News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा फिटनेस र बडीबिल्डिङको लोकप्रियतासँगै एनाबोलिक स्टेरोइडको अनियन्त्रित प्रयोगले स्वास्थ्य जोखिम बढाएको छ।
- सरकार र सम्बन्धित निकायहरूले एनाबोलिक स्टेरोइडको प्रयोग र आपूर्तिमा प्रभावकारी नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको छ।
- एनाबोलिक स्टेरोइड नेपालमा भारत, चीनबाट आयात, फार्मेसी, जिम नेटवर्क र अनलाइन बजारमार्फत सजिलै उपलब्ध छन्।
विहानको करिब ६ बजेको समय । काठमाडौं उपत्यकाका जिमहरू विस्तारै खुल्दै छन् । बाहिर चिसो हावा चलेको छ, तर भित्र पस्नेबित्तिकै एउटा फरक संसार सुरु हुन्छ- मोटिभेसनल संगीत, फलामका – तौलहरूको आवाज, र ऐनाअगाडि उभिएर आफ्नै शरीरसँग संघर्ष गरिरहेका युवाहरू ।
कसैले तौल घटाउने लक्ष्य बोकेका छन्, कसैले आफ्नो शरीरलाई आकर्षक बनाउने सपना । सबैको आँखामा एउटा साझा चमक देखिन्छ – म परिवर्तन हुन चाहन्छु । यस्तै परिवर्तन खोजेर आज भन्दा ३५ वर्ष पहिला म पनि जिम छिरेको थिएँ ।
२०५०-२०५१ सालको मि.भ्याली मेरो पहिलो प्रतियोगिता अनि त्यसपछिको निरन्तरता आज २०८३ सालसम्म कायमै छ । यो अन्तरालमा थुप्रै प्रतियोगिताहरुमा सहभागी भइयो, पदकहरू पनि जितियो तर सबै प्राकृतिक खानेकुराहरु खाएरै ।
तर आजभोलि यही ‘म परिवर्तन हुन चाहन्छु’ भनेर लागिने परिवर्तनको यात्रामा कतै नदेखिने एउटा अँध्यारो बाटो पनि छ । सुरुमा सामान्य देखिने यो यात्रा केहीका लागि छिट्टै बदलिन्छ । केही महिनामै शरीर अस्वाभाविक रूपमा बदलिन्छ – मांसपेशी अचानक ठूलो, अनुहारमा दाना, स्वभावमा चिडचिडापन ।
बाहिरबाट हेर्दा सफलता जस्तो देखिने यो परिवर्तन भित्रभित्रै एउटा जोखिमपूर्ण खेलको परिणाम हुन सक्छ – एनाबोलिक स्टेरोइडको प्रयोग।
नेपालमा पछिल्लो दशकमा फिटनेस र बडीबिल्डिङको लोकप्रियता तीव्र रूपमा बढेको छ । सामाजिक सञ्जालमा देखिने आकर्षक शरीर, अन्तर्राष्ट्रिय ट्रेन्ड, र ‘पर्फेक्ट फिजिक’ को आकर्षणले युवाहरूलाई निकै प्रभावित गरेको छ । धेरैका लागि जिम जानु केवल स्वास्थ्यको विषय मात्र होइन, सामाजिक पहिचान र आत्मविश्वाससँग जोडिएको विषय बनिसकेको छ । यस्तो अवस्थामा, छिटो परिणाम पाउने चाहना स्वाभाविक नै हो । तर यही चाहनाले धेरैलाई जोखिमपूर्ण निर्णयतर्फ धकेलिरहेको छ ।
एनाबोलिक स्टेरोइड भनेको के हो भन्ने कुरा बुझ्न आवश्यक छ । यी मूलतः टेस्टोस्टेरोन जस्तै काम गर्ने कृत्रिम हर्मोनहरू हुन्, जसले शरीरमा मांसपेशीको वृद्धि छिटो गराउँछन् । चिकित्सकीय रूपमा केही रोगहरूको उपचारमा प्रयोग हुने भए पनि, फिटनेस क्षेत्रमा यसको अनियन्त्रित प्रयोगले गम्भीर समस्या निम्त्याएको छ । सुरुमा प्रयोग गर्दा प्रयोगकर्ताले छिटो परिणाम देख्छ—तौल बढ्छ, शक्ति बढ्छ, शरीर आकर्षक देखिन थाल्छ । यही छिटो परिवर्तन नै यसको सबैभन्दा ठूलो प्रलोभन हो ।
