News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र बनाउनुपर्ने बताएकी छन्।
- अधिकारीले युवा पलायन रोक्न रेमिट्यान्समा निर्भरता घटाउँदै 'वर्क फ्रम नेपाल' को अवधारणा अघि बढाउन सुझाव दिइन्।
- उनले डिजिटल नोम्याड भिसा कार्यान्वयन गरी विदेशी विज्ञहरूलाई नेपालमा काम गर्न आकर्षित गर्न सरकारलाई आग्रह गरिन्।
३० वैशाख, काठमाडौं । रास्वपा सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र बनाउनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसद अधिकारीले युवा पलायनका कारण रित्तिएका पहाड र मौन रहेका गाउँबस्तीको पीडादायी अवस्थाको अन्त्य गर्दै रेमिट्यान्सको भरमा मात्रै देश चलाउने सोचबाट माथि उठ्नुपर्ने बताएकी हुुन्।
उनले सगरमाथाको शीतलता र धर्तीको शान्तिलाई अर्थतन्त्रको बलियो आधारका रूपमा अघि बढाउनुपर्ने प्रस्ताव गरेकी छन्। सांसद अधिकारीले अब नेपालले ‘वर्क इन नेपाल’को दायरालाई फराकिलो बनाउँदै विश्वलाई नै ‘वर्क फ्रम नेपाल’को निम्तो दिनुपर्ने बताइन्।
प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई आकर्षित गर्न सरकारले तत्काल डिजिटल नोम्याड भिसा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइन्।
जसले विदेशी विज्ञहरूलाई नेपालको तराई, पहाड र हिमालको विविधतामा रमाउँदै काम गर्ने वातावरण दिने उनको दाबी छ।
‘प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई डिजिटल नोम्याड भिसा दिएर हाम्रो कला, संस्कृति र चाडपर्वले समृद्ध तराई, मधेश, पहाड र हिमालको विविधतामा रमाइ काम गर्न आकर्षित गरौँ,’ अधिकारीले अगाडि भनिन्, ‘जब एउटा विदेशी विज्ञ नाम्चेको काख, राराको आँगन र रामारोशनमा बसेर विश्वका लागि सफ्टवेयर बनाउँछ, तब हाम्रा पहाडहरू, हाम्रा बस्तीहरू डिजिटल भिलेज बन्नेछन्। हाम्रा युवाहरूले आफ्नै आँगनमा बसेर विश्वस्तरको सीप सिक्नेछन्।’
यसो गर्दा मुलुकभित्र डलर मात्र भित्रिने नभई रित्तिएका गाउँहरूमा रौनक र समृद्धिको सञ्चार हुने भन्दै उनले डिजिटल नोम्याड भिसा सरकारले तत्काल कार्यान्वयन गरोस् भनी माग गरिन्।’
प्रतिक्रिया 4