News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रेटा थन्बर्गले ग्लास्गोबाट कार्बन उत्सर्जन रोक्न सरकारको असफलतालाई 'धोकाको संज्ञा' दिएको ट्वीट १ नोभेम्बर २०२१ मा गरेको छ।
- नेपाली कवि अविनाश श्रेष्ठले पर्यावरणीय चेतनासहितको पहिलो इको कविता 'करोडौँ सूर्यहरूको अन्धकार' लेखेर नेपाली साहित्यमा नयाँ युगको शुरुवात गरेका छन्।
- अविनाश श्रेष्ठका कविताले मानवीय हस्तक्षेपले पृथ्वीमा पर्यावरणीय विनाश बढेको र प्रकृतिको संरक्षण आवश्यक रहेको चेतावनी दिएका छन्।
“कार्बन उत्सर्जन रोक्ने सरकारी असफलतालाई संसारभरिका युवाहरूले धोकाको संज्ञा दिइरहेका छन् । र यो कुनै ताज्जुबको कुरा पनि होइन ।” – ताज्जुबकी किशोरी ग्रेटा थन्बर्ग ग्लास्गोबाट यो ठाडो आक्रोश ट्वीट गर्छिन् ।
राष्ट्रसंघको २६औँ प्रयास ‘सिओपी २६ ।’ १ नोभेम्बर सन् २०२१ देखि शुरू भएकै दिन थन्बर्गको यो ट्वीट आएको छ ग्लास्गोबाटै । मौसम परिवर्तनलाई नियन्त्रणमा ल्याउने वैश्विक उपाय खोज्ने सम्भवतः ‘अन्तिम सुन्दर आशा’ भनिँदै छ यो सम्मेलन ।
संयोगवश कार्बन–उत्सर्जनलाई सबैभन्दा ‘ठूलो खतरा’–को रूपमा हेरिँदै गरिएको समयमा म छु– नेपाली साहित्यमा सुरूवाती समयमा कोरिएको पर्यावरण चिन्तनयुक्त कविताको मेसो पहिल्याउँदै । गोहो पछ्याउँदैन ।
पृथ्वीमा ६ मिलियन सालको मानवयात्रा । प्रतिफलमा देखापरेका छौँ ‘डिजिटल मानव’ । आजको माइलस्टोनमा उभिएर गम खाइरहेको होमो सेपिएन्सले सोध्छ– आखिर मान्छे कतातिर गइरहेको हो ? अबको साहित्य कतातिर ? अबको राजनीति कतातिर ? अबको समाज कतातिर ?
यी सोधाइले पछ्याउँदै आइहाल्छन् । अबको राजनीति कता अर्जापिने हो ? कतातिर उजिएला साहित्यको धार ? अब राजनीति मानवीय सवालदेखि पर कि ‘पृथ्वीवाद’ कि ‘अपृथ्वीवाद’ को अडान लिने हो । यसैलाई विचारकहरू ‘क्लाइमेट पोलिटिक्स’ भन्दै छन् ।
एक्काइसौँ शताब्दीको पहिलो दशकलाई पर्यावरणचिन्तन मूलधारा मुद्दा हुन पुगेको समयका रूपमा स्मरण गरिने छ । रेकर्ड तापमान वृद्धि, जलवायु परिवर्तन, सामाजिक, पर्यावरणीय विनाशमा निरन्तर वृद्धि । पृथ्वीमा मानवीय हस्तक्षेप – यो मुद्दा अब टुमौटे नालिसदेखि ‘आम समझदारी’–मा स्थापित भएको छ । यो जरूरी पर्यावरणीय सञ्चेतनाले सही दिशा पक्रिएछ भने मात्र सही व्यावहारिक क्रान्ति हुने हो । नत्र प्रकृतिको दोहन भइरहने नै छ । अशान्त पृथ्वीले एक दिन मान्छेलाई डाइनोसोरको अर्को संस्करण बनाइछाड्ने त पक्का छ ।
अमेरिकामा बिखालु कीटनाशक डीडीटीको प्रयोग वृद्धिमा सृजनात्मक हस्तक्षेप गरिन् रेचेल कार्सनले । सन् १९६२ मा छापिएर बेस्टसेलर भएको यसै किताबलाई सृजनात्मक पर्यावरण लेखनको ’माउ किताब’ मानियो ।
त्यसपछि कसैले तीन र कसैले चार धारासम्म वर्गीकरण गरेको ‘इकोक्रिटिसिजम’ वा ‘पर्यावरण लेखन’ वा ‘पर्यालेखन’–को मुहान खोलिएको हो ।
अबको राजनीति, कला, साहित्य छिटछिटो पर्यावरण चिन्तनतिर लम्किरहेका छन् । विश्वभरि यही सिलसिला पछ्याउँदै नेपाली साहित्य पनि पर्यावरण चेततिर फर्किसकेको छ । त्यही दिशातिरको एउटा अमेट इतिहास उत्खननको क्षुद्र दुःसाहस गर्न लाग्दै महत् अतीतको उत्खनन म एक्लैले गर्नसक्ने होइन । त्यसैले यो होस्टेमा केही चिन्तकहरू र तपाईंहरूको हैँसे मलाई चाहिने छ – यतैकतै फरक फड्को उस बेला साढे तीन दशकअघि ।
नौलो चेतको टुकी बालेर इको चिन्तनयात्रा थाल्ने एक पुरोधा सर्जक काठमान्डू उपत्यकाको धूलो खाँदै कलात्मक कविताको औजार गाल्दै थिए । अर्थात् एउटा ‘पहिलो पहर’–को यात्रा थाल्दै थिए ।
यात्रा एक्लो थियो । कठिन थियो । चुनौतीपूर्ण थियो । किनभने कवितामा यिनले उठाइरहेको विषय एकदमै नयाँ थियो । प्रकृति, प्रेम, धर्म, जातपात, वर्ग, सामन्ती शोषण, किसान, महिला जस्ता विषयइतर नसोचिएको विषयमा कविता गर्ने जोखिम मोल्ने यी कविको पाइला पछ्याउँदै आएको छ नेपाली साहित्यको पछिल्लो समयले । फलस्वरूप आज नेपालीमा इकोकविता–लेखन थालिएको छ– जुन विषयलाई केवल बाइलोजीका क्लासहरूमा सीमित रहने क्षेत्र बुझिन्थ्यो ।
संवेदना-ओ संवेदना !, परेवा : सेता–काला कविताका किताब आए नेपाली साहित्यमा तरोताजा समकालीन बिम्बहरू बोकेर । अभीधा, प्रतीक र बुनोट कविताको भित्र र बाहिर यी कविले नयाँ बाटो खने । कविको संवेदना समयसँगै कसरी बदलिँदो छ, त्यसको चहकिलो उदाहरणमा यिनका कविता दरिए । समकालीन काव्यिक संसार । मान्छेप्रति गहिरो गरी संवेदनशील कवि देखिएका । मान्छेबाट अब प्रकृतितर्फ फर्किए । यिनी अब प्रकृतिसचेत संवेदनशील भए । पश्चिममा उहिल्यै रुसोले घन्काएको नारा ‘प्रकृतितिर फर्कौं ।’ त्यही नारा घन्कियो नेपाली कविताको भाषामा । नेपाली कविता इलाकामा समेत ।