तर यस प्रलोभनको मूल्य निकै महँगो हुन्छ । शरीरको भित्री सन्तुलन बिग्रन थाल्छ । हर्मोनको प्राकृतिक उत्पादन घट्छ । दीर्घकालीन रूपमा हृदय रोग, कलेजोको समस्या, रक्तचाप वृद्धि, र मानसिक स्वास्थ्यमा असर देखिन थाल्छ । केही अवस्थामा डिप्रेसन, आक्रामक व्यवहार, र आत्मविश्वासमा अस्थिरता पनि देखिन्छ । अझ गम्भीर अवस्थामा, जीवन नै जोखिममा पर्न सक्छ ।
नेपालको सन्दर्भमा समस्या अझ जटिल छ । यहाँ यस्ता औषधिहरूको पहुँच अपेक्षाकृत सजिलो छ । केही जिमहरूमा अनौपचारिक रूपमा यस्ता पदार्थहरूको सिफारिस गरिन्छ । नयाँ जिम जाने युवाहरू, जो छिटो परिणाम खोजिरहेका हुन्छन्, उनीहरूलाई ‘छोटो बाटो’ देखाइन्छ । उनीहरूलाई भनिन्छ – यो प्रयोग गर्यौ भने छिट्टै रिजल्ट देखिन्छ । तर त्यसको दीर्घकालीन असरबारे पर्याप्त जानकारी दिइँदैन ।
कहिलेकाहीँ यस्तो लाग्छ, जिमको संस्कृतिमा नै परिवर्तन आएको छ । पहिले जहाँ मेहनत, अनुशासन, र समयलाई प्राथमिकता दिइन्थ्यो, अहिले त्यहाँ छिटो परिणामको दबाब बढेको छ । सामाजिक सञ्जालले यसलाई अझ बढाएको छ । इन्स्टाग्राम, टिकटकजस्ता प्लाटफर्महरूमा देखिने ‘ट्रान्सफर्मेसन’ भिडियोहरूले युवाहरूलाई प्रभावित गर्छन्। उनीहरू सोच्न थाल्छन्- ‘यदि उसले यति छिटो गर्न सक्छ भने, म किन सक्दिनँ ?’ तर त्यो परिवर्तनको पछाडि के छ भन्ने कुरा प्रायः लुकेको हुन्छ ।
यहीँबाट अर्को गम्भीर पक्ष पनि उठ्छ – जिम्मेवार निकायहरूको भूमिका । नेपाल सरकारका विभिन्न निकायहरूले यस विषयमा समय–समयमा चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, खेलकुदसँग सम्बन्धित संस्थाहरूले पनि जोखिमबारे बोलेका छन् । तर व्यवहारमा हेर्दा, प्रभावकारी कार्यान्वयन भने कमजोर देखिन्छ । बजारमा अझै पनि यस्ता औषधिहरू सजिलै उपलब्ध छन्, जिमहरूमा प्रयोग भइरहेका छन्, तर नियन्त्रण भने देखिँदैन ।
जिम्मेवारी कसको त ?
अझ विडम्बना के छ भने, जब यस्ता घटनाहरूबारे प्रश्न उठाइन्छ, केही जिम्मेवार अधिकारीहरूबाट यस्तो प्रतिक्रिया आउँछ- ‘प्रयोग भएको छ भनेर प्रमाणित गर्न परीक्षण आवश्यक हुन्छ, परीक्षण बिना भन्न सकिँदैन ।’
कानुनी दृष्टिले यो कुरा ठिक जस्तो लाग्न सक्छ, तर व्यवहारिक रूपमा हेर्दा, यो जवाफले जिम्मेवारीबाट पन्छिने प्रयास जस्तो देखिन्छ । जब खुला रूपमा समस्या देखिँदैछ, जब युवाहरूको स्वास्थ्य जोखिममा छ, तब केवल ‘परीक्षण छैन’ भनेर चुप बस्नु कत्तिको उचित हो ?
