+
+
Shares

‘मकै बारी दराम दराम’ गायिका ३.२५ जीपीए ल्याएर एसइईमा उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकदोहोरी गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२५ जीपीए सहित सफलता हासिल गरेकी छन्।
  • सुष्माले १४ वर्षअघि पारिवारिक कारणले पढाइ छोडेकी थिइन् र अहिले पुनः पढाइ पूरा गरेकी हुन्।
  • उनले सामाजिक सञ्जालमा विगतका संघर्ष र पढाइप्रतिको धोको स्मरण गर्दै आफ्नो सफलतामा शुभचिन्तकहरूको प्रेरणा उल्लेख गरिन्।

काठमाडौँ । ‘मकै बारी दराम दराम’ जस्ता चर्चित लोक दोहोरी गीतका माध्यमबाट दर्शकको मन जित्न सफल गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्साहजनक सफलता हासिल गरेकी छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भएकी शाहीले ३.२५ जीपीए प्राप्त गर्दै विद्यालय तहको शिक्षा पूरा गरेकी हुन् ।

काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरेकी उनले कपनस्थित दीक्षालय स्कुल केन्द्रबाट परीक्षा दिएकी थिइन् । उनका लागि यो सफलता केवल शैक्षिक उपलब्धि मात्र नभई १४ वर्ष लामो समयदेखिको अधुरो सपनाको साकार रूप पनि हो ।

पारिवारिक कारणले १४ वर्षअघि पढाइ बीचमै छोड्न बाध्य भएकी सुष्माका लागि यो नतिजा भावनात्मक छ । २०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा भएको विवाहका कारण उनको पढाइ रोकिएको थियो ।

सामाजिक सञ्जालमा खुसी बाँड्दै उनले विगतका ती दिनहरू स्मरण गरेकी छन्, जहाँ उनले पढाइप्रतिको धोकोको कारण कयौँ रात सपनामा परीक्षा दिएको र बिउँझिँदा आँसु झारेको उल्लेख गरेकी छन् ।

कलिलै उमेरमा आमा बनेकी सुष्माले आफ्नो छोराको भविष्य र साङ्गीतिक यात्रालाई सँगसँगै अघि बढाइन् । ‘छोराको भविष्य सुधार्ने क्रममा मैले कलाकारिता रोजेँ’ उनी भन्छिन्, ‘तर शुभचिन्तकहरूको प्रेरणा र आफ्नै दृढ इच्छाशक्तिले मलाई फेरि किताब समात्ने हौसला दियो । आज मेरो जीवनको एउटा ठूलो सपना पूरा भएको छ ।’

अहिलेकी व्यस्त र लोकप्रिय गायिका सुष्माको ‘मकै बारी दराम दराम’ गीतले युट्युबमा ५६ मिलियनभन्दा बढी भ्यूज पाइसकेको छ । साङ्गीतिक क्षेत्रको यो व्यस्तताका बीच पनि समय व्यवस्थापन गरेर उनले हासिल गरेको यो उपलब्धि धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

उनको यो सफलतामा अहिले प्रशंसकले बधाई तथा शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?