+

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

२०८३ वैशाख  २४ गते १३:२९ २०८३ वैशाख २४ गते १३:२९
Shares
फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोलिक एसिड गर्भधारण अघि कम्तीमा ३ महिना देखि सेवन गर्नुपर्छ ताकि बच्चाको मस्तिष्क र मेरुदण्डको विकासमा सहयोग पुगोस्।
  • फोलिक एसिडले न्युरल ट्युब डिफेक्ट जस्ता जन्मजात समस्याबाट बचाउन मद्दत गर्छ र गर्भपतनको जोखिम घटाउँछ।

गर्भयोजना कुनै पनि दम्पतीको जीवनको महत्वपूर्ण र जिम्मेवार निर्णय हो । स्वस्थ सन्तान जन्माउनका लागि केवल गर्भधारणपछि मात्र होइन, गर्भधारण अघि नै शरीरलाई तयार पार्नु आवश्यक हुन्छ ।

आधुनिक चिकित्सा विज्ञानले गर्भअघि गरिने तयारीलाई अत्यन्त महत्व दिन्छ । यसै तयारीको एउटा महत्वपूर्ण हिस्सा हो– फोलिक एसिडको सेवन।

धेरै मानिसहरू फोलिक एसिड केवल गर्भवती महिलाले खाने औषधि हो भन्ने सोच राख्छन् । तर वास्तविकता अलि फरक छ । गर्भधारणको योजना बनाइरहेका दम्पतीमा दुवैको पोषण अवस्था राम्रो हुनु आवश्यक हुन्छ, र त्यसमध्ये फोलिक एसिडले विशेष भूमिका खेल्छ ।

फोलिक एसिड के हो ?

फोलिक एसिड भिटामिन बी समूहअन्तर्गत पर्ने एक प्रकारको पानीमा घुल्ने भिटामिन हो । प्राकृतिक रूपमा यो ‘फोलेट’का रूपमा हरियो सागसब्जी, दाल, फलफूल र अन्य खानेकुरामा पाइन्छ भने सप्लिमेन्टको रूपमा यसलाई ‘फोलिक एसिड’ भनिन्छ ।

यो भिटामिन शरीरमा नयाँ कोष बनाउन, डीएनए तयार गर्न र रगतका रातो कोषहरू उत्पादन गर्न अत्यन्त आवश्यक हुन्छ । विशेषगरी गर्भावस्थामा बच्चाको मस्तिष्क र मेरुदण्डको विकासमा यसको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।

फोलिक एसिड कहिले आवश्यक पर्छ ?

फोलिक एसिडको आवश्यकता जीवनभर नै रहन्छ, तर केही विशेष अवस्थाहरूमा यसको आवश्यकता अझ बढी हुन्छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण अवस्था हो– गर्भधारणको समय ।

चिकित्सकको सिफारिस अनुसार गर्भधारणको योजना बनाउनु भन्दा कम्तीमा ३ महिना अघि देखि फोलिक एसिड खान सुरु गर्नुपर्छ । किनभने गर्भ रहनासाथ प्रारम्भिक ३–४ हप्तामै बच्चाको मस्तिष्क र मेरुदण्ड बन्न सुरु हुन्छ, जुन समय धेरै महिलालाई आफू गर्भवती भएको थाहा पनि नहुन सक्छ।

त्यसैले समयमै शरीरमा पर्याप्त फोलिक एसिडको मात्रा हुनु अत्यन्त जरुरी हुन्छ ।

अब प्रश्न आउँछ, गर्भयोजनाअघि किन फोलिक एसिड खाने ?