यही सन्दर्भमा एउटा झन् गम्भीर प्रश्न उठ्न थाल्छ- यदि यस्तो अवस्था निरन्तर रहिरह्यो भने, के बडीबिल्डिङलाई अझै पनि खेलकुदकै रूपमा मान्यता दिनु उचित हुन्छ ? जब निष्पक्षता, स्वास्थ्य, र प्राकृतिक प्रतिस्पर्धाको आधार नै कमजोर हुँदै गएको छ, तब यसको खेलकुदीय मूल्य कति बाँकी रहन्छ ?
नेपालका प्रमुख खेलकुद निकायहरू– राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय लगायत यस खेल र खेलाडीहरुको विकास तथा प्रवर्धनको लागि भनेर खोलिएका संघ, महासंघ अनि यसका केहि (कु)पात्रहरु – ले यस विषयमा गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने समय आएको छ । खेलकुद भनेको केवल प्रदर्शन मात्र होइन, मूल्य, अनुशासन, र स्वस्थ प्रतिस्पर्धाको प्रतीक हो। यदि यी आधारहरू नै कमजोर हुँदै गएका छन् भने, त्यसलाई जोगाउने जिम्मेवारी कसको हो ?
केवल प्रतियोगिता आयोजना गर्नु, पदक बाँड्नु, वा नाम मात्रको निगरानी गर्नु पर्याप्त हुँदैन । यदि खेलकुदभित्रै यस्ता अस्वस्थ प्रवृत्तिहरू मौलाउँदै गएका छन् भने, त्यसलाई रोक्न ठोस नीति, कडा अनुगमन, र स्पष्ट कार्यान्वयन आवश्यक हुन्छ। अन्यथा, बडीबिल्डिङ जस्तो खेल क्रमशः आफ्नो मूल मूल्य गुमाउँदै जाने खतरा हुन्छ ।
यसै सन्दर्भमा फेरि एउटा असहज तर आवश्यक प्रश्न उठ्छ- के नेपाल सरकार र सम्बन्धित निकायहरू साँच्चै यस समस्याप्रति गम्भीर छन् ? पटक पटक जानकारी दिँदा पनि ठोस कदम नचालिनु, निगरानी कमजोर हुनु – यी सबैले कतै यस्तो सन्देश त दिइरहेका छैनन् कि देशका युवाहरू यस कुलतमा फसेर बिग्रँदा पनि कसैलाई खासै चिन्ता छैन ?
यो केवल सरकारको प्रश्न होइन, यो समाजको पनि प्रश्न हो । अभिभावक, प्रशिक्षक, जिम सञ्चालक, र स्वयं युवाहरू- सबैले आफ्नो भूमिका बुझ्न आवश्यक छ । फिटनेस भनेको केवल शरीरको आकार मात्र होइन, स्वास्थ्य र दीर्घकालीन सन्तुलन पनि हो भन्ने बुझाइ फैलाउनु जरुरी छ ।
आजको आवश्यकता भनेको कडा नीति मात्र होइन, व्यवहारमा लागू हुने कदमहरू हुन् । जिमहरूको नियमित अनुगमन, अवैध औषधि बिक्रीमा कडाइ, प्रतियोगितामा अनिवार्य डोपिङ परीक्षण, र युवाहरूलाई सचेत गराउने प्रभावकारी अभियान- यी सबै अत्यावश्यक छन् । साथै, प्राकृतिक र सुरक्षित फिटनेसलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
अन्ततः, शरीर बनाउने नाममा स्वास्थ्य गुमाउनु कुनै उपलब्धि होइन । वास्तविक फिटनेस त्यो हो, जसले शरीर मात्र होइन, जीवनलाई पनि सन्तुलित र स्वस्थ बनाउँछ। यदि आज हामीले यस विषयलाई गम्भीरतापूर्वक लिएनौं भने, भोलि यसको मूल्य एउटा पुस्ताले तिर्नुपर्नेछ ।
त्यसैले, प्रश्न केवल स्टेरोइडको होइन – यो हाम्रो सोच, हाम्रो प्रणाली, र हाम्रो जिम्मेवारीको प्रश्न हो। हामी कस्तो खेलकुद चाहन्छौं ? कस्तो समाज बनाउँदैछौं ? उत्तर अझै पनि खोजिँदैछ।
कहाँबाट आउँछ त त्यस्ता एनाबोलिक स्टेरोइड ?
