News Summary
Generated by OK AI. Editorially reviewed.- फोलिक एसिड गर्भधारण अघि कम्तीमा ३ महिना देखि सेवन गर्नुपर्छ ताकि बच्चाको मस्तिष्क र मेरुदण्डको विकासमा सहयोग पुगोस्।
- फोलिक एसिडले न्युरल ट्युब डिफेक्ट जस्ता जन्मजात समस्याबाट बचाउन मद्दत गर्छ र गर्भपतनको जोखिम घटाउँछ।
गर्भयोजना कुनै पनि दम्पतीको जीवनको महत्वपूर्ण र जिम्मेवार निर्णय हो । स्वस्थ सन्तान जन्माउनका लागि केवल गर्भधारणपछि मात्र होइन, गर्भधारण अघि नै शरीरलाई तयार पार्नु आवश्यक हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानले गर्भअघि गरिने तयारीलाई अत्यन्त महत्व दिन्छ । यसै तयारीको एउटा महत्वपूर्ण हिस्सा हो– फोलिक एसिडको सेवन।
धेरै मानिसहरू फोलिक एसिड केवल गर्भवती महिलाले खाने औषधि हो भन्ने सोच राख्छन् । तर वास्तविकता अलि फरक छ । गर्भधारणको योजना बनाइरहेका दम्पतीमा दुवैको पोषण अवस्था राम्रो हुनु आवश्यक हुन्छ, र त्यसमध्ये फोलिक एसिडले विशेष भूमिका खेल्छ ।
फोलिक एसिड के हो ?
फोलिक एसिड भिटामिन बी समूहअन्तर्गत पर्ने एक प्रकारको पानीमा घुल्ने भिटामिन हो । प्राकृतिक रूपमा यो ‘फोलेट’का रूपमा हरियो सागसब्जी, दाल, फलफूल र अन्य खानेकुरामा पाइन्छ भने सप्लिमेन्टको रूपमा यसलाई ‘फोलिक एसिड’ भनिन्छ ।
यो भिटामिन शरीरमा नयाँ कोष बनाउन, डीएनए तयार गर्न र रगतका रातो कोषहरू उत्पादन गर्न अत्यन्त आवश्यक हुन्छ । विशेषगरी गर्भावस्थामा बच्चाको मस्तिष्क र मेरुदण्डको विकासमा यसको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
फोलिक एसिड कहिले आवश्यक पर्छ ?
फोलिक एसिडको आवश्यकता जीवनभर नै रहन्छ, तर केही विशेष अवस्थाहरूमा यसको आवश्यकता अझ बढी हुन्छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण अवस्था हो– गर्भधारणको समय ।
चिकित्सकको सिफारिस अनुसार गर्भधारणको योजना बनाउनु भन्दा कम्तीमा ३ महिना अघि देखि फोलिक एसिड खान सुरु गर्नुपर्छ । किनभने गर्भ रहनासाथ प्रारम्भिक ३–४ हप्तामै बच्चाको मस्तिष्क र मेरुदण्ड बन्न सुरु हुन्छ, जुन समय धेरै महिलालाई आफू गर्भवती भएको थाहा पनि नहुन सक्छ।
त्यसैले समयमै शरीरमा पर्याप्त फोलिक एसिडको मात्रा हुनु अत्यन्त जरुरी हुन्छ ।
अब प्रश्न आउँछ, गर्भयोजनाअघि किन फोलिक एसिड खाने ?
गर्भयोजनाअघि फोलिक एसिड खानुका मुख्य कारणहरू वैज्ञानिक रूपमा प्रमाणित छन् ।
सबैभन्दा महत्वपूर्ण कारण हो– बच्चामा न्युरल ट्युब डिफेक्ट जस्ता जन्मजात समस्याहरूबाट जोगाउनु । यदि शरीरमा फोलिक एसिडको कमी भयो भने बच्चाको मस्तिष्क र मेरुदण्डको विकासमा गम्भीर समस्या आउन सक्छ, जस्तै स्पिनि विभिडा ।
यसका साथै, फोलिक एसिडले स्वस्थ डिएनए निर्माणमा सहयोग गर्छ, जसले गर्भधारण सफल हुन र भ्रूणको राम्रो विकासमा मद्दत पुर्याउँछ ।
महिलाको शरीरलाई गर्भधारणका लागि तयार पार्न, अण्डाको गुणस्तर सुधार गर्न र गर्भपतनको जोखिम घटाउन पनि फोलिक एसिड उपयोगी मानिन्छ।
कति समयसम्म फोलिक एसिड खाने ?
सामान्यतया, गर्भधारणको योजना सुरु गरेको समयदेखि नै फोलिक एसिड खान सुरु गर्न सिफारिस गरिन्छ । गर्भ रहिसकेपछि पनि कम्तीमा पहिलो ३ महिनासम्म यसको सेवन अनिवार्य जस्तै मानिन्छ, किनभने यही समयमा बच्चाको मुख्य अंगहरूको विकास हुन्छ ।
धेरै अवस्थामा चिकित्सकले गर्भावस्थाभर नै फोलिक एसिड सेवन गर्न सल्लाह दिन सक्छन्, किनभने यसले रगतको कमी रोक्न पनि सहयोग गर्छ ।
के पुरुषले पनि फोलिक एसिड खानुपर्छ ?