गर्भयोजनाअघि फोलिक एसिड खानुका मुख्य कारणहरू वैज्ञानिक रूपमा प्रमाणित छन् ।

सबैभन्दा महत्वपूर्ण कारण हो– बच्चामा न्युरल ट्युब डिफेक्ट जस्ता जन्मजात समस्याहरूबाट जोगाउनु । यदि शरीरमा फोलिक एसिडको कमी भयो भने बच्चाको मस्तिष्क र मेरुदण्डको विकासमा गम्भीर समस्या आउन सक्छ, जस्तै स्पिनि विभिडा ।

यसका साथै, फोलिक एसिडले स्वस्थ डिएनए निर्माणमा सहयोग गर्छ, जसले गर्भधारण सफल हुन र भ्रूणको राम्रो विकासमा मद्दत पुर्‍याउँछ ।

महिलाको शरीरलाई गर्भधारणका लागि तयार पार्न, अण्डाको गुणस्तर सुधार गर्न र गर्भपतनको जोखिम घटाउन पनि फोलिक एसिड उपयोगी मानिन्छ।

कति समयसम्म फोलिक एसिड खाने ?

सामान्यतया, गर्भधारणको योजना सुरु गरेको समयदेखि नै फोलिक एसिड खान सुरु गर्न सिफारिस गरिन्छ । गर्भ रहिसकेपछि पनि कम्तीमा पहिलो ३ महिनासम्म यसको सेवन अनिवार्य जस्तै मानिन्छ, किनभने यही समयमा बच्चाको मुख्य अंगहरूको विकास हुन्छ ।

धेरै अवस्थामा चिकित्सकले गर्भावस्थाभर नै फोलिक एसिड सेवन गर्न सल्लाह दिन सक्छन्, किनभने यसले रगतको कमी रोक्न पनि सहयोग गर्छ ।

के पुरुषले पनि फोलिक एसिड खानुपर्छ ?

यो प्रश्न धेरैले सोध्ने गर्छन् । हो, यो पुरुषका लागि पनि आवश्यक छ । किनकी, यसले शुक्रकीटको गुणस्तर सुधार गर्न मद्दत पुर्‍याउन सक्छ । यद्यपि फोलिक एसिडको मुख्य महत्व महिलामा बढी देखिन्छ ।

स्वस्थ शुक्रकीट बन्न डीएनएको सही संरचना आवश्यक हुन्छ, र यस प्रक्रियामा फोलिक एसिडको भूमिका रहन्छ । पुरुषमा फोलिक एसिडले शुक्रकीट उत्पादन र गुणस्तर सुधार गर्न सहयोग गर्छ । यसले डीएनए संश्लेषण र कोष विभाजनमा भूमिका खेल्ने भएकाले स्वस्थ र राम्रो संरचना भएका शुक्रकीट बन्न मद्दत गर्छ ।

पर्याप्त फोलिक एसिड हुँदा शुक्रकीटको संख्या, गतिशीलता र आनुवंशिक स्थिरता सुधार हुन सक्छ । साथै, यसले खराब वा असामान्य शुक्रकीट बन्ने जोखिम घटाउँछ, जसले गर्भधारणको सम्भावना बढाउन सहयोग पुर्‍याउँछ ।

त्यसैले, गर्भयोजना गरिरहेका दम्पतीमा पुरुषले पनि सन्तुलित आहार वा आवश्यक परे सप्लिमेन्टमार्फत फोलिक एसिड लिनु फाइदाजनक हुनसक्छ ।

अब कुरा आउँछ, कस्तो खालको फोलिक एसिड खाने ?

फोलिक एसिड दुई तरिकाले प्राप्त गर्न सकिन्छ– प्राकृतिक आहार र सप्लिमेन्ट ।

प्राकृतिक रूपमा हरियो सागसब्जी (जस्तै पालुङ्गो), ब्रोकाउली, दाल, कागती वर्गका फलफूल, सिमी आदि खानाले फोलेट प्राप्त हुन्छ। यस्तो प्राकृतिक स्रोत सधैं राम्रो मानिन्छ ।

तर गर्भयोजनाको समयमा केवल खानाबाट मात्र आवश्यक मात्रा पुग्न गाह्रो हुन सक्छ । त्यसैले, चिकित्सकले प्रायः ४०० माइक्रोग्राम फोलिक एसिडको ट्याब्लेट सिफारिस गर्छन् ।