नेपालमा एनाबोलिक स्टेरोइडको पहुँच कसरी यति सहज भयो भन्ने प्रश्न अहिले झन् गम्भीर बन्दै गएको छ । औपचारिक रूपमा हेर्दा यस्ता औषधि चिकित्सकीय प्रयोजनका लागि मात्र प्रयोग हुने र कडाइका साथ नियमन हुनुपर्ने हो । तर व्यवहारमा भने यसको आपूर्ति विभिन्न अनौपचारिक माध्यमबा हुँदै आइरहेको देखिन्छ ।
पहिलो र मुख्य स्रोत हो – विदेशबाट हुने आयात । छिमेकी राष्ट्र भारत र चीनबाट विभिन्न प्रकारका स्टेरोइड नेपाल भित्रिने गरेको व्यापक चर्चा छ । खुला सिमाना र पर्याप्त निगरानीको अभावका कारण साना–साना मात्रामा ल्याइने यस्ता पदार्थहरू सजिलै बजारसम्म पुग्छन् । कहिलेकाहीँ यी औषधि ‘सप्लिमेन्ट’ वा अन्य सामानको नाममा भित्र्याइने गरिएको पनि सुनिन्छ ।
दोस्रो स्रोत हो- औषधि पसल र फार्मेसीहरू । नेपालमा औषधि बिक्रीलाई नियमन गर्ने निकाय औषधि विभाग भए पनि, व्यवहारमा सबै ठाउँमा नियमको कडाइ देखिँदैन । केही फार्मेसीहरूले बिना प्रिस्क्रिप्सन पनि यस्ता औषधि उपलब्ध गराउने गरेको आरोप लाग्ने गर्छ । सबै फार्मेसीहरू यस्ता काममा संलग्न छन् भन्न मिल्दैन, तर केही कमजोर कडीहरूले प्रणालीमै प्रश्न उठाइदिन्छन् ।्
तेस्रो स्रोत हो- जिम भित्रकै नेटवर्क । केही अवस्थामा प्रशिक्षक वा अनुभवी सदस्यहरूले नै नयाँ आउनेहरूलाई स्टेरोइडको “सल्लाह” दिने र कहाँबाट पाइन्छ भन्ने जानकारी दिने गर्छन्। यसले आपूर्ति श्रृंखला झन् सजिलो बनाइदिन्छ। प्रयोगकर्ता आफैं खोज्न नपरेर, जिमकै सर्कलबाट उपलब्ध हुन्छ।
चौथो स्रोत हो – अनलाइन बजार। पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू मार्फत पनि यस्ता पदार्थहरूको कारोबार भइरहेको देखिन्छ। फेसबुक पेज, टेलिग्राम ग्रुप, वा निजी सन्देशमार्फत “डिल” हुने घटनाहरू बढ्दै गएका छन्। यहाँ न कुनै प्रिस्क्रिप्सन चाहिन्छ, न कुनै पहिचान – जो कोहीले सजिलै पहुँच पाउन सक्छ। नेपालका खेलाडी भनाउँदाहरुले सामाजिक संजालमा खुल्ला रुपमा बिक्रि वितरणको लागि विज्ञापन गर्दा समेत यस खेलसंग सम्बन्धित तथा जिम्मेवार निकायहरुले चुईंक्क बोल्न नसकेको देख्दा बोल्ने अनि विरोध गर्ने अधिकारी(हरु) शत्रुको समुहमा पर्ने गरेका छन्।
पाँचौं पक्ष – व्यक्तिगत स्तरको ल्याइने सामान। विदेशमा काम गर्ने वा बस्ने व्यक्तिहरूले आफ्ना लागि वा चिनजानका लागि ल्याउने क्रममा पनि यस्ता औषधि भित्रिने सम्भावना हुन्छ। सानो मात्रामा ल्याइँदा यो प्रायः निगरानी बाहिरै रहन्छ।