नेपाली कविताले चर्को प्रकृतिप्रेम मात्र पाएको थियो– रोमान्टिसिजम । अब त्यो प्रकृतिप्रेममा चैतन्यको नून घोलियो । मान्छेकै हस्तक्षेपले प्रकृतिमा हुनथालेको थियो गन्जागोल । खूब गम खाए यी कविले । यिनको मन मानेन । मान्छेलाई नै केन्द्रमा राखेर कविता गरिरहनु कमसेकम यिनलाई चाहिँ अब फापेन । प्रकृतिप्रेमदेखि प्रकृति सरोकारतिर यिनले फड्को हाने । खिप्न थाले कवितामा कलात्मक र एक्टिभिस्ट नयाँ अभियान ।
प्रकृति पहिले पनि आएको थियो नेपाली कवितामा । यिनका कवितामा अब प्रकृतिको अर्कै चित्र आँकिएको थियो । त्यो चित्र निश्चय सरल थिएन । सरस थिएन । न पाठमैत्री थियो । न पाठकमैत्री । यिनको जटिल प्रकृतिचित्रण खासमा प्रकृतिलाई मान्छेले गरेको ज्यादतीको परिणाम चित्रण थियो । कुन्नि कस्तो आतङ्कको कलरव यिनको प्रकृति कवितामा गुन्जियो । गुन्जिन थाल्यो ।
प्रकृतिवादी कविको आकाश अपूर्व नीलो छ । यिनको कवितामा आकाश खुनसरिको देखियो । रोमान्टिकको जून नदीमा झर्न मनगर्छ । यिनको कवितामा जून नदीबाट टाढा भाग्छ । रोमान्टिकको रूख हरियै छ र त्यसमा चराहरूको चिरबिर छ । यिनको कवितामा रूख मृत्युशय्यामा ढलेको छ । नित्सेको कल्पित महामानव यिनका कवितामा प्रकृति दानव हुन् । हरारीले कल्पना गरे– मान्छे अब साइबोर्ग हुने हो । यिनका कवितामा मान्छे उस्तै संवेदनहीन अद्र्धयन्त्र । बढ्दो उष्णताले काँपिरहेको पृथ्वीको तापमान नाप्ने थर्मोमिटर भयो यिनको कविता ।
यिनका इकोकविता नेपाली साहित्यमा पहिलो प्रकृतिदूत भए । नेपाली पर्यावरण साहित्यको ‘पहिलो पहर’ थियो यिनको इकोकविता वा पर्यावरण कविता । नेपाली साहित्यमा पहिलो पर्यावरणचेतनाको पहरको पहिलो अध्याय हुन पुग्छ यिनको पहिलो पर्यावरण कविताकिताब– करोडौँ सूर्यहरूको अन्धकार । यिनी हुन् कवि अविनाश श्रेष्ठ ।
नेपाली साहित्यका स्तम्भ नारायण ढकालको बुझाइमा त्यसबखत कवि श्रेष्ठले आरम्भ गरेको अभियान तिनको नितान्त ‘एकल चिन्तन’ र काव्यिक आविष्कारको प्रतिफल हो । “करोडौँ सूर्यहरूको अन्धकार कवितासङ्गह प्रकाशित भएपछि नेपाली कविताको बृहत् क्यानभासमा सर्वथा नयाँ र गम्भीर बहस सिर्जना भएको हो । त्यो घटनाले त्यसपछिका थुप्रै धारा, प्रवृत्ति र आन्दोलनलाई सोझो वा परोक्ष रूपमा प्रभावित पारेको सर्वविदित छ,” बताउँछन् ढकाल ।
कृष्ण धरावासी श्रेष्ठका कवितालाई इकोकविता क्षेत्रका अग्रणी कविता मान्छन् । भन्छन्, “नेपाली कवितामा पर्यावरणलाई नजिकबाट अध्ययन गरी लेख्ने काम अविनाश श्रेष्ठले गरेका छन् । फुटकर प्रकाशन तथा सङ्गहका रूपमा आएका उनका कवितालाई यस क्षेत्रका अग्रणी कविता मानिन्छन् ।”
युवा समालोचक महेश पौड्याल भन्छन्, “कवि श्रेष्ठ करोडौँ सूर्यहरूको अन्धकारमा पर्यालेखनका पुरोधा बनेर देखिएका छन् ।”
विश्वसाहित्यमा चुलिएका मुद्दाहरू हुन्– वर्गवादी लेखन, फेमिनिजम, मार्जिनलाइजेसन, कल्चरल स्टडिज, दलित लेखन, एलजीबीटीक्यू–कुअर । नेपाली साहित्यमा नारीवाद उठिसकेको छ । मार्जिनलाइजेसन भित्रिसकेको छ । कल्चरल स्टडिज देखिएको छ । दलित लेखन पनि । एलजीबीटीक्यू–कुअर पनि ।
अब यी ट्रेन्डसँगसँगै चलिरहेको लेखन हो– इकोक्रिटिसिजम । आजको पर्यावरणीय असन्तुलन वास्तवमा मान्छेको चेतनासङ्कटकै प्रतिफलन पनि हो । यही चेतनासङ्कटलाई प्रहार गर्दै आएको पोजिटिभ पक्ष देखिँदै छ नेपाली साहित्यमा । यसरी इको–कविहरूको काफिलालाई प्रत्यक्ष–परोक्ष प्रेरित गर्ने श्रेय निःसन्देह जान्छ अविनाश श्रेष्ठलाई ।
कवि अविनाशले पर्यावरणलाई टिपेर लेखेका कविताहरू भएको किताब हो करोडौँ सूर्यहरूको अन्धकार ।
कविताहरूमा यद्यपि मान्छे समानान्तर बगेको छ पर्यावरणसँगै । पर्यावरण नै मुख्य अक्ष छ कविताहरूमा ।
पर्यावरण मासिए मान्छे मासिन्छ भनेर मान्छेलाई जुन काव्यिक चेतनावनी छन् यी कवितामा, त्यो कवि अविनाशले पक्रनुभएको इको क्रिटिसिजम धार हो । पछि इको क्रिटिसिजमबाट फड्को हान्ने डीप–इकोलोजीले उठाउन खोजेको मुद्दा हो– पर्यालेखनको कुराको चुरोमा मान्छे नभएर पर्यावरण रहनुपर्छ । डीप–इकोलोजी धारणाको अवचेतन मनबाटै सघन प्रयोग गर्नुभएको पनि देख्छौँ कवि अविनाशले ।
इकोकविताको ट्रेन्डिङ
एक दिन मैले कवि अविनाशलाई सोधें, “इको सरोकार कहिलेदेखि पलायो तपाईंको कविमनमा ?”
