले आधिकारिक रुपमा नेपालको सिनियर टोलीको कप्तानी गर्नेछन् ।

दीपेन्द्रले उमेर समूह देखि घरेलु क्रिकेट र फ्रेन्चाइज क्रिकेटसम्म विभिन्न टोलीको कप्तानी गरिसकेका छन् । कुनै बेला दीपेन्द्रलाई नेपालको कप्तानकै रुपमा हेरिएपनि बीचमा केही कारणले दीपेन्द्र सिनियर टिमको कप्तान बन्न ढिला भए ।
सन् २०१९ मा राष्ट्रिय टिमका तत्कालीन कप्तान पारस खड्काले यस पंक्तिकारसँग कुराकानीमा सबैभन्दा चाँडै प्रगति गरेको खेलाडीबारे सोध्दा उनै दीपेन्द्रको नाम लिएका थिए । त्यसबेला अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट ‘इन्ट्री’ मार्ने बित्तिकै राम्रो गर्ने खेलाडी दीपेन्द्र भनेका थिए । त्यसपछि दीपेन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
केही समयअघि भारत र श्रीलंकामा सम्पन्न आईसीसी टी२० विश्वकपमा त दीपेन्द्रले शानदार प्रदर्शन नै गरे । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी दीपेन्द्रले टी-२० विश्वकपमा लगातार दुई अर्धशतक प्रहार गरे । नेपाललाई १२ वर्षपछि टी-२० विश्वकपमा पहिलो जित दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरे ।
उनकै अर्धशतकमा टी-२० विश्वकपमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । दीपेन्द्रले सिनियर टिममा इन्ट्री गर्दा खेलेको चार नम्बर पोजिसनमै यस पटक टी-२० विश्वकपमा खेल्दै आफूलाई प्रमाणित समेत गरेका थिए ।
टी-२० विश्वकपमा उनले चार खेल खेल्दा दुई अर्धशतक नै प्रहार गरे । उनले वेस्ट इन्डिज विरुद्ध ५८ र स्कटल्यान्डविरुद्ध अविजित ५० रन बनाएका थिए । पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध पनि उनले नेपालको लागि व्यक्तिगत उच्च स्कोर ४४ रन बनाएका थिए । इटलीविरुद्ध भने उनी १७ रनमै आउट भएका थिए ।
वेस्ट इन्डिज विरुद्ध अर्धशतक बनाएपछि दीपेन्द्र १२ वर्षपछि टी-२० विश्वकपमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बने । सन् २०१४ मा नेपालले बंगलादेशमा टी-२० विश्वकपमा डेब्यू गर्दा सुवास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक बनाएका थिए ।
प्रमाणित नेतृत्व
दीपेन्द्रसिंह ऐरीले यसअघि नेपालको यू-१९ टिम देखि घरेलु क्रिकेटमा नेपाल पुलिस क्लब अनी फ्रेन्चाइज लिगमा पनि विभिन्न टोलीको कप्तानी गरिसकेका छन् । उनले टिमको नेतृत्वमा आफूलाई प्रमाणित गरिसकेका छन् र नेपाली टिम लिड गर्नका लागि दीपेन्द्र लायक खेलाडी हुन् भन्ने कुनै शंका छैन ।
दीपेन्द्रकै कप्तानीमा नेपाल यू-१९ टिमले भारत यू-१९ टिमलाई हराएको थियो । सन् २०१७ मा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी यू-१९ एसिया कपमा कप्तान दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । ब्याटिङमा दीपेन्द्रको सर्वाधिक ८८ रन मद्दतमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
१८६ रनको लक्ष्य पछ्याएको भारतलाई ११ बल अगाडि नै १६६ रनमा अलआउट गर्दा दीपेन्द्रले १० ओभरमा २ मेडन राख्दै ३८ रन मात्र खर्चेर ४ विकेट लिए ।