यो प्रश्न धेरैले सोध्ने गर्छन् । हो, यो पुरुषका लागि पनि आवश्यक छ । किनकी, यसले शुक्रकीटको गुणस्तर सुधार गर्न मद्दत पुर्याउन सक्छ । यद्यपि फोलिक एसिडको मुख्य महत्व महिलामा बढी देखिन्छ ।
स्वस्थ शुक्रकीट बन्न डीएनएको सही संरचना आवश्यक हुन्छ, र यस प्रक्रियामा फोलिक एसिडको भूमिका रहन्छ । पुरुषमा फोलिक एसिडले शुक्रकीट उत्पादन र गुणस्तर सुधार गर्न सहयोग गर्छ । यसले डीएनए संश्लेषण र कोष विभाजनमा भूमिका खेल्ने भएकाले स्वस्थ र राम्रो संरचना भएका शुक्रकीट बन्न मद्दत गर्छ ।
पर्याप्त फोलिक एसिड हुँदा शुक्रकीटको संख्या, गतिशीलता र आनुवंशिक स्थिरता सुधार हुन सक्छ । साथै, यसले खराब वा असामान्य शुक्रकीट बन्ने जोखिम घटाउँछ, जसले गर्भधारणको सम्भावना बढाउन सहयोग पुर्याउँछ ।
त्यसैले, गर्भयोजना गरिरहेका दम्पतीमा पुरुषले पनि सन्तुलित आहार वा आवश्यक परे सप्लिमेन्टमार्फत फोलिक एसिड लिनु फाइदाजनक हुनसक्छ ।
अब कुरा आउँछ, कस्तो खालको फोलिक एसिड खाने ?
फोलिक एसिड दुई तरिकाले प्राप्त गर्न सकिन्छ– प्राकृतिक आहार र सप्लिमेन्ट ।
प्राकृतिक रूपमा हरियो सागसब्जी (जस्तै पालुङ्गो), ब्रोकाउली, दाल, कागती वर्गका फलफूल, सिमी आदि खानाले फोलेट प्राप्त हुन्छ। यस्तो प्राकृतिक स्रोत सधैं राम्रो मानिन्छ ।
तर गर्भयोजनाको समयमा केवल खानाबाट मात्र आवश्यक मात्रा पुग्न गाह्रो हुन सक्छ । त्यसैले, चिकित्सकले प्रायः ४०० माइक्रोग्राम फोलिक एसिडको ट्याब्लेट सिफारिस गर्छन् ।
कसै–कसैमा विशेष अवस्था (जस्तै पहिले न्युरल ट्युब डिफेक्ट भएको बच्चा जन्मिएको) भएमा बढी मात्रा पनि सिफारिस हुनसक्छ, जुन चिकित्सकको सल्लाह अनुसार मात्र लिनुपर्छ ।
फोलिक एसिडको कमी हुँदा देखिने समस्या
शरीरमा फोलिक एसिडको कमी भयो भने त्यसको असर सिधै कोष निर्माण र रगत उत्पादनमा देखिन्छ । महिलामा यसको कमीले रगतको कमी), थकान, कमजोरी, र गर्भधारणमा समस्या ल्याउन सक्छ । गर्भवती अवस्थामा कमी भयो भने बच्चामा स्नायुसम्बन्धी विकृति जस्तै गम्भीर समस्या देखिन सक्छ, जसले मस्तिष्क वा मेरुदण्डको विकासमा असर पुर्याउँछ ।
पुरुषमा पनि फोलिक एसिडको कमीले शुक्रकीटको गुणस्तर घटाउन सक्छ, जसले गर्भधारणको सम्भावना कम गर्नसक्छ ।
लामो समयसम्म खान मिल्छ ?
गर्भ योजना बनेदेखि फोलिक एसिड खान सुरु गरे पछि त्यो भन्दा लामो समयसम्म गर्भ रहेन भने पनि फोलिक एसिड जारी राख्न सकिन्छ । अझै
गर्भधारणको प्रयासमै हुनुहुन्छ भने, दैनिक ४०० एमसीजी जति फोलिक एसिड जारी राख्नु सुरक्षित र फाइदाजनक हुन्छ । यसले शरीरलाई तयार राख्छ र गर्भ बस्नेबित्तिकै बच्चाको प्रारम्भिक विकासका लागि आवश्यक पोषण उपलब्ध हुन्छ।
फोलिक एसिड पानीमा घुल्ने भिटामिन भएकाले सामान्य मात्रामा लामो समयसम्म खाँदा पनि हानिकारक हुँदैन । तर चिकित्सकको निगरानी भने आवश्यक पर्न जान्छ ।
(डा.अकृति भारती बात्सल्य आईभीएफमा कार्यरत छिन् )
प्रतिक्रिया 4