कवि अविनाश भन्दै थिए, “नेपाल आएपछि जुन पर्यावरणीय घटनाले सबैभन्दा पहिले मेरो ध्यानाकृष्ट गरिदियो, त्यो थियो– चराचुरुङ्गी, पुतली, जूनकीरी र घामकीरीहरू लोप हुँदै गरेको भयावह दृश्य । त्यस्तै नेपालमा पहाड, नदी, खोला र वनजङ्गलको भयावह दोहन । असामान्य रूपमा बढिरहेको कहालीलाग्दो परिदृश्यसँग दिनहुँजसो भइरहने साक्षात्कार, पोलिथिन ब्यागको प्रयोगले निम्तिएको बीभत्सता, बढ्दो शहरीकरण र खेती गर्नलायक जमीन घट्दै जाँदा उप्जिएको पर्यावरणीय असन्तुलनले मभित्रको संवेदनशील कविलाई ब्युँझेर केही गर्न भित्रैबाट झकझकाएको थियो ।”
सन् १९७५ मा बीएससीको अन्तिम जाँच दिएर जीवनको खुल्ला पाठशालामा प्रवेश गरेपछि पहिलो पटक कवि रन्थनिएका थिए । उनलाई अत्यन्त प्रिय, अत्यन्त आत्मीय लाग्ने विराट् वैभवशाली महानदी ब्रह्मपुत्रमा गुवाहाटी महानगरका जैविक–अजैविक अवशिष्ट, कुहेसढेगलेका फोहोर, दिसापिसाब र कलकारखानाबाट उत्सर्जित विषाक्त रासायनिक लेदो भोरलू खोलामार्फत सिधै मिसाएको देखेर ।
यीहरू र यस्तैहरू । घटना–परिघटनाहरू । सचेत, सतर्क र सचेष्ट बन्नलाई यी घटनाले सर्जक अविनाशलाई घचघच्याए । कविले टाढाको देख्छ । विश्वका अन्यान्य भाषाका कविले प्रकृतिको विनाशी भविष्यको भेउ पाउँदै थिए । उनीहरूको प्रकृतिको जोखाना उनीहरूको साहित्यमा आउन थालेको अवस्था थियो । नेपाली साहित्यमा आधिकारिक रूपमा यो नयाँ प्रकृतिचिन्तनको आवाज बुलन्द भएकै थिएन । कवि अविनाश श्रेष्ठ यतातिर सकसकिए ।
यसै त अरू कविले पनि लेखे प्रकृतिलाई केन्द्रमा राखेर । प्रायः कविले प्रकृतिलाई बखानेर कि प्रेयसी रिझाउन लेखे कि प्रेयसी फकाउन । कि प्रकृतिको सौन्दर्यको कथा हाल्न लेखे कि प्रकृतिको महिमालाई शब्दमा उतार्न ।
बिस्तारै प्रकृति बिमार हुँदै गएको रिपोर्ट अरू सर्जकले विरलै लेखे । यिनले चाहिँ लेख्न थाले त्यसैलाई केन्द्रमा राखेर ।
मानवबाट प्रकृतिको निर्बाध दोहन भइरहेको र यसले निर्बाध विनाश निम्त्याइरहेको खबरदारी गराउने न्यारेटिभ सृजनात्मक ढङ्गमा नेपाली साहित्यमा भिœयाउनु थियो । भित्रिएको थिएन सन् १९९० को दशकसम्म । कवि अविनाशले त्यो जोखिम मोले ।
प्रकृतिको काखैकाख डुलिहिँड्ने चितवन, नेपालका प्रकृतिप्रेमी लेखक ईश्वर कँडेल प्रकृतिलाई केन्द्रमा राखेर लेखिएका कृतिहरू नेपाली साहित्यमा तुलनात्मक रूपमा कम भएको ठान्छन् । “इको राइटिङ पोस्टमोडर्न राइटिङ भएका कारण पनि इको राइटिङमा समकालीन लेखक तथा साहित्यकारहरूले कलम चलाउनु जरूरी छ ।” ईश्वर भन्छन् ।
नेपाली साहित्यका धुरन्धर ज्ञाता माइकल हटले समेत कवि अविनाशलाई हिमालयन भ्वाइसेसमा ‘ट्रेन्डसेटर कवि’ का रूपमा उहिल्यै उल्लेख गरिसकेका थिएछन् । नेपाली प्रतिनिधि सर्जकहरूका कामहरूको अथेन्टिक अङ्गे्रजी सङ्ग्रह थियो हिमालयन भ्वाइसेस । भूपि शेरचन, चुडामणि बन्धुजस्ता पण्डितहरूको काम यसमा सङ्गृहीत थियो । महेश पौड्यालले भने, “श्रेष्ठको यस सङ्ग्हको प्रकाशनले पर्यालेखनको क्षेत्रमा एउटा सिङ्गो पुस्तालाई पथप्रदर्शन गरेको छ ।”
वि. सं. २०५३–०५४, सन् १९९७ । काठमान्डूस्थित गोथे इन्सटिच्युटले एउटा अन्यतम पर्यावरण कविता प्रोजेक्ट बनायो । तत्कालीन जर्मन पेनका प्रेसिडेन्ट र विख्यात कवि, उपन्यासकार, नाटक लेखक ग्यार्ट हाइडेनराइखलाई काठमान्डूमा निम्त्याइयो । नेपाली कविहरूमध्ये चुनिए कवि अविनाश श्रेष्ठ । थालियो पर्यावरण कविता लेखनको योजना । प्रोजेक्टअन्तर्गत काठमान्डूका विभिन्न स्थलमा दुवै कविलाई लगेर दिनभरिमा एउटा कविता लेख्न लगाइन्थ्यो र फोटोग्राफ खिचिन्थ्यो । यसरी एक महिनाको अवधिमा दशदश वटा कविता दुवै कविले लेखिभ्याएछन् ।
कविताहरू जर्मन –नेपाली–अङ्गे्रजीमा अनुवाद भई एक महिनाकै अवधिमा काठमान्डू ! : हेर्नुस् यस शहरलाई शीर्षक कविताकिताबमा आएछन् । सङ्ग्रहका कविता नै जस्ताको तस्तै राखे अविनाशले करोडौं सूर्यहरूको अन्धकार सङ्ग्रहको पुछारमा केही कवितामा काठमान्डू उपशीर्षक दिएर ।
खूब सम्भवतः पहाड शीर्षकको कविता कवि अविनाशको पहिलो इको कविता हो । वि. सं. २०४४–४५ (सन् १९८७–८८)–तिर लेखिएको सम्झना गर्छन् कवि । तर छापामा चाहिँ यो कविता अलि पछि आएको हो ।
मधुपर्क साहित्यिक मासिकको वर्ष २६, पूर्णाङ्क २९०, भदौ २०५० (अगस्त– सेप्टेम्बर १९९३) मा यो कविता प्रकाशित छ । यसरी यिनले सन् १९८८–८९ तिरदेखि वा त्योभन्दा अझ केही वर्षअघिदेखि हो पर्यावरणसम्बन्धी समस्याबारे अवगत हुँदै सचेत रूपमा इकोकविता लेख्न थालेको ।
‘भोलि’ को पनि कविता हुन्छ ?