कसै–कसैमा विशेष अवस्था (जस्तै पहिले न्युरल ट्युब डिफेक्ट भएको बच्चा जन्मिएको) भएमा बढी मात्रा पनि सिफारिस हुनसक्छ, जुन चिकित्सकको सल्लाह अनुसार मात्र लिनुपर्छ ।

फोलिक एसिडको कमी हुँदा देखिने समस्या

शरीरमा फोलिक एसिडको कमी भयो भने त्यसको असर सिधै कोष निर्माण र रगत उत्पादनमा देखिन्छ । महिलामा यसको कमीले रगतको कमी), थकान, कमजोरी, र गर्भधारणमा समस्या ल्याउन सक्छ । गर्भवती अवस्थामा कमी भयो भने बच्चामा स्नायुसम्बन्धी विकृति जस्तै गम्भीर समस्या देखिन सक्छ, जसले मस्तिष्क वा मेरुदण्डको विकासमा असर पुर्‍याउँछ ।

पुरुषमा पनि फोलिक एसिडको कमीले शुक्रकीटको गुणस्तर घटाउन सक्छ, जसले गर्भधारणको सम्भावना कम गर्नसक्छ ।

लामो समयसम्म खान मिल्छ ?

गर्भ योजना बनेदेखि फोलिक एसिड खान सुरु गरे पछि त्यो भन्दा लामो समयसम्म गर्भ रहेन भने पनि फोलिक एसिड जारी राख्न सकिन्छ । अझै
गर्भधारणको प्रयासमै हुनुहुन्छ भने, दैनिक ४०० एमसीजी जति फोलिक एसिड जारी राख्नु सुरक्षित र फाइदाजनक हुन्छ । यसले शरीरलाई तयार राख्छ र गर्भ बस्नेबित्तिकै बच्चाको प्रारम्भिक विकासका लागि आवश्यक पोषण उपलब्ध हुन्छ।

फोलिक एसिड पानीमा घुल्ने भिटामिन भएकाले सामान्य मात्रामा लामो समयसम्म खाँदा पनि हानिकारक हुँदैन । तर चिकित्सकको निगरानी भने आवश्यक पर्न जान्छ ।

(डा.अकृति भारती बात्सल्य आईभीएफमा कार्यरत छिन् )

गर्भवती फोलिक एसिड
डा. आकृति भारती
लेखक
डा. आकृति भारती
नि:सन्तान तथा प्रसूती विशेषज्ञ

डा. भारती नेचुरल आईभीएफ सेन्टरमा मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छिन् । गाइनोकोलोजीमा एमडी र आईभीएफमा फेलोशिप गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १२४८८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

हान्ता भाइरस : ५० प्रतिशतसम्म मृत्युदर हुने जोखिमपूर्ण संक्रमण अहिले किन चर्चामा छ ?

हान्ता भाइरस : ५० प्रतिशतसम्म मृत्युदर हुने जोखिमपूर्ण संक्रमण अहिले किन चर्चामा छ ?

वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा

वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा

चिकित्सक संघको अध्यक्षमा डा.बद्री रिजाल विजयी, अन्य पदमा को–को ?

चिकित्सक संघको अध्यक्षमा डा.बद्री रिजाल विजयी, अन्य पदमा को–को ?

हाम्रो शरीरमा कसरी सञ्चालन भइरहेको हुन्छ सर्क्युलेटरी सिस्टम ?

हाम्रो शरीरमा कसरी सञ्चालन भइरहेको हुन्छ सर्क्युलेटरी सिस्टम ?

आयुर्वेदिक क्लिनिकका रूपमा दर्ता गरेर अन्य उपचार गर्ने अस्पताल कारबाहीमा

आयुर्वेदिक क्लिनिकका रूपमा दर्ता गरेर अन्य उपचार गर्ने अस्पताल कारबाहीमा