यी सबै स्रोतहरूले एउटा कुरा प्रस्ट पार्छन् – समस्या केवल प्रयोगकर्ताको होइन, आपूर्ति प्रणालीकै हो। जब यति धेरै बाटोहरू खुला छन्, तब नियन्त्रण गर्न कठिन हुन्छ। तर कठिन छ भनेर छोडिदिने विषय पनि होइन।
यहाँ फेरि जिम्मेवारीको प्रश्न उठ्छ । नियमन गर्ने निकाय, सीमा सुरक्षा, बजार अनुगमन – यी सबै संरचनाहरू सक्रिय र प्रभावकारी हुनुपर्ने हो। तर जब व्यवहारमा यस्ता पदार्थहरू सजिलै उपलब्ध भइरहेका छन्, तब प्रणालीमा कहाँ कमजोरी छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
अनि, एनाबोलिक स्टेरोइड नेपालमा ‘एउटै स्रोत’ बाट आएको होइन। यो विभिन्न साना–साना बाटाहरूको जालो हो, जसले मिलेर ठूलो समस्या बनाएको छ। यदि यसलाई नियन्त्रण गर्न हो भने, केवल प्रयोगकर्तालाई दोष दिएर पुग्दैन – पूरै आपूर्ति श्रृंखलालाई बुझेर, त्यसमा कडाइका साथ हस्तक्षेप गर्नुपर्ने देखिन्छ।
कस्ता एनाबोलिक स्टेरोइड नेपाली युवाहरुले दुरुपयोग गर्ने गर्छन त ?
नेपालको फिटनेस र बडीबिल्डिङ क्षेत्रमा दुरुपयोग भइरहेको एनाबोलिक स्टेरोइडहरू प्रायः अन्तर्राष्ट्रिय बजारमै प्रचलित औषधिहरू नै हुन् । यिनीहरू चिकित्सकीय प्रयोजनका लागि विकसित भए पनि, जिम सर्कलमा ‘छिटो मसल बनाउने’ माध्यमका रूपमा प्रयोग भइरहेका छन् । साधारण भाषामा भन्नुपर्दा, शरीरलाई अस्वाभाविक रूपमा छिटो बदल्ने यिनै पदार्थहरू अहिले समस्याको केन्द्रमा छन् ।
सबैभन्दा धेरै सुनिने नाम हो टेस्टोस्टेरोन । यो प्राकृतिक हर्मोनको कृत्रिम रूप हो । शरीरमा मांसपेशी वृद्धि र शक्ति बढाउन यसको प्रयोग गरिन्छ । ‘टेस्टो’ भनेर जिममा चिनिने यो औषधि प्रायः सबै स्टेरोइड साइकलको आधारजस्तै मानिन्छ । यसको विभिन्न प्रकार- इनानथेट, साइपियोनेट, प्रोपियोनेट प्रयोगमा पाइन्छन् ।
त्यसपछि धेरै प्रयोग हुने अर्को औषधि हो नान्द्रोलोन (प्रायः ‘डेका’ भनेर चिनिन्छ)। यसले मांसपेशी वृद्धि गर्न मद्दत गर्छ र जोर्नी दुखाइ कम गर्छ भन्ने विश्वास गरिन्छ । तर दीर्घकालीन प्रयोगले हर्मोनल सन्तुलनमा ठूलो असर पार्न सक्छ ।
मिथान्ड्रोस्टेनोलोन (दियानाबोल) पनि निकै लोकप्रिय छ, विशेषगरी सुरुवाती प्रयोगकर्ताहरूमा । यो ट्याब्लेटको रूपमा पाइने भएकाले प्रयोग गर्न सजिलो हुन्छ । छिटो तौल बढाउने यसको प्रभावले धेरैलाई आकर्षित गर्छ, तर कलेजोमा गम्भीर असर पार्न सक्छ ।