‘भोलि’–को कविता हुन्छ !
दार्जीलिङका कवि केवलचन्द्र लामा । चित्रकला र कविताका प्यारालल स्कूल । साहित्यमा मेरा लागि निर्णायक गुरु ।
“कवि अविनाश श्रेष्ठको करोडौँ सूर्यहरूको अन्धकार कविता किताब छ । खोजेर पढ् । हेर्नैपर्ने इकोलोजीका कविताहरू छन् त्यसमा,” अराए एक दिन कवि केवलचन्द्रले ।
प्रकृतिको कविता पढेको । इकोलोजीको पढिएको थिएन । कस्तो हुन्छ त इकोलोजीको कविता ? कुन्नि किन कुतकुतिएँ । कुन्नि कस्तो गरी कौतुहलिएँ । कतिकति कुन्नि कताकता खोजें । पाइनँ । एक दिन पाएँ । धरानको कलरव साहित्यिक समूहको निम्तो आयो । समकालीन नेपाली सर्जकको कलरव एक ठाउँ पैदा गर्ने जमर्को हुने भएको थिएछ । जोधाहा सर्जकहरू हेमन यात्री, सुदीप पाख्रिन र सञ्जीव राईको पहलमा आयोजन गरिएको थियो– दुई दिने भारत–नेपाल साहित्य उत्सव ।
ज्युनार ब्रेकमा कवि अविनाश श्रेष्ठसँग साक्षात् भेटघाट भयो । आफूले निक्कै सम्मान गरेको, प्रेम गरेको मान्छे पहिलो चोटि साक्षात् देख्दा के गरौँ हुँदो रहेछ । धपक्क बलेको मुहार । कालो क्याप । कालै टिशर्ट । मधुरो बोलिरहेका । गर्विलो व्यक्तित्व । उनलाई देखेपछि मैले केही रिएक्ट गर्नै सकिनँ । म घमन्डिएँ भन्ने उनले फिल गरे कि लाग्यो । एक्कासि सम्झना भयो– ‘कवि अविनाशको प्रखर कवि व्यक्तित्व उनका कविताहरूमा झल्किन्छ’ भन्छन् कवि विमल निभा ।
केही सर्जकहरूसँग गोलिएर गफिँदै । उनले मलाई आफैँ डाके त्यो डफ्फामा । आत्मीय परिचय साटे । मिरिरी आर्टिस्टिक ह्यान्डराइटिङमा हस्ताक्षर गरे । दिए करोडौँ सूर्यहरूको अन्धकार । म गद्गद । फरर पल्टाएँ किताब । कहिल्यै नदेखिएका विषय, बिम्ब र अभीधाले हल्का छोइएँ । घोचिएँ । बत्तिएँ ।
घर फर्केर अलि गहिरिएर पढें । यी कविताले बोलिरहेको भाषामा प्रकृतिका आदि सन्तानको भाषाको उत्तरआधुनिक संस्करण थिएछ लाग्यो । नेपाली साहित्यमा यस्तो विषयमा यस्तो एप्रोचमा कविता नपढेको आफू ।
प्रकृतिको गुणगान पढेको । प्रकृतिको सङ्कट, प्रकृतिको घाउ र प्रकृतिको दोहन– यी थिए नयाँ मुद्दा । नयाँ कुरा । त्यो पनि कवितामा ।
सरलमै विलक्षण व्यञ्जना कस्तरी सम्भव भएको, उदेकिएँ !
चिनाउनुअघि नै गुरुबाले बाह्रखरी
आमाले मलाई चिनाइसक्नुभएको थियो !
रूख
चरा
आकाश
नदी
मान्छे
र जङ्गल ।
(‘भोलिको गीत’)
सबैभन्दा नयाँ कुरा के भयो भने आजसम्मको कवितामा मान्छे केन्द्रीय अक्षमा हुने । यिनको कविता पढिरहँदा मान्छे अब किनारमा । प्रकृतिको अक्षवरिपरि घुमिरहेका कविता । अहिलेसम्मको कविता सिनेपर्दामा मान्छे हिरो थियो । अब यिनको कविताको सिनेपर्दामा मान्छे भिलियन । मान्छे किन भिलियन ! मान्छेमा पनि शक्तिहीन मान्छेलाई शोषण गर्ने शक्तिशाली मान्छे ।
समकालीन विश्वका प्रभावशाली दार्शनिक साल्भोज जिजेकले भनेको कुरा यहाँ झिक्न मिल्छ, “पूँजीवादी फ्रेमबाटै आर्थिक र पर्यावरण सङ्कट जन्मिएका छन् । पर्यावरण सङ्कटसँग जुझ्न राजनीतिक अन्तर मेटाउने र सङ्कटलाई सोझै सामना गर्ने– कुन विकल्प छान्नु– मानवसमाजको आजसम्मको ठूलो दुबिधा हो । अहिलेलाई सृजनात्मक राजनीतिक इच्छाशक्तिको होस्टेमा सकारात्मक सोचको हैंसेले मात्र पृथ्वी बचाउन सक्ने छ ।”
अविनाश श्रेष्ठको कविताको एनलाइटनमेन्टले जीवन विज्ञानलाई नयाँ गरी हेर्ने हौसला दियो । इको कविताले मानवलाई संसारमा लोकेट गराइदिन खोज्छ । रोमान्टिकहरूले दिने गरेको युटोपियाभन्दा अलि थोरैमा प्रकृति कवितालाई ‘र्याडिकल’ बनाइदिने गर्छ ।
प्रकृतिप्रेममा ओतप्रोत शेली, देवकोटा, रवीन्द्रनाथहरूको कविता धरापमा रहेको लाग्न थाल्यो । कुनै पनि मुहूर्त यी मायालु कविता सेरिएर मर्लान् जस्तो । कुरा कस्तो पनि भने शेलीको ‘ओड टू स्काइलार्क’ कविताको आकाशमा उडिरहेका स्काइलार्कहरू निसास्सिएर झरेको । पटपटी फुटेको माटोमा फ्यातफ्यात झरेका चराहरू । आकाशभरि कार्बनडाइअक्साइडको अँध्यारो । चर्किएको आकाशमा फाँकफाँकमा रगतिलो रातो । घाम त्यही अन्धकारमा लुकेको ।
धरतीले अन्धकार निलिरहेको । मान्छेहरू डाइनोसरजस्तै फोसिल बन्दै गइरहेको । यस्तै भयावह भिजुअलहरू करोडौँ सूर्यहरूको अन्धकार पढ्दै गर्दा मोन्टाज बन्थे । सरर्र आएर डिस्टर्ब गर्थे । केही लामो समय थन्किँदै । फेरि निस्किँदै गरिरहने यो किताबले आरम्भिक युवा दिनमा बलियो हस्तक्षेप गरिराख्यो ।
