+
+
Shares
फ्राइडे प्लेलिस्ट :

‘को आयो’ देखि ‘मेरी बेहुली’सम्म, ‘लैजाऊ मलाई’देखि ‘मनमाया’सम्म

त्यहाँ प्रेमी-प्रेमिका सारा संसार बन्दाकै क्रममा निश्चित भएको बताइन्छ । त्यसपछि गीतमा पालाम नि गाइएको छ; जसले पक्कै बिछ्ट्टै भाव दिन्छ ।

सापेक्ष सापेक्ष
२०८३ वैशाख १८ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभया सुब्बा एन्ड द स्टिम इन्जिनले नयाँ गीत \'लैजाउ मलाई २\' रिलिज गरेका छन्, जसमा राई र लिम्बू संगीत मिश्रण छ।
  • मनिष अधिकारीले नयाँ गीत \'मेरी बेहुली\' ल्याएका छन्, जसमा विवाह र प्रेमको विषयमा गीत गाइएको छ।
  • रकिङ फिलिलिको \'को आयो\' गीतले र्‍यागे शैलीमा सकारात्मक सन्देश दिएको छ र नयाँ एल्बम \'फेरि भेटिन्छ\' मा समावेश छ।

यो साता चलेका कलाकारहरूबाट खासै गीत आएन । तर, केही साताअघि रिलिज भएका गीतहरू भने निरन्तर चर्चामा आउँदै गए । जस्तो, प्रकाश दुतराजको मनमाया । तर, नयाँ गीत नै आएन भन्ने पक्कै पनि होइन । केही फिल्मका गीत आए । केही ब्यान्डका गीत आए । केही स्वतन्त्र कलाकारका गीत आए ।

आफूलाई फरक विधामा पनि प्रमाणित गर्न सफल अभया सुब्बाले नयाँ गीत निकालिन् । त्यसले फेरि पनि आफ्नो निर्णयमा उनलाई न्याय गरेको छ ।

अब तपाईंले केही नयाँ कलाकार र नयाँ गीतहरूबारे थाहा पाउनुहुनेछ:

लैजाऊ मलाई २ : अभया सुब्बा एन्ड द स्टिम इन्जिन

यो ब्यान्डले पछिल्लो गीत ‘हे साइला’ निकालेको चार महिना पनि भएको छैन । त्यो गीत छोटो समयमै धेरै सुनिएको थियो । यसपटक अभया फेरि दमदार गीतसहित आएकी छिन्- लैजाउ मलाई २ ।

यो उनको सुपरहिट ‘लैजाउ मलाई’को सिक्वेल टाइल हो । गीतमा तपाईंले राई र लिम्बूको संगीत मिश्रण भएको पाउनुहुन्छ । गीतमा राखिएको मोनोलग नि निकै शक्तिशाली छ ।

त्यहाँ प्रेमी-प्रेमिका सारा संसार बन्दाकै क्रममा निश्चित भएको बताइन्छ । त्यसपछि गीतमा पालाम नि गाइएको छ; जसले पक्कै पनि बिछ्ट्टै भाव दिन्छ । लोक जाहेर छ, अभया रक विधाका लागि चर्चित गायिका हुन् । तर, पछिल्लो समय उनले आफ्नो विधा परिवर्तन गर्दै आएकी छिन् । त्यसकै निरन्तरता ‘लैजाऊ मलाई २’ पनि हो  ।

यो गीतमा उनको हाई पिच, लो-फाई शैली, परम्परागत बाजा र आधुनिक इलेक्ट्रोनिक बाजाको समीश्रण निकै श्रवणिय छ ।

साथी तिमी नै हो
माया के मेरो
सहारा तिमी नै हौ
धड्कन के मेरो
लैजाऊ अब मलाई
एउटै बाटो हिडाऊ….

मेरी बेहुली : मनिष अधिकारी

नेपालमा विवाह, अझ बेहुलाबेहुली सम्बन्धीको गीत कमै बन्ने गर्छ । त्यसमा मनिष अधिकारीको नयाँ गीत ‘मेरी बेहुली’ त्यो प्लेलिस्टमा थपिने गरी रिलिज भएको छ । प्रेम, समर्पण र साथको बारेमा गाइएको यो गीतमा आफ्नो बेहलुीको प्रशंसा छ । बेहुलीसँगको आफ्नो दृष्टिकोण गाइएको छ । गीतका शब्दहरूमार्फत एउटी बेहुलीको सुन्दरता, उनको पोसाक र उनको शृङ्गारबारे प्रशंसा गरिएको छ ।

गायक अधिकारी नेपाली संगीतमा तुलनात्मक रूपमा नयाँ छन् । यसअघिका उनका गीतहरूको तुलनामा यो केही फरक र विषयकेन्द्रित हुन खोजेको गीत छ । गीतको भिडियोमा भने गायक आफैं मोडलको रूपमा देखिएका छन् । साथै एक जना बेहुलीको रूपमा बी-रोलमा देखिरहन्छन् ।

घुम्टोमा सजिएर
बनिदेऊ मेरी बेहुली
शृङ्गारले भरिएर
जुनेलीझैं उजेली
तिम्रो त्यो सिउँदोमा
सिउँदो बनेर….

