+
+
Shares

योजनाका ‘चिठी बिक्री’ प्रकरण : मधेशका शिक्षामन्त्री र मेयरबीच विवाद

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ७:५६
मधेशको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी र रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादव .

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी र रौतहटका मेयर प्रदीप यादवबीच योजनाको चिठी बेचेको विषयमा विवाद भएको छ।
  • मेयर यादवले अनाधिकृत व्यक्तिहरूले चिठी बिक्री वितरण गर्ने गरेको आरोप लगाउँदै मन्त्रीलाई पदबाट बर्खास्त गर्न मुख्यमन्त्रीसँग माग गरेका छन्।
  • मन्त्री तिवारीले मेयरसँग विवाद भएको स्वीकार गर्दै यस विषयमा छानबिन हुने र कुनै गलत भए कारबाही गरिने बताएकी छन् ।

३० वैशाख, जनकपुरधाम । विभिन्न योजनाका ‘चिठी बेचेको’ विषयलाई लिएर मधेशको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी र रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवबीच विवाद भएको छ । मन्त्री तिवारीकै कार्यकक्षमा सोमबार दुईजनाबीच विवाद भएको हो ।

बिचौलियाले चिठीका लागि फोन गर्ने गरेको विषयमा गुनासो गर्न जाँदा विवाद भएको मेयर यादवले बताए ।

मेयर यादवका अनुसार बौधीमाई नगरपालिका वडा नम्बर ८ को सर्मजुवा प्रावि र वडा नम्बर ५ को सानो कोपुवा प्राविको विद्यालय भवन निर्माण योजनाको चिठी लिन सर्लाहीका सन्दीप मिश्रा भन्ने व्यक्तिले फोन गरेका थिए । यस्तै वडा नम्बर १ को आधारभूत विद्यालयको भवन निर्माणको चिठी लिन पर्साका प्रभाष यादव भन्ने व्यक्तिले फोन गरेको यादवको भनाइ छ ।

मन्त्रालयबाट सिधै वडा कार्यालयमा जानुपर्ने विद्यालय भवन निर्माण योजनाको उपभोक्ता समिति गठन सम्बन्धी चिठी अनाधिकृत व्यक्तिले लगेर बार्गेनिङ गरेर बिक्री वितरण गर्ने गरेको मेयर यादवको आरोप छ ।

‘सम्बन्धित पालिकाका मेयर वा वडाध्यक्ष मन्त्रालयमा पटक–पटक आउँदा चिठी दिँदैनन् । अनाधिकृत व्यक्तिले चिठी लिन फलानो ठाउँमा भेट्नुस् भनेर फोन गर्छन्,’ मेयर यादवले अनलाइनखबरसँग गुनासो गरे, ‘चिठी वडा कार्यालयमा जानुपर्ने हो नि । तर दलाल चिठी लिएर घुम्छन्, फोन गर्छन् । यसले योजनाको चिठी मन्त्रालयले नै बेचिरहेको प्रमाणित हुन्छ ।’

‘रौतहटको चिठी सर्लाहीको मान्छेले बिक्री गर्छन् । पर्साको मान्छेले बिक्री गर्छन् । यो विकृति कहिले अन्त्य हुन्छ ?’ आफूले यसो भनेपछि मन्त्री रिसाएर आफुूमाथि खनिएको मेयर यादवको भनाइ छ ।

यसपछि मन्त्री निकटका व्यक्तिहरुले आफूलाई त्यहाँबाट होल्ला गर्दै निकाल्न खोजेको र मन्त्रीले ‘जसलाई इच्छा हुन्छ, उसलाई चिठी दिन्छु’ भनेको मेयर यादवको आरोप छ ।

‘आसेपासेले होहल्ला गरेर त्यहाँबाट मलाई निकाल्ने प्रयास गरे । मन्त्रीले मलाई तपाईँ अब जानुस्, आफ्नो स्थानीय तह सुधार्नुस् । मलाई जे मन लाग्छ, त्यसलाई चिठी दिन्छु । तपाईँ को हो खोज्नेवाला, को हो भन्नेवाला भनेर ममाथि खनिनुभयो,’ मेयर यादवको आरोप छ । उनले यस्तो कार्य गर्ने मन्त्री तिवारीलाई पदबाट बर्खास्त गर्न मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग माग समेत गरे ।

विवाद भएको स्वीकार गर्दै मन्त्री तिवारीले भनिन्– छानबिन हुन्छ

यता मन्त्री तिवारीले मेयर यादवसँग विवाद भएको स्वीकार गरिन् । कार्यालय समय सकिसकेको सयमा साँझ साढे ५ बजेतिर मेयर यादव आएर चिठी बेचेको जथाभावी आरोप लगाएपछि विवाद भएको उनको भनाइ छ ।

‘मन्त्रालयको समय सकिसकेको थियो । साढे ५ बजेतिर उहाँ भेट्न आएर चिठी बेचेको लागयतको नानाथरी आरोप लगाएर जथाभावी बोल्न थाल्नुभयो’ मन्त्री तिवारीले अनलाइनखबरसँग भनिन्, ‘यसबारे म राम्ररी बुझेर भन्छु, कुनै गलत भएको छ भने कारबाही हुन्छ भनेँ । यसरी नबोलिदिनुस् भनेर आग्रह गरेँ । तर उहाँ बोलिरहेपछि म कार्यकक्षबाट निस्किएँ ।’

मन्त्री तिवारीले चिठी बेचेको भन्ने विषयमा छानबिन गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?