विचार पाक्दै गएको मेरो किशोरावस्था । जवाहरलाल नेहरूको पिताको पत्र छोरीलाई, मोदनाथ प्रश्रितको मानवदेखि मोनेरासम्म, स्टिफन हकिङको ए ब्रिफ हिस्ट्री अफ टाइम, फ्रेडरिक एङ्गेल्सको अन डाइलेक्टिक्स, क्रिस्टोफर कडवेलको क्राइसिस इन फिजिक्सजस्ता किताबले जीवनजगत् हेर्ने आँखा अर्कै पारिदिँदै थिए । यस्तैमा करोडौँ सूर्यहरूको अन्धकार । विकीर्ण विचारहरूको कोलाज । जगत्को अर्कै स्वरूप बन्दै थियो अब । करोडौँ सूर्यहरूको अन्धकारका कविताहरूमा दोहोरिएर, तेहेरिएर प्रकृतिमा आइरहेको सङ्कटको टर्रो टड्कारो आभास छ । सृजनात्मक एप्रोचले गर्दा यी कविताले मान्छेलाई खबरदारी गराएको पनि मीठो लाग्ने ।
किताबमा भोलिको गीत सबैभन्दा सशक्त कविता लागेको हो मलाई । पाठकीय आँखामा । नेपाली साहित्यमै देखा परेको समकालीन नयाँ बिम्बविधानको अपरिमेय दृष्टान्त । रसियाका ‘फ्युचरिस्ट’हरूको छाया परेको देखिने यो कविताले नेपाली कवितालाई एउटा नयाँ जिब्रो दियो । जसरी देवकोटाको ‘पागल’, पारिजातको ‘मानुषी’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, अगमसिंह गिरीको ‘युद्ध र योद्धा’, वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण’, कालीप्रसाद रिजालको ‘हमरी बिटियाको नत्था तोडिदिनुहोस्’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’, नोर्जाङ स्याङदेनको ‘मूच्र्छना’, विमल निभाको ‘आगोनेर उभिएको मानिस’, मनप्रसाद सुब्बाको ‘सिद्धार्थ उर्फ सिद्धे’, श्यामलको ‘दिलमाया’, आहुतिको ‘गहुँगोरो अफ्रिका’, केवलचन्द्र लामाको ‘घर’– हरूले दरिएका थिए ।
‘भोलिको गीत’–को जिब्रोले बिम्बको पर्सपेक्टिभलाई अप्रचलित अर्कै फ्रेममा लगेर अलि पर्तिर सारिदिएको हो ।
उनको समयमा विश्वभरि इको कविताहरू भटाभट सृजना गरिँदै गरिएको अवस्था । नेपाली साहित्यका यावत् आन्दोलन, ट्रेन्ड र प्रवाहमा उनी अर्कै अभिधा लिएर एक्लै हिँड्न थाले । पहिलेपहिले उनी बुझिएनन् । यसै बोहेमियन ट्याग भएका कवि । झन् यो नयाँ स्वर भएको कविता लगभग तीन दशक नाघ्दै गर्दा पनि अझ अजनबी छ । अभेद्य छ ।
भोलिको गीत आफ्नो बेलाको अत्यधिक चर्चित कवितासमेत रह्यो । वि. सं. २०५० (सन् १९९३) –मा लेखिएको कविता । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित विश्व–पर्यावरण दिवसको भव्यतम कार्यक्रममा पहिलो पटक वाचन गरिएको थियो यो खाले इको कविता नेपालमै । पहिलो वाचनदेखि नै यो कविता चर्चाको शिखरमा रहँदै आएको थिएछ । एकांश हेरौँ :
मेरो खनातिकी आमाले
आफ्नो नाबालक छोरालाई
सबैभन्दा पहिले चिनाउने छिन्
दुःखजस्तै फैलिएको मरुभूमि
र भन्ने छिन्
‘बाबा !
तिम्रा जिजु–पुर्खा अदूरदर्शी पिचास थिए ।
(‘भोलिको गीत’)
इकोलोजी मानवीय सक्रियताले कसरी ध्वस्त हुँदै छ भन्ने कन्सियसनेस, बिग्रँदो प्राकृतिक स्थितिका लागि जिम्मेवार मानवप्रति खबरदारीको वैचारिक पाटो छ कवितामा । पर्यावरणीय विचार र काव्यात्मक सौन्दर्यको सहगमन– यही हो इको कविताको कसी ।
ब्रन्ड्टल्यान्ड कमिसनले सन् १९८० को दशकमा राष्ट्रसङ्घलाई झकझकायो । विश्व स्तरमै उचालिँदै गरेको संरक्षणको धारणा सस्टेनेबल डेभलपमेन्टको अवधारणा दियो यो कमिसनले । यसको सार थियो– आज चाहिएको जति मात्र प्रयोग गर, भोलिको पुस्ताका लागि संसाधन जोगाऊ । यो कवितामा यही अवधारणा अभिव्यक्त हुनु दुई दशकअघि कोल्टे फेरिरहेको नेपाली कविताकै एउटा गौरवपूर्ण उपलब्धि थियो । नेपाली भाषामा पनि इको कविता गरिँदै छ भन्ने त्यसताकको सुन्दर ढाडस भए उनका इको कविता । नेपाली कविताको समकालीनताको द्योतक थियो यो कविता यसरी ।
इतिहास, विगत (हिजो)–को सम्झनामा लेखिएका कविता पढेको थिएँ । मैले पढिरहेका प्रायः कविता आजको कुरा गर्थे । भविष्य, आगत (भोलि)–को पनि कविता हुन्छ भनेर पहिलो चोटि श्रेष्ठको कवितामै देखें । छक्क परेँ ।
किताबका बहुसङ्ख्यक कविता भविष्यको सम्भावित ‘विनाश’–तिर इङ्गित गर्छन् । प्रायः कवितामा भविष्यको विनाश कथाबारे काव्यिक खबरदारी छ ।
प्रतीकदेखि मिथसम्म
‘जान्नु नै दुःखको कारण हो
कविलाई थाहा छ
र ऊ जान्दछ ः
डाइनोसर जसरी नै पृथिवीबाट
लुप्त हुने छ एक दिन मान्छेको प्रजाति
तर त्यसभन्दा अगाडि नै लुप्त हुँदै छ– मानवता ।’
(करोडौँ सूर्यहरूको अन्धकार)
इको कविताले मानवलाई साढे चार बिलियन वर्ष पुरानो पृथ्वी (प्रकृति)–सँग फेरि सम्बन्धित तुल्याउने आग्रह राख्छ । यसले पर्यावरणीय अस्वस्थता, सम्भवतः छैटौँ ‘मास एक्सटिक्सन’ युगका प्रत्यक्ष अनुभवहरूलाई अभिव्यक्त गर्ने क्षमता राखेको हुन्छ । पर्यावरण असन्तुलन गराउने कारक विरुद्ध प्रतिरोधी विचार बनेर इको कविता उभिएको हुन्छ ।