को आयो  : रकिङ फिलिलि

यो गीत केही साताअघि रिलिज भएको हो । तर, गीतको नवीनताका कारण यस साता पनि यसको चर्चा गर्नु सान्दर्भिक नै हुन जान्छ । रकिङ फिलिलि पूर्वेली एउटा ब्यान्ड हो । ब्यान्डका अनुसार उनीहरू ‘फेरि भेटिन्छ’ नामक एल्बममा काम गरिरहेका छन् ।

यो गीत यसै एल्बममा समावेश गीत हो । यो गीतको मात्र कुरा गर्दा यहाँ हामीले रमाइलोपन महसुस गर्न सक्छौं । त्यसले सुन्नेलाई छुट्टै एक प्रकारको सकारात्मक ऊर्जा दिएको महसुस हुन्छ । र्‍यागे शैलीको यो गीतमा सन्देश पनि सकारात्मक छ । गीतको अन्त्यतिरको आकस्मिक परिवर्तनले गीतलाई केही फरक बनाएको छ । सामाजिक सन्देश पनि त्यहाँ लुकेको छ।

नयाँ ब्यान्ड, नयाँ स्वाद खोजिरहनु भएको छ भने ‘को आयो’ राम्रो विकल्प हुन सक्छ ।

त्यो पारीबाट को आयो
सालको पात हल्लाउँदै
सोल्टिनीसँग माया लगाउन

उकाली अनि ओराली
भञ्जयाङ अनि चौतारी
मनको पीडा सबै बिसाउन
माया लगाउन…

गुटुमुटु : सुजल

सुजल पनि नेपाली संगीत क्षेत्रका लागि नयाँ नै छन् । यसअघि केही गीत निकालेको भए पनि तिनले उनलाई ठूलो जनसंख्यामा अझै चिनाउन सकेको छैन । उनले यसपटक प्रेमिल गीत लिएर आएका छन्– गुटुमुटु । विशुद्ध प्रेमको यो गीतका केही अन्तराहरू बहुतै सुन्दर सुनिएका छन् ।

गीत निकै सालिन सुनिएको छ । ड्रमबिट र इलेक्ट्रिक टोन निकै ‘सफ्ट’ सुनिएको छ । गीतमा प्रेममा परेपछिको समयको वर्णन छ । त्यो क्षणको खुसी छ । तर, कताकता फेरि असफल प्रेमको चर्चा पनि छ । यसले गीत राम्रो भए पनि शब्दमा एकरूपता नभएको महसुस हुन्छ । यद्यपि नयाँ स्वरका लागि भने यो एउटा विकल्प गीत बन्न सक्छ ।

पछि पछि आउँछु हेर्न
लुकीलुकी छिपी
मन परेको मायालाई
के भएको मलाई
यो बगुन्द्रमा
म त खोज्छु मात्र
तिमीलाई
रुपैको रानी तिमी आँखा त झन् बेग्लैबेग्लै
यो हाँसोको हर्ष
खुसी नै छु तिमीलाई हेर्दै…

मनमाया : प्रकाश दुतराज

रिमै, छैन र माया, रेशम जस्ता जबरजस्त गीत दिएर एक प्रकारको आफ्नो पहिचान बनाइएका प्रकाश दुतराज फेरि नयाँ उस्तै ताजगी भएको गीतसहित आएका छन्, मनमाया ।

भलै यो गीत दुई हप्ताअघि रिलिज भएको हो । तर, अहिले गीतका टुक्राहरूमा टिकटक, रिल्स बनाउने संख्या बढिरहेको छ । त्यस सन्दर्भमा यहाँ गीतको चर्चा गर्नु सान्दर्भिक नै हुन जान्छ । गीतमा प्रकाशलाई मेलिना राईले स्वरमा सहयोग गरेकी छिन् ।

गीत माया कै हो । यसमा लोकदोहोरी शैली पनि पाइन्छ । जस्तो, प्रकाश ‘तिमीलाई मन पर्यो’ भन्छन् भने मेलिना ‘थोरै लजाएकी छु’ भनेर जवाफ दिन्छिन् । त्यसले गीतलाई अझ मिठास, स्थानीय र आफ्नै बनाएको छ ।

मनकी रानी मनमाया
देख्दा मन कस्तो भयो
विपनीमा भेट्दा पनि
सपनी जस्तो भयो
आज मनको कुरा भन्नै पर्नी भयो
तिम्लाई मन पर्यो
आम्मै दिल बस्यो
कसो गर्नी हो…

यी बाहेक तपाईंले आर्को मुखर्जीको ‘टाढा टाढा’ (कभर), माया बिरानो (पहाड फिल्म), रोल न १ को टाइटल सङ लगायतका गीतहरू पनि सुन्न सक्नुहुन्छ ।

(फ्राइडे प्लेलिस्ट अनलाइन खबरको साप्ताहिक श्रङ्खला हो । यसमा पछिल्ला साताहरूमा रिलिज भएका नयाँ गीतको चर्चा गरिन्छ । कलाकारहरूबारे जानकारी दिइन्छ । ती गीतलाई तपाईंले आफ्नो प्लेलिस्टमा राख्न सक्नुहुन्छ । यो श्रङ्खला सम्पूर्ण श्रोतामा सम्पर्पित छ ।)

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?