त्यस्तै, स्टानोजोलोल (विन्स्ट्रोल) ‘कटिङ’ का लागि प्रयोग गरिन्छ । शरीरलाई स्लिम र डिफाइन्ड देखाउन मद्दत गर्छ भन्ने धारणा छ । तर यसले जोर्नी सुख्खा बनाउने, हृदयमा असर पार्ने जोखिम पनि बोकेको हुन्छ ।
अर्को चर्चित नाम हो ट्रेनबोलोन । यो निकै शक्तिशाली स्टेरोइड मानिन्छ र प्रायः उन्नत प्रयोगकर्ताहरूले प्रयोग गर्ने भनिन्छ । यसको प्रभाव बलियो भए पनि साइड इफेक्टहरू पनि उत्तिकै गम्भीर हुन्छन्—निद्रा समस्या, मानसिक तनाव, आक्रामक व्यवहार आदि ।
अक्सीमिथोलोन (एनाड्रोल) पनि तौल छिटो बढाउन प्रयोग गरिन्छ । तर यो पनि कलेजोका लागि निकै जोखिमपूर्ण मानिन्छ । शरीरमा पानी जम्ने, रक्तचाप बढ्ने जस्ता असरहरू देखिन सक्छन् ।
अर्कोतर्फ, ‘सुरक्षित’ भनेर प्रचार गरिने केही औषधिहरू पनि छन्, जस्तै अक्सान्ड्रोलोन (अनावर)। विशेषगरी महिला प्रयोगकर्तामा यसको प्रयोग बढ्दै गएको सुनिन्छ । तर ‘हल्का’ भनेर चिनिए पनि यसले पनि हर्मोनल असर पार्न सक्छ ।
यी बाहेक पनि बोल्डेनोन, क्लेनबुटेरोल (यद्यपि यो प्राविधिक रूपमा स्टेरोइड होइन), र विभिन्न ‘स्ट्याक’ संयोजनहरू बजारमा पाइन्छन् । धेरैजसो अवस्थामा यी औषधिहरू बिना स्पष्ट लेबल, बिना प्रमाणिक स्रोत, वा नक्कली रूपमा पनि उपलब्ध हुन्छन्, जसले जोखिम अझ बढाउँछ ।
गम्भीर कुरा के छ भने, धेरै प्रयोगकर्ताहरूलाई यी औषधिहरूको वास्तविक प्रभाव, मात्रा, वा साइड इफेक्टबारे पूर्ण जानकारी हुँदैन ।’फलानोले प्रयोग गरेर राम्रो भयो’ भन्ने आधारमा प्रयोग सुरु गरिन्छ ।
यसरी एक व्यक्तिको अनुभव अर्कोको लागि सल्लाह बन्छ, तर त्यसको वैज्ञानिक आधार वा सुरक्षा मूल्याङ्कन हुँदैन । यसले एउटा ठूलो प्रश्न खडा गर्छ – जब यति शक्तिशाली औषधिहरू यति सजिलै उपलब्ध छन्, तब नियन्त्रण कहाँ छ ? के हामीले यसलाई सामान्य मान्न थालेका छौं ?
तसर्थ, नाम जति आकर्षक भए पनि, यिनको असर शरीरमा गहिरो र दीर्घकालीन हुन्छ । स्टेरोइडहरू ‘शर्टकट’ जस्तो देखिए पनि, त्यसको मूल्य स्वास्थ्यले तिर्नुपर्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।
(महर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद जगतमा विशेष चासो राख्ने; खेलविज्ञ तथा सुचना प्रविधिको क्षेत्रमा अनुभवी विशेषज्ञ हुन्)
प्रतिक्रिया 4