त्यस्तै लोकसाहित्य, लोकगीत, लोककविताहरूमा पनि पर्यावरण र मानवहरूको अटुट सम्बन्ध उस्तै बलियो पाइन्छ । इको राइटिङमा लेखक या कवि प्रकृतिको संरक्षण र महङ्खव बुझेर आफ्ना कृतिहरूमा प्रकृतिको उल्लेख गरिरहेको हुन्छ । त्यसै गरी प्रकृति संरक्षणमा महङ्खव दर्शाइएको हुन्छ ।
किराती मुन्धुम यसको बलिष्ठ उदाहरण हुन सक्छ । मुन्धुममा प्रयुक्त काव्यिक कथामा प्रकृति मूलमा राखिएको हुन्छ । यता नेपाली साहित्यमा लेखनाथ पौड्यालका ऋतु विचार, तरुण तपसी, माधवप्रसाद घिमिरेको किन्नरकिन्नरी, मोहन कोइरालाको ऋतु निमन्त्रणजस्ता किताबमा प्रकृतिलाई विषय बनाइएका छन् । यी किताब निस्कँदै गर्दा इको सङ्कट आजजस्तो थिएन । यसैले इको लेखनको थालनी पनि भएको थिएन । कवि अविनाश श्रेष्ठले नेपाली इकोकविताको संसार रच्दै गर्दा पश्चिममा पनि भखरै इको लेखन थालिएको थियो ।
कवि अविनाशले नेपाली साहित्यमा इको कविता ठीक बेलामै रोपनी गरे । उनको इको कविताले माग गरेको पृष्ठभूमिमा कवि अविनाशको अतीत अध्ययन र आफ्नो समयको दर्शनका बलिया उपस्थिति छन् । यिनको प्रतीक गोचर जगत्को यथार्थबाट उठ्छ । त्यो प्रतीक यिनको कविताको पूर्ण उपस्थितिमा मिथक बन्छ ।
परिवेश विचलनले कवि अविनाश आफैँलाई पहिले पोल्छ । यो पीडाको व्यापकता उनको कविताको अन्विति हो । यिनी आफ्नो गभीर चेतना अब पाठकमा आलम्बित गर्छन् । कवि अविनाश सपनामा छैनन् । यी कविताहरू लेखिरहँदा यिनी पूरै होशमा लेखिरहेका छन् । यद्यपि काव्यिक सौन्दर्यबोध उनीभित्र टमटमी भरिएको छ ।
कवि विमल निभा भन्छन्– “अविनाशका कवितामा पर्यावरण चेत त पर्याप्त पाइन्छ तर मानवतावादी चिन्तन पनि उनको कविताको केन्द्रीय कथ्य हो । अनि त्योभन्दा पनि माथि काव्यिक चेतनाको, कला चेतनाको सर्वोपरिता र विशिष्टता उनका कविताका उत्स र प्राप्ति हुन् ।” कवि अविनाश उनको समय यथार्थको देशका नागरिक हुन् जसले मानवीय हस्तक्षेपले पर्यावरण जोखिममा गइरहेको काव्यिक न्यारेसन सृजना गर्छन् ।
ठोस अन्तर्विरोधहरूबाट मिथको जन्म हुँदैन । उत्तरआधुनिक संसारमा मिथको केवल ‘काल्पनिक अस्तित्व’ हुन्छ । करोडौँ सूर्यहरूको अन्धकार यस्तै एक मिथ हो कवि अविनाशले गड्नुभएको । हाम्रो जीवनमा मिथको ठूलै भूमिका छ । सर्जकले लोकजीवनबाट मिथ टिप्छ । लोकजीवनले मिथ बनाउँछ । कविले गर्ने यही हो । उसले व्यापक वास्तविकतामा ‘भ्रमको सत्य’ स्थापित गर्ने हो ।
“किताबको नाम नै ओजनदार छ,” नेपालबाट सरुभक्तले भने । भारतबाट ज्ञानेन्द्र खतिवडा भन्छन्, “सङ्ग्रहको नाम आफैँमा काव्यात्मक चेतसहितको विरोधाभास सिर्जना भएको पाउँछौँ हामी । विरोधाभास अलङ्कारको साह्रै सफल प्रयोग मान्छु यो शीर्षकलाई म ।”
किताबको नाम नै किताबको प्रतिनिधि कविता शीर्षकनाम हो । सूर्य जहिले पनि उज्यालो हुन्छ । किन कविले सूर्यको अन्धकारको कुरा गरे ? त्यो पनि एउटा होइन करोडौँ । किताबको आवरण देख्नासाथ हिर्काउने सवाल यही हो । यो सोधाइ पहिले आँखाबाट छिर्छ । त्यसपछि मनमा पुग्छ । एकतमासको लट्ठ मताइ दिने शब्दचातुर्यको सौन्दर्यबोधले मनलाई आलसतालस पार्छ । अन्धकारैअन्धकार रिङ्छ । आँखा हुँदै कानमा अन्धकार बज्छ । नाकमा अन्धकारै गनाउँछ । जिब्रोमा अन्धकारको स्वाद पर्छ । अनि त यसले चेतनाको सतहमा ड्याम्मै हिट गर्छ । यस्तो आघात गर्छ कि त्यो आघातले पीडा दिएको छ वा आनन्द– ठम्याउन मुश्किल पर्छ ।
विरोधाभासपूर्ण छ नाम । एकातिर करोडौँ सूर्यको कुरा छ । अर्कातिर अन्धकार छ । त्यो पनि करोड सूर्यको । एकसाथ यति बढी अन्धकारको कल्पना मात्र गर्नु पनि असम्भवप्रायः लाग्ने । सूर्य हरेक ऊर्जाको अन्तिम स्रोत हो ।
एउटा सूर्यको परिवारमा पृथ्वी एक सदस्य हो । त्यही एउटा सूर्यको आलोक रातभरि नपाइँदा अँध्यारो छाउँछ ।
करोड सूर्य हुन हो र एकसाथ अल्पिदिनु हो वा निभिदिनु हो भने कस्तो अपरिमेय अँध्यारो छाउला ? कल्पनै गर्न पनि गाह्रो ।
सौरमण्डलको एउटै सूर्य हेर्न अभ्यस्त मानवलाई ‘करोडौँ सूर्य’–को कुरा अपत्यारिलो तर काव्यिक सौन्दर्यबोधी मिथ नै हो ।
भौतिक विज्ञानमा ब्रह्माण्ड उत्पत्तिका विभिन्न धारणा छन् । तीमध्ये एउटा धारणाले अनन्त कालका लागि ब्रह्माण्ड बनिँदै, खत्तम हुँदै गर्छ भन्छ । ब्रह्माण्ड बनिँदा ‘बिग ब्याङ’ हुन्छ– कणको विस्फोटबाट ताराहरूको उत्पत्ति हुन्छ । स्पेस र समयको जन्म हुन्छ । सूर्य यस्तै एउटा तारा हो । ब्रह्माण्ड सकिँदा ‘बिग क्रन्च’ हुन्छ ।