यस्तै दीपेन्द्रकै कप्तानीमा सीवाइसी अत्तरियाले सन् २०१९ मा धनगढी प्रिमियर लिग (डीपीएल) को उपाधि जितेको थियो । यस्तै नेपाल प्रिमियर लिगमा उनले सुदूरपश्चिम रोएल्सको कप्तानी गरिसकेका छन् । दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले दुवै सिजन एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म यात्रा तय गरेको थियो । तर दुवै पटक फाइनलमा पराजित हुँदै उपविजेतामै समेटियो ।
यस्तै लामो समयदेखि नेपाल पुलिस क्लबबाट खेलेका दीपेन्द्रले पछिल्ला वर्षहरुमा पुलिस टिमको कप्तानी समेत गरेका थिए । उनले एक दशक पुलिसबाट खेल्दै यसै वर्ष पुलिसको जागिर त्यागेका हुन् ।
सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू-१९ विश्वकपपछि दीपेन्द्रसँगै युवा खेलाडीहरु पुलिस क्लबमा आबद्ध भएका थिए ।
त्यसपछि दीपेन्द्रले यू-१९ टिमको नेतृत्व गर्ने अवसर पाए । यू-१९ टिमको कप्तानीपछि दीपेन्द्रले फ्रेन्चाइज क्रिकेटमा पनि अवसर पाए । यू-१९ विश्वकप खेलेपछि दीपेन्द्रले सन् २०१७ मै वर्ल्ड क्रिकेट लिगमा केन्याविरुद्ध नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।
सन् २०१८ मा काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा दीपेन्द्र चितवन टाइगर्सका मार्की प्लेअर नै घोषित भए । त्यसबेला राष्ट्रिय टिमका तात्कालिन कप्तान पारस खड्का देखि उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकरर सोमपाल कामीसँगै दीपेन्द्र पनि मार्की प्लेअरको लिस्टमा समावेश भएका थिए । त्यसबेला दीपेन्द्र मात्रै मार्की बन्ने जुनियर खेलाडी थिए । यद्यपी लिगमा भने चितवनको कप्तानी पृथुले सम्हालेका थिए ।
पछिल्लो समय दीपेन्द्र नेपाली क्रिकेटमा टाइगर उपनामले चिनिन्छन् । ब्याटिङमा मध्यक्रम देखि फिनिसरसम्म पावर हिटरको रुपमा खेल्न सक्छन् भने बलिङमा अफस्पीन फाल्छन् ।
यस्तै दीपेन्द्रको फिल्डिङ निकै उत्कृष्ट छ । दीपेन्द्र फिल्डमा हुँदा ब्याटरले रन लिने/नलिने दुई पटक सोच्छन् । डिरेक्ट हिट दीपेन्द्रको अर्को खुबी हो । ब्याटिङ गर्दा रनिङ विटविन दी विकेटमा पनि दीपेन्द्र माहिर छन् ।

६ छक्का देखि फास्टेस्ट ‘फिफ्टी’ को नतोडिने कीर्तिमानसम्म
दीपेन्द्रको नाममा नेपालमा नभएर विश्व कीर्तिमान नै छ । अझ टी-२०आईमा उनले दुर्लभ कीर्तिमान नै बनाएका छन् ।
दीपेन्द्रले एकै ओभरमा ६ छक्का हान्ने कीर्तिमान बराबरी गर्दा टी-२०आई मा ९ बलमै अर्धशशतक प्रहार गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।
उनले टी-२०आई मा दुईपटक लगातार ६ बलमा ६ छक्का प्रहार गरेका छन् । सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा दीपेन्द्रले मंगोलिया विरुद्ध ९ बलमै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाए ।
त्यसै खेलमा उनले लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए, तर त्यो फरक ओभरमा थियो । त्यसपछि दीपेन्द्रले सन् २०२४ मा ओमानमा भएको एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले सन् २०१८ मा लर्ड्समा नेदरल्यान्ड्स विरुद्ध खेल्दै टी२०आई मा डेब्यु गरेका थिए । तर वर्षाका कारण उक्त खेल पूरा हुन नसक्दा नतिजा भने आएन । यस्तै २०१८ अगष्टमै दीपेन्द्रले नेपालको ऐतिहासिक ओडिआई सिरिजमार्फत ओडिआईमा डेब्यु गरेका थिए ।
उनले नेपालको लागि ९४ टी-२०आई खेल खेल्दै २ हजार १२५ रन बनाएका छन् । उनले एक शतक र १२ अर्धशतक प्रहार गरेका छन् । यस्तै टी-२०आईमा उनले ६० विकेट समेत लिएका छन् ।
यता ६८ ओडिआईमा दीपेन्द्रले १ शतक र ५ अर्धशतकसहित १ हजार २४१ रन बनाउनुका साथै ४२ विकेट समेत लिएका छन् ।
दीपेन्द्रले नेपालबाहिर विभिन्न राष्ट्रमा फ्रेन्चाइज लिग पनि खेलेका छन् । हाल पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडबाट खेल्न हाल पाकिस्तानमा छन् ।
यस्तै इयू टी-२० बेल्जियममा उनी जेबी ब्रुग्समा अनुबन्ध भएका छन् । दीपेन्द्रले क्यानडाको ग्लोबल टी-२० लिग खेलिसकेका छन् भने यूएईको आईएल टी-२० लिगमा गल्फ जायन्ट्समा अनुबन्ध भएका थिए ।
प्रतिक्रिया 4