ताराहरूले बनेका ग्यालेक्सीहरू एउटै खुम्चिन्छन् । स्पेस र समय मर्छन् । करोडौँ सूर्य यसरी निभ्न सक्छ । यो पनि तर एउटा हाइपोथेसिस वा प्रकल्पना मात्र हुन सक्छ ।
आदिम समाजमा यो कुरा गर्नु हो भने यो पत्यार गर्न लायक ‘कठिन धारणा’ हो । समकालीन समाजमा यो मिथ्या भनेर थाहा भइरहँदा पनि त्यसको फेन्टासीभित्र पसेर त्यस मिथ्याको यथार्थलाई सचेत मानसमा ग्रहण गर्ने हो । श्रेष्ठको करोडौँ सूर्यहरूको अन्धकार कविता किताबमा आएको करोडौँ सूर्यको प्रतीक यस अर्थमा मिथकै उचाइमा उक्लन्छ ।
स्मृतिकार अविनाश
आदिवासीको ठूलो सम्पत्ति हो स्मृति । किताब लेख्दैनन् । छाप्दैनन् पनि । पुस्तादरपुस्ता सर्छन् हजारौँ सूचना, तथ्य र ज्ञान । मौखिक संवादको पुलमा । थुतुरी परम्परामा । स्मृतिले मान्छेको इतिहास नै जन्माइदिन्छ । कवि अविनाश मानवसमाजको स्मृतिका काव्यिक वाहक पनि हुन् ।
पृथ्वी दोहकहरूका लागि निर्जीव छ । उनीहरू कुनै जीवन देख्दैनन् यसमा । तर प्रकृति जीवन्त छ । यो जीवन मास्ने काम सत्ताले गरी बसेको छ । कविता मानवीय संवेदनको स्मृति हो । त्यो स्मृतिको वृत्तचित्र पनि हो । स्मृतिको इतिहास पनि । कवि स्मृति चित्रको आर्किटेक्ट ।
अब बेला भयो– हामीले कवितालाई नै बचाउनु हो भने पनि प्रकृतिलाई बचाउनुपर्छ– यो हुटहुटी यिनको कविताको अन्डरकरेन्टमा कुद्ने । कविता मानवसमाज नबाँचेपछि बाँच्न सक्दैन । कविता स्मृति हो । स्मृति मानवसँग छ । मानव विलुप्त भए स्मृति पनि विलुप्त हुने हो । स्मृति लाखौँलाख सालअघिदेखि जिउँदो प्रकृति आमाको वात्सल्यको । यही स्मृतिको धरोहरमा नारीस्वरूप प्रकृतिले मानवलाई धरती सन्तानको दर्जा दिएको कथा हो । यिनका कविताले स्मृतिरक्षाको पैरवी गरे । यिनका कविता स्मृतिको जीवनको आन्दोलन हो । यिनका कविता इतिहासको मृत्यु होइन, इतिहासको संरक्षणको माध्यम हो ।
कवि यस अर्थमा स्मृतिरक्षक स्मृतिकार हो । कवि अविनाश श्रेष्ठ इको कविताहरूको माध्यमबाट नेपाली साहित्यमा स्मृतिकार भए । सङ्ग्रहका कविताहरू जङ्गल ः एउटा सलिलकी, एकालाप, निर्जल प्रलय, पानी, पहाड प्रकृतिसँग मान्छेको ‘अलगाव’–को स्मृतिगत काव्यिक चर्चा भएका काव्य रचना हुन् ।
करोडौँ सूर्यहरूको अन्धकारमा हालिएको काठमान्डू आधारित इको शृङ्खला कविता यसको बलियो उदाहरण हो। विशेषतः गलैँचा बुन्नेहरूको गीत, ईंट बनाउनेहरू र बढ्दो शहरीकरण, वाग्मती नदीको किनारमा उभिएर जस्ता इको कविता सङ्ग्रहमा स्मृतिको कसीमा उभिएका कविता हुन् ।
किताबको पञ्चमहाभूत कवितामा ‘चरा’, ‘माछा’, ‘मान्छे’, ‘माटो’ केही पनि बन्न अतयार भएकाले नै कवि ‘सुस्केरा’, ‘संवेदना’ र ‘अक्षर’ बनिएको दावा गर्छन् अविनाश । किताबका पर्यावरण कविताहरूमा कवि मानवजनित सक्रियताका कारण पतनोन्मुख पृथ्वीको घाउको सुस्केरा भएर बोल्छन् । पर्यावरणको बगिरहेको स्वास्थ्यको वेदनाको संवेदना भएर देखापर्छन् । प्रकृतिदोहनको सृजनात्मक न्यारेटिभ र त्यसको विरुद्ध खबरदारीको सृजनात्मक नाराका अक्षर भएर हिँड्छन् ।
भौगोलिक सीमा तोडेर मन्जुश्री थापा कवि अविनाश श्रेष्ठले नेपाली साहित्यको ‘अनेपाली’ लेखन गरिरहेको ठहर गर्छिन् । यिनको हेराइमा कवि अविनाश नेपाली बिम्ब, मिथक र अस्तित्वदेखि पर्तिर गएर लेख्छन् । अविनाशका कविताहरू ‘एक्वेरियम’, ‘श्याम्पेन बोतल’, ‘ब्लूज रिदम’ विश्वसाहित्यका उद्धरणहरूले अविनाशको लेखनमा मसाला भर्छन् । नेपालबारे प्रयोग गरिने नेपाली प्रचलित तुक्काबाजीको दिन अब बिती गएको ठोकुवा मञ्जुश्री गर्छिन् । धेरै लेखकहरूले आफ्ना रचनामा प्रयोग गर्ने सटीक इमेजहरू पनि अब पुराना भइसकेको उनको दाबी छ । यस मानेमा अविनाशका कविता समकालीन छन् ।
यद्यपि यिनका कवितामा कताकता लोकलबजको कमीचाहिँ अवश्य खट्किन्छ । कतै बढी संस्कृतका शब्दको बाहुल्य, कतै इलिट वाग्धाराको छाप, कतै अति वैचारिकताको बाधा यिनका कविताका व्यवधान हुन् । कवि श्रेष्ठको कवितासङ्ग्रह करोडौँ सूर्यहरूको अन्धकारमा पश्चिममा सन् १९६० को दशकदेखि चलेको इको क्रिटिसिजमको प्रवाह र प्रभाव टड्कारो भेटिन्छ ।
नेपाली कविताकै विकासको पक्षमा पनि देवकोटाहरूको चन्द्रमा ताक्ने स्वच्छन्दतावादी उडानले अर्कै दिशाको आकाशीय कोल्टे फेर्नु आवश्यक थियो । यसरी नौलो फड्को हानेको कल्पनाशीलताको अभिनूतन प्रयोग हो यो कविता । देवकोटाको उडानले पाठकलाई अन्तै लैजान्छ । अविनाशको उडानले माटोमा पछार्छ र कठालो समातेर झकझकाउँदै भन्छ– “हेर् मानव, तैँले क्षतविक्षत पारेको पृथ्वीको छातीमा आफ्नो अस्तित्वको मोसो….”
हेर् कविलाई थाहा छ :
करोडौँ सूर्यहरूको अन्धकार
झेल्नु नै पर्ने छ एक दिन
ब्रह्माण्डले
तर त्यसभन्दा पहिले नै
सकिने छ आयु
पृथिवीको ।
(‘करोडौँ सूर्यहरूको अन्धकार’
यो किताबको प्रसङ्ग झिक्दै स्वघोषित फिक्सन डिजाइनर कुमार नगरकोटीले फेसबुक वालमा लख काटेका रहेछन्, “मलाई लाग्छ, समयक्रममा यो किताब झन् बढी सान्दर्भिक भएर जाने छ ।”
कला र अकलादेखि कविता र अकवितासम्मको यात्रामा आइपुगी कविताको सङ्खव तोडेर अर्कै स्पिसिजको कविता निर्माण नै यी इको कविता हुन् । यी कविताले बोलेको भाषा अर्कै हो । हामीले बोलेको भाषाले खोजिरहेको मुक्ति यी कविताको भाषामा छ । शब्दको भाषाबिनै बोल्नु र पनि सप्पैसप्पै बुझ्नु कति अचम्मको अनुभव । कविताको सौन्दर्य यही । सङ्केतबाट शुरू भएको शब्दको भाषा जहाँ सकिन्छ, त्यहाँ शुरू हुन्छ फेरि सङ्केतकै भाषा । भाषाको यो चक्रीय यात्रामा भाषाले धेरै थोकको चोला फेर्छ । म यही भाषाको चोला फेराइ अविनाशीय कवितामा हेरेर र देखेर मक्ख मात्र परिरहेको हुन्छु ।
मेघालयका कवि पदम छेत्री कवि अविनाशलाई अत्यन्त संवेदनशील, सजग र पर्यावरण पारिस्थितिकी सचेत कवि मान्छन् । “करोडौँ सूर्यहरूको अन्धकारका कविताहरू यस सुन्दर सृष्टिलाई विनाशको सँघारसम्म लैजान उद्यत मनुष्यको चेतनालाई झकझकाउन पूर्णतः सफल छन्,” उनी मान्छन् ।
आदिवासी कल्पनाकै अत्याधुनिक अवतार अविनाशको कविता हो जहाँ उपेक्षित आदिवासी शिल्प दर्शनको पुनःस्थापना छ– प्रकृतिको कुटुम्बीय आइडियोलोजीमा । यति भनेर पनि मैले जे भनिनँ, त्यही सुन्नू… भन्ला जस्तो अविनाशका जाँबाज कविताहरू नभनेका इलाकामा आएर केही कुरा भन्छन् । पर्यावरणीय चैतन्यको खाँडो जगाउँछन् । उनी कविता नै गरिरहेका हुन्छन् । शिल्प पक्षलाई मर्न नदिई कविता गर्छन् । नित्य नयाँ अभिव्यक्ति उनका कवितामा । नेपाली भाषामा लेखिएका अविनाश श्रेष्ठका इकोकविताहरूमा वैश्विक अपिल छ । यी कविता भौगोलिक सीमा तोडेर पृथ्वीभरि कुद्छन् ।
“इको लेखनको मुख्य सरोकार नै प्रकृतिको संरक्षण हो । संरक्षणका सरोकारमा कुनै पनि स्तरको सचेतनता यसको ध्येय हो,” भन्छिन् कवि, अनुवादक डा. सरिता शर्मा । प्रकृति संरक्षणको सन्देशको प्लाकार्ड बोकेर पृथ्वीयात्रामा निस्किएका अविनाशका कविता अविनाशी छन् ।
पछिल्लो ताजा इको कवितामा यिनी चेतावनी दिन्छन् :
हामीलाई लाग्ने छ
हाम्रो पुस्तामा केही भइहाल्ने होइन…
किन चिन्तित हुने हामी व्यर्थैमा…
तपाईं–हामीले सोचेको भन्दा
अलि फरक शैलीमा आउने छ प्रलय
चुपचाप चुपचाप ।
(‘प्रलयको पदचाप’)
एउटा अँध्यारो समयबाट
अँध्यारो समयमा
पनि गीत गाइने छ ?
ज्यू, अँध्यारो समयमा
अँध्यारो समयकै बारेमा गाइने छ गीत
शेक्सपियर, इब्सेनहरूपछिका बेजोड नाट्यकार मानिएका बर्तोल्त ब्रेख्त । राजनीतिक सचेतताले तिनका रचना उद्देश्य प्रेरित हुने । नाटकमा तिनले ल्याएको ‘एलिएनेशन थ्योरी’–ले परम्परागत नाट्यसिद्धान्तलाई चुनौती दिएको । सन् १९३९ मा उनले लेखेको यो कविताको पछि एउटा राजनीतिक अडान छ । तथापि यो कवितामा ‘अँध्यारो समय’ को सट्टा ‘प्राकृतिक अँध्यारो’ राखेर हेर्ने हो भने यता पनि यो कविता फिट हुने हो ।
साङ्केतिक करोडौँ सूर्यको अन्धकारमा गाइएको सम्भाव्य र आगत अँध्यारोको गीतको कोरस हो इको कविताका पुरोधा कवि अविनाश श्रेष्ठको करोडौँ सूर्यहरूको अन्धकार ।
ब्रेख्तले भनेझैँ सम्भाव्य पर्यावरणीय अन्धकारमा अन्धकारकै गीत गाइरहेका अविनाश यो वाङ्मय क्षेत्रमा एक्लो यात्री थिए । आज आएर उनले हिँडेको गोरेटो महामार्ग हुने क्रममा छ । विश्वभरि सृजना भइरहेको नेपाली साहित्यमा पर्यावरण कविताका पालुवाहरू पलाउन थालेका छन् निःसन्देह ।
प्रतिक